शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बुद्ध-चेतना, प्रकृति-पर्यावरण र मानव


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 946
    SHARES

बुद्ध-चेतना, प्रकृति-पर्यावरण र मानव

                            

प्रा. डा. गोपी उप्रेती

जीवन बच्ने र मर्ने त्रासदीपूर्ण परिवेशमा हामी बाँचिरहेका छौँ। बाँच्नको लागि हर सम्भव उपायहरु अपनाएर सुरक्षित हुने कोसिस गरिरहेका छौँ। अहिले मानव समाजले सामना गर्नुपरेको अस्तित्वको सङ्कट पनि प्रकृतिसँगको मानवको असन्तुलित सम्बन्धको कारणले नै भएको हो। मानवको पर्यावरण प्रणाली र अन्य जीवप्राणी सँगको सम्बन्धको प्रकृति, उसको खानपिन र सामाजिक संस्कृति इत्यादिले सृजना गरेको सङ्कट हो। पशुपन्छी तथा अन्य जीवबाट मानवमा संक्रमण भएका रोगहरु मानवले पर्यावरण प्रणालीमा ल्याएको विखलनका कारणले भएका तथ्यहरु प्रकाशमा आएका छन् । हामी सबैलाई थाहा छ, हामीले एक दिन यस धर्तीबाट बिदा लिनुपर्छ। तर जब अप्रत्याशित घटना घट्छन् र त्यस्ता घटनाले हाम्रो अस्तित्व सङ्कटग्रस्त हुन्छ तब हाम्रो सोच, चिन्तन र मानोविज्ञानले ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ। सङ्कटमा परेको आफ्नो अस्तिव जोगाउनुभन्दा ठूलो सफलता अर्को केही हुन सक्दैन भन्ने कुरा सबै जीवप्राणीमा हुन्छ नै। मानव त जीवप्राणीमा चेतनाको उच्चतम विकास भएको प्राणी हो। लाखौँ वर्षको विकासको क्रममा प्राकृतिक छनौटको प्रक्रियाबाट मानव चेतनाको विकास भएको हो।

म्भी मानव

विगत ६० वर्षदेखि हालसम्म आइपुग्दा विज्ञान र प्रविधिको तिब्र विकासले मानवलाई प्रकृतिको एउटा डरलाग्दो प्रतिद्वन्दीको रुपमा खडा गरेको छ। यसले उसलाई धेरै दम्भी बनाएको छ जसको परिणामस्वरुप प्रकृतिमाथि जसरी पनि विजय प्राप्त गर्नुपर्छ भन्ने सोचबाट ऊ परिचालित र निर्देशित भएको छ। प्रकृति, जीवजगत र पृथ्वीको पर्यावरण प्रणालीसँगको उसको अन्योन्याश्रित सम्बन्ध र अन्तरनिर्भरतालाई बुझेर बुद्धिमत्तापूर्ण सोच, व्यवहार, र क्रियाकलापबाट आफ्ना आवश्यकता पूरा गर्नुको सट्टा त्यसको ठीक विपरित प्रकृति र पृथ्वीको पर्यावरण प्रणालीमाथि नै धावा बोल्नु उसको मुर्खता सिवाय केही हुन सक्दैन। मानवले विज्ञान र प्रविधिलाई प्रकृतिमाथि विजय प्राप्त गर्ने उद्धेश्यले हतियारको रुपमा प्रयोग गर्दै आएको छ जो विल्कुल गलत र अनैतिक पनि छ।

मानवले आज भिन्न युगमा प्रवेश गरिसकेको छ। यस युगमा प्राकृतिक छनौटभन्दा पनि साँस्कृतिक छनौट (सामाजिक, आर्थिक, विज्ञान तथा प्रविधि) ले मानवको चेतना जगतलाई प्रभावित पार्ने मात्र होइन कि ऊ यो नयाँ युगमा कसरी बाँच्न चाहन्छ, त्यो समेत निर्धारण गर्ने छ। यदि मानव चेतनाले वर्तमान अवस्थामा ऊ बाँचिरहेको सँस्कृतिलाई रुपान्तरण गरी प्रकृति तथा पृथ्वीको पर्यावरण प्रणालीसँग बिग्रेको सम्बन्धलाई पुनर्स्थापना गरी पर्यावरणीय सँस्कृति तथा सभ्यता (Ecological Civilization) को  सुरुवात गर्ने सके, भावी सन्तति र मानव अस्तित्वको दिगो व्यवस्थापन हुन सक्छ। लाखौँ वर्षको विकासको प्रक्रियाबाट सिर्जना भएको प्राकृतिक सन्तुलन जब मानव क्रियाकालापबाट पुनर्स्थापना हुनै नसकिने गरी विखलन हुन्छ, त्यस्तो अवस्थामा प्रकृतिले नयाँ सन्तुलन कायम गर्न प्रतिक्रियास्वरुप जुन क्रियाकलाप देखाउने हुन्छ, त्यसले सोच्नै नसकिने किसिमका विकराल परिस्थिको सिर्जना गर्छ । यही अवस्थाले मानव लगायत प्राणी जगतको अस्तिव नै सङ्कटग्रस्त बनाउने हुन्छ। यदि मानवले समयमा नै आफ्नो बुद्धि, विवेक र चेतनालाई पर्यवरणीय संस्कृति (Eco-Civilization) सिर्जना गर्ने दिशामा विज्ञान-प्रविधि र आफ्ना दैनिक क्रियाकलापलाई चलायमान नगराउने हो भने आउने दिनहरुमा दोहोरि रहने येस्ता महाविपद र सङ्कटको सामना  गरिरहनु पर्ने हुन्छ।

मानवले विगत ६-७ दशकमा प्रकृति तथा पृथ्वीको भौतिक, रासायनिक, जैविक तथा पर्यावरण प्रणालीलाई यति तिब्र गतिमा नकारात्मक दिसामा रुपान्तरण गरिसकेको छ कि एकातिर यसले प्रकृतिको सन्तुलनमा विचलन ल्याउने काम गरेको छ भने, अर्कोतिर प्रकृतिको रचनात्मक तथा पुनरुत्पादन गर्ने क्षमता नै ध्वस्त बनाउने काम गरेको छ। धेरै लामो समयको निरन्तर विकासवादी प्रक्रियाबाट अस्तित्वमा आएको प्राकृतिक तथा पर्यावरण प्रणालीको सन्तुलनमा विचलन आउनाले, प्राकृतिक प्रणालीले नयाँ सन्तुलनमा जानु पर्दा, परिवर्तनको गति, स्वरुप र ढाँचा मानवका लागि कल्याणकारी नहुनु स्वाभाविक हो। प्रकृतिको नयाँ समतोल (Equilibrium) मा मानवले आफूलाई अनुकुलनीकरण (Adaptation) गर्ने प्रक्रियामा धेरै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । यसबाट मानव अस्तित्व नै लोप हुन सक्ने अवस्था आउन सक्छ। मानवले प्रकृतिमाथि विजय प्राप्त गर्न सुरु गरेको यो युद्ध एकदिन आफ्नै विरुद्ध लड्नु पर्ने छ भनेर सोचेको थिएन।

मुलधारको बजारमुखी नाफाखोर आर्थिक प्रणाली

अहिले चलिरहेको मूलधार (Dominant) को बजारमुखी र नाफाखोर आर्थिक प्रणालीले जमीनबाट, समुन्द्रबाट र पृथ्वीको भूमण्डलीय प्रणालीबाट जुन मात्रामा स्रोतसम्पदा उत्खनन (Extraction) गरी एकातिर केही सीमित मानिस तथा बहु देशीय निगम कर्पोरेसनको धन-दौलत तथा सम्पति आर्जन गर्ने अति लालसी मनोकांक्षा पूरा गरिरहेको छ भने, अर्कोतिर प्रकृतिको संरचना, प्राकृतिक प्रक्रिया (Natural Processes) तथा मानिस लगायत सम्पूर्ण जीवजगतको अन्तर्सम्बन्ध (Interconnectedness) र अन्नान्योन्याश्रित अन्तरनिर्भरता (Interdependence) को जालो (Web) नै ध्वस्त पार्दै लगेको प्रस्ट नै छ। जब प्रकृतिको सन्तुलन ध्वस्त हुन्छ र फेरि प्रकृति आफ्नो सुरुको सन्तुलनमा फर्किन नसक्ने अवस्थामा पुग्छ, तब मानवताले आफ्नै विनासको दुष्चक्रमा फस्नुपर्ने अवस्था सिर्जना हुन्छ। वर्तमान अवस्थाले मानव सभ्यतालाई ठीक यहि बिन्दुमा पुग्न सघाउँदै लगेको छ। पृथ्वीको पर्यावरणमा देखा परेका हानिकारक तथा नकारात्मक लक्षणहरुले यो प्रस्ट पार्दै लागेका छन्। दशौँ लाख जैविक विविधताको  लोप, वायुमण्डलमा कार्बोन र मेथिन ग्याँस अत्त्यधिक मात्रामा बढ्नु, ओज़ोन तह  ध्वस्त हुनु, हिमालय र आर्टिक क्षेत्रमा तापक्रम बढ्नुको साथै बरफ तिब्र गतिमा पग्लँदै जानु, सामुद्रिक सतह बढ्नु र मानव सहरहरु डुबानमा पर्नु, आँधी, हुरी, समुद्री आँधी, आगलागी जस्ता घटना तिब्र गतिमा बढ्नु, भूमध्यक्षत्रीय जङ्गल (Tropical Forest) र अमाजोंन जङ्गल तिब्र गतिमा विनाश हुँदै जानु, वायुमण्डल तथा पृथ्वीको तापक्रम तिब्र गतिमा बढ्नु, खतरनाक रोगका नयाँ किटाणु तथा जीवाणु देखा पर्नु र जलवायु परिवर्तनले मानिस लगायत प्राणीजगतको अस्तित्व नै सङ्कटमा पर्दै जानु यस्ता केही उदाहरण मात्र हुन्।

मानव चेतनामा व्यापक परिपर्तनको वश्यकता

प्रकितिसितको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो (Web of Interconnectedness and Interdependence) बचाउने, प्राकृतिक प्रक्रिया र पृथ्वीको पर्यवरणीय प्रणालीलाई ध्वस्त हुनबाट बचाउने विज्ञान तथा प्रविधको आजको आवश्यकता हो न कि प्रकृतिमाथि विजय प्राप्त गर्ने र पृथ्वीको पर्यावरणीय प्रणाली (Planetary Ecosystem) लाई नै ध्वस्त गर्ने विज्ञान तथा प्रविधको। हालसम्मको विज्ञान तथा प्रविधको विकासको मूलधार यही दिशामा उद्वेलित छ । कस्तो खालको विकास मानिसलाई उपयुक्त हुने हो, त्यो आफैँमा विकासको मात्र प्रश्न नभएर नैतिक प्रश्न पनि हो। विज्ञान तथा प्रविधिले मानिसको चेतनालाई प्रभाव त पार्छ नै तर  मानव चेतना त्यसको दास हुनबाट बच्न सक्नु पर्ने हुन्छ विज्ञान तथा प्रविधिको दिशानिर्देश गर्ने पनि मानिसको चेतना (Human Consciousness) नै हो । अहिलेको मानव चेतनामा व्यापक परिपर्तनको आवश्यकता छ। वातावरणी तथा पर्यावरणीय चेतना (Ecological Consciousness) मानिसको मूलधार चेतना हुन सक्दा मात्र प्रकृतिसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउन सकिने हुन्छ।

जबसम्म मूलधारको बजारमुखी र नाफाखोर आर्थिक प्रणालीका आधारभूत मान्यता तथा परिकल्पना (assumptions) प्राकृतिक पुँजी (Natural Capital) जस्तो जमिन, जल, हावा, जैविक विविधता, पर्यावरण प्रणालीको जीवन धान्ने सेवा तथा प्रक्रिया (Life Support System) लाई नाफा तथा नोक्सानको विश्लेषण (Cost Benefit Analysis) मा आन्तरिकीकरण (Internalization) गर्ने गरी परिवर्तन गरिँदैन र विकासको लक्ष्य र उद्देश्य मानिसको आवश्यकता पूरा गर्दै प्राकृतिक पुँजीलाई घट्न नदिनुका साथसाथै त्यसको वृद्धि गर्ने विकासको नैतिक अवधारणा (Development Ethics) बाट निर्देशित हुँदैनन्, तबसम्म दिगो विकास र प्रकृति संरक्षणको कुरा गर्नु हास्यस्पद हुन्छ। यो बिल्कुल सम्भव छ तर मानिसको आवस्यकता पुरा गर्ने भन्दा पनि धन जम्मा गर्ने लालची (Greedy)  र दम्भी (Arrogant) स्वभावको संस्कृतिले यो हुन दिएको छैन। महात्मा गान्धीले मानव स्वभावको यो संस्कृति बुझेर नै भन्नुभएको यो भनाइ निकै सान्दर्भिक र मननयोग्य छ। गान्धीले भन्नुभएको छ पृथ्वीसँ मानिसको वश्यकता पुरा गर्ने प्रसस्त स्रोतसम्पदा तर उसको लालच पूरा गर्ने सम्पदा भने छैन  ।

बुद्धचेतना

बुद्ध दर्शन नै एक यस्तो दर्शन हो जसले मानवको प्रकृति र सम्पूर्ण जीवजगतसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालोका बारेमा वैज्ञानिक व्याख्या दिन सकेको छ। बुद्धका उपदेशहरु मानवले प्रकृति र सम्पूर्ण जीवजगतसितको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको सन्तुलन कायम गरी आफ्नो दुखः कम गरी कसरी एउटा सार्थक र अर्थपूर्ण जीवन बाँच्न सक्छ भन्ने बारेमा लक्षित रहेका छन्। बुद्ध दर्शनले अङ्गीकार गरेका विचार र चिन्तन आज धेरै सान्दर्भिक भएका छन् जो प्रकृति तथा पर्यावरण प्रणालीको संरचना तथा प्रक्रियाहरुको अध्ययन गर्ने प्रणाली सिद्धान्त (System Theory) सँग मेल खान्छन्। अनित्यता प्रकृतिको नियम हो। संसारमा कुनै पनि वस्तु नित्यरुपले शाश्वत छैन। सबै क्षणभङ्गुगुर छ। समयको चक्रमा आउने र जाने भै नै रहन्छ। हामी सबै शून्यमा विलीन हुन्छौँ। यो शून्यमा समाहित हुनुभन्दा अगाडिको समय हाम्रा लागि अति  महत्वपूर्ण हुन्छ। हामी हाम्रो र सम्पूर्ण जीवजगत सहितको प्रकृतिको आयु लम्ब्याउन र दुख कम गर्नका लागि आफ्नो चेतनाको उच्चतम विकास गर्न सक्छौँ ता कि हामी अनुकम्पा, करुणा (Compassion) र बुद्धि-विवेक (Wisdom) को प्रकाशबाट आफुलाई यो अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउन निर्देशित गर्न सकौँ।  यो नै मानव र सम्पूर्ण  प्रकृति जीवजगतको सहअस्तित्व (Coexistence) को निरन्तरताको आधारशीला हो|

हाम्रो अस्तित्व सङ्कटमा परेको यो समय हाम्रा लागि आत्म-समीक्षा र आत्म-निरीक्षण (Introspection) गर्ने समय पनि हो। शक्तिशाली तथा प्रभावशली देशका राजनीतिज्ञ हरु, राजनैतिक अर्थासस्त्री, नीतिनिर्माणकर्ता, बहुदेशीय निगम तथा कर्पोरेट संसारका सञ्चालकहरु र कुलीन धनाड्यहरु सबैले आत्म-समीक्षा गरुन र सोचून कस्तो संसार उनीहरु चाहान्छन? आज प्रकृति र पृथ्वीको पर्यावरण प्रणाली बचाउन बुद्धचिन्तन नै महत्त्वपूर्ण मार्गदर्श हो। बुद्ध चेतनाले नै जगत र प्रकृतिको हित गर्न सक्छ भन्ने चेत उहाहरु सबैमा आओस!

बुद्धो भबयेम जगतो हिताय ! बुद्धो भबयेम प्रकृति हिताय !

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय !

 

प्रा. डा. गोपी उप्रेती अमेरिकाको र्जिनिया राज्यमा बस्नुहुन्छ।

Email: [email protected]

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }