बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १०, २०७७
  • 608
    SHARES

काठमाडौं, आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकको विवरणअनुसार गत आवको तुलनामा चालु आवको आठ महिनाको तुलनामा कर्जाको भारित औसत ब्याजदर घटेको पाइएको हो । बैंकका अनुसार २०७५ को फागुनमा ९.६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९.४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै ०.११ प्रतिशतले कमी आएको छ ।

गत फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेका थिए ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने-गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् गत फागुन मसान्तसम्म कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था कायम भएको छ ।

बैंकका अनुसार गत फागुनसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । त्यस आधारमा अब मात्रै सात स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् । प्रदेश नं १ का कुल १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् ।

प्रदेश नं २ र प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ मा कुल १३६ स्थानीय तह छन् भने प्रदेश नं ५ मा कुल १०९ स्थानीय तह छन् । यस्तै वाग्मती प्रदेशका कुल ११९ स्थानीय तहमध्ये ११७ मा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

सङ्घीय राजधानीसमेत रहेको सो प्रदेशमा अब दुई स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । गण्डकीका कुल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा शाखा खुल्न बाँकी छ ।

सुदूरपश्चिम प्रदेशका कुल ८८ मध्ये ८६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । अब दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ । हाल कुल २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या गत असार मसान्तमा आठ हजार ६८६ रहेकोमा त्यो बढेर गत फागुन मसान्तमा नौ हजार ६४० पुगेको छ । उत्पादनशील उद्योग तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा गत फागुन मसान्तमा रु १८ अर्ब ३८ करोड पुगेको छ ।

यस्तै साधारण पुनरकर्जा रु १५ अर्ब ८३ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब एक करोड उपयोग भएको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता गत फागुन मसान्तमा रु एक अर्ब ५३ करोड रहेको छ । यस्तो कर्जा कुल एक हजार ५९२ ऋणीले उपयोग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }