
लहान । प्रदेश नं २ मा कोरोना सङ्क्रमतिको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको छ । पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या प्रदेश नं २ मा बढ्दै गएका कारण जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिनुभयो । सङ्क्रमण थप फैलिन नदिन यस्तो कदम चालिएको उनले बताए । केही दिनदेखि खुकुलो पारिएको लकडाउन आज बिहानदेखि कडा पारिएको छ ।
अर्को जिल्लाबाट आउने बिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रण लिई सङ्क्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।
छिमेकी देश भारतबाट आवतजावत पूर्णरुपमा बन्द गरिएकाले लुकीछिपी नेपाल प्रवेश गरेको पाइएमा त्यस्ता व्यक्तिलाई लुकाउने र लुक्ने दुवैलाई सङ्क्रमण रोग नियन्त्रण ऐनबमोजिम कारवाही गरिने प्रजिअ गुरागाईँद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९८ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरले जानकारी दिएको छ । हालसम्म प्रदेश नं २ मा तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको छ । जसमध्ये दुई हजार ६५६ को नेगेटिभ परिणाम आएको छ । ९८ जनाको पोजेटिभ परिणाम आएको छ ।