
- फाईल फोटो
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराहन्न ४ बजे संघीय संसद र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।
संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको छ । यस्तै विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार सामाजिक दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रमको दिशानिर्देशन अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने छ । कोरोना भाइरस महामारीबीच आउन लागेको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । नीति तथा कार्यक्रमले अर्थतन्त्रको पुनरुत्थानमा जोड दिने बताइएको छ ।
कोरोना महामारीले ठप्प भएका उद्योग व्यवसायलाई पनि पुर्नर्जीवित गराउन सरकारले राहतको प्याकेज ल्याउने जानकारी गराइसकेको छ । यस्तै करमा सहुलियत दिने देखि मौद्रिक नीतिबाट पनि ब्याजमा छुट दिने योजना ल्याउने तयारी सरकारको छ ।
नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिने मुल लक्ष्य नीति तथा कार्यक्रमका हुने अर्थमन्त्री खतिवडाले जानकारी गराइसकेका छन । अर्थमन्त्री खतिवडाले आधाभूत स्वास्थ्य सेवा र माध्यमिक शिक्षा निःशुल्क गर्ने आधारबाट बजेट आउने स्पष्टपार्नु भएको छ ।
उहाले स्वास्थ्यसंगै दोस्रो प्राथमिकता आर्थिक पुनरुत्थान र कृषिलाई जोडेर आउने उनले स्पष्टपारि सक्नु भएको छ। यसैगरी बजेटले वैदेशिक रोजगारीबाट फर्किनेलाई व्यवस्थापनका साथै आन्तरिक रोजगारीलाई ध्यान दिने भएको छ ।
यसैगरी कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहन दिने बताइएको छ ।
यस्तै राष्ट्रिय गौरवका र निर्माणधिन आयोजनहरुलाई निरन्तरता दिने भएको छ । योे वर्ष विषम परिस्थितीका कारण सरकारले नयाँ कार्यक्रम ल्याउने संभावनाकमै छ ।