
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ । वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।
सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो । शङ्कास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा सङ्क्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ ।
तीनजनाको नतिजा आउन बाँकी छ । पिसिआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पिसिआर परीक्षण गर्ने बताइएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएका थिए।