
काठमाण्डौ,१७ असोज। भारतीय राजदूतावासले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमसँगको सहकार्यमा यहि असोज ३० देखि कार्तिक २ गतेसम्म दोस्रो Nepal-India Franchise Investment Expo and Conclave को आयोजना गर्ने भएको छ ।
3-D टेक्नोलोजी सहितको भर्चुअल प्लेटफर्म मार्फत गरिने तीन दिने सम्मेलनले नयाँ उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसायलाई चाँडो सुरु गर्न अवसर प्रदान गर्ने भएकोले पनि यस्ता कार्यक्रमबाट दुवै तर्फका ब्राण्ड तथा फ्रान्चाइजहरुले प्रचुर मात्रामा लाभ उठाउन सक्छन् ।
यसका साथै यस्ता कार्यक्रमले नव उद्यमीहरुलाई घरेलु अर्थतन्त्रमा सफलता हासिल गरेका ब्राण्डहरुसँग मिलेर कसरी आफ्नो ब्राण्डलाई अगाडि ल्याउनेबारे बुझ्न मद्दत गर्ने छ ।
२०१९ मा सम्पन्न पहिलो सम्मेलनमा भारतका ७० तथा नेपालका २० वटा अग्रणी ब्राण्डहरुको सहभागीता थियो । नेपालका दुई हजार भन्दा बढी उद्यमीहरुको सहभागीता रहेको उक्त सम्मेलनले यी ब्राण्डहरुसँग सहकार्य तथा व्यापार विस्तार गर्ने अवसर प्रप्त गरेका थिए । सो सम्मेलनमा ५० भन्दा धेरै व्यापार साझेदारी सहकार्य सम्पन्न भएको थियो । भारत र नेपाल त्यस्तो अर्थतन्त्र हो जहाँ स्टार्टअप व्यापार व्यवसाय तीव्र रुपमा बढिरहेको छ ।
यस पटकको दोस्रो संस्करणको सम्मेलनले भारतका प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याउन र नेपालका ब्राण्डलाई भारतमा पुर्याबउन मद्दत गर्नेछ । एक अर्काको अर्थतन्त्रमा यस्ता ब्राण्डहरुको प्रवेशले लगानी भित्राउने मात्र नभई प्रविधि तथा व्यवहारिक ज्ञानको आदानप्रदानलाई समेत प्रेरित गर्दछ ।
नेपालको व्यापारिक क्षेत्रसँग समृद्धिको पथमा सँगै हिड्न भारत प्रतिबद्ध रहको र यो विश्वासलाई मूर्तरुप दिन यस्ता किसिमको कार्यक्रममा व्यवसायिक समुदायको उत्साहजनक उपस्थिति आवश्यक रहेको भारतीय राजदूतावास व्दारा जारी विज्ञप्तिमा उल्लेख छ । आफ्नो ब्राण्डलाई अगाडि ल्याउन चाहनुहुने वा फ्रान्चाइजको खोजीमा हुनुभएका इच्छुक सबैलाई https://www.nepalfranchise.com वेबसाइटमा गई दर्ता गराउन आग्रह गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार