
२८ पुस, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आउने बैशाख १७ र २७ गते को निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताउनुभएको छ।
संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा मन्त्री ढकालले आगामी वैशाखमा हुने निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताउनुभएको हो।
“निर्धारित समयभित्रै निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधि सभा भंग गरेपछि आगामी निर्वाचन बैशाख १७ र २७ गतेका लागि तोकिएको छ।
त्यस्तै मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडिचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको पनि आरोप लगाउनुभएको छ।