मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जन्मभूमि (घाउ आँफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शुक्रबार, भदौ ३१, २०७९
  • 541
    SHARES

जन्मभूमि

आनन्द मानिसको एकमात्र चाहना हो । आनन्दका स्रोत र आनन्दिने विधि भने फरक होलान् तर मानिस सधैं आनन्द प्राप्तिको यात्रामा आनन्द भौंतारिइरहेको हुन्छ ।

जब म पूर्वतिरको यात्रा गर्छु, मेरो मनमा एक किसिमको आनन्द स्वतः भित्रिन्छ । धुलिखेलबाट जब पूर्व लाग्छु, अनुहारमा आएको उन्मुक्त खुसी जोसुकैले नियाल्न सक्छ । काशीखण्डबेसीबाट खरदारपाटी हुँदै कानपुर वा कटुन्जे हुँदै रोशी लाग्छु, अनुहारमा खुसीको सञ्चार हुन्छ, आनन्दको जरुवा फुट्छ । कानपुर मेरो जन्मस्थल अनि रोशी मेरो बाल्यकर्मस्थल ।

कसैमा स्वतः खुसीको अनुभूति किन हुन्छ ? जन्मभूमिमा के त्यस्तो ताकत छ र खुसीको जरुवा फुट्छ ? मलाई मात्र हो कि अरूलाई पनि ? मानिसहरूमा एकै मनोविज्ञान र आनन्द प्राप्तिको चाहना हुन्छ । उसो भए जन्मभूमि र व्यक्ति एकत्वको धागोमा कसिलोसँग बाँधिएका हुन्छन् ।
जन्मस्थानमा पुग्दा जोसुकै मान्छे पनि एकपटक पुनः बाल्यकालमा फर्किन्छ, बालसुलभ चञ्चलतामा उन्मुक्त हुन खोज्छ । प्रकृतिमा डुबुल्की मार्न, लडीबुडी गर्न र आफैंलाई भुल्न खोज्छ । त्यो प्रकृति र परिवेश उसैको हो– जहाँ रम्दा रमाउँदा कुनै वारबन्देज र सीमा रहँदैनन् । दुख, मृत्यु, पीडा, अभाव सबैबाट पर अनि आफैंबाट वेपर्वाह ।

जन्मस्थान अञ्जान बालकले चिनेको पहिलो भूमि हो । जन्मस्थानले मातृत्व दिएको हुन्छ । मातृत्व स्वतन्त्रता र खुसीको स्रोत हो । त्यसैले मातृभूमिप्रति जोसुकैको अगाध, स्निग्ध र अव्यक्त मायाप्रेम हुन्छ । आकर्षण र सम्बन्ध हुन्छ । जन्मभूमिबाट नै उसको पहिचान र व्यक्तित्व विस्तार हुन्छ अनि परसम्म फैलिन्छ ।

आमाको काखमा हामी पूर्णतः स्वतन्त्र हुन्छौं । स्वतन्त्रता र खुसीमाथि मातृत्वले बार लगाउँदैन । सम्पूर्ण आनन्द व्यक्तिको उन्मुक्ततामा हुन्छ । त्यसैले स्वतन्त्रता प्रकृति, मातृत्व अनि जन्मभूमि हो । जन्मभूमिबाट चाहेर पनि कोही अलग्गिन सक्तैन । जन्मस्थानका सजीव, निर्जीव, चराचर सबैसँग उसको नाता हुन्छ । त्यो नाता निश्छल र निःस्वार्थ हुन्छ । त्यो नातामा बन्धन र बार हुँदैन । त्यसैले जब रोशीखोलानजिक पुग्छु– म त्यसैत्यसै रमाउँछु । त्यो रमाइको ऊर्जा मनभित्रको कुनै तवरले, मस्तिष्कको अव्यक्त तहले र हृदयको ढुकढुकीले त्यत्तिकै उमारेको हुन्छ ।
जन्मभूमिको स्वत्वबोध खुसीको अजस्र स्रोत हो । हो– जन्मस्थानमा सुख, समृद्धि, वैभव र सुविधामा सीमितता थियो । समतल भूभाग र आधुनिक सुविधा थिएनन् तर त्यो खुसीको पौल हो ।

रोशीखोलको सङ्लो पानी तिमी मजस्तै सङ्लोे बन भन्छ । पानीको धारले माझिएका बगर र गेग्रानले तिमी यसैगरी माझिएर स्निग्ध बन भन्छ । खोलाकिनारका जलुको, बैंस र मोथेका झाङले समृद्धि, पहिचान र सत्कर्ममा लहलह बन र झाङ्गिए भन्छ । रोशीखोलामाथिको धारिलो धारेबाटोले तिमीप्रति धार देखाउनेहरूप्रति अर्चाप्पिय भन्छ । बहादुरे चौतारो र फूलपाती भन्ज्याङले मन बहलाउने चिसो हावामा उन्मुक्त हँुदै उद्देश्यको क्षितिजमा फराकिलो बन भन्छ । हो– मेरो मनभरि रोशीखोलादेखि कानपुर हुँदै तिमाल फूलपाती भञ्ज्याङसम्मको सरल रेखा कोरेको छ । रेखामा रहेका असङ्ख्य बिन्दु मेरा जीवनका मोड–घुम्ती, उत्साह, ऊर्जा, आकाङ्क्षा, आवेश र दुखसुखका अनुभूति हुन् । गाउँको चोखो प्रकृतिले हुर्काएको गाउँले केटो सहर बजारबाट बिटुलिनु हुँदैन । तिमी हाइब्रिड होइनौ, आनै मौलिकताको अर्गानिक चोखोपन देऊ भन्ने प्रेरणा दिन्छ । त्यसैले त्यो गाउँ मेरो र माटो मेरो मुटु हो । माटो र मुटु छुट्टिन सक्छ र ? जीवन रहेसम्म असम्भव !

निर्माण, परिश्रम र सङ्घर्षका कथा त आप्रवासनमा पनि भोग्न सकिन्छ, बसाइँसराइमा पनि भोग्न, गर्न सकिन्छ । भौतिक समृद्धिको अथाह पौल भेट्न सकिन्छ । रोजगारी, पैसा, पढाइ, परिश्रम त भोगाइका बाध्यता, जीवनका उपाय न भए जहाँ पनि पाउन सकिन्छ तर मेरो चार सय फाँटको खेतले परिश्रम यसरी गर कि मेहनतले सबै झारपात, उबडखाबड सबै निमिट्यान्न मिहिन बनाउँछ भनेर सिकाएको छ । अहा चार सयको रोपाइँ ! रोपाइँको हिलो छ्यापाछ्याप, पञ्चेबाजाको धुन र ब्याडको भकारीमा पैसा हाल्ने रमाइलो ! धान काट्ने दिनको रमाइलोमा रोशीखोलाले दिएको अकण्टक सुसेली गुञ्जन !

यी घटना र खेतीकिसानीले काम नै प्रेरणा हो– कर्म नै मनोरञ्जन हो भन्ने सिकायो । हातहरूले कर्म नगरे कुँजा हुन्छन् र कामबिनाको मन आलस्य र विकृतिको कारखाना हो भन्ने सिकायो । सलल्ल बगेको रोशीले समय बचत गर्न सक्दैनौ, बगेर खेर जाला, मजस्तै गतिशील बन भन्ने सिकायो । रोशीखोलामा मिसिने माकलखोला, क्यौरानीखोला र धार्सिङखोलाले ससाना कामपछि ठूलो उपलब्धि बन्छ, कर्मशील बन सफलता तिमीसँगै छ भनिरहेको छ, दुखमा पनि छङछङाऊ भनिरहेको छ । जब सम्झन्छु मेरो जन्मस्थान, मेरो मन कति चङ्गा हुन्छ । कुन शक्ति छ त्यो रोशीदेखि फुलपाती भञ्ज्याङसम्मको सम्झनामा ! किन मन त्यत्तिके फुरुङ्ग हुन्छ !

त्यो रोशीमा कति डुबुल्किएँ, कतिपटक लडायो, कति बगायो, घुमाउने (भुमरी) मा कति खाँद्यो पनि । कति डुबेर पानी ख्वाएको छ । गाउँबेसी गर्दा धारे र ओम्बोटेमा कति ढुन्मुनिए, पाइतालामा छुरो रगत पनि बग्यो, रातामाटो र सजिउनको चोपले रगत पुछें । पातलको रुखबाट कतिपटक लडें । जुकाले कति टोके । सिस्नोले कति पोल्यो कति, सर्प र बिच्छीले कति डसे, चितुवाले लघा¥यो पनि । गोठालो जाँदा टिमुर र ऐंसेलुको काँडाले कति कोप¥यो तर ज्यानै जानेगरी दुख दिएनन् । बरु सङ्घर्षका पृष्ठभूमिमा ती घटनाले शिक्षा र सीप दिन पुगे ।

आमाले गालामा चड्कन लगाउँदा माया मिसिएजस्तै ! त्यो रोशीको बगाइ क्रूर थिएन, मायाको थियो । पातालमा लड्नु, सर्पले र बिच्छीले डस्नु सबै सङ्घर्षका लागि बाह्रखरी थिए । तिनले ज्यान लिएनन्, जिउन सिकाए । जसरी आमा थप्पड दिँदै, गाला चड्काउँदै आना अबोध सन्तानलाई जीवनको शिक्षा दिइरहेकी हुन्छिन् । जन्मभूमि आमा हो । मैले शुभम् र सुव्रतलाई काखमा खेलाएझैँ कानपुर र रोशीले काखमा राखेर सुमसुम्यायो, पुलपुल्यायो । आमाको वक्षस्थल बिझाए पनि सिमलको भुवाझैँ नरम लाग्छ । आमाको चड्कन पनि माया मिसिएको हुन्छ ।

साथीसङ्गीको सङ्गत त सहरबजार, देशपरदेश जहाँ पनि छ तर जन्मभूमिको सङ्गत सम्झन्छु, कति चोखो र स्वच्छ थियो । साथीहरू निरक्षर थिए तर निश्छल र निःस्वार्थ । वाङ्गेल, विर्तान, चम्फा, कान्छा, पिङ्गाई, बाटुली, इनाम, काउचे, लाटो, ङेमा, उत्तम, बद्री, रामकृष्ण, बाले, अष्टमान, काजीमान, कालीदाश सबै निःस्वार्थ थिए, रोशीखोलाजस्तै स्वच्छ पनि । ईष्र्या र तँछाडमछाड होइन– हार्दिकता थियो । मन साटिन्थ्यो, मन पूरै उघारिन्थ्यो । झगडा गर्दा पनि मज्जाले कुस्ती खेलिन्थ्यो । थप्पड हान्दा पनि कानै रनक्क तात्ने गरी तर कपट, ईख, डाढ र ईष्र्या पटक्कै थिएन ।

सहरका साथीमा विद्वत्ता, सम्भ्रान्तता र वैभवता होला तर मेरो जन्मभूमिका दर्जनांै साथीमा रहेको शालीनता, स्वच्छता, विनय, संयम र चोखोपन काठमाडांै, न्युयोर्क, क्यालगेरी, टोकियो, लन्डन, पेरिसका साथीमा कहाँ पाउन सकिन्छ ? जागिरे र व्यापारी साथीमा कहाँ पाउन सकिन्छ र ? औपचारिकताले हार्दिकतालाई कसरी विस्थापन ग¥यो ! साथी त, मित्रता दुखको साथ हो । सहरले सुख र जन्मस्थानले दुखमा साथ दिन्छ । त्यसैले सिद्धार्थ गौतम पनि भिडभाडबाट अलग्गै सारनाथको जङ्गलतिर केही खोज्दै पुगेथे । हो– सबैलाई जन्मभूमिले सत्कर्म सिकाउँछ । शालीनता र स्वच्छता सिकाउँछ । धनी सहरमा परेकी चेली विपन्न माइतीमा पुग्दा मनैदेखि कति खुसी हुन्छिन् । खुसीको संस्कृति यसरी नै धानिने त हो !

मेरो जन्मस्थान साहित्य, संस्कृति र सङ्गीतको अजस्र खानी हो । पहरो, भिर, पातलका रुख र ठाडो खोलाका झरना मौलिक धुनका नाद गुञ्जाइरहेका हुन्छन् । सिरिर्र हावामा रूखका पात झ्याली र झ्याम्टाभैm सुरेलिन्छन् । घाँस, गोठाला र मेलापातमा गुञ्जने च्याङ्बा र मैच्याङका तामाङसेलो र ‘घाँसको डोकोमाथि..’ झ्याउरेले मौलिक सङ्गीतलाई जीवन्त पार्छ । पसिना पुछ्दै गाएका गीतले गीतसङ्गीत हृदयबाटै फुर्नुपर्छ भन्ने सन्देश दिएको छ । ‘लहरा पहरा लहरा पहरा छहराको देश’ मा सायद मेरै गाउँ उतारिएको छ ।

प्रकृतिको सङ्गीतमा हृदय पोखिएका गीत बजेका छन् । अरूको गायनमा रेमिक्स र ¥याप होइन– प्रकृति र पातलको गीतले मौलिकता बचाइरहेको छ । धन्य संस्कृति धान्ने मेरो जन्मस्थान ! निरक्षरहरू मेलापात र रोपाइँमा आनै मुनामदन र शाकुन्तलका महाकाव्य रचिएका छन् र श्रुतिमा नै जीवन पाएका छन् । थाङ्का र ॐ मणिपद्मे चौतारो र काकालिङभरि कोरिएका छन् । पुरस्कारको प्रतिस्पर्धा पनि छैन, श्रोता र दर्शकको वाहवाही पनि चाहिएन । विशुद्ध प्रकृतिको साहित्य मेरो रोशीखोला, मेरो कानपुर ! लाग्छ यो प्रकृतिको विशाल साहित्य सङ्गीत र कलाको सङ्ग्रहालय हो ।

जन्मभूमिको दसैं, तिहार, लक्ष्मीपूजा, भाइटीका, माघे संक्रान्ति, साउने संक्रान्ति पनि कति रमाइला ! बास्ना आउने नयाँ लुगा लगाएर लिङ्गे पिङमा मच्चिनुको मज्जै अर्को ! हजुरबुबाले लस्करै राखेर ‘आयुद्र्रोणसुते ….’ को श्लोकमा टीका लगाउँदाको मज्जा ! तिहारमा द्यौसी र भैलोमा रात बिताउँदा लाग्थ्यो तिहार सधैं आइरहोस् । मनका सम्झना कोट्याउँदा पनि कति आनन्द ! चाडपर्व त अहिले पनि छन्, टेलिभिजन र इन्टरनेटले द्यौसी, भैलो, टीका सबै देखाइदिएकै छ । जे चाहियो– त्यही खोज्न गुगल अगि सरिहाल्छ एक औंलो थिचेको भरमा तर जन्मभूमि, बाल्यकालका साथीसँगाती र आमा नभएको चाड के चाड ? हतारो र औपचारिकतामा मन खुम्च्याएर मनाएको चाड पनि केको चाड !
जन्मभूमिले दिँदैन, सिकाउने हो ।

मेरो जन्मभूमिले मलाई थुप्रै सिकायो । सरल बन्न सिकायो, सङ्घर्ष गर्न सिकायो । संयमित र विनयी बन्न सिकायो, हार्दिकताको सम्बन्ध सिकायो, सत्कर्म र सदाचार सिकायो । माया र मर्यादा सिकायो । मनभरि वेदना हुँदा पनि फिस्स हाँस्न सिकायो । सहयोग गर्न सिकायो । हो– विवशतामा जन्मभूमिबाट टाढिएको छु । जब हामी बसाइँ सर्दै थियौं, मेरो मन दगल्चिएर आँखा टल्पलाएका थिए । दुई थोपा आँसु मेरै जन्मभूमिमा टपक्क खसेको भए मन कति हलुका हुन्थ्यो होला ! तर जन्मभूमिले त्यो भार पनि लिन चाहिनन् । त्यसैले म आजसम्म जन्मभूमि आमालाई नै सम्झिएर पटकपटक अश्रुभावमा गगल्चिएको छु । मेरो रोशीमाथि आधुनिकताले अतिक्रमण नगरोस्, मेरो कानपुर विकासका नाममा विकृत नबनोस् र मेरो तिमाल, थामपरी डाँडा सबैले मौलिक धरोहरमा सभ्यता बचाइरहून् ।

दुख, पीर, छटपटी र पीडाका अनुभूति मनभरि खातिंदा म मेरै जन्मभूमि कानपुर र सङ्घर्ष सिकाउने रोशीतिर फर्केर हेर्छु । आमा र जन्मभूमिका बिम्ब मनभरि उतार्छु र मन शान्त पार्छु । धन्य मेरो जन्मभूमि ! जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि ।

-गोपी मैनाली 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }