त्याे एकदिन
झोक्राएर बसेको छोरालाई देखेर आमाले टाउको सुमसुमाउदै भनिन,”नुन खाएको कुखुरा झै किन झोक्राएको” ? ऊ झसङ्ग झस्कियो । लाग्थ्यो ऊ गहिरो शाेँचकाे निन्द्रामा थियो । उसले निरास हुँदै भन्यो ,”के गर्ने आमा ? दसा लागेर उद्योगमा हात हालिएछ”। किन र बाबु के भयो र ? आमाले सोधिन । “आमा र धर्तीआमा एउटै हुन् ! यही देशमै केही गर्छु भनी ऋणधन गरी उद्योग खोले तर” ….। आमाले भनिन, “सबै ठिकै त छ नि “। उसले भन्यो,”हेर्दा त ठिकै छ नि आमा तर सबै डुबी सक्यो” । ठट्यौली पारामा आमाले भनिन,न बाढी,न पहिरो कसरी डुब्छ ? बिना सित्तिका कुरा गर्छ यो ।
“नबुझे जस्तो न गर्नु न आमा । यो देशको निती, मझौला र साना उद्योगलाई डुबाउने नै छ । न मूल्य छ उत्पादनको, न बजार छ, केवल तनाव हजार छ । आयातित वस्तुले बजार ढाक्छ ।भारत र ठुला व्यापारीलाई तीन रूपैयामा बिजुली बेच्ने सरकार हामीलाई एघार रूपैया ठटाउँछ । हरेक ठाँउमा कर्मचारीलाई दान दिनुपर्छ, राज्यलाई कर तिर्नुपर्छ, मजदुरलाई तलब दिनुपर्छ, नेतालाई चन्दा दिनुपर्छ, कार्यकर्तालाई चुनाबमा मासुभात दिनुपर्छ, पुलिसलाई तेल दिनुपर्छ अनि कसरी उभो लाग्छ र उद्योग चल्छ ?
उद्योगपति त भइयो आमा तर अहिले गलाको हाँड भएको छ । उसको निरासालाई आशामा बदल्न कोशिस गर्दै आमाले भनिन ,”आत्तिनु हुँदैन बाबु जहाँज डुबेको छैन । यो देशकै बिडम्बना हो। यहाँ क ग्रेडका युवा अमेरीका र युरोपले लान्छ । ख ग्रेडका युवा कर्मचारीतन्त्रमा छन्। ग ग्रेडका जति खाडी मुलुकमा र घ ग्रेडका जति राजनीतिक नेतृत्वमा अनि अप्ठेरो त हुने नै भयो नि । घ ग्रेडकाले ग ग्रेडकोले भित्राएको रेमिट्यान्सले देश हाक्दा धङ्धङी भएको हो । नलडाेस देश ! देश दुख्दा मन जल्नु राम्रै हो तर पनि धन्दा नमान। स्वास छउन्जेल आश मार्नु हुन्न । एकदिन सब ठिक हुन्छ ।
उसले बिचैमा कुरा काट्यो । हैन आमा कसरी ठिक हुन्छ ? शिक्षाका नाममा, राेजगारीका नाममा, डि.भी र पी.आरका नाममा, औद्योगिक सामान आयातका नाममा, खाद्यान्न, कच्चा सामान, सियो देखि मियो सम्म भित्राउदा देश कङ्गाल हुने भयो। खै कहिले आत्म निर्भल बन्ला र? त्यो दिन कहिले आउला ?
आमाले सान्त्वना दिदै भनिन, भाङ् खानु, धतुरो खानु तर हरेस नखानु । आमाको कुरा सुनेपछि ऊ जुरूक्क उठ्यो र हिड्यो । छोरोलाई खाना खुवाउन कुरिरहेकी आमा अर्धचेतमा बर्बराउदै भनिन,” बाबु मैले त अझै हरेस खाएकी छैन । तिमी किन ? सबै कुरा एकदिन ठिक भइहाल्छ नि “। छोराको फोटामा हेर्दै आँखाबाट आँशु चुहाइरहेकी आमाले कुरिरहेकी थिइन ,छोरा फर्कने र सबै ठिक हुने त्यो एकदिन —-!
-गाेपीराम भण्डारी ‘बटुवा’