शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

माधव बुबाको सम्मानमा श्रद्धाञ्जलि-सभा


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ४, २०७९
  • 625
    SHARES

काठमाडौं

शङ्कराचार्य मठ , पशुपतिपराङ्गणमा महेश छात्रपरिषद्द्वारा श्रद्धाञ्जलि सभा समायोजन गरियो। १९९४ सालमा ललितपुर जाउलाखेलमा जन्म लिई गुरुकुलको पुनर्जागरण अभियानमा समर्पित कर्मयोगी तथा नेपालको शैक्षिक धरोहर महेश संस्कृत गुरुकुलका संस्थापक सचिव श्रीमाधवप्रसाद पौडेलज्यूको यही मिति ०७९/०५/२१ गते हरिपरिवर्तिनी एकादशी तिथिमा ८६ पर्षको उमेरमा पाञ्चभौतिक अवसान भएको थियो।

उहाँको असामयिक दिवङ्गतिले शोकसन्तप्त रहेको महेश संस्कृत गुरुकुल अन्तर्गतको महेश छात्रपरिषद काठमाडौँले आयोजना गरेको सो शोकसभामा गुरुकुलका शिष्यगण, गुरुजन र भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। उक्त श्रद्धासमर्पण समारोहको अध्यक्षता महेशछात्र परिषद्का संरक्षक तथा महेश संस्कृत गुरुकुलका पूज्यपाद गुरु, ब्रह्मलीन स्वामी डा रामानन्द गिरिज्यूका प्रथम दीक्षित शिष्य श्री १००८ स्वामी मधुसूदनानन्द गिरिज्यूले गर्नु भएको थियो।

त्यसैगरी उक्त सभामा महेश संस्कृत गुरुकुलका पीठाधीश श्री१००८ स्वामी रमणानन्द गिरिज्यू, महेश संस्कृत गुरुकुलका पूर्व प्रधानाचार्य तथा मठाधीश श्री १००८ स्वामी केशवानन्द गिरि (डा के एन स्वामी) , रामानन्द गिरिज्यूका अनन्य अन्तरङ्ग तथा पूज्य स्वामी गौरव पुरी महाराज , स्वामी ईश्वरानन्द गिरि, महेश छात्र परिषदका संस्थापक अध्यक्ष श्रीउमेशप्रसाद घिमिरे, महेश संस्कृत गुरुकुल प्रवर्धन समाजका संस्थापक अध्यक्ष पं श्रीकपिलदेव सुवेदी, महेश आश्रमका अनन्य भक्त तथा गुरुजीका शिष्य श्रीकेदार विष्ट, गुरुकुलका हितैषी तथा गुरुज्यूका प्रिय शिष्य दीपक रिमाल, स्वामीज्यूका अन्तरङ्ग रामप्रसाद भण्डारी, ब्रह्मलीन बुबाका सुपुत्र सञ्जित पौडेल लगायत समस्त पौडेल परिवारको विशेष उपस्थिति रहेको उक्त श्रद्धाञ्जलि सभा कवितामय र शोकमय बनेको थियो।

देवघाटधामस्थित महेश संस्कृत गुरुकुलका संस्थापक सचिव श्री माधवप्रसाद पौडेलको स्मृतिमा आयोजना गरिएको श्रद्धाञ्जलि सभामा गुरुकुलका शुभेच्छुक एवम् भक्तजनले वाक्पुष्य श्रद्धासुमन समर्पण गरेका थिए। कार्यक्रमको सुरुवातमा महेश छात्र परिषद्क अध्यक्ष उमेशप्रसाद घिमिरेले कार्यक्रम आय‍ोजनको सन्दर्भ प्रकाशका लागि भावविह्वल हुँदै उपक्रमात्मक स्वागत मन्तव्य राख्ने क्रममा गुरुकुलको स्थापना र विकासमा माधव बुबाले पुर्याउनु भएको योगदानलाई स्मरण गर्दै गुरुकुल रहेसम्म उहाँ अमर रहने विचार राख्नु भएको थिय‍ो ।´कीतिर्यस्य स जीवति` जसले कीर्ति राख्न सक्छ त्यो व्यक्ति सर्वदैव जीवित रहन्छ ।

हामी सबैका अभिभावक!आस्थेय, श्रद्धेय, वन्दनीय पिता माधव बुबाप्रति हामी सबै छोराहरूका तर्फबाट श्रद्धासुमन समर्पण! हामीले एक कर्मठ पुरुषार्थी तथा कर्मयोगीलाई गुमाएका छौँ। सिङ्गो गुरुकुल परिवारले आज टुहुरो भएको अनुभव गरेको छ। हामी त बुबाप्रति यो जीवनमा मात्र होइन कयौँ जुनीसम्म पनि ऋणी बनेका छौँ। जसको साथ र गाथ पाएर स्वामीज्यूलाई महेश आश्रम र महेश संस्कृत गुरुकुल स्थापना र सञ्चालन गर्न सफलता मिल्यो।

जसरी ज्ञानेन्द्रिय र कर्मेन्द्रियको सम्मिलनले हाम्रो जीवन चल्छ र सार्थक बन्छ त्यसैगरी ज्ञानयोगी गुरुज्यू र कर्मयोगी माधव बुबाको संयोजनले नै महेश संस्कृत गुरुकुल ठडिएको ह‍ो र देशदेशान्तरसम्म गुरुकुलको सुवास फैलिएको हो। महेश संस्कृत गुरुकुलरूपी बगैँचा निर्माण गरी आजीवन त्यसै फूलबारीको कुशल माली बनेर त्यसैको गोडमेल र स्याहार सुसारमा आफ्नो शक्ति खर्चनु भयो। एउटा गृहस्थ जीवनलाई सही सदुपयोग गरेर सार्थक तुल्याउन सक्नु भयो र धेरै रिटायर/निवृत्त जीवन तथा जीवनको उत्तरार्धलाई कसरी सदुपयोग र सार्थक बनाउन सकिन्छ भन्ने सिक्न चाहने विवेकीजनका लागि प्रेरणाका स्रोत तथा बृहत् पुस्कालय नै बन्न सक्नु भयो।

आज भौतिकरूपमा हाम्रा सामु नभए पनि उहाँले जीवनमा महेश संस्कृत गुरुकुललाई बनाउन गर्नुभएको त्याग, तपस्या र समर्पणले गर्दा उहाँ हजारौँ वर्ष सम्म पनि नेपाल तथा पौरस्त्य गुरुकुलपरम्पराको इतिहासमा सर्वदैव अनन्त कालसम्म अमर रहनु हुनेछ। महेश संस्कृत गुरुकुल प्राङ्गणको माटो, आश्रमका भवनमा जोडिएका इँट्टा-बालुवा र गिट्टीमा समेत देखिरहनु हुनेछ र हामी सबै छोराहरूको अन्तर्हृदयमा बसी हामीलाई जीवनमा प्रगति गर्न निरन्तर उत्साह र प्रेरणा प्रदान गरिरहनु हुनेछ।“ भन्ने विचार समुपस्थापनपूर्वक दिवङ्गत माधव पौडेल बुबाप्रति श्रद्धामय वाक्कुसुम समर्पण गर्नुभएको थियो र उहाँको मन्तव्यले पूर्ण सभा नै भावविह्वल बनेको थियो। त्यस्तै:
´जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति।
अन्नदाता भयत्राता पञ्चैते पितर: स्मृता:।`

शास्त्रमा वर्णित शरीरको जनक हुनुबाहेक बाहेक सबै लक्षणघटित पिता हुनु भएका महेश गुरुकुलका सबै छात्रका सच्चा पिता माधवबुबाप्रति शिवसायुज्यको प्रार्थनासहित श्रद्धा अर्पण गर्नु भएको थियो।

श्रद्धाञ्जलि सभामा महेश छात्रपरिषदका सदस्य तथा नेपाली साहित्यका समसामयिक स्थापित स्रष्टा कवि नगाधिराज, कवि तथा गजलकार भीमप्रसाद खतिवडा, कवि शालिकराम ढकाल, स्थापित व्यङ्ग्य लेखक चिरञ्जीवी ढकाल, कवि रमण स्वामी र कवि केएन स्वामी लगायतले माधवबुबाको महनीय योगदानलाई विषयवस्तु बनाई छन्दोबद्ध कविताहरू सुनाउनु भएको थियो। लयात्मक कविता वाचनले सभालाई थप भावात्मक तथा शोकात्मक बनाउन अनि ब्रह्मलीन माधवप्रसाद पौडेलको योगदानलाई स्मरणात्मक र स्तुत्यात्मक बनाउन उल्लेख्य सहयोग पुर्याएको थियो।

सो सभामा महेश छात्र परिषद्का अन्य विद्यार्थी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि एवं महेश संस्कृत गुरुकुलका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले व्यक्तिप्रतिमात्र नभई गुरुकुल उत्थानमार्फत चेतनाको विकास गर्ने अभियानमा समर्पित सच्चा कर्मयोगी तथा गृहस्थ सन्तका रूपमा माधव बुबालाई स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । साथमा उहाँले पञ्चचामर छन्दमा विरचित बुबाको योगदानको प्रशंसात्मक तथा स्मरणात्मक कविता समेत वाचन गर्नु भएको थियो ।

छात्र समुदायका बिच ‘माधब बुबाको नामले लोकप्रिय माधवप्रसाद पौडेलले देवघाटधाममा महेश संस्कृत गुरुकुलको स्थापना कार्यमा ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिजीलाई सुरुवातदेखि नै साथ दिनुभएको , सुरुवातमा देवघाटमा जग्गा किन्ने प्रक्रियादेखि गुरुकुलका सम्पूर्ण निर्माण एवं व्यवस्थापनमा अहोरात्र योगदान दिनुभएका बुबा माधवप्रसाद पौडेलको देहावसानबाट आफू अत्यन्त मर्माहत भएको भन्दै डा केशवानन्द स्वामीज्यूले गुरुकुल अभियन्ता तथा धर्मप्राण माधवबुबाप्रति श्रद्धाभाव प्रकट गर्नुभएको थियो र पञ्चामर छन्दमा विलिखित कविताका माध्यमबाट बुबाको प्रशंसा गर्नु भएको थियो।

निवृत्त जीवनलाई सदुपयोग गर्दै वैदिक सनातन धर्म-संस्कृति एवं संस्कृत शिक्षाको संवर्धनार्थ अहोरात्र खटिने उहाँको जीवनवृत्तको सबै वक्ताले खुलेर प्रशंसा गरेका थिए । गुरुकुलका छात्रहरूले आफ्नो जन्म अरू कसैले दिए पनि माधव बुबाले नै आफ्ना पिताको धर्म निर्वाह गर्नुभएको भनी उहाँमाथि भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए । सभामा उहाँमाथि धेरैले पद्यात्मक तथा केहीले गद्यात्मक श्रद्धाञ्जलि अर्पण गरेका थिए। सभामा बोल्ने वक्ताहरूले माधव बुबाको निवृत्त जीवन सबै नै सेवानिवृत्त कर्मचारीहरूका लागि अनुकरणीय प्रकृतिको रहेको समेत बताएका थिए।

२०४८ सालमा सरकारी सेवाबाट निवृत्त हुनुभएका माधव बुबाले आफ्नै पैसाले देवघाटधाममा २०५०सालमा ३ र‍ोपनी जग्गा खरिद गरी महेश सन्न्यास आश्रम तथा डा स्वामी रामानन्द गुरुज्यूको अभियानको सूत्रपात गर्नु भएको वस्तुसत्यलाई स्मरणपूर्वक माधव बुबाको सत्कर्मको अनुसरण गर्नु तथा उहाँद्वारा स्थापित महेश संस्कृत गुरुकुलको समुन्नतिमा योगदान दिनु नै उहाँप्रतिको सच्चा श्रद्धा हुने धारणा प्रस्तुतिपूर्वक महेश संस्कृत गुरुकुलका संरक्षक तथा आध्यात्मिक क्षेत्रका तपोनिष्ठ यति मधुसूदनान्द गिरिज्यूले सभाको समापन गर्नु भएको थियो। उक्त श्रद्धाञ्जलि सभाको सहजीकरण तथा उद्घोषण महेश छात्र परिषद्का सदस्य तथा गुरुकुलका पूर्वआचार्य पर्वतराज घिमिरेले गर्नु भएको थियो ।

समग्रमा माधव बुबाको समग्र पोडेल परिवारदेखि महेश संस्कृत गुरुकुलपरिवार, समस्त भक्त समुदायदेखि छात्रपरिवार अनि कविजन देखि सन्तसमाजसम्म समुपस्थित भएको यस श्रद्धाञ्जलि सभा सभ्य र गरिमामय रहेको आयोजक संस्था महेश गुरुकुलका पूर्वछात्र तथा महेश छात्र परिषद्का संस्थापक अध्यक्ष उपप्राध्यापक उमेशप्रसाद घिमिरेले टिप्पणी गर्नुभयो ।

May be an image of 1 person

May be an image of 3 people, people standing and indoor

May be an image of 1 person, sitting and standing

May be an image of 2 people, people sitting and indoor

May be an image of 4 people, beard, people sitting and people standing

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }