
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहनु भएका उहाँले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गर्नु भयो । कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेपनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको उहाँको भनाई थियो ।
काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरी खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । स्थानीय सरकारको तयारीको बारेमा हामीले हे¥र्यौ भने, प्राथमिकताका सन्दर्भमा हामीले हे¥यौं भने अथवा यत्रो ठूलो प्रकोपको रुपमा आईसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन ।
हामीसँग रातारात आपतकालिन समयमा काम गर्ने संरचनाहरु छ कि छैन ? यो काठमाडौंमा मात्रै सीमित भएको कुरा देशभर फैल्ने क्रममा जुन छ । कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो । कोभिड लगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरुको निर्माणमा खासै चासो दिएका देखिएन वा सिक्न चाहेन ।
महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्नेमा जोड दिनु भयो ।