
काठमाडौँ, ५ असोज । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो ।
आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाई छ । आगलागी नियन्त्रणमा लिएपनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्दारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीयबासीका साथै वारुण यन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।