बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 153
    SHARES

चितवन, १० असोज । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ । बर्सेनि पहिराेले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जनभन्दा पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा गाडी चालक र यात्रुले निकै समस्या झेल्नुपर्यो ।

गएकाे जेठ महिनायता मात्रै यो सडक खण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा यस सडक खण्डमा साना–ठूला पहिरो खसेका छन् । पृथ्वी राजमार्गको चितवन खण्डमा (मुग्लिन मौवाखोल) मा पर्ने घोप्टे भिरमा पनि दुई/तीन पटक पहिरो खसेको उहाँले बताउनुभयो ।

‘पहिरोका कारण कति रात सडकमा बिताएका छौँ, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो’, ‘पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ ।’ उहाँले सडक खण्डको भौगोलिक अवस्था र जनशक्तिको कमिका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभयो ।

‘जिल्लाभर ६० जना ट्राफिक प्रहरीको दरबन्दी हो, प्रायजसाे समय पहिराेका कारण हुने ट्राफिक समस्या समाधानमै केन्द्रित गर्नुपरेको छ’, उहाँले भन्नुभयो । अधिकारीले नारायणगढ–मुग्लिन सडककै कारण जिल्लाको अन्य क्षेत्रमा ट्रफिक व्यवस्थापन र जनचेतनाका काम गर्न नपाइएको गुनासो गर्नुभयो । उहाँले सडक खण्डमा पहिरो नआउनका लागि दीर्घकालीनरुपमा समाधान खोजिनुपर्ने बताउनुभयो ।

सडक खण्डअन्तर्गत गएकाे वर्ष २० किलो र सेतीदोभानमा बढी पहिरो खसेको थियो तर यस वर्ष भरतपुर–२९ को केराबारीमा रहेकाे मौरी पुल र १८ किलोमा बढी पहिरो खस्यो । यसबाहेक अन्य ठाउँमा छिटफुटरुपमा पहिरो खस्ने गरेको छ ।

सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण १८ किलोमा निरन्तर पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताउनुभयो । उहाँले मौरी पुलमा भौगोलिक बनावट र शाखा बाटोकै कारण ठूलो पानी पर्नासाथ पहिरो खस्ने गरेको जानकारी दिनुभयो ।

मौरी खोलाले बगाएर ल्याएको ढुङ्गा–माटो जम्मा भएकाले पनि समस्या भएको उहाँको भनाइ छ । ‘खोलाको ढुङ्गा–माटो समयमै उठाउन सकिएको भए समस्या कम हुने थियो । दुई पुलमध्ये एउटा पुल पुरिएको छ। पानी आउनासाथ लेदो बगेर सडक पुरिहाल्छ’, उहाँले भन्नुभयो ।

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो पन्छाउनकै लागि २० किलोमा एउटा लोडर र जेसिभी, मौरी पुलमा चेन भएको स्काभेटर, मुग्लिनमा एउटा लोडर र फिस्लिङमा एउटा लोडर तयारी अवस्थामा राखिएको छ । जुगेडीदेखि मौवाखोलासम्मको सडकका लागि सडक डिभिजन कार्यालय भरतपुरले सबै स्रोतसाधन तयारी अवस्थामा राख्ने गरेको जनाएको छ ।

सडक खण्डमा पहिरो रोकथामका लागि भन्दै विभिन्न काम गरिए पनि प्रभावकारी बन्न सकेका छ्रैनन् । इन्जिनियर कार्कीले कार्यालयको बजेट र क्षमताअनुसार पहिरो रोकथामका लागि काम गरिरहेको बताउनुभयो। उहाँले यसको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन र काम गर्नुपर्ने भन्दै त्यसका लागि धेरै बजेट आवश्यक पर्ने बताउनुभयो । उहाँले सडक खण्डको अवस्था र गर्नुपर्ने कामका विषयमा सडक विभाग पनि जानकार रहेको बताउनुभयो ।

पछिल्लो समय आइतवार पनि याे सडक खण्डमा पहिरो जाँदा केहीबेर सडक अवरुद्ध भएको थियो । यस वर्ष असोजको दोस्रो हप्तासम्म पनि पानी परिरहेको छ । यस वर्ष चाडवाडको समयमा पहिराेले दुःख दिने होकी भन्ने चिन्ता थपिएको गाडी चालक रोशन गुरुङ बताउनुहुन्छ । नारायणगढदेखि काठमाण्डौसम्म दैनिक माइक्रो चलाउने उहाँ पानी पर्नासाथ नारायणगढ–मुलिन सडकको जाममा परिन्छ कि भन्ने चिन्ता हुने गरेको बताउनुभयो ।

सडक खण्डका दर्जनभन्दा बढी पहिराेको जोखिम ठाउँ रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिचान गरिसकेको छ । काठमाण्डाै प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजारभन्दा बढी गाडी आवागमन गर्ने गर्दछन् । सडक पुनःनिर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम भएका क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई दुई अर्ब ९० करोड खर्चभन्दा गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । त्यही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । प्रायजसाे ठाउँमा भित्तो काटिएको थियो । यसमध्ये सात ठाउँमा पहिरो रोक्ने काम गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }