बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, बिजुली खेर जाने अवस्थाकाे अन्त्य


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 171
    SHARES

काठमाडौ, १३ असोज । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।

रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गर्ज्याङबाट सुरु भइ दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका १३ साँखे (फुलासी) मा रहेकाे नयाँ खिम्ती सबस्टेशनमा टुङ्गिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । प्रसारण लाइनका लागि एक सय पाँच वटा टावर निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत गर्ज्याङमा १३२ केभीको नयाँ सबस्टेशन र नयाँ खिम्ती सबस्टेशनमा १३२ केभीको बे निर्माण गरिएको छ । गर्ज्याङ सबस्टेशनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी ६/८ एमभीए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मरहरू जडान गरिएको छ । गर्ज्याङ सबस्टेशनबाटै स्थानीयरूपमा बिजुली दिइने भएकोले त्यस क्षेत्रको बिजुली आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने छ ।

प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न भएपछि झन्डै दुई सय मेगावाट बिजुली प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘स्थानीयवासीको अवरोधलगायतका कारणले समस्यामा परेको प्रसारण लाइनको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन (चार्ज) मा ल्याउन परीक्षणका कामहरू भइरहेका छन्’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अहिले १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वैकल्पिक व्यवस्था गरी जोडिएको छ, अब ती आयोजनाहरूको बिजुली गर्ज्याङ– खिम्ती प्रसारण लाइनमा जोडिन्छ, अब प्रसारण पूर्वाधार अभावमा बिजुली खेर जाने अवस्थाको अन्त्य भएको छ ।’

स्थानीयवासीको अवरोधका कारण गर्ज्याङ–खिम्ती निर्माणमा केही ढिला हुने देखिएपछि २०७९ वैशाख १५ गतेदेखि वैकल्पिक व्यवस्थामार्फत उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली गर्ज्याङ सबस्टेशनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेशनमा जोडिएको छ । जिरी सबस्टेशनबाट चरिकोटमा रहेकाे मकैबारी सबस्टेशन हुँदै सिङ्गटी सबस्टेशनमार्फत बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ ।

गर्ज्याङ–खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगङ्गा गाउँपालिकामा रहेकाे ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही ठाउँमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दे प्रसारण लाइनको तार तान्न दिएका थिएनन् ।

स्थानीयवासीसँगको छलफल, पालिका तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापनलगायतको निरन्तर पहल, प्रयास र सहयोगमा प्रसारण लाइन निर्माणमा रहेको अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतले बताउनुभयो ।

आयोजना प्रारम्भिक काम आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको थियो भने निर्माणका लागि पिङगाओ ग्रुप कम्पनी चीनसँग २०७३ माघमा ठेक्का सम्झौता भएको थियो । उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो आयोजनाकाे प्रवर्द्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवर्द्धहरू सम्बद्ध फ्रेन्डशिप इन्जिनियरिङले सब–कन्ट्र्याकमा काम लिएको थियो । तर कोभिड–१९ महामारी, समयमा निर्माण उपकरणहरू आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयवासीको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।

अनुमानित लागत दुई करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजनाअन्तर्गत नयाँ खिम्ती सबस्टेशनमा २२०/१३२/३३, २०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिने छ । नयाँ खिम्ती सबस्टेशनको क्षमता अपुग हुने भएकोले क्षमता विस्तार गर्न लागिएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी सबस्टेशनमा अहिले १०० एमभीएको पावर ट्रान्सफर्मर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }