शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चियापान कार्यक्रममा नेताहरूको प्रतिक्रिया : कांग्रेसभित्र राजा जन्मिए


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 325
    SHARES

काठमाडौ, १३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गर्नुभएको छ ।

आज बिहीवार काठमाण्डाैमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै केन्द्रीय सदस्य केसीद्ये यस्तो बताउनुभएको हो । उहाँले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्याङ्कन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिनुभयो । उहाँले आउँदाे चुनावका लागि उम्मेदवार छनोटमा सही मूल्याङ्कन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको अन्तिम टुङ्गो सायद हुँदैछ । गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई सङ्गठित र सहमतिपूर्ण निष्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामीभित्र नै सही मूल्याङ्कन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ । अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ ।’

नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता खेमराज केसीले समानुपातिकतर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अझै पनि सूची संशोधन गरी समानरूपमा टिकट वितरण गर्नसके नेपाली कांग्रेसले आउँदाे चुनावबाट दुई तिहाइको सरकार बनाउन सम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई तिहाइ आउन नेपाली कांग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ, टिकट वितरण गर्ने प्रणालीमा निष्ठावान्, त्यागी र ज्येष्ठ सदस्यहरू जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, ती मानिसलाई टिकट दिएको खण्डमा यो सम्भव छ । टिकट दिँदा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहनरूपमा वितरण गर्नुपर्छ ।’

कांग्रेस नेता धर्म परियारले पार्टीले केन्द्रमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझै पनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गर्नुभयो । उहाँले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आउँदाे चुनावमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ । दुई जना पुरुष, दुई जना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामीजस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ । केन्द्रमा केपी ओलीलाई गाली गर्ने तर जिल्ला–जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन । हामीले सच्चिनुपर्छ । टिकट दिँदा समानुपातिक हुनुपर्छ । प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरूको त्याग, मेहनत होला तर यसले राम्रो सन्देश दिँदैन । राजाको विरोध गरिरहँदा कांग्रेसभित्रै राजा त भएका होइनन् ? नेपाली कांग्रेस २५ सिटमा सीमित हुने त होइन ? त्यस कारण नेता सच्चिनुपर्छ ।’

कांग्रेस नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढङ्गले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाउनुभयो । उहाँले यसरी पार्टीभित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैरजिम्मेवारी भएको बताउनुभयो । पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए विद्रोहको विकल्प नभएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढङ्गले आफूसँग नजिक हुनेलाई, अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिइएको छ । यो गैरजिम्मेवार छ । यो पार्टीको हितमा छैन । यो सूचीबाट धेरै जनप्रिय मान्छेहरू छुट्नुभएको छ । लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक व्यवहार भइरहेको छ । निरङ्कुश व्यवहार भएको छ ।’

कांग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भए पनि पार्टीभित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताउनुभयो । उहाँले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताउनुभयो । उहाँले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ । राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो । मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन । सभापतिज्यूले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ, भएन भने बाँकी निर्णय हुन्छ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ ।’

त्यस्तै कांग्रेस नेता अजयबाबु शिवाकोटीले समानुपातिकतर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरू पनि विरोधमा गएको दाबी गर्नुभयो । उहाँले समानुपातिकतर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताउनुभयो ।

बिहीवार काठमाण्डाैमा रहेकाे एक होटलमा कोइराला पक्षधरका नेताहरूले चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए । चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारीलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }