शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रम देउवा


  • माउन्टेन खबर
  • बुधबार, अशोज १९, २०७९
  • 221
    SHARES

काठमाडौँ, १९ असोज 

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्याउनुभएको छ ।

नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ । आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताउनुभएको छ । साथै उहाँले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन हामीलाई प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गर्नुभएको छ ।

असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचार र सद्व्यवहारको विजयको पर्वका रूपमा मनाइने यो चाड नेपालीहरूबीच सांस्कृतिक एकता र सद्भाव प्रवद्र्धन गर्ने विशिष्ट पर्वको रूपमा परापूर्वकालदेखि मनाउँदै आइएको छ । दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली जनताबीच पारस्परिक प्रेम, स्नेह, सद्भाव, भातृत्व, एकता र सहयोगी भावनालाई निरन्तर अघि बढाउन विशिष्ट योगदान पुयाउँदै आएको उहाँले बताउनुभएको छ ।

“बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक नेपालका सबै जाति र समुदायको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ तुल्याउन सरकार प्रतिवद्ध छ । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकासबाट मुलुकको राष्ट्रिय एकता थप मजबुत हुन्छ” प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । दसैँलगत्तै तिहार, नेपाल संवत्, छठ र ल्होसार जस्ता अरू महत्वपूर्ण सांस्कृतिक, धार्मिक पर्वहरू पनि मनाइने क्रममा छन् ।

उहाँले कोभिड– १९ को सङ्क्रमण कायमै रहेको र डेङ्गुको प्रकोप बढ्दै गइरहेको वर्तमान सन्दर्भमा स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूलाई समेत पालना गर्दै आवश्यक सजगता र सतर्कतासहित चाडपर्वहरू मनाउन सबैलाई अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यसवर्षको बडादसैँले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन तथा सत्य र न्यायको मार्गमा अविचलित रूपमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् भन्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }