पूजा
ॐ अग्निमीले पुरोहितं यज्ञस्य देवमृत्विजम् । होतारं रत्नं घातमम् । ऋग्वेदको मन्त्र उच्चारणबाट पूजाकार्य सुरु गरेका व्राह्मणले कर्ताहरुलाई फूल अक्षता हातमा लिएर श्रद्धापूर्वक नमस्कार गर्न लगाए ।
उनले अगाडि थपे “ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवद्र्धनम् । उर्बारुकमिव बन्धनान्मृत्यो मुर्क्षीयमाऽमृताम् । “सकेसम्म शुद्धतापुर्बक फूल,फल र अक्षता चढाउनुहोस्” । कर्ता मध्येका एक पुरूषले प्रश्न गरे “उच्चारण शुद्ध कि? मन शुद्ध गुरू ?” व्राह्मणले भने ,“तन,मन र बचन सबै शुद्ध हुनु जरूरी छ”। पूजा चलिरहेकै बेला महिला कर्ता पूजास्थानबाट “एकैछिन” भन्दै हराइन । केही क्षणमै असिना-पसिना हुँदै ढोकाबाट कर्ता बसेका श्रीमानलाई बोलाउदै भनिन, “ए बुढा ! एता आउनुस् । बित्यासै भो क्या ! ” बुढी छेँउ पुगेका बुढाकाे कानमा खुसुक्क भनिन, “म त मरिहाले नि! पर्सी हुनुपर्ने अहिले नै भयो । अब कसरी पुजा गर्ने” । बुढाले भने “ला बर्बात भयो, अब के गर्ने? अनिष्ट त हुँदैन ?”
गुरूलाई सोध्छु, तँ यतै बस छुइछुत नगर नि । ऊ बाहुन भएतिर गयो र बाहुनको कानमा खुसुक्क भन्यो । बाहुनले भने “त्यो प्राकृतिक कुरा हो शास्त्रमा कतै अशुद्ध भनेको छैन, बरू त्यो अवस्था संवेदनशील भनेको छ। त्यसैले यस्ता कुराले पूजा, श्रद्धा र धर्ममा कुनै असर गर्दैन ।
तपाईहरूको मन शान्तिको लागि एउटा विधी गरौ । म मन्त्र उच्चारण गर्छु तपाईहरू सबैले होम हाल्नुस् । गुरूद्वारा मन्त्र उच्चारण सुरू भयो ॐ महिनाबारी बार्ने प्रथा–स्वाँहा, छुवाछत प्रथा–स्वाँहा, भेदभाव–स्वाँहा, अमानवीयता–स्वाँहा, विभेद–स्वाँहा, दुराचार–अत्याचार–स्वाँहा, …….स्वाँहा, क्रमशः ••••••।।
व्राह्मणले मन्त्र पढ्दै गए कर्ताले होम हाल्दै गए । पूजा निरन्तर चलिरहेकै थियो । कुरितीहरू र कुसंस्कारहरू जलेर धुँवा बनेर नेपाली आकासमा उडिरहेको बेला पूर्वीय हावाले धुँवा बंगालको खाडी कटाइदियो । नेपाली आकास सफा देखियो । त्यो पूजाले नेपाल सभ्य, स्वच्छ,शान्त र समृद्ध देखियो । स्वर्ग जस्तो नेपाल देखेर पश्चिमाहरु अनुसन्धानमा जुटिरहेका थिए ।।
-गाेपीराम ‘बटुवा’