
रसुवा । नुवाकोट-रसुवा जिल्लाको सिमाना बेत्रावतीबजारको ढाँडेबगरमा आज आयोजित गोरु जुधाइ प्रदर्शनीको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव संधीय सांसद मोहन आचार्यले उद्घाटन गर्नु भयो।
परापूर्वकालदेखि नै बेत्रावतीका स्थानीयले माघेसङ्क्रान्तिका दिन बेत्रावतीका सम्राटा, सत्री, जुडी, दहका खेतका फाँटमा किसानले मिलेर आ- आफ्नो गोरु जुधाउने प्रचलन थियो ।
बेत्रावतीको गोरु जुधाइको इतिहास फरक रहेको यहाँ गोरु जुधाउँदै आएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डङ्गोलले बताउनुभयो । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगङ्गा (फलाखु) नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा गोरु जुधाइ सुरु भएको उहाँको भनाइ छ ।
“नेपाल–भोट युद्धमा नेपालले के पायो भनेर प्रश्न पनि उठ्छ । तर यहीँ(बेत्रावती)मा भएको सन्धिमा नेपाल–तिब्ब्त मैत्रीपूर्ण सम्बन्ध रहने, उपहार साटासाट गर्ने, नेपालीलाई बाह्य शक्तिले आक्रमण गर्दा चीनले सघाउने, नेपालले लुटेको सम्पत्ति फिर्ता दिने, दुई पक्षबीचको विवादमा चिनियाँ आवासीय मन्त्रीसमक्ष पेस गर्नेलगायत सहमति भएको पाइन्छ”, अध्यक्ष डङ्गोलले “नेपाल आक्रमण गर्न यही (बेत्रावती)सम्म आएको चिनियाँ सैनिक फौज फर्केर गएपछि नेपालको सीमा रसुवागढीसम्म कायम भयो । यसलाई यहाँ नेपालको जितको उत्सवमा गोरु जुधाएर विजयीको गाथा गाइएको हो ।”
नुवाकोट रसुवावासीको संयुक्त पहलमा बेत्रावतीमा विसं २०६७ देखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरूपमा गोरु जुधाउन थालिएको क्लबका पूर्वअध्यक्ष सुरज लवटले जानकारी दिनुभयो ।
पछिल्लो समय बेत्रावतीको गोरुजुधाइ प्रदर्शनी व्यवस्थित हुँदै गइरहेको छ ।