जान्ने मान्छेकाे खाेजी
हस्याङ्ग फस्याङ्ग गर्दै पत्रिका हातमा समातेर आएको विर्खबहादुरले भन्यो ,”डिभि पारेर अमेरिका आएरपनि, हैन के खेत खनेर बसिरहेको ? नेपालकै उर्लाबारीको कोदाेघारी सम्झियौ कि क्या हो” ?
कोदालोकाे बिँड एकहातले समाउदै कम्मर ठाँडो पार्दै दलजितेले भन्यो,”बाह्र भाइ छोरा अठारभाइ नाति हलोजुवा काँधमाथि भनेको यही हो । उमेर ढल्दै जाँदा दुःख बढ्दै जाँदोे रै छ । छोरा, बुहारी, नाति, नातिनी सबैले जागिर खान हिँडे । करेसाबारीमा घाँस बढेर फूल नै देखिएन,सर्पको पनि डर हुने । त्यतिकै घर कुरेर बस्नुभन्दा काम गरूँ भनेको, कम्मर दुखेर हुँदै भएन ।
“तिमी पनि व्रमा गए कर्मसँगै नेपाल गए कपाल ,जहाँपनि खेती नै गर्ने होला र ? देश गुनको भेष गर्नुपर्छ । वैज्ञानिकहरूले अध्ययन गरिरहेको ठाँउमा आएर वैज्ञानिक तरिकाले सोच्नु पर्छ । तेसै त ज्यान बचाउनै गाह्रो भै सक्यो”। मुखबाट थुकका छिटा उछिट्याउदै विर्खबहादुरले भन्यो ।
“के भन्छ यो ? ज्यान बचाउन गाह्रो भयो रे”? दलजितले आश्चर्य प्रकट गर्यो ।
ठुलाठुला आँखापार्दै हातको इसाराले देखाउदै भन्यो, “उ उ उ त्यो पारिको ठुलो सेताे फ्याक्ट्रिमा बिना आमा-बाबुका हजारौ हजार मानिस मेसिनबाट बनाउदै छ । तिनीहरूमा दया, माया, करूणा, धर्म, विश्वास, नैतिकता केही हुँदैन रे !
“तँ पनि नचाहिने कुरा भन्छस् ,मान्छेपनि ह्याचरीमा बोइलर कुखुरा निकाले जस्तो हो र” ? दलजितेले विश्वास गरेन ।
“मैले त यही पत्रिकामा पढेको, मान्छे बनाउने फ्याक्ट्रीको बारेमा । लाै हेर तँ नपत्याए”। विर्खेले पत्रिका हेर्न लगायो ।
“कालो अक्षर भैँसी बराबर ,के लेखेको छ मलाई के थाहा । पत्रिकामा लेखिएका सबैकुरा सत्य हुन्छन र ? जन्म र मृत्यु जस्तो कुरा काँही मान्छेको वसमा हुन्छ” ? दलजिते रिसायो ।
“विज्ञानले के के गरिसक्यो ! तिमी आध्यात्मका कुरा गरेर बस”। विर्खेले जवाफ फर्कायो । त्यसो भए आध्यात्मा र विज्ञानका बारेमा जान्ने मान्छेलाई सोधौ न त”।दलजितेले प्रस्ताव गर्याे ।
“ल ल हुन्छ, हिँड खोज्न” करेसामा कोदालो फालेर ढोका खुल्लै छाेडेर एक अर्काको हात समातेर दुबैजना जान्ने मान्छेको खोजीमा हिँडे । खै कहिले र कहाँ भेट्ने हुन् सबैकुरा जान्ने मान्छे ??
– गाेपीराम भण्डारी ‘बटुवा’