
काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल प्रणालीमार्फत राजस्व संकलन गर्न सुरु गरेको छ । मंगलबार वडा नम्बर ५ बाट डिजिटल प्रणालीमार्फत राजस्व असुल्न सुरु भएको हो । प्रणाली सञ्चालनको पहिलो दिन राजस्व, शुल्क तथा दस्तुर शीर्षकमा ८४ हजार ९ सय ५५ रुपैयाँ संकलन भएको छ ।
वडाध्यक्ष वीरेन्द्र प्रजापतीकाअनुसार ८ वटा शीर्षकमा यो रकम संकलन भएको हो । जसमध्ये सबैभन्दा धेरै सम्पत्ति करतर्फ ३१ हजार २ सय ५८ रुपैयाँ संकलन भयो । त्यस्तै सबैभन्दा कम व्यक्तिगत घटना दर्ता दस्तुर १ सय रुपैयाँ जम्मा भएको छ । अन्य शीर्षकहरुमा भूमिकर/मालपोत, घर बहाल कर, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, शिफारिस दस्तुर, अन्य सेवा शुल्क लगायत छन् ।
वडाले चालु आर्थिक बर्षको साउन १ गतेदेखि माघ १० गतेसम्ममा ४ करोड ३६ लाख ६९ हजार ४ सय ६४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
महानगरले चालु आर्थिक वर्षको नीति कार्यक्रममा राजस्व प्रशासनलाई न्यायोचित, पारदर्शी र वैज्ञानिक बनाउने भन्दै करदाताको छुट्टै विद्युतीय लगत बनाउने र कर संकलन अनलाइन प्रणालीलाई सुधार गर्दै जाने घोषणा गरेको थियो ।