
ललिता जोशी क्षेत्रीका कविताहरूसित केही क्षण
~~~~~~~~~~~~~~~~~~~~~~~~
“भग्नावशेषका आला भुङ्ग्राहरू ” नाउँ पारी प्रकाशित गरेकी हुन् । यस्तो महत् कार्य सम्पन्न गरेर सुकेपोखरीको साहित्यिक इतिहासमा एउटा परिच्छेद त्यसरी जोडिदिएकीले हामी (याठक) सही अर्थमा ऋणि भएका छौँ उनीप्रति।
अर्जुन प्रधान
*********
” मैले भोगेका प्रेमील क्षणहरू , बालापनका कतिपय कविताहरू, मनमा लागेका घाउहरूलाई फु्लबुट्टाले बुनेर सजाएकी छु।” ललिता जोशी क्षेत्री
सन २०२१ को वर्ष प्रकाशित भएर आएको ललिताजोशी क्षेत्रीको काव्यकृति “आँखीझ्यालाट विश्वचियाएर हेर्दा” अन्तर्गत समाविष्ट एकसट्ठीवटा कविताको सारवस्तु बुझाउने सिलसिलामा स्वयम कवियत्रीले राखेकी उपरोक्त कथन बडो रोचक लाग्यो।
दुर्दिनका कालखण्डमा आफ्ना कलेजा चिराचिरा परेर नौचिरा भई घाउ लागेका वस्तुस्थितिलाई पनि यथासमय खाटा बसेपछि जोहो गरेर फुलबुट्टे उनेर दुनियाँलाई देखाउन सकिएका साक्ष्य हाम्री प्रिय लेखिका ललिता जोशी क्षेत्रीका काव्यिक पंक्तिहरूले उभेर जताएका छन्। मन मारेर मौन भई बसिरहन नमान्ने, जीवननमा केही न केही सृजनशील कृत्य गरिरहने राम्रो आनीबानीकी धनी ललिताले अहिलेलाई पाठक समक्ष यो उनको काव्यकृति अघी सारेकी छन्।
सुकेपोखरीका स्वनामधन्य व्यक्तित्व साहित्यकार लक्ष्मीकान्त जोशीकी सुपुत्री ललिता जोशी क्षेत्रीका बैयक्तिक संघर्ष , साधना, प्राप्ति-अप्राप्ति आदिआदिका लेखाजोखा तर्फ लाग्दा एउटा विस्तीर्ण अध्याय निर्माण हुनेछ।अतएवं यस जमर्कोमा उनका कविता कतिपय मनन गर्नुपर्छ भन्नु उचित जच्ला भन्ने लाग्छ। उसो त ललिता जोशी क्षेत्रीले उनका पिता लक्ष्मीकान्त जोशीका अत्यन्त दुर्लभ, लुप्तप्राय: अनि ऐतिहासिक सृजनाकृतिहरू खोज गरी सच्याएर सङ्कलन गरिकन-” भगनावशेषका आमा भुङ्ग्राहरू” नाँउ पारी प्रकाशित गरेकी हुन्। यस्तो महत् कार्य सम्पन्न गरेर सुकेपोखरीको साहित्यिक इतिहासमा एउटा परिच्छेद त्यसरी जोडिदिएकीले हामी (पाठक) सही अर्थमा ऋृणि भएका छौँ उनीप्रति। सङ्गृहीत काव्यकृतिका अधिकतर कविता सृजना गहन दु:खवादका प्रतिनिधि छन्।
सबैजस्ता रचनासंरचना पीडाका पिरामिडझै लाग्दछन्। कवयित्रीले आफ्ना पंक्तिहरूमा बारम्बार जीवन बीणाका तार छिनेका कुरा गरेकी छन् , मन दुखेका , चित्र फाटेका , हृदय विदीर्ण हुनगएका बात गरेकी छन्। उनको ‘सोह्रदेखी साठी’,’ गोधुलीको व्यथा’ , ‘ भाव सुकोमल ‘ , स्वेच्छा तथा यस्ता यस्ता कैंयौँ कविताले मनका औड़ाहाहरू ओर्हालेका छन्, कहिले नटुङ्गिने प्रतिक्षाका कथाहरू अघि सारेका छन्।
कवयित्रीको जीवन यात्रामा पर्न गएका वज्रपातसँगसँगै हिड़िरहेका यात्री सहयात्री जीवन साथीले साथ छोडेर सुटुकै अर्कै अनन्तको मार्ग पक्रेपछिको एकान्तिक जीवनको सन्नाटामय अनुभूतिहरू उनका कविता रचनाहरूमा पूरा पूरा परिलक्षित छन्। लेखिएको छ-
” पलकहरू छचल्किन्छन्
तड़पिरन्छ रिमरिमे साँझ
काला रातहरू औड़ाहा बन्छन
रोइरहन्छ भुकभुके उज्यालो।”
( गोधुलीको व्यथा- पृ. ६२)
अन्त्यमा संवेदनशील कवयित्री ललिताले कृतिमा ‘ प्रतिक्षा’ – को प्रक्रियालाई सामान्यत: कोही आउला कि भन्ने प्रतिक्षा – देखी धेरै माथि उचालेर दार्शनिक तहसम्म पुरयाउने प्रायास गरेकी छन्। उनका दर्शनमा स्वयम जीवन नै प्रतीक्षाको पर्याय हो। सारा जीवन हामी अन्जान कुनै थोकमा निम्ति प्रतिक्षारत् रहन्छौं। वेकेटको ” Waiting For Godot ” सम्म पुग्नलाई यही बाटो भएर जानुपर्ने हो कि भन्नेसम्म पुग्न सकिन्छ।
कवियत्रीको प्रतिक्षा प्रकरणमा पनि एकनासे बाटो हेराइ छ । न कोही आँउछ न कोही जान्छ। केवल पर्खिरहनु छ नित्य, निरन्तर-
” कति बसन्त आए कति फूलका माला सुकेर गए,
झरीले निर्थुक्क भिजायो कहिले,
हिँउका बोछारोले कठ्याङग्रिए कहिले,
तर पनि हिम्मत हारिनँ, बाटो हेरिनै रहेँ।”
(सोर्हदेखी साठी- पृ.६४)
कविताका पाखा पखेरामा कवियित्रीको संवेदनशील हृदय कतै सुदूर अतीतकालका सुरम्य संसारमा, माइतका आँगन प्राङ्गणमा लुटुपुटु भइ विचरण गर्न पुगेको पाइन्छ भने कहिले वर्तमानको कटु तिक्ततासँग सँघर्षरत रहेको फेला पारिन्छ अनि कहिले भने अन्जान अनागरिक चिर परतिक्षामा एक निष्ठ तपस्वीनी भई तपस्यारत भेटिन। समयले अघाडितिर पस्किदिएको सामल तुमल जतन गरी आत्मसात् गर्नु नै नियतिको सार मान्नलाई तत्पर उनका मनका मनस्थितिका वाहक यावत् कविताहरू सौन्दर्यका पर्यायवाची भएका भेटिन्छन्। ललिताका कविताहरूमा हरियाली प्रकृती, वनस्पति, झरी, बादल, शीत र मररूभुमी सरोबरीगरी व्याप्त छन्।
ऋृतु ऋृतुका रागहरूले प्रलोभन उब्जाएका छन् अनि तिनका रागिनीहरूले आकर्षण जन्माएका छन्।मानिसको जीवनमा जे जस्तै परि आएपनि समयले सबै थोक साम्य पारिदिन्छ अनि त्यसो र समयको परिवर्तनशील प्रकृतिलाई नियालेर हेरिबस्नुको आग्रह निवेदित छ। जिन्दगीका यात्रामा अड़िनु छैन , अल्मल्ल गर्नु छैन केवल निरन्तर अघि बढ़िरहनु छ। प्रकृतिको यही सन्देशले कवियत्रीलाई जीवनयात्रामा बारम्बार हौंसला दिएको हामी ( पाठक) – लाई उनले यसरी सुनाएकी छन् –
“हेर न प्रकृति मुस्काएको
बर्खायाममा हरिया गरि
मेरा आँगनबारीले मलाई फकाएको
जीवन अघि बढदै जानुपर्छ
भनी मलाई बताएको ।”
( बर्खायाम, प्ृ. १३८ )
“आँखीझ्यालबाट विश्व चियाएर हेर्दा” ललिता जोशी क्षेत्रीको एक उदाक्त सृजना कृति हो, व्यवहारवादी जीवन र जीवन दर्शनको सुन्दर सङ्गम स्थली पनि हो।
-अर्जुन प्रधान
(साभार: हाम्रो प्रजाशक्ती)