
कविता – अझै उही
मैनको धिपधिपे उज्यालोमा
आँखा गाडेर
चुँडालेका शब्दार्थ,
टुप्पीकाे टुप्पामा टक्रक्क राखिएको अलंकार
बिम्वले काेतरेका डाेभहरु
मस्तिष्कमा बोकेर
चिहाउने संबैधानिक धर्ती
र
नगरकोटको ढिस्कोबाट
प्यालालाई लर्काइ लर्काइ
धपक्क बलेको दृश्य
तिरीमीरी झिलीमिली
हिनहिनाउने आँखाले
नियालेर हेर्ने आधुनिक धर्ती
के उही हो ?
अभावको दवावमा भुट्भुटीएर
अर्धानो पेट लिएर
गेटगेटमा ,सडक पेटीमा
गल्लीगल्लीका चेपमा
हल्लिरहेकाहरूकाे कर्म
र
अघिपछि लस्कर लगाएर
सर्बसुविधा युक्त वाहनमा
मुठाका मुठा
बहीखातामा हस्ताक्षर गर्नेको
भाग्य
उही हो ?
टेक्ने धर्ती, सुन्ने अर्ति
बस्तुगत स्थान,सर्वाङ्ग अस्तित्व
उस्तै उस्तै देखिने तर
दृष्टिले सृष्टिका हकभाेग छिनेका
सु-सुगन्धित परिदृष्यहरू
बन्द आँखा र खुल्ला आकासमा
उडाइरहेको चङ्गामा
लतपत्याईएकाे अस्तित्व
विर्को लगाइएका मनले
बगाइरहने गंगा
संशय र शंका
व्यथा र व्यवधान
के उही हो ?
विसमता, समानता
थिङ्गथिलो विज्ञता र हिलो कचिलो ज्ञाता
उधेनीएको सम्मान
टालिएको इज्जत
आँखाले बोल्ने
मुखले हेर्ने
तिमी र म अनि लम्पसार हामी
उन्मुक्ति र उन्मुलन
समाजवाद र समाजशास्त्र
समापन र सम्मान एउटै देख्ने
हाम्रो विवेकी नेत्र
के उहीँ हाे ?
यदि हाेइन भने
खै चक्षु कता लाेलाएका छन्
ज्युँदाहरु कता टाेलाएका छन्
भाषणमाथिकाे शासन
निर्धाहरुलाई कासन दिंदै
सिंहासनमा बस्ने आशिर्वाद पाएकाहरूकाे चाला
अझै उहीँ हाे ? अझै उहीँ
फेरिपनि!!!
-गाेपीराम भण्डारी ‘बटुवा’