
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए।
“प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले १ हजार रुपैयाँ दरका २६ हजार रुपैयाँ र ५ सय रुपैयाँ दरको ४ हजार ५ रुपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ ।
साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट १ हजार दरको ५ लाख ३६ हजार रुपैयाँ बरामद गरिएको थियो । पुसमा ५ सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा रु एक हजार दरको ४ लाख ४४ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।