
काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओसले प्रतिस्पर्धा गर्दैछन् । घरेलु टोली नेपाल र लाओसबीचको फाइनल खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताउँदै फाइनल खेलका लागि मानसिक र शारीरिक रुपमा तयार भएको बताएका छन् ।
नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको कप्तान लिम्बुको भनाई छ ।
यस्तै, नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांश नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताए । प्रशिक्षक एनिसका अनुसार भुटानविरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुनेछन् ।
यसैगरी लाओसका प्रशिक्षक हान्स मिकेल विसले घरेलु टोलीविरुद्ध निकै प्रतिष्पर्धातमक खेल हुने बताउँदै फाइनल खेल लाओस फुटबलका लागि धेरै अवसर रहेकाले कुनैपनि हालतमा जितका लागि खेल्ने बताए ।
नेपाल, भुटान र लाओस सम्मिलित सिंगल राउण्ड रोबिनमा भएको खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । यस्तै, लाओसले भुटानलाई २–१ गोलले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।