शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

टुकुचा खोला क्षेत्रभित्रका जग्गाको लगत कट्टा गर्न पत्राचार


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २६, २०८०
  • 202
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ ।

महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गा लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।”

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला सोको क्षेत्राधिकारको जग्गालाई सरकारी÷सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारी÷सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था छ ।

सरकार मन्त्रिपरिषद्को विसं २०६५ मङ्सिर १ गतेको निर्णयले कुनै खोला, खोल्छी र राजकुलो छोप्न बन्देज लगाएको छ । सो निर्णयले टुकुचा खोलाको बहाव क्षेत्र तथा सोको दायाँबायाँको चार–चार मिटरको जग्गामाथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोकेको छ ।

मापदण्डविपरीत हात्तीसार क्षेत्रमा टुकुचा खोला पूर्णरूपमा छोपिएको अवस्था छ । टुकुचा खोला छोपिएको विषयमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९ माघ १८ गते आवश्यक दिशानिर्देशसहितको आदेश भएको छ । सो आदेशले टुकुचा खोलालाई खुला कायम गर्ने विकल्पका सम्बन्धमा ध्यानाकर्षण गरेको छ ।

पत्रमा भनिएको छ ,‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को ९७ ९१० ले समेत आफ्नो क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गाको रेखदेख, मर्मतसम्भार तथा संरक्षणसम्बन्धी दायित्व यस कामपालाई तोकेको छ ।’

आधार, कारण र अदालतको आदेशलाई मध्यनजर गर्दा, टुकुचा खोला तथा सोको क्षेत्राधिकारभित्रको जग्गा व्यक्तिविशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिएको कामपाको भनाइ छ । उच्च अदालतको आदेशपछि टुकुचा पुनःस्थापनाका लागि महानगरले अगाडि बढाएको कुनै पनि प्रयास खेर नगएको प्रमुख साहको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }