
काठमाडाैं | भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्डले मे ३१ (अर्थात् जेठ १७ गते) मा भारत भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रचण्डले समकक्षी मोदीसहित भारतीय राष्ट्रपति, उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तालिकामा उल्लेख छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग अन्य भारतीय विशिष्ट व्यक्तिले समेत भेट गर्ने मन्त्रालयले जनाएको छ ।
औपचारिक कार्यक्रमका अतिरिक्त प्रधानमन्त्री प्रचण्डले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने कार्यतालिका छ । ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउन भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई भ्रमणले निरन्तरता दिएको विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिन दुवै पक्षले दिएको महत्त्वलाई जोड दिने भारतको विश्वास छ । यसअघि परराष्ट्र मन्त्रालयले समेत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक गरिसकेको छ । जेठ १७ गते भारत जाने प्रधानमन्त्री २० गते स्वदेश फर्किने छन् ।