
विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोदेखि सुरु हुँदैछ ।बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ ।
गत पुस १७ गते प्रदेशको नामाकरण पछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।
उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रवार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।
सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।
पहिचान आन्दोलनका नेता प्रेम येक्तेनले प्रदेश सभा भवन घेर्ने तयारी गरेको बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । प्रदेशको नाम संसोधन गर्ने थलो प्रदेश सभा नै रहेकाले प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरेको उनकाे भनाइ छ ।