
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट साउदी अरेवियाको दमाममा सिधा उडान सुरु गरेको छ।
निगमले बुधबारदेखि काठमाडौंबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
उडान तालिका अनुसार काठमाडौंबाट वुधबार राती १०ः४० मा उडान भरेको पहिलो उडानमा १ सय २६ जना यात्रु रहेकामा फर्कँदा १ सय १७ जना यात्रु रहेको उनले बताए।
काठमाडौ-दमाम-काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले बताएको छ।
यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइटमा लगइृन गरी अनलाईनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सकिने सुविधा निगमले उपलब्ध गराएको छ।
आठ देशका १० गन्तव्यमा उडान विस्तार
नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ। निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।
देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ।
कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताए। व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उनको भनाइ छ।
अन्य काममा पनि निगमभित्रका कर्मचारीको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो।