
सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले विकास र समृद्धिको बाटोमा तिव्र गतिले लाग्नुपर्ने बताउनुभएको छ ।
मंगलबार सिन्धुली उद्योग बाणिज्य संघको ३३ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीनै तहको सरकार विकास र समृद्धिको बाटोमा तिव्र गतिमा लाग्नुपर्ने बताउनुभएको हो । उहाँले सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरु वर्तमान राजनीतिक व्यवस्थाको विरुद्धमा उभिनसक्ने खतरा रहेको बताउनुभयो ।
उहाँले गणतन्त्रको स्थापना नेपाली इतिहासकै सबैभन्दा ठूलो उपलब्धि रहेको भन्दै सो उपलब्धिको जगमा टेकेर तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले देशलाई समृद्ध बनाउनका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि निजी क्षेत्रलाई अपील समेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सिन्धुली जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । मरिण, कमला र चदहा नदी नियन्त्रण गरि खेतीयोग्य उर्वर जमिन उकास गर्ने, सिंचाइको व्यवस्था गर्ने र ती क्षेत्रलाई धान पकेट क्षेत्रको रूपमा विकास गरि जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले कृषि पकेट क्षेत्रको अवधारणा ल्याएको जानकारी दिदैँ चाँडै पकेट क्षेत्रहरू घोषणा गरि आधुनिक र व्यवसायीक कृषि उत्पादन सुरु गर्ने बताउनुभयो ।
महाभारत क्षेत्रमा अर्गानिक तरकारी र फलफूल पकेट क्षेत्र घोषणा गरि व्यवसायीक उत्पादनमा जोड दिन तरकारी एम्बुलेन्सको अवधारणासहित बागमती प्रदेश सरकारले योजना बनाइरहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।