मङ्लबार, अशोज १६, २०८०

पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३१, २०८०
  • 61
    SHARES
मनाङ । नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् ।
 विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय ९एक्याप० मनाङले जनाएको छ । सो कार्यालयका अनुसार बाह्य पर्यटकको सङ्ख्या सङ्कलन गर्ने भए पनि आन्तरिक पर्यटकको सङ्ख्या टिपोट गरिएको हुँदैन ।
बाह्य पर्यटकले पदयात्रा बढी मन पराउँछन् भने आन्तरिक पर्यटक सवारी साधनमार्फत यहाँ आउने गर्दछन् । विदेशी पर्यटक पदयात्राकै क्रममा यहाँको मनमोहक दृश्यमा रमाउन रुचाउँछन् । विदेशीले बिरामी भएमा मात्रै सवारी साधन प्रयोग गर्ने गरेको पाइएको एक्यापले जनाएको छ ।
पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बेमौसममा कम मात्रामा यहाँ बाह्य पर्यटक आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “याम सुरु भयो, अब पर्यटक आउने क्रम बढेको छ, बाह्यसँगै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने क्रममा रहेको छ ।” अझै मध्य याममा यहाँ पर्यटक बढ्ने उहाँले बताउनुभयो । मनाङ पर्यटकको ‘हब’का रुपमा विकास हुँदै गएको गुरुङले बताउनुभयो । मनाङ पर्यटकको हबमा विकास हुँदै गर्दा यहाँ पर्यटक रहनका लागि व्यवस्थापनमा स्थानीयको जोड छ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ निवासी ७९ वर्षीय याङदुङ गुरुङले विदेशी पर्यटकसँगै यस याममा यहाँ आन्तरिक पर्यटक बढी आउने समय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले विदेशी मात्रै हुन्थे, अहिले विदेशीसँगै नेपाली पर्यटक धेरै आउँछन्, मौसममा पिसाङमा रहेका ४८ होटल पूरै भरिन्छन् ।” याम सुरु भएकाले पर्यटक दैनिक रुपमा बढ्दै गएका उहाँले बताउनुभयो ।
दैनिक रुपमा यहाँ पर्यटक आउने क्रम बढ्दै गएको छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय ९एक्याप० का प्रमुख ढकबहादुर भुजेलले दैनिक रुपमा मनाङमा पर्यटक आउने क्रम सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ दैनिक रुपमा ७० भन्दा बढी पर्यटकको आगमन हुने गरेको छ । उहाँले भन्नुभयो, “विस्तारै यहाँ आउने पर्यटक बढ्दै गएका छन्, यहाँका होटल पूर्ण रुपमा भरिभराउ हुने गर्दछन् ।”
दुई सिजन गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, उच्च पहाडका दृश्यावलोकन, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको सुरुआत हुन्छ ।
अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लामा जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्दै यात्राको सुरुआत गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ