
खै कहाँ बाँचेको छ र ?
दुनिया भन्छ ऊ बाँचेको छ
घर, अफिस, गाँउ सहर
कतै त ऊ नाँचेकै छ !
नाँचेकै छ र त ,भन्छन् ऊ बाँचेकै छ
बाँच्नकै लागि त खै ?
नाच्नका लागि जिउँदो छ
होस् खुलेदेखि साङ्ला थरिथरिका
झेलेर तेल पेलेको छ
अदृष्य नेल कर्तव्यको
गलामा शोभायमान हुँदा
ऊ ,ऊ हो कि ,कर्तव्य, छुट्टीदैन
जिम्मेवारी हो कि बन्धन खुट्टिदैन
ऊ हो भनु त, ऊ होइन
ऊ होइन भनु त चलिरहेछ
चल्नु मात्र बाँच्नु होइन भने
ऊ जिउँदै जलीरहेछ
निस्प्राण तुल्य छ,चलिरहेकै छ तर
बाँच्नका लागि त ऊ, खै कहाँ बाँचेको छ र ? ।
अवोधका व्यथा छोडी
होससँगै पियो देश
समाज र संस्कारका दशधारा चुसी
पढ्न गयो बा का लागि
खेल्यो साथीसँगै भागी
समयका तगाराले पलपल ठेलीरहे
आलो माटोकाे मुर्तिसरी पेलीरहे
अकबर, बिरबल र चोर पुलिसका
कथाको चारो बनाई बनाई
पढ्नु पढ्यो कद बढायो
ऊ बन्यो युवक सुन्दर
कर्तव्य निष्ठ धुरन्धर
बाँधियो प्रेम पाशमा
सम्मान सयलको आशमा
बग्यो बहकियो तालमा
फस्यो झन् झन् जन्जालमा
मुटु बिनाको धड्कन ,धड्की रहन्छ तर
बाँच्नका लागि त ऊ खै कहाँ बाँचेको छ र ?
ऊ घरको ,घर उसको भएन
ऊ सबको तर कसैको भएन
पसिना दुधका बगायो
नाताको खिर पकाउन
ऊ तमसुक बन्यो नधुल्ने
थपिइ रहे शुन्यहरू
छोरोबाट दाजै बन्यो
बाबै बन्यो,निस्सारको
बढाबढ भो अंशियारको
लिलामीको बोल कबोलमा
गुमायो होस् खै कता
बढायो लाला बचेरा
हाँस्यो आशुँका निकाली कचेरा
नियाल्छ सर्वत्र आफूलाई ,देख्दैन कतै तर
बाँच्नका लागि त ऊ खै कहाँ बाँचेको छ र ?
थुपार्यो थोपामा जीवन
सुकायो तावामा मन
बनायो गिधीकाे अम्लेट
बाड्यो हात र पात
गञ्जी उध्रेको टाली
चप्पल कुर्कुच्चा खाली
भल्कने हरपल तालु
चपाउथे दाँत हुनेहरू
बन्थ्यो ऊ पोलेको आलु
निल्थे निल्नेले उसलाई
ऊ खान्थ्यो निस्तो थुक
ऊ जन्मेकै कसैको लागि
टारियो कसैको गर्जो
बनेको छ कतै छाता
कतै बहुव्रिही माता
न जिउँदो थियो ऊ हिजो
न आज बाँचेको छ
न भोलि पलाउन सक्छ
नबुझी जिउनु र बाँच्नुको मन्तर
भोग्दै छ सजीव मृत्यको अन्तर
स्वास फेरी हिड्दै छ तर
बाँच्नका लागि त ऊ खै कहाँ बाँचेको छ र ??
-गाेपीराम भण्डारी