आइतवार, मंसिर १७, २०८०

साहित्य सिर्जनामा रमेश विकल (“समालोचनात्मक अन्वेशण” पुस्तकबाट )


  • गोपी मैनाली
  • शुक्रबार, अशोज १२, २०८०
  • 189
    SHARES

साहित्य सिर्जनामा रमेश विकल (“समालोचनात्मक अन्वेशण” पुस्तकबाट )

नेपाली आख्यानको क्षेत्रका शीर्ष साधक रमेश विकलले सिर्जनाको सुरुवात भने कविताबाट गरेका थिए । युवा आवस्थामा कवि र प्रेमी नभएको मानिस सायदै हुन्छ भन्ने भनाइ विकलमा पनि लागू हुन्छ । २००५ सालमा श्यामप्रसाद शर्मा र रमेश विकल संलग्न भएर मासिक रूपमा प्रकाशन सुरु भएको हस्तलिखित पत्रिका ‘सन्देश’ को पहिलो अङ्कमा ‘कुखुराहरूले अब शङ्ख फुके, रजनीचरबृन्द समस्त उठे …’ पङ्क्तिका जागरण कविताबाट विकल नेपाली साहित्यमा प्रवेश गरेका थिए । यसर्थ रमेश विकल श्यामप्रसाद शर्माको प्रेरणाबाट साहित्यमा प्रवेश गरेको देखिन्छ । इन्दुुशेखरका नामबाट फाटफुट कविता प्रकाशन भएपनि रमेश विकलको नामबाट भने बालकविता मात्र प्रकाशित भएका छन् ।

कथाकार रमेश विकलको जन्माउने काम भने २००६ को चैत्र अङ्कको शारदा मासिक पत्रिकाले गरेको हो जहाँ उनको पहिलो कथा ‘गरिब’ प्रकाशित भएको थियो । साहित्यकार श्यामप्रसाद शर्माले शारदा पत्रिकाका सम्पादक र जोरगणेश प्रेसका सञ्चालक साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ सँग विकलको चिनजान गराएपछि ‘गरिब’ प्रकाशन हुने वातावरण बनेको थियो । रामेश्वर शर्मा चालिसे पनि यसै वर्षबाट रमेश विकल बनेका हुन् ।

उनको नाउँपछि ‘विकल’ किन जोडियो वा किन रामेश्वर चालिसे ‘रमेश विकल’ नाममा देखिए भन्ने विषयमा विभिन्न लख काटिएका छन् । विकलको अर्थ विह्वल, व्याकुल वा मनमा शान्ति नभएको भन्ने अर्थमा लिई उनको परिवारमा आएको मानसिक पीडाका कारण राखिएको उपनाम हो भन्ने सामान्य लख काढ्नेहरू पनि छन् । २००० देखि २००६ सम्म विकलको परिवारमा लगातार दःुखद घटनाहरू घटेका थिए । त्यसकारण विह्वल भएर विकल नाम राखिएको भन्ने भनाइ उनीहरुको छ ।

कतिपयले विद्रोही स्वभावका विकललाई तत्कालीन सरकारको आँखाबाट परराख्न यो नाउँ शारदा पत्रिका सम्पादन समूहले नै राखिदिएको भन्नेजस्ता कुुराहरू पनि अप्रमाणित रूपमा आएका छन् तर स्वयम् विकलले भने अशेष मल्लले गरिमाका लागि गरेको भेटवार्तामा यसखाले भनाइलाई यसरी असत्य सावित गरिदिएका छन् ‘त्यतिबेला केदारमान ‘व्यथित’, गोविन्द ‘गोठाले’ आदि उपनाम राख्ने चलन थियो । त्यही देखेर, सुनेर मैले पनि रमेश विकल नाउँ राखेँ । पछि आफैलाई बोर लाग्यो तर झिक्न सकिएन । अचेल सम्झिदा केटाकेटीपना लाग्छ’ । एउटा नाम स्थापित भैसकेपछि त्यसबाट पछि हट्न असजिलो हुने कुरा विकलको अभिव्यक्तिले देखाउँछ । त्यत्तिकै ख्यालख्यालमा राखिएको नाम पहिचानको चुलीमा पुुग्यो र रामेश्वर चालिसे चाँहि औपचारिक मात्र बन्यो ।

उनको पहिलो कथासङ्ग्रह ‘बिरानो देशमा’ २०१६ मा प्रकाशित भएको थियो । त्यसपछि २०१९ मा ‘नयाँ सडकको गीत’ प्रकाशित भयो, जुन कथा विधामा मदन पुरस्कार प्राप्त गर्ने पहिलो कृति थियो, त्यो पनि प्रकाशित हुनुअघि पाण्डुलिपिमा नै । त्यसपछि अँगेनाको डिलमा (बालकथा, २०२३), पञ्चतन्त्रका कथाहरू (बालकथा, २०२३), ‘आज फेरि अर्को तन्ना फेरिन्छ’ (कथासङ्ग्रह, २०२४), सुनौली (उपन्यास, २०३१), उर्मिला भाउजू (कथासङ्ग्रह, २०३५), सात सूर्य एक फन्को (निबन्धसङ्ग्रह,२०३५), सप्तरङ्ग (एकाङ्की, २०३६), एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा (कथासङ्ग्रह), अविरल बग्दछ इन्द्रावती(उपन्यास, २०४०), सरदार भक्ति थापा (नाटक, २०४०), शव, सालिक र सहस्र बुद्ध (कथासङ्ग्रह, २०४२), बा¥हमहिनाका गीत (बालकविता, २०४३), मानिस, बैभव र मृत्यु (बालकविता, २०४३), हराएका कथाहरू (कथासङ्ग्रह, २०४५), मूर्खहरूको कथा (बालकथा, २०४५), हिउँदे छुट्टीमा (बालकथा), विक्रम र नौलो ग्रह (बालउपन्यास), इन्द्रजाली रुख (बालउपन्यास, अनुवाद, २०४५), मिल्किएको मणि (नाटक, २०४९), नीलगिरिको छायाँमा (निबन्धसङ्ग्रह, २०५०), मेरो अविरल जीवन यात्रा (सस्मरण÷निबन्ध,२०६०), धूमशिखाको लयमा सल्लाको सुसेली (संस्मरण,२०७०), सागर उर्लन्छ सगरमाथा छुन (उपन्यास, २०७१), कथादेखि कथासम्म (कथासङ्ग्रह, २०७१), हिमालको छहरा समुद्रको छाल (कथासङ्ग्रह, २०७१) रमेश विकलका कथा (कथासङ्ग्रह,२०७५) गरी ५५ कृतिहरू नेपाली साहित्यमा दिएका छन् । कतिपय रचनाहरूउनको निधनपछि पनि प्रकाशित भएका छन् र खोजपछि अरू सिर्जनाहरू प्रकाशन हुने सम्भावना छ । उनका सिर्जनाहरूले साहित्यका सबै विधा ढाकेका छन् । यस अर्थमा विकलको साहित्यिक व्यक्तित्व बहुविधागत र बहुुआयामिक छ ।

जनजीवनका यथार्थ घटनाहरूलाई नै विकलले आफ्ना सिर्जनामा स्थान दिएका छन् । गरिब, लाहुरी भैंसी, सिँगारी बाख्रो, फुटपाथ मिनिस्टर, मेरी कान्छी माइजू, आफ्नै धर्ती छुन खोज्दा, भन्ज्याङको चौतारो, अविरल बग्दछ इन्द्रावती आदि सबै नै नेपाली समाजका घटना हुन्, हाम्रै समाजका कथा हुन् । उनका कथाका पात्रहरूगुरुप्रसाद मैनालीका जस्तै गाउँघरका जीवन हुन्, जो मेलापात, घास दाउरा, कुटो कोदालो लगायतका दैनिकीमा भेटिने गर्दछन् ।

प्रवृत्तिगत–कालखण्डमा उल्लेख गर्दा २००५ देखि २०१९ सम्म उनका सिर्जना सामाजिक वस्तुस्थितिको यथार्थवादी आदर्शमा देखिन्छ । दोस्रो कालखण्ड २०२० देखि २०३५ सम्मका रचनामा समाजको मनोदशा, मानसिक उच्छाल र यौनमनोविश्लेषणको आधिपत्य छ । तेस्रो कालखण्ड २०३५–२०६५ का रचनामा सामाजिक यथार्थवादको परिष्कारपूर्ण प्रयोगसाथ प्रगतिशीलता भेटिन्छ । यस अर्थमा विकलले लेखनीको सुरुदेखि जीवनको अन्तिम समयसम्म नेपाली समाजका घटना र पात्रहरूलाई रचनाको आधार बनाएका छन् ।

आफ्ना रचनाकर्मका कारण विकल सामान्य साहित्यकार मात्र रहेनन्, स्वयम् नै प्राज्ञिक संस्थाका रूपमा स्थापित हुन पुुगे । थोरै स्रष्टाहरूलाई मात्र यस्तो अवसर जुट्ने गर्दछ । लेखन यात्राका सुरुमा माक्र्सवादी कित्तामा देखिए पनि पछि उनी विचार र कित्ताभन्दा माथि उठेको सबैका स्रष्टा र साहित्यिक अभियान बनेका थिए ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }