
खै कता ?
आकासमा उडेको काग चारो टिप्न धर्तीमा ओर्लदै थियो । धर्तीमा तीव्र गतिमा माेटरसाइकलमा हुइकिएका युवकको अनुहार र कागको पखेटा एकआपसमा ठोक्किए । गतिमा र गतिभन्दा बढ्ता उड्नेको प्रतिसपर्धा हो अथवा सौहार्दता ? उडेका दुवै प्राणी तत्कालै जमिनमा घर्स्रियर पछारिए ।
एकआपसको ठोक्काइले काग सडक किनारमा क्याँरररर गरेर उत्तानो पर्यो । युवक सडकको मध्य भागमा घोप्टो पर्यो । क्षण भरमै भिड जम्मा भयो । सडक किनारमा क्याँ क्याँ गर्दै कागको भिड जम्मा भयो । सडकको मध्य भागमा को हो, को हो, भन्दै मानिसको भिड ।
मानिसहरूले घाइतेका तस्बिर र भिडियो खिच्न थाले । कसैले प्रत्येक्ष प्रसारण गरे। कसैले तस्बिर र भिडियो आ-आफ्ना मोवाइलमा कैद गरे ।
सडक किनारका कागहरू घाइते कागका पखेटालाई आफ्नो ठोडको चुच्चोले च्यापेर मान्छेले छुन र पुग्न नसक्ने सडक किनारकै रूखको हाँगामा लगेर क्याँ क्याँ गरी सुमसुमाइरहेका थिए । केही कागहरू रूखको वरिपरि ढङ्ग नभएक मान्छेले ठोक्यो नि बाबै भन्दै आफ्नै भाषामा मान्छेलाई सरापी रहेका थिए । केही कागले घाइतेलाई सुमसुमाउदै पीडा आत्मानुभूति गरिरहेको थिए ।
सडककाे घटनाको प्रत्यक्ष प्रसारण प्रकृतिले समेत हेर्याे ।रूखमा कागता धर्तीमा मानवता देखेर हो वा खै किन प्रकृति रोइन । आकासबाट पानी झरर पर्यो । कागहरू एकमाथि अर्को खापिएर घाइते कागलाई ओताइरहेका थिए । मानिसको भिड ओत खोज्न लाखापाखा लागे । घाइते युवक सडकमै लडिरहेको थियो । निरन्तर परेको पानीले सडक छेउमा रहेको रुखकाे कागता र सडकको मानवता दुबै पखाल्नु खाेजी रहेको थियो । खै के के पखालियो ? पखालिएको रस खै कता गयो ? पत्ता लगाउनै सकिएन । सभ्यता,संस्कार,संस्कृति सबै बेपत्ता, खै कता हाे कता •••••!!!
-गाेपीराम भण्डारी ‘बटुवा’