आइतवार, मंसिर १७, २०८०

रमेश विकलको साहित्य यात्राको चरण विभाजन (समालोचनात्मक अन्वेशण पुस्तकबाट)


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक ११, २०८०
  • 102
    SHARES

विषय प्रवेश

वि. स २००५ बाट कवितामार्फत साहित्य सिर्जनामा प्रवेश गरेका रमेश विकल बहुआयामिक प्रतिभाका धनी थिए । उनका कथा, उपन्यास, नाटक, निबन्ध, संस्मरण, बालसाहित्यका विविध क्षेत्रमा पचासभन्दा बढी कृतिहरू प्रकाशित भएका छन् भने छरिएका फुटकर रचनाहरू अहिले पनि पुस्तकका रूपमा आउन वाँकी छन् । वि स २००६ सालमा ‘गरिब’ कथा प्रकाशित भएपछि रामेश्वर शर्मा चालिसे कथाकार रमेश विकलको रूपमा चिनिएका थिए । उनका कथा, कविता, निबन्ध, नाटक रचनामा सामाजिक यथार्थको आलोेचनात्मक तर शिल्पपूर्ण प्रस्तुति पाइन्छ ।

गरिबका कथाकारका रूपमा चिनिएका विकल नेपाली कथामा सामाजिक यथार्थको चित्रणमार्फत आधुनिक कालको प्रवेश गराउने कथाकार गुरुप्रसाद मैनालीको रचनावृत्तिको प्रमुख अनुुयायी हुँदै मैनालीको रचनाधारालाई समुन्नत र फराकिलो बनाए । सामाजिक यथार्थवादको यो धारा पछि त्यसैको जगमा प्रगतिशीलतातर्फ अघि बढ्छ र सामाजिक मनोज्ञिानको विश्लेषणमा प्रगाढ देखिन पुुग्छ । उनको नवीन प्रयोगधर्मिताले उनलाई प्रगतिशील सर्जकको शिखर व्यक्तिमा पुु¥याएको छ ।

साहित्य सर्जकहरू वैचारिक र विधागत रूपमा एकै धारा र प्रवृत्तिमा सीमित रहँदैनन् । समय, समाज र स्वयम् सर्जकका वैचारिक आयाममा आउने आयतनिक परिवर्तन र अनुुभव–अनुुभूतिको निरन्तरतासाथ प्रयोग–प्रवृत्तिमा परिवर्तन आउने गर्दछ । यस दृष्टिले साहित्यकार रमेश विकल अपवाद होइनन् । विकल समयचेत र प्रवाहसँग अनुकूलित र गतिशील हुँदै गएका सर्जक हुन् । त्यसैले उनलाई प्रगतिशील धाराका सर्जक भन्ने गरिएको छ । समय, समाज र जीवनका अनुुभूतिका आयामहरूका आधारमा विकलका रचनाकारिताको काल विभाजन गर्न सकिन्छ ।

रमेश विकलको साहित्य रचनाको काल विभाजनमा समालोचकहरूका आआफ्ै दृष्टिकोण छन् । समालोचकीय दृष्टिकोण र प्रभावका आधारमा पनि चरण विभाजनमा भिन्नता पाइने गर्दछ । डा. ईवर बरालका अनुसार ‘विकलका रचनाप्रक्रियालाई दुुई कालक्रममा विभाजन गर्न सकिन्छ, २०१६देखि २०२० सम्मको कालावधि प्राथमिक कालखण्ड हो, २०२० देखि अर्को कालखण्ड आरम्भ हुन्छ’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, समालोचना ग्रन्थ, पृ ८६) । डा बराल पुस्ताकारमा प्रकाशित विकलको कालखण्ड विभाजन गर्दछन्, उनको रचनाकर्म भने २००५÷०६बाट नै सुरु भएको कुरा उनको काल विभाजनमा देखिदैन ।

डा.खगेन्द्रप्रसाद लुुइटेल भने विकलको रचनायात्रालाई तीन समयक्रममा विभाजन गर्दछन् । अर्थात्तीन प्रवृत्तिगत कालखण्डको उल्लेख गर्दछन्–२०२० सालपूर्व, २०२१ देखि २०३५ को बीच सयम र २०३६ सालपछि’ (ऐ पृ २६) । राजेन्द्र सुवेदी पनि डा. लुुइटेल जसरी विकलको रचनायात्राको सीमा प्रवृत्तिगत सीमारेखा कोर्दछन् –‘आरम्भदेखि २०२१ सम्म, आलोचनात्मक यथार्थवाद, २०२२ देखि २०३१ सम्म अमूर्तगत यौन र प्रयोगशील चरण र २०३२ देखि सबै अवधि अधिकतम समाजवादी यथार्थवादी चरण (ऐ पृ २२६) । समालोचक प्रतापचन्द्र प्रधान पनि सुवेदीको कालविभाजनसँग नजिक छन् ।

रमेश विकलको कथाको समग्र प्रवृत्ति विश्लेषण गरेका हरिप्रसाद सिलवाल पहिलो कालखण्ड प्रारम्भ (२००६) देखि २०१९ सम्म, दोस्रो कालखण्ड वि स २०२० देखि वि स २०२३ सम्म, तेस्रो कालखण्ड वि स २०२४ देखि वि स २०४३ सम्म र चौथो कालखण्ड वि स २०४३ देखि २०५५ सम्म गरी चार कालखण्डमा वर्गीकृत गर्दछन् (रमेश विकलको कथाकारिता, २०७०) ।

विकलको काव्यप्रवृत्तिको विश्लेषण, विवेचना र मूल्याङ्कन गर्नेहरू अधिकांशतः उनका आख्यान (कथा, उपन्यास) मा केन्द्रित रहेर विवेचना गरिरहेका छन् । उनका नाटक–निबन्ध र बालसाहित्यहरू यस अर्थमा ओझेलमा परेका छन् । उनको समग्र रचनाकारितालाई प्रवृत्तिगत कालखण्डमा विभाजन गरी प्रमुख विशेषताहरू औल्याउँदा सान्दर्भिक हुनुुका साथै उनको रचनाकारिताप्रति न्याय पनि हुुनजान्छ । यस दृष्टिकोणबाट उनको रचनाकारितालाई तीन कालखण्डमा वर्र्गीकरण गर्नु उचित देखिन्छ, पहिलो कालखण्ड वि स २००५÷०६ देखि २०१९ सम्म, दोस्रो कालखण्ड वि स २०१९÷२० देखि २०३५ सम्म र तेस्रो कालखण्ड वि स २०३५ देखि पछिको समय ।

पहिलो कालखण्ड (२००५÷०६–२०१९ सम्म)

विकलको रचनायात्रा २००५ मा नै हस्तलिखित पत्रिका ‘सन्देश’ को पहिलो अङ्कमा कविता प्रकाशनबाट सुरु भएको थियो (हेमनाथ पौडेल, रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, समालोचना ग्रन्थ, पृ १६) । त्यसैले २००५ सालको ‘कुखुराहरूले अब शंख फुके, रजनी चरवृन्द समस्त उठे’ कविता नै साहित्ययात्राको सन्दर्भविन्दु हो । २००६ सालमा शारदा मासिकको चैत्र अङ्कमा गरिब कथा छापिएपछि उनी ‘रमेश विकल’ का नाममा प्रकाशित भए । धेरैजसो विद्वान्–विश्लेषकहरू २००६ साल नै विकलको साहित्य लेखनको सुरुवात र गरिब कथालाई पहिलो रचना मान्दै आएका छन् । सन्देश हस्तलिखित पत्रिका शारदा पत्रिकाको तुलनामा प्रसार÷स्थापित मूल्य बढी थियो । त्यसैले हुनसक्छ ‘गरिब’ कथालाई नै पहिलो प्रकाशित रचना मान्दै आएको देखिन्छ ।

यस चरणमा केही फुटकर कविता र धेरै कथाहरू प्रकाशित भएका थिए । यस चरणमा रचना भएका कथाहरूमध्ये धेरैजसो विकलको पहिलो कथासङ्ग्रह विरानो देशमा (२०१६) र दोस्रो कथासङ्ग्रह (नयाँ सडकको गीत (२०२०) मा समावेश छन् । ‘गरिब’ पछि विकलको दोस्रो कथा ‘आँसुले भिजेको हाँसो’ त्यति चर्चामा नआएपनि यसले पनि गरिबको कथाभावलाई अँगालेको थियो ।

प्रथम कालखण्डमा प्रकाशित कथाहरूले कथाकार गुरुप्रसाद मैनालीले सुरुवात गरेको सामाजिक यथार्थवादी धारालाई अँगालेका छन् । मैनाली आदर्शोन्मुख यथार्थवादमा छन्, विकल यथार्थवादमाथि आलोचनात्मक दृष्टि राख्दछन्, त्यसैले उनी आलोचनात्मक यथार्थवादका प्रतिष्ठाता बनेका छन् । मैनाली सामाजिक संचनाको सम्बन्धगत आयामलाई बढी ध्यान दिन्छन्, विकल सामाजिक संरचनाभित्र रहेका विभेद–वैषम्यप्रति आलोचनात्मक छन् । यस सन्दर्भमा मैनालीले सुरु गरेको सामाजिक यथार्थताको चित्रणको आयामलाई फराकिलो र उन्नत पार्ने दृष्टिचेत र रचनाध्येय विकलमा छ । प्रथम चरणका कथाहरूमा गरिब, सिँगारी बाख्रो, लाहुरी भैंसी, मधुमालतीको कथा, तर कोपिला फक्रेन, दुुई रुपियाँ नोट, भन्ज्याङको चौतारो, सुवेदार रणे बुढो, वीरेकी आमा, नयाँ सडकको गीत, बमको छिर्का विशेष चर्चामा छन् ।

पहिलो चरणको रचनामा सामाजिक संरचनाको चित्रण, सामाजिक संरचनाले सिर्जना गरेको आर्थिक, सामाजिक, शासकीय र सांस्कृतिक वैषम्य, पुराना मूल्य मानकको परम्पराले विकृत पारेको सामाजिक–सांस्कृतिक पक्ष, आडम्बरपन, यसका सहउत्पादनका रूपमा सिर्जित उत्पीडन, शोषण र छटपटीहरू टिपिएका छन् । अर्को शब्दमा भन्दा वि स २००५–०६ देखि वि स २०१९÷२० सम्मको नेपाली समाजमा रहेको शासकीय निरङ्कुशता, सामाजिक तहसोपानभित्रका भेदभाव, आर्थिक विषमता र सांस्कृतिक विभेदलाई रचनाले मूल विषयवस्तु बनाएका छन् । साथै सामाजिक तथा मानसिक सङ्क्रमणको सीमित चित्रण र सामाजिक न्यायको चाहचेत समेत लिएका छन् ।

दोस्रो कालखण्ड (वि स २०२०–२०३५)

पहिलो कालखण्डका रचनाहरूले सामाजिक मूल्यचेतलाई सीमित आलोचनात्मक रूपमा प्रस्तुत गरेर समग्र मानसिकको दुःखसुखका चित्र उतार्न बाँकी आयाम उघार्ने आधार खडा गरेको थियो । यस समयखण्डका रचनाहरूलाई उनको परिवारमा आएको दुःख, कम्युनिष्ट विचारधारा, मुलुकमा राणा शासनको विरुद्ध भित्रभित्रै सुरु भएको आन्दोलन र प्रजातन्त्र प्राप्तिपछि नेपाली समाजमा देखिएको सङक्रमणकालीन अवस्थाको प्रभाव थियो । पहिलो चरणका रचनाहरू विकल किशोरावस्था–युवाअवस्थाको सोच–संस्कृतिबाट, जोस–जागरणबाट र ऊर्जा–उत्साहबाट धेरै नै प्रभावित थिए । सामाजिक संरचना, शक्ति सम्बन्ध, आर्थिक असमानता र सांस्कृतिक वैषम्यलाई प्रतिको आलोचनामार्फत सुधारसन्देश आलोचनात्मक यथार्थवादी प्रवृत्ति थियो । यस चरणमा प्रमुखतः भौतिक–औपचारिक जीवन प्रणालीमा देखिएको मानसिको जीवनचर्या प्रतिबिम्बित थियो ।

दोस्रो कालखण्डका रचनाहरू विकलको समयचेत, वैचारिक दृष्टि–दर्शन र व्यावहारिकताबाट प्रभावित छन् । मानिसको भौतिक–औपचारिक आयाम मात्र सीमित रहँदा समग्र जीवनको प्रतिनिधित्व हुन सक्दैन भन्ने बोधगम्यता यस चरणमा देखिन्छ र रचनावृत्ति सामाजिक मनोविज्ञान अनि जटिलताग्रस्त मानिसको चित्रणतर्फ केन्द्रित भएका छन् । आज फेरि अर्को तन्ना फेरिन्छ (कथासङ्ग्रह, २०२४), एउटा बुढो भ्याइलिन आशावरीको धुनमा (कथासङ्ग्रह, २०२५), सुनौली (२०३१), उर्मिला भाउजू (कथासङ्ग्रह, २०३५) यस कालखण्डका प्रमुख रचना हुन् ।

दोस्रो कालखण्डका रचनामा समाजका सूूक्ष्म विषय टिप्ने, त्यसलाई गहिरिएर रौंचिरा विश्लेषण गर्ने, विश्लेषणको मनोविश्लेषणत्मक पक्षको उपयोग गर्ने र घरपरिवार, समाज–सम्प्रदायका सम्बन्धपरक तर ओझेलमा परेका विषय, नसुनिएका, दविएका–दवाइएका स्वरलाई उजागर गरेर परिष्कृत समाजको चाहचेत लिइएको छ । रचनाहरू दृष्टिकोणयुक्त बन्दैगएका छन् । सामाजिक यथार्थवादमै रहेपनि आन्तरिक तहको मानिस, मनोदशामा छटपटिएका मानिस र त्यसलाई कारण–निदानमा रचनाहरू विस्तारित भएका छन् । अर्को अर्थमा समाजको यथार्थ हुँदै मनको यथार्थसम्म विस्तार भएका छन्, मनोवैज्ञानिक यथार्थवाद र त्यहीभित्रबाट प्रगतिशीलता खोज्ने काम हुन थालेको छ ।

उर्मिला भाउजू, उसले नजन्माएको छोरो (उसकी स्वास्नीको छोरो), आज फेरि अको तन्ना फेरिन्छ, एउटा अपराधको वकपत्र, नपुुंसङ्क बाँझो धर्ती, रानी साहेवको तस्विर, हिमालको छहरा समुद्रको छाल, आत्महत्याः एक मृत्युसन्त्रास, एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा, फुटपाथ मिनिस्टर यस कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रमुख कथाहरू हुन् । यसै कालखण्डमा रचना भएको उपन्यास ‘सुुनौली’ ले प्राकृतिकपनको गाँउले जीवनशैली, शहरको सङ्घर्षको छट्पटी एवम् यौनअभिप्सा र उन्मादलाई चित्रण गर्दछ । शहर र गाउँको सङ्घर्षको उत्कर्ष, गाउँको पराजय, शहरी सुन्दरतालाई विकृत बनाउँदै लगेको संस्कृतिको चित्रण मनोवैज्ञानिक आयामबाट गरिएको छ । यसै सयमक्रममा लेखिएको ‘सात सूूर्य एक फन्को’ (नियात्रा दैनिकी) ले मानसिक सुखको खोजी गर्छ, प्रकृतिमय मानिसको खोजी याने कि साङ्ग्रिलाको खोजी गर्छ ।

यसर्थ दोस्रो कालखण्डका रचनाले सामाजिक व्यवहार हुँदै आन्तरिक रूपमा छटपटिएको मानिससम्मको यात्रा गर्दछ । भौतिक रूपमा देखिएको मानिस मात्र उसको पूर्ण आयाम होइन, उसका छोपिएका आयामहरू झनै जटिल छन्, जसलाई सम्बोधन नगरेसम्म साँचो अर्थको सामाजिक प्रजननशीलता र समृद्धि अधुरो रहन्छ भन्ने देखाइएको छ । रचनाहरू प्रगतिशीलताका दृष्टिकोणमा अग्रगामी र पूर्ण हुँदै आएको छ । यस कालखण्डमा विकल गुरुप्रसाद मैनाली–हृदयचन्द्रसिंह प्रधानको सामाजिक प्रगतिशीलता साथै विश्वेश्वर कोइराला–भवानी भिक्षुका प्रवृत्तिलाई एकीकृत गर्दछन्, माक्र्सेली–फ्रायडीय चिन्तन पाइन्छ । उनले व्याख्या गरेको प्रगतिशीलता प्रयोग, याने कि सबै अवस्थामा प्रगतिशीलता खोज्ने प्रवृत्ति देखिएको छ ।

तेस्रो कालखण्ड (वि स २०३५ पछिको अवधि)

यस कालखण्डमा पहिलो र दोस्रो कालखण्डका प्रवृत्तिहरूले मिश्रित समृद्धि पाउन पुुग्छन् । यस चरणमा विक्रम र नौलो ग्रह (बाल उपन्यास, २०३९), अविरल बग्दछ इन्द्रावती (उपन्यास, २०४०), शव, सालिक र सहस्र बुद्ध (कथा, २०४२), अब अगाडि बढ्नुछ अझ अगाडि (निबन्ध, २०५०), नीलगिरिको छायाँमा (नियात्रा, २०५०), सागर उर्लन्छ सगरमाथा छुन (उपन्यास, २०५२), हराएका कथाहरू (कथा, २०५५), मानिस, बैभव र मृत्युु (नाटक, २०५६) प्रमुख कृति हुन । साथै यस समयक्रममा लेखिएका (केही अघिल्ला कालखण्डका पनि) कथाहरूलाई समावेश गरेर कथादेखि कथासम्म (कथासङ्ग्रह, २०७१), रमेश विकलका कथा (कथासङ्ग्रह, २०७५) पनि प्रकाशित भएका छन् । साथै मेरो अविरल जीवन गीत (आत्मसंस्मरण,२०५९÷२०७५) र धूमशिखाको लयमा सल्लाको सुसेली (व्यक्ति संस्मरण, २०७०) पनि यसै कालखण्डमा प्रकाशित भएका कृतिहरू हुन् । केही बालसाहित्य पनि यस समयमा प्रकाशित भएको देखिन्छ । कथामा भएका विचार–दर्शन र प्रयोग–प्रवृत्तिहरू गैरआख्यानमा पनि आंशिक रूपमा पाइन्छ ।

तेस्रो कालखण्डमा विकलका तीन उपन्यासहरू अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुन र विक्रम र नौलो ग्रह (बाल उपन्यास) ले तीन थरीका विशेषतालाई अँगालेका छन् । अविरल बग्दछ इन्द्रावती सामाजिक याथार्थको आलोचनात्मक प्रस्तुतिमा केन्द्रित छ । यो विकलको उपन्यासहरूमा सर्वाधिक रुचाइएको कृति पनि हो । यो सामाजिक संरचना र शक्ति सम्बन्धको विभेदपूर्ण अवस्थाको मार्मिक र गहन चित्रण हो । चालिसको दशकमा प्रवेश गर्दैगर्दा समाजमा चेतना विस्तार हुँदै गएपनि समाजले पुुरानो शक्तिसम्बन्धमा र सामाजिक उत्पीडनबाट निकास पाइसकेको छैन । यही कुरालाई इन्द्रावती किनारका माझी बस्तीको माध्यमबाट देखाइएको छ । (प्र)गतिशील यथार्थवाद यथार्थवाद उपन्यासको प्रधान प्रवृत्ति हो ।

सागर उर्लन्छ सगरमाथा छुन शासकीय आयाममा सुशासन, सामाजिक आयाममा न्याय एवम् समावेशिता र सांस्कृतिक आयाममा मौलिकताको चोखोपनमा निर्दिष्ट छ । यसले अविरल बग्दछ इन्द्रावतीभन्दा माथि उठेर समाजको स्थूल पक्षलाई बोकेको छ, तर अविरल बग्दछ इन्द्रावती जति यो सफल मानिदैन । विक्रम र नौलो ग्रह बाल उपन्यास भनिए पनि ज्ञानको भोक, रहस्यको खोजी र नवोन्मेषी मानिसको भावचित्र हो, त्यसैले यो सबैको उपन्यास हो । रोबोटको कथा र विक्रम र नौलो ग्रहले विकललाई विज्ञान कथा, ज्ञानको विस्फोट भैरहेको समाजको विश्वव्यापी चेतनाले पनि प्रभावित पारेको देख्न सकिन्छ ।

यस समयका कथाहरूमा सामाजिक–सांस्कृतिक, शासकीय र मनोविश्लेषण पाइन्छ । कथाहरू बिम्ब, प्रतीक र व्यङ्ग्यात्मक छन् । कथात्मक भाष्यका साथ दर्शन र दृष्टिकोणहरू पनि मिसिएका छन् । नियात्रा निबन्धमा यो अरू प्रगाढ छ । कथाहरूमा कथानक भन्दा दृष्टिविन्दुको आयतन बढ्दै गएको छ, कथाको पात्रले घटनाभन्दा अघि बढेर विषय वयान गर्ने प्रस्तुतिशैली बढेको छ । सबैेले बिर्सिदिएको अनुहार, ऊ केवल नोकर एउटा सत्ताको, सागर, मत्स्यकन्या र अखवारका कलमहरू, धुवाँको क्यान्भासमा कोरिएका रेखाचित्रहरू, नाङ्गो रुख, एक मुठी माटो, एउटी अवकाश प्राप्त वेश्याको आत्मकथा, उसैले रोजेको अन्त्य, हराएकाको खोजी, कुनै न कुनै दिन त, ती रगतमा बाच्नेहरू, उसले रोजेको अन्त्य, ज्ञानी आमा, वयं रक्षाम्, ठन्टी काकी, आप्mनै धर्ती छुन खोज्दा, मेरो एकजना विचरा पत्नी पीडित साथी लगायतका कथाहरू यस कालखण्डका प्रतिनिधि रचना हुन् । यसर्थ तेस्रो कालखण्डका रचनाहरू समग्रताको मानिसलाई, अझ भनौं जीवनको समग्रतालाई प्रतिनिधित्व गरिरहेका छन् । सामाजिक विभ्रम, बिब्ल्याँटाहरू, पारिवारिक खण्डीकरण, व्यक्तिमुखी बन्दै गएको समाज, भ्रष्टीकरणतिर गएको शासन र प्रविधिले क्षतविक्षत पार्दै लगेको मानिसका आभ्यान्तरिक छटपटी यस कालखण्डका रचनाहरूले प्रस्तुत गर्दछन् । सामाजिक यर्थाथवाद, आलोचनात्मक यथार्थवाद र मनोविश्लेषणात्मक यथार्थवाद यस कालखण्डका प्रवृत्ति हुन् ।

उपसंहार
विकलको रचनावृत्तिको चरणगत विश्लेषण गर्दा के निष्कर्ष निकाल्न सकिन्छ भन्दा प्रथम कालखण्डमा विचारको बीजाङ्कुुरण भएको छ, रचनावृत्ति सामाजिक चित्र उतार्न प्रवृत्त छन्, विचारको आग्रह पनि छ, शिल्पसन्धानले विचारलाई लेपिएको छ । दोस्रो कालखण्डमा प्रथम कालखण्डको विषयवृत्ति र प्रवृत्तिले विस्तृति पाएका छन्, मनो–सज्ञानात्मक पक्ष घनिभूत भएको छ र प्रस्तुतिमा बिम्बयोजन पनि छ । तेस्रो कालखण्डमा अघिल्ला दुई कलखण्डको प्रयोग–प्रवृत्तिको छानो कसिएको छ । कथात्मक भाष्यमा आख्यान र नाटक–निबन्धहरू सन्तुुष्ट छैनन्, दर्शन र विचारहरू प्रवाहित छन् । कथात्मकता झिनो हुँदै विश्लेषण बेजोड बन्दै गएको छ ।

चरण÷कालखण्डहरू एकअर्कोसँग तार्किक सम्बन्धमा छन्, सम्बन्ध शृङ्खला टुटेका छैनन्, कसिएका छन् । विषयपरिवेश भौतिकता–सामाजिकताबाट मनोगत भावभूमि पुुगेको छ । त्यसैले कथाहरू अमूर्त पनि बन्दै गएका छन्, जटीलताग्रस्त समाजको बिम्बनका लागि त्यो स्वाभाविक देखिएको छ । पहिलो र दोस्रो कालखण्डमा अपेक्षा गरिएका कतिपय कुराहरू तेस्रो कालखण्डमा अभिव्यक्त भएका छन । अघिल्ला दुुई चरणहरूमा प्रकट नभएका दृष्टि–दर्शनले समृद्धता पाएका छन् । रचनाकारको जीवनको गतिसँगै रचनावृत्तिको गतिशीलता देखिएको छ ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }