आइतवार, मंसिर १७, २०८०

निबन्धकार रमेश विकल (“समालोचनात्मक अन्वेशण” पुस्तकबाट )


  • गोपी मैनाली
  • शनिबार, मंसिर २, २०८०
  • 79
    SHARES

निबन्धकार रमेश विकल (“समालोचनात्मक अन्वेशण” पुस्तकबाट )

विषय प्रवेश
निबन्ध अन्य विधाभन्दा वैयक्तिक भावना र अनुुभूतिको अभिव्यक्ति सहजतामा रहन्छ । काव्यका सिद्धान्त, सूत्र र आग्रहभन्दा यो विधा उन्मुक्त छ । सर्जकीय स्वायत्ततालाई यसले सहजै सम्मति दिन्छ । सर्जक निबन्ध मार्फत आफैलाई, आफ्ना दर्शन र दृष्टिकोणलाई, सोच र संस्कृतिलाई र आकाङ्क्षा र आवेगलाई प्रकाशित गरिरहेको हुन्छ । निबन्ध विधाका पहिलो प्रयोक्ता मानिएका फ्रान्सेली साहित्यकार मिसेल डे मोन्तेन भन्छन् ‘मेरा इच्छा के हुन्छ भने म आप्mना निबन्धमा विना आडम्बर सहज र साधारण तरिकाले रूपायित होऊँ । त्यसमा कुनै किसिमको वाकपटुता वा कृत्रिम कलात्मकता सजाउन चाहन्न । मेरा निबन्धको विषय म नै हुुँ’ (मैनाली, अभिव्यञ्जना यात्राप्रति, पृ १९६) । यसैखाले विचार नेपाली साहित्यका महान् निबन्धकार लक्ष्मीप्रसाद देवकोटा र निबन्धमार्फत अमूर्त चिन्तनको प्रकाशन गर्ने शङ्कर लामिछानेको पनि रहेको छ ।

‘शिल्पशैली, संरचना र प्रवृत्तिका आधारमा निबन्ध वर्णनात्मक, संरचनात्मक, भावात्मक र निजात्मक हुनसक्छन् । लेखाइको परिवेश, औचित्य, पाठक वा लेखाइको उपभोक्ता, कलाशिल्प र भावभङ्गीमा निवन्धहरू एकअर्काबाट भिन्न हुन्छन् । नियात्रा, जीवनी, वृत्तान्त, लेख र कथाहीन प्रस्तुति सबैलाई निबन्ध भनेर निबन्धको परिभाषालाई विस्तार गर्ने र अर्थवत्तालाई भने संकुचन गर्ने प्रवृत्ति पनि छ । कतिपय विद्वान्हरू आख्यान निरपेक्ष लेख निबन्ध हो भन्न रुचाउँछन् । यसले पनि निबन्धको अर्थवत्ता र परिभाषालाई सही आँकलन गर्दैन । वैयक्तिकता, निजात्मकता, आत्माभिव्यञ्जना, बौद्धिकता, विचार प्रधानता निबन्धका आधार तत्व हुन् । निबन्धमा भावको सघनता हुनैपर्छ, साथै संवेदना र अनुभूतिको सहजताले रहनैपर्छ । अन्यथा निबन्धले जीवन पाउँदैन’ (मैनाली, ऐ पृ १९६–१९७) ।

निबन्धकारका रूपमा रमेश विकल नियात्रा दैनिकी, आत्मसंस्मरण÷व्यक्ति संस्मरण, व्यङ्ग्य रचना र अन्य गैरआख्यान आलेखहरूमा प्रकाशित छन् ।नियात्रा साहित्यको सन्दर्भ र रमेश विकल प्राचीन समयदेखि नै यात्रा कथन, विवेचना, स्मृतिहरू लेखिएको पाइन्छन् । पूर्वीय साहित्यमा त श्रुति–स्मृतिका रूपमा तिनीहरू जीवन्त देखिन्छन् । यस अर्थमा लिपि, लेखन र प्रकाशनभन्दा पहिला देखिनै यात्रा वर्णनको प्रचलन थियो भन्न सकिन्छ । पश्चिमी साहित्यमा होमरको ‘ओडिसी’ र दाँतेको ‘डिभाइन कमेडी’ यात्रा र यात्री र युुगको वर्णन पाइन्छ । जोहन व्युनानको ‘पिल्ग्रम्स प्रोग्रेस’ मा आत्मिक यात्राको कलात्मक प्रस्तुति छ । त्यस्तै जोनाथन स्वीप्mटको ‘गुलिभर्स ट्राभल’ यात्राको उत्कृष्ट प्रस्तुति थियो । पश्चिमी साहित्यका उपन्यासहरूमा यात्राले गहकिलो प्रवेश पाएको छ । जस्तो कि मिकोलिन आहारोनियनको ‘द न्यू अमेरिका’, तावेइ सालिनको ‘माइग्रेसन टु द अर्थ’, इटालियो काल्भिनोको ‘इन्भिजवल सिटी’ आदि ।

यात्रा साहित्य त थिएन तर सन् १४९२–१५०४ सम्म इटालियन खोजकर्ता क्रिस्ठोफर कालम्वसले गरेको यात्राले अमेरिका मात्र पत्ता लगाएन, जसले विश्वलाई ज्ञान र सम्बन्धको क्षितिज उघारिदियो । त्यस्तै सन् १८३० मा फ्रेन्च समाजशास्त्री अलेक्सी डी टुकेभेलीले अमेरिकाको यात्रा गरेपछि त्यहाँको नागरिक सङ्गठन र नागरिक सक्रियताको बारेमा लेखेको पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ ले प्रजातन्त्रका बारेमा विश्वलाई नै गहन शिक्षा दिन पुुग्यो । यसर्थ यात्राले ज्ञान र शिक्षाको प्रवाह गर्छ, दृश्य मात्र टिप्दैन, दृश्यमाथि दृष्टि दिन्छ र संसारलाई केही भए पनि सन्देश दिन्छ । यात्रा साहित्यले यात्राले यी कुरालाई कलात्मक कलेवरका साथ नयाँ प्रभाव समेत उत्पादन गर्ने करी काव्यिक व्यापार गर्दछ (मैनाली, ऐ) ।

नेपाली साहित्यमा यात्रा साहित्य कहाँबाट सुरु भयो भन्ने विषयमा मत्यैकता पाइदैन । कतिपय विद्वान्हरूले ‘जङ्गबहादुरको बेलायत यात्रा’ लाई पहिलो नेपाली यात्रा साहित्य मानेका छन् । केही विद्वान्हरू भने गुरुप्रसाद मैनालीलाई पहिलो यात्रा साहित्यकार र उनको ‘श्री ५ मुमाबडामहारानीका तीन धाम सवारीको दैनिक विवरण’ लाई पहिलो यात्रा साहित्य मन्नुपर्ने धारणा राख्दछन् । साहित्यकार जय छाङ्छाले ‘आलेख’ साहित्यिक मासिकको अङ्क ४८ (गुरुप्रसाद मैनाली विशेषाङ्क) मा साहित्यिक त्रैमासिक ‘उन्नयन’ को २०५१ को अङ्कमा प्रकाश ए राजको लेखलाई यसरी उद्धरण गरेका छन् ‘…सिद्धहस्त कथाकारका रूपमा नेपाली भाषाको साहित्याकाशमा उदाउनुुभन्दा एक दशकअघि नै यात्रासाहित्यकारका रूपमा मैनाली देखा पर्दछन् । यस पङ्क्तिकारलाई थाहा भएसम्म उनको पहिलो साहित्य यही (नियात्रा ?) हो र यसलाई लेख्न प्रेरणा दिने हेमराज देखिन्छन् ।’ नियात्राकार गुरुप्रसाद मैनालीले वि स १९८१ पौष २८ देखि ए फागुन ८ गतेसम्मको यात्रालाई दैनिक्यात्मक नियात्राका रूपमा ‘श्री ५ मुमाबडामहारानीका तीन धाम सवारीको दैनिक विवरण’ अन्तर्गगत सिर्जना गरेका छन् (जय छाङ्छा, आलेख मासिक ४८ अङ्क) ।

यात्राको वृत्तान्त मात्र यात्रा साहित्य होइन, त्यसले घटनाको इतिवृत्ति मात्र बताउँछ । यात्रा वर्णनलाई साहित्यमा उकाल्न प्रस्तुतिमा कलात्मकता, दृष्टिचेत, पाठकलाई यात्रादृश्यसमानुुभूतिमा पुु¥याउने सामथ्र्य र अनुुभूतिको कुशल संयोजन चाहिन्छ । साहित्यको दर्जा पाएको पहिलो सिर्जना तारानाथ शर्माको ‘मेनाइ साँघुको मेला’ हो जुन २०२३ मा रत्नश्रीमा प्रकाशित भयो । यस आलेखलाई बालकृष्ण पोखरेलले ‘नियात्रा’ नामकरण गरेपछि यात्रा साहित्यको सुरुभएको मानिन्छ । ‘बेलाइततिर बरालिँदा’ नियात्रा निबन्धसङ्ग्रहमा समावेश छ । यात्रा साहित्यमा निजीकुरा समेत भएपछि नियात्रा हुन्छ भन्ने धारणा बालकृष्ण पोखरेलको थियो । त्यसपछि प्रकाशित पहिलो (नि) यात्रानिबन्ध ‘बेलाइततिर बरालिँदा’ हो र प्रथम प्रयोक्ता थिए तारानाथ शर्मा । यस अर्थमा तारानाथ शर्माको यो कृति प्रकाशनपछि नियात्रासाहित्यको पहिचान र महत्व विस्तार भएको पाइन्छ । नियात्रा निवन्धमा मात्र लेखिदैन, काव्यका अरूरूपमा पनि लेखिन्छ तर धेरै नियात्राहरू निबन्धमा लेखिएका छन् । त्यसैले विकलका नियात्रालाई निबन्ध विधा अन्तर्गत यहाँ उल्लेख गरिएको छ ।

रमेश विकलका कतिपय कथा तथा उपन्यास यात्रामा आधारित घटनाबाट अघि बढ्छन्, जस्तो कि ‘सागर उर्लन्छ सगरमाथा छुन’ हवाईको यात्राको पृष्ठभूमिले जन्माएको कृति हो । विशुद्ध नियात्रा साहित्यका रूपमा प्रकाशित पहिलो कृति भने ‘सात सूर्य एक फन्को’ (२०३४) हो । उनको दोस्रो नियात्रा साहित्य नीलगिरिको छायामा (२०५०) हो । यसरी उनका दुुई नियात्रा निबन्ध नेपाली साहित्यले पाएको छ ।

सात सूूर्य एक फन्को ‘सात सूर्य एक फन्को’ लेखक उनकी श्रीमती र साथीहरूको साथ गोसाइँ कुण्डको यात्राको विवरण हो । जीवनमा सबैले यात्रा गरेका हुन्छन्, तर यात्रा र अनुुभूतिलाई शब्द÷भावचित्रमा अभिव्यक्ति गर्ने काम थोरैले गरेको हुन्छन् । अझ यसो भनौं यात्रा र अनुुभूतिलाई कलात्मक अभिव्यक्ति दिने सामथ्र्य कमैमा हुन्छ । विकल सामाजिक घटनाका कुशल चित्रकार मात्र मात्र होइनन्, यात्राबिम्बका कुशाग्र प्रयोक्ता पनि हुन् भन्ने कुरा सात सूर्य एक फन्को ले सिद्ध गरेको छ ।

यो यात्रा साङ्ग्रिला (सुखको अद्भूत रहस्य) को खोजी हो । जसका विषयमा संयुक्तराज्य अमेरिकामा नियात्राकारलाई धेरै प्रश्नहरू सोधिएको थियो । जे जसरी साङ्ग्रिलाका विषयमा जवाफ दिएपनि उनी स्वयम् भने त्यसबाट सन्तुुष्ट थिएनन् । त्यसैले आरुबारी–गोसाइँकुण्डको प्राकृतिक मनोरमपूर्ण र साहसिक यात्राले त्यो रहस्यको खोजी गर्छ, तर प्राप्ति भने भैसकेको छैन । यात्राको वर्णनमा तथ्यगत, सामाजिक, दार्शनिक र काल्पनिक पक्ष मिसिएका छन् ।

यात्राको पहिलो बास ६५०८ फिट उचाइको पाटी भञ्ज्याङ्बाट हुन्छ । यस खण्डमा गोकर्ण, सुन्दरीजल, हेलम्बुलगायतका प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक स्थलको जानकारीपूर्ण आस्वादन गर्दै यात्रा अगि बढ्छ । दोस्रो बास भञ्ज्याङ् पोखरी (भलेचउर) मा हुन्छ, जुन ११,५२९ फिटको उचाइमा रहेको छ । दोस्रो दिन नेवारी तथा तामाङ् जीवनशैली, ब्राह्मणहरूले गुमाउदै गएको सनातनी आचारण, तार्केघ्याङ्–गोल्पुु यल्मो सभ्यताको प्रसङ्गका थुप्रै कुराहरू पस्किएका छन् । लाग्छ ती दृश्यहरू पाठक स्वयम्ले आस्वाद गरिरहेको छ । तेस्रो बास भेडीगोठ (गोसाइँ कुण्ड) मा हुन्छ, जुन १४००० फिट उचाइमा छ । उचाइ बढ्ने क्रमसँगै जीवनशैली, उत्पादन तथा उपभोग प्रणाली, रूप र आकृतिहरू बदलिएका छन् ।

चौथो बास चन्दनवारी घ्याङ् (रसुवा) मा हुन्छ । यो स्थान १७,९७५ फिटको उचाइमा छ । बौद्ध संस्कृति र परम्पराको आस्वादन, रहस्यको साम्वाल को अनुुभव देखाइएको छ । पाँचौ बास धुन्चे बजार (रसुवाको सदरमुकाम, ६५०० mिटको उचाइ) मा झरेर हुन्छ । उचाइको तलमाथिले मौसम, जलवायु, जीवन प्रणाली पनि परिवर्तन भएको वा जीवनको जटिलता पनि कम हुँदै गएको सङ्केत गर्दछ । तीसको दशकको खम्पा उपद्रवको प्रसङ्ग, गाउँफर्क राष्ट्रिय अभियान लगायतका ऐतिहासिक, सांस्कृतिक तथा शासकीय प्रसङ्गहरू यात्राका दृश्यसाथ मिसिएका छन् । छैठौ बास बेत्रावती किनारमा झर्छ र अन्तमा सातौं बास गोकर्ण आरुबारीमा आएर यात्रा टुङ्गिन्छ । नियात्रा वर्णनमा घटनाबिम्बहरू चलचित्रका मोन्टाजजस्तै सलल्ल पोखिएका छन् ।

यात्राको संक्षिप्त दृश्यबिम्बन पछि नियात्राका संक्षिप्त प्रवृत्ति विश्लेषण गरौं । यात्रा साहित्य विशुद्ध यात्रा वृत्तान्त नभै कौतुहलता सिर्जना गर्ने सामथ्यमा रहनुपर्दछ । सात सूर्य एक फन्कोले पाठकलाई मनग्गे कौतुहलता सिर्जना गर्दछ ।

नियात्राकार सात दिनको नियात्रामा छन् । यात्रामा प्रकृतिको विविध अवयव, जीवनशैली, धर्म, प्रथा–संस्कृतिलाई नियात्राकारले सन्तुुलित र शिल्पपूर्ण रूपमा प्रस्तुत गरेका छन् । यात्राकार प्रत्येक वस्तु, घटना, जीवन्त यात्राको मानिस, रहनसहनलाई सिलसिलेवार अनुुभूति क्रममा बताउँदै, गमन र परिगमन गर्दै जान्छन् । यसले पाठकलाई मिठासपूर्ण अनुुभूतिका साथै समाज, प्रकृति र संस्कृतिको जानकारी दिन्छ ।
साहित्यकार ठाकुर शर्माले उल्लेख गरे झै ‘सात सूूर्य एक फन्को’ यथार्थ र परिकल्पनाको सङ्गम हो । यथार्थ मात्रको प्रस्तुति स्वादिलो र प्रभावपरक हुँदैन । घटनावृत्तिलाई कल्पना र अनुुभूतिले लयस लगाएपछि तिनले छुट्टै प्रभाव छोड्ने गर्दछ । नियात्रामा यस्तै देखिन्छ ।
‘सात सूर्य एक फन्को’ नियात्रा दैनिकी हो । नियात्राका प्रतिदिनका घटनाक्रमहरू दैनिकीका रूपमा टिपिएका छन् । त्यो टिपाइलाई नियात्राकारको अनुुभूतिले पूर्णता दिएको छ ।

रमेश विकलको आख्यान व्यक्तित्वले नियात्रालाई थिचेको छ, जसरी उनका अन्य सिर्जना पनि यो देखिन्छ । परिवेश चित्र, घटना क्रम र पात्रहरू (भौतिक र जैवनिक) को प्रस्तुतिले नियात्रामा कथात्मकता भेटिन्छ ।

प्रायतः यात्रा साहित्यमा प्रस्तुति संरचना आत्मपरक हुन्छ । घटना, दृश्य र परिवेशहरूले लेखकीय मानसिक प्रक्रिया पाएर प्रशोधित भएका छन्, त्यसैले अभिव्यक्तिमा निजात्मक शैली छ ।

नियात्रामा रहस्य र कौतुहल छ । साङ्ग्रिलाको रहस्यात्मक कौतुहलता, यात्रा मार्गका जीवन प्रणाली बुुभ्mने कौतुहलता, प्रकृतिको गति र दृश्यावलोकनको कौतुहलता नियात्राभरि छ । यी सबै कुराहरूले नियात्रालाई अन्वेषणात्मक कलेवर दिएको छ । कल्पआनन्द वा साङ्ग्रिलाको रहस्यात्मक खोजर साम्वला प्राप्त गर्ने अभियानमा यात्राले सातदिने फन्को मारेको छ ।

साङ्ग्रिला काल्पनिक सुन्दरताको चित्र हो, नभेटिएको रहस्य चित्र हो । नेपालका उच्च पहाडहरू, हिमशृङ्खलाहरूमा रहेको अदम्य भावचित्र र कल्पसौन्दर्यको आकृति हो । नियात्राकारले यसै रहस्यको खोजीयात्रा गरेका छन् । उनका अनुुभूतिमा सांग्रिला टिपिए पनि अक्षरमा अझै अभिव्यक्त हुन सकेका छैनन् ।

नियात्राकार साङ्ग्रिलाको रहस्यको खोजीमा हिडेका छन्, तीर्थाटनमा हिडेका छन् तर त्यो भन्दा बढी प्रकृति, प्रकृतिका चराचरले वर्चस्व पाइहेको छ । प्रकृतिको वर्णननै यति फराकिलो र कलात्मक रूपमा गरिएको छ कि ‘सात सूर्य एक फन्को’ प्राकृतिक मनोरमताको क्यान्भास चित्र बनेको छ । जस्तो कि हिमशिखरको वर्णन गर्ने क्रममा उनले भनेको प्रसङ्ग उल्लेख गरौं–‘हिमखण्डित शिखरहरूको रत्न किरिटमय झाँकी देखिन्छ । पारिपट्टि उच्च शिखर मुक्तागिरिशृङ्खला र त्यसबाट स्वरगङ्गा हजारौं फिटमाथिबाट धवल फेनिल झर्ना तलका गहवरहरू यी सब प्रकृतिका अद्भूत रचना नै हुन् ।’

नियात्रा वर्णनमा नियात्राकार निकै भावुक, प्रकृतिमय, काल्पनिक, दार्शनिक र संवदेनयुक्त देखिएका छन् । प्रयोग भएका शब्दले प्रकृतिलाई उही दृश्यभावमा नल्याउला कि भन्ने चिन्ता रचनाकर्मममा देखिएको छ ।

यसर्थ सात सूूर्य एक फन्को जोहन व्युनानको पिल्ग्रिस प्रोग्रेस जस्तै धर्म, जीवन, आध्यात्म, आचरण, भौतिकता र प्रकृतिको सरोवरी छ । यात्रामा अनुुभव मात्र छैन, यात्राकारको दृष्टिकोण र चाहचेत पनि छन् । यसो भन्दैमा विचारको भारी पनि यो बनेको छैन । घटनावृत्ति यति संयोजित र शिल्पसाथ प्रस्तुत भएका छन् कि दृश्यसाहज्यिक भाव प्रस्तुति पनि छ । यात्रा नगर्नेहरू पनि नियात्राको माध्ययमबाट समदृश्यानुुभूतिमा आरुबारीदेखि गोसाइँ कुण्ड पुुगेर फर्कन्छन् र छुट्टै भावको आस्वादन गर्दछन् ।

नीलगिरिको छायाँमा
नियात्राकारले ‘नीलगिरिको छायामा’ लाई यात्रावृत्तको नाम दिएका छन् । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको विद्वत् वृत्ति अन्तर्गत २०४० मा तयार पारिएको यस कृतिको प्रकाशन भने दश वर्षपछि (२०५० सालमा) मात्र भएको थियो । तत्कालीन व्यवस्था र व्यवस्था सञ्चालकहरूलाई पाच्य नहुने बीस पच्चिस बुँदा परिवर्तन गर्ने आग्रहलाई नियात्राकारको विवेकले सम्मति नदिएपछि कृति प्रकाशित हुन करिव दश वर्ष कुर्न प¥यो, उतिखेरको व्यवस्थालाई जनताले खारेज गरेर लोकतन्त्र पुुनर्वहाली गरेपछि मात्र यो यात्रावृत्त प्रकाशित भएको थियो । एउटा सर्जकलाई प्रज्ञा प्रतिष्ठान जस्तो सर्जकलाई उत्प्रेरणा गर्ने प्राज्ञिक संस्थाले गरेको नीति व्यवहारले नीलगिरिको छायामा दश वर्ष गर्भमा रहेको दुःखद अनुुभूति नियात्राकार रमेश विकलमा रहेको ऐतिहासिक तथ्य अब कहिल्यै मेटिन सक्दैन । तैपनि कृतिले जन्म पायो, कृतिकारको धैर्य निराशामा परिणत भएन, यो नै ठूलो कुुरा हो ।

‘नीलगिरिको छायामा’ नियात्राकारको नीलगिरि क्षेत्रको भ्रमण योजनादेखि प्रक्रियासम्मका यात्राशृङ्खलाको सिलसिलेवार बुनाइ हो । मान्छे भौतारिन्छ सपनामा ….बाट सुरु भएको यात्रावृत्त जाँउ न हरर पोखरा बसैमा १माछापुछ«े हाँस्छ, आफ्नो भव्यता लिएर, यहाँ त छैन ऊ त्याँ पाइन्छ बास १, के भूपि शेरचनको घर त्यही हो ?, नीलगिरिको काखै काख, जोमसोमको एक रात, काम्लो लैजा, गलैचा लैजा १,हर हर गङ्गे र प्रतियात्रामा पुुगेपछि टुुङ्गिन्छ ।

मान्छे भौतारिन्छ सपनामा… मा मान्छेको भ्रमणप्रिय स्वभावले नै संसार बनेको, सभ्यता सिर्जिएको कुराको सङ्केत गर्दछ । मान्छेको भ्रमणप्रियताले बुनेका सपना र त्यसले सिर्जना गरेको सभ्यता र सस्कृतिले नै समाज यहाँसम्म आइपुुगेको हो । भ्रमणप्रियताले मनोरञ्जन मात्र होइन, ज्ञान र उत्कण्ठाको भोक जगाउँछ । नियात्राले सिर्जना गरेको सपनाले मानिसले अमेरिका पत्ता लगायो, चन्द्रमा पत्ता लगायो, नजाने कति योजन पर यो उत्कण्ठा फैलिइरहन्छ । मानिस स्वभावैले नयाँ कुरा सिक्न र नयाँ ठाउमा जान चाहन्छ । यो सपना मात्र होइन, न घुम्नुे हुटहुटी मात्र हो, यसले ज्ञान, सिर्जना र अनुुभवको भोक जगाउँछ । पहिलो नियात्रा सङ्ग्रह ‘सात सूूर्य एक फन्को’ को साङ्ग्रिला याने कि रहस्यको खुसी ‘युटोपिया ह्याप्पिनेस’ को भोक नियात्राकारमा अझै जागेको छ । पुराण बुुझ्ने, पुराण र प्रकृतिको नाता खोज्ने, पाखा–पखेराको जीवन बुुझ्ने र मनमनै रमिने उत्कट अभिलाषा छ नीलगिरि–मुक्तिनाथको यात्राको पोयाहरू खोल्दैछन् यस खण्डमा । मानौं यो यात्राको ‘प्रोल्यूड’ हो । प्रोल्यूड जति राम्रो भयो यात्रा (त्यसपछिका कर्म) त्यत्तिकै राम्रो हुन्छ । त्यति मात्र होइन, यस खण्डमा नियात्राकारका वैयक्तिक भावना, विचार, दर्शन र भ्रमण गर्नुका आशयहरू पनि सन्दर्भविन्दुुका रूपमा रहेका छन्, जसले यस पछिको यात्रा वा वा पूरै नियात्रालाई सङ्केत गरिरहेको छ ।

जाउँ न हरर पोखरा बसैमा १ नियात्राकारको समूह झण्डै आधा बाटो पोखरासम्म बसमा हुुइँकिएको छ । पोखरा जान आधुनिक सुविधा याने कि हवाइजहाज पनि उपलब्ध छ, तर बाटोका दृश्यानुुभूति यात्राको अनुुभव लिने लोभ पनि देखिएको छ । यात्राकारका मन–नयनभरि काठमाडौंदेखि पोखरासम्मका दृश्य–कल्पनाहरू टाँगिदै छोडिदै गएका छन् । जुन जो कुनै यात्रीलाई स्वाभाविक रूपमा हुन्छ । थानकोट, महेश खोला, त्रिशूली, मलेखु, मुग्लिङ्, दमौलीका दृश्य र त्यसले बोकेको जीवनशैली, बसमा रहेका खचाखच यात्री, बस बिसौनीका किनवेच, खानाखानका लागि गरिएका जवर्दस्त विज्ञापन, सबैले नेपाली जीवन र दैनिकीलाई बताइरहेका छन् । यो यात्रा गर्ने सबैले यी दृश्य देखेको छ, अनुुभव गरेको छ तर नियात्राकार यसलाई मार्मिक र शाश्वत ढङ्गले प्रस्तुत गरिरहेका छन् ।

वास्तवमा यात्रा जीवनको लघुरूप (मिनिएचर) हो । पोखरासम्मको यात्राले यही बताइ रहेको छ । तर नियात्राका बस्ती, गाउँ, नदी, खहरे–खोल्सा, त्यसको नामकारण, त्यहाँको सामाजिकता, किंवदन्ती, कथा–दन्त्यकथा, र इतिहास सापेक्ष अनगिन्ती कुराहरूमा नियात्राकार घोत्लिएका छन्, रमेका छन् । अरूको मनमा के थियो कुिुन्न, उनमा भने उत्सुकता र कौतुहल थियो, केही जान्ने बुुझ्ने र अरूलाई बुुझाउने भोक जागेको थियो । त्यही हुटहुटीले नै यात्रा सुरु भएको छ ।

‘माछापुच्छ«े हाँस्छ आफनो भव्यता लिएर’ नियात्रा निबन्धको तेस्रो खण्ड हो । यस खण्डमा प्रकृति र स्थानीय जीवनको चित्रण र आफ्नै यात्रा सहयात्रीहरूको, विशेषतः महिलाहरूको चरित्र चित्रण गरिएको छ । अन्नपूर्ण पदयात्रा र यसका आसपासका क्षेत्रमा असल मानिस मात्र छैनन्, कोही कपडा, गहना चोर्ने मानिसहरू पनि छन् । एउटा केटाले चोरीका कारण होटेल्नीको लट्ठी पनि खाएको छ । जब होटेल्नी महिलाले त्यस केटासँग सावधान रहन आग्रह गरिन्, त्यपछि नियात्राकार महिलाको गहना प्रेम र मनोविज्ञान बताउँन पुुग्छन् । यहाँ नियात्राकारको महिलाप्रति, विशेषतः आफ्नी श्रीमतीप्रतिको दृष्टिकोण पनि देखिएको छ ।

उनी भन्छन् ‘मैले त्यसैले तँलाई सुनको माला लगाएर नआ भने को …तँ बाटामा के हुन्छ, के हुन्न, बाटा भेटिन्छ कस्ता ।…तँलाई सुनको गहना लगाएर आएकोले कसैले यो त ठूलो मान्छे रहेछ भनेर ढोग्न आयो कि ? सुनैले ठूलो मान्छे हुने भए बा¥हमासे–जुवाडेकी स्वास्नी सबभन्दा ठूली आइमाई हुनुुपर्ने’ । यसप्रकारको गालीमा पनि उनकी श्रीमतीको कुनै प्रतिक्रिया छैन, सिवाय सहन र शालीनता । यात्रामा उनकी श्रीमतीलाई यसले विजाएको हुँदो हो, तर पितृसत्तात्मक समाजले कुनै प्रतिक्रिया दिने साहस र सम्मति दिदैन । यसले तत्कालीन समाजको नारीमनोविज्ञान (संयम र शालीनता) र पुरुष मनोविज्ञान (हैकम र अहमता) को चित्र उतारेको छ । साथै पर्यटन मार्गमा हुने चोरी–पकेटमारी प्रवृत्तिको पनि ‘सिल्लड केटो’ मार्फत चित्रण गरिएको छ । बगर, ह्याङ्जा, हिले, लुम्ले, घोडापानी, गुराँस बन, नाङ्गेठाँटी, उल्लेरी भञ्ज्याङ्को यात्रा चित्रणले समाज, संस्कृति, सभ्यता र स्वभावहरू वताइएका छन् । नियात्राकार भने यो परिवेश र प्रकृतिमा निकै स्वादिएका छन् ।

चौथो खण्ड ‘यहाँ त छैन उ त्यहाँ पाइन्छ बास ! ’ मा घोडापानीबाट सुरु भएर यात्राको अर्का शृङ्खला अघि बढ्छ । शिखाबासको फोहोर, सानो चिया पसल, पसल्नीको नमीठो व्यवहार र चिया चमेना साथ यात्रा अरू अगिबढ्छ । त्यहाको सानो र रुग्ण स्वास्थ्यचौकीले धानेको स्वास्थ्यसेवको चित्रले त्यहाको कष्टकर स्वास्थ्य प्रणालीलाई अभिव्यक्त गर्दछ । साथै राष्ट्रिय राजनीतमा हुन थालेको परिवर्तन र प्रवृत्तिको छाया पनि त्यहाँ देखिन्छ । नेपाल बन्द र भित्तेपर्चा÷भित्तेलेखनले काठमाडौंले मुस्ताङ–म्याग्दीलाई पनि छुन थालको सङ्केत गरिरहेको थियो । तातोपानी बजारले भने यात्रीहरूलाई अर्को अनुभूति दिन्छ । आधुनिक घर, रेष्टुराँ, बार, मिनुहरू, खना खाने टेवलहरू पर्यटनमार्गको छुट्टै पहिचान दिन्छ ।

दिनढल्केपछि बास बस्ने इरादामा नियात्राकार अधवैंसे मानिसलाई वासको आग्रह गर्दछन् तर ऊ निकै टर्रो स्वभावमा ऊ पारी दानामा पसलहरू छन्, त्यही पाउला बास भनेर पन्छिन्छ । दाना बजार मुस्ताङको सदरमुकाम जोमसोम सर्नु अघिको जिल्ला सदरमुकाम । दानामा बास बस्ने क्रममा त्यहाँका हेडसरले देखाएको व्यवहारले शिक्षित नेपाली सर्वसाधारण नेपालीहरूभन्दा वेगल व्यवहार गर्छन्, सर्वसाधारण मात्र नम्र छन् तर शिक्षितहरूमा नम्रता छैन भन्ने भान नियात्राकारलाई पर्छ । विद्याले विनय दिन्छ, शिक्षाले सभ्यता ल्याउछ भन्ने उनमा रहेको भावना नपाँउदा उनी दिक्दार पनि छन् ।

पाँचौ आवृत्ति ‘के भूपि शेरचनको घर त्यही हो !’ ले पनि सोचवृत्ति र गाउँको वास्तविकताबीचको भिन्नताको चित्रण गर्छ । बिहानै झिसमिसेमा यात्रा अघि बढ्छ । रूपसे छहरा, घाँसा, गगनचुम्बी हिमाच्छदित चुचुराको लहर, अन्नपूर्ण हिमशृङ्खलाको भाग नीलगिरिको मनमोहक दृश्य, बाटामा पर्ने अजङ्का ढुङ्गाका भड्खरा, गण्डकीको अकण्टक झङ्कार, कालापनी (सात सय थाक बस्तीमध्येको एक बस्ती) कोवाङ्, खच्चड घोडाको जुलुस, आदिको प्राकृतिक रसास्वादनमा यात्रीहरू रमाएका छन् । कालीगण्डकी शालीग्रामको लोभमा ढुङ्गा बटुलेको दृश्य छुट्टै मनमोहक छ । मानिसहरू धर्ममा कति आशक्त छन् भन्ने देखाएको छ ।

साँझ पर्नलाग्दा यात्रीहरू थकालीहरूको बस्ती भएको टुकुचेको आधुनिक बस्तीमा पुुग्छ । यो साहित्यकार भूपि शेरचनको गाउँ हो । भूपिको सम्बन्ध सानिध्यताका कारणले पनि विकल भित्रैदेखि रमाएका छन् । भूपि नभएको भूपि निवास, लजमा परिणत भएको शेरचन निवास, न स्वागत न सानिध्यता । जनताका कविता लेख्ने भूपि र जनताको कथा लेख्ने विकलको भावनाका तरङ्गहरू विकलका मनभरि फिजिएका छन् तर विकल त्यति मुग्धित भएनन् ।

छैठौ आवृत्त ‘नीलगिरिको काखै काख’ हो । यो नै नियात्राको शीर्ष चरण पनि हो । धौलागिरि र नीलगिरिको खोंच मार्फाको सभ्यता, आयनका फजुङ र ढोम्बे देवताको कथा, मार्फा कृषि फार्म, बाटोको दाहिनेतिर विपरीत दिशातर्फ निरन्तर बगिरहेको गण्डकीको दृश्यस्वादकासाथ यात्रा अगिबढेको छ । नजिकै देखिएको नीलगिरिको भव्य गरिमाको मुक्तकण्ठले प्रशंसा पाउँछ । छस्याङ् गुफा, चराङ् गुफा, ढुम्बा गुफा, घम्पू गुफा, सिद्ध गुफामा मानव इतिहास खोज्ने लालसा पनि नियात्राकारमा छ । तर जोमसोमलाई भने आधुनिक जडाउरी सभ्यता गाज्न थालेको छ । त्यसैले नियात्राकार जोमसोममा भन्दा झुम्सा (जोमसोमको पूरानो नाम) को मायामा छन् ।

सातौ खण्डमा ‘जोमसोममा एक रात’ बिताउँदाका अनुुभूति समेटिएका छन् । पर्यटकहरूको बढ्दो गतिविधिले जोमसोम आधुनिक बन्दैछ । पर्यटकीय संस्कतिमा फैलिदै छ । बस्तीको रूप झुम्साबाट जोमसोम बनेको छ तर स्थानीय संस्कृति छाडिसकेको छैन । आधुनिकता र मौलिकताको संयोजन भनौ कि दुुई प्रवृत्तिबीच सङ्घर्ष सायद नियात्राकार अनुुभूति गरिरहेका छन् । मामाचेला र फुपूचेलामा विवाह गर्ने, एकअर्कामा हकै लाग्ने संस्कृतिले बाल्यकालदेखि नै आफ्नो विवाह कोसँग हुन्छ भन्ने जानकारी संस्कारले जैवनिक घनिष्टता, वैवाहिक जीवन विघटन नहुने सूत्रको मज्जैले वर्णन पाएको छ । नीलगिरिको काखैमा पर्ने ठिनीराज्य (जोमसोम) को ऐतिहासिकता इतिवृत्त, आधुनिक व्यापारिक संस्कृति र समृद्धि र संस्कृतिको विश्लेषण यस चरणको अको विशेषता हो । धेरैलाई थाह नभएको ‘मूलथाम’ (ल्हाघ्याव) प्रथाको वर्णन छ । यस्ता परम्पराहरू विस्तारै अस्तित्वबाट स्मृतिमा र त्यसपछि विस्मृतिमा पर्दै गएका छन् ।

आठौं चरण ‘काम्लो लैजा, गलैचा लैजा’ मा मुस्ताङे व्यापारिक संस्कृतिको वर्णनबाट सुरु हुन्छ तर प्राकृतिक मनमोहकताको विश्लेषण गर्दछ । यात्रीहरू जोमसोमबाट कागवेनी पुुग्छन् । कागवेनी मुक्तिनाथ दामोदर कुण्डबाट आएको गण्डकी र उत्तरतिरबाट आएको कागखोलाको सङ्गम हो । प्राचीन युुगमा सप्तऋषिहरू यही वेनीमा स्नान गरी तपस्या गर्थे,जसलाई मुक्तिक्षेत्र कहलाइन्छ । यस खण्डमा पौराणिक र प्राचीन प्रसङ्गहरूले महत्व पाएको छ । पौराणिक पाण्ड प्रथाको अवशेषका रूपमा साझा पत्नीत्व प्रथा अहिले पनि छ । साझा पत्नीबाट जन्मिएको जेठो सन्तान जेठाको हुने, माहिलो माहिलाकै हुने, माइली छोरी झुमा (लमिनी) र माहिलो छोरो लामा बन्नुपर्ने, विवाह नभै जन्मेका बच्चा माइतीले घरजग्गा दिएर राख्नुपर्ने, तन्त्रमन्त्रमा विश्वास गर्ने संस्कृतिको उजागर यस चरणमा गरिएको छ ।

नर्वौ आवृत्त ‘हर हर गङ्गे’ हो । यस आवृत्तिमा मुक्तिनाथको महिमा, वैदिक किंवदन्ती (मुक्तिनाथ क्षेत्र शिव र विष्णुको मिलनस्थल), बौद्ध र हिन्दू धर्मको सम्बन्धका प्रसङ्गबाट पाठकहरू लाभान्वित हुन्छन् । ‘प्रति यात्रा’ दशौ (अन्तिम) आवृत्ति हो । यसचरणमा यात्रीहरू यात्रा सकेर काठमाडौं फर्कदै छन् । फर्कदा हवाइजहाजबाट पोखरा आउने तारतम्य हावाहुरीका कारणले पैदलमा परिणत भएको छ । त्यसपछि जोमसोम, घाँसा, गलेश्वर, बेनी बजार, बाग्लुङ, ग्याँदी, कार्किनेटा, नाउँ डाँडा, पोखरा, पृथ्वीराजमार्ग हुँदै काठमाडौं फर्कन्छ । यात्रामा धेरै दृश्यहरू देखिए, भेटिए तर नीलगिरिले भने यात्रालाई अमिट छप दिएको छ ।

‘सात सूर्य एक फन्को’ जस्तै ‘नीलगिरिको छायामा’ मा पनि नियात्राका प्रवृत्ति र प्रकृति दोहोरिएका छन् । भाषा, संस्कृति, रहन सहन, प्रकृति, धर्म, रीतिथिति सबैको यसमा पनि छ ।

सात सूूर्य एक फन्को साङ्ग्रिलाको रहस्यको खोजी थियो, यहाँ त्यस प्रकारको रहस्यको खोजी छैन तर दृश्यिक मनोरमता, प्रकृतिको आस्वाद र भावातिरेककता अनि पौराणिक–ऐतिहासिक तथ्यको खोजविश्लेषण यसको मौलिक विशेषता हुन् ।

सात सूूर्य एक फन्को सातदिनको यात्रा आवृत्ति हो । नीलगिरिको छायामा पन्ध्र दिनको कथा र दश आवृत्ति छ । प्रकृति र धर्म संस्कृतिको शृङ्खलामा यसमा लामा छन् । मुस्ताङ संस्कृति र सभ्यताका धेरै पाटाहरू उघारिएका छन् ।

नियात्राले पाठकलाई इतिहास, प्रकृति, स्थानीयता, धर्म–संस्कृति, पुराण परम्परा, बदलिदै गएको जीवनशैलीको शाश्वत चित्र नियात्राले दिएको छ । त्यसैले यो घटनाको वृत्तान्त मात्र होइन, इतिहास र साहित्यको सम्मिश्रण हो ।

यात्रा वृत्तान्तमा नियात्राकारले आफ्ना अनुुभूति र दृष्टिकोणहरू सरोवारी पस्केका छन् । यसको अध्ययनबाट हामीहरू विकलको दृष्टिकोण, चिन्तनवृत्ति, प्रवृत्ति, चाख, व्यक्तित्व र रुचिको समेत जानकारी पाउँछौ । साथै यात्राको वर्णन यति जीवन्त छ कि नियात्रा पढ्दा जोकुनै आफै यात्रा गरिरकहेको सहज अनुुभूति गर्छ । यात्रा साहित्यको सफलता यसैमा देखिन्छ ।

अब अगाडि बढ्नुछ, अझै अगाडि
रमेश विकल कथा, उपन्यास, नियात्रा, नाटक, बालसाहित्य मात्र होइन, समसामयिक विषयमा व्यङ्ग्य पनि लेख्छन् भन्ने थोरैलाई थाहा छ । उनको आख्यान व्यक्तित्व र पहिचानले साहित्यका अन्य विधामा रहेको उनको पहिचानलाई छायाँमा पारेको छ । बहुुआयामिक व्यक्तित्वका प्रत्येक पहिचान उहीरूपमा फैलिएको, जानकारी भएको र ख्याति कमाएको पाइदैन । रविन्द्रनाथ टैगोर कविता, उपन्यास, नाटक, निबन्ध, कथा र अनुवादमा सशक्त थिए, तर उनलाई कविकै रूपमा बढी चिनिन्छ । जाँपालसात्र्र दर्शन, उपन्यास, नाटक, निबन्ध, छोटा कथा र पटकथा (स्क्रीनप्ले) लेख्थे तर पहिचान कायम भयो कथा र दर्शनमा । जोसेफ रुडयाड किपलिङ् कथा, उपन्यास, कविता, बालसाहित्य र पत्रकारितामा अव्वल भएपनि कथा, उपन्यासमा नै बढी नाम लिइन्छ । बोरिस पस्तरनाक धेरै विधामा सिद्धहस्त थिए तर प्रख्यात उपन्यासकारका रूपमा छ । धेरै विधामा हात चलाउनेहरूको छोपिएको पक्ष पनि तेजिलो हुनसक्छ । केही हदमा यही दृष्टान्त दिन्छ ‘अब अगाडि बढ्नुछ, अझै अगाडि’ ले ।

‘अब अगाडि बढ्नुछ, अझ अगाडि’ २०५० सालमा भैरव पुस्तकालायबाट प्रकाशित व्यङ्ग्य सङ्ग्रह हो यसमा १७ वटा छोटा व्यङ्ग्यहरू सङ्ग्रहित छन् । व्यङ्ग्यहरूमा राजनीति र राजनीतिज्ञले बाटो बिराउदा जनताले भोगेका हैरानी र राष्ट्रमा पुुगेको क्षतिका विरुद्धमा स्वरहरू मुखरित भएका छन् । जब समाज सेवा र राष्ट्रिय हितमा समर्पित हुनुुपर्ने व्यक्तिहरू स्वार्थन्धतामा लाग्छन्, समस्त प्रणाली नै प्रदूूषणमय हुनपुुग्छ । सोचको प्रदूूषण, व्यवहारको प्रदूूषण, संस्कृतिको प्रदूूषण हुुन्छ, साहित्य मुकद्रष्टा बन्न सक्दैन । त्यो प्रदूषण हटाउन साहित्यकारहरू व्यङ्ग्यवाण गर्दछन् । सर्वसाधारणहरू मौन रहन सक्दछन्, सर्जकहरू सिर्जनालाई सन्देशका बाहक बनाएर समाज सुधारका लागि प्रत्यक्ष वा लाक्ष्यणिक अभिव्यक्ति दिन्छन् । साहित्यलाई राजनीति र सत्ताको स्थायी प्रतिपक्षी पनि भनिन्छ । तर सवाल त्यसो होइन, सर्जकहरू चेतनशील हुन्छन्, आलोचनात्मक चेत राख्दछन् । त्यो सामथ्र्यमा भएकाले नै सुधारका लागि अभिव्यक्ति दिन पछि पर्दैनन् ।

सर्जकहरू जहिले पनि सुन्दर सपना बनिरहेका हुन्छन् । सर्जकको मथिङ्गलमा प्रज्ञा, चेतना र सपना मथिएर सिर्जना हुने उत्पादनले समाजले परिष्कारको बाटो खोजिरहेको हुन्छ । भैरब अर्याल, बासुदेव लुुइटेल, केशवराज पिँडाली, रमेश विकल, रामकमार पाँडेले समृद्ध बनाएकोे व्यङ्ग्य विधा अहिले पनि खगेन्द्र लुुइटेल, युवराज मैनाली, अर्जुन पराजुली, विमल भौकाजीहरू इट्टा थप्दैछन् । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गोपालराज मैनाली, सन्तोष पन्त, शैलेन्द्र सिम्खडा, मनोज गजुरेल, बसुन्धरा भुसालहरू प्रहसन÷नक्कल (क्यारिकेचर) मार्फत समाज र संस्कार बदल्न लागिपरेका छन् । कार्टून चित्र पनि व्यङ्ग्य विरोध गर्न पछि परेको छैन । त्यसैले व्यङ्ग्य विधा विकृत समाज व्यवस्था, शासन र प्रशासनलाई खिज्याउँछ, घोच्छ, छेड्छ र चाहचेतको समाज व्यवस्था पाउने अभीष्ट राख्दछ ।

‘श्रीमती नबोल भन्छिन्’ मा राष्ट्र बेथितिमा गएको बखत सार्वजनिक जिम्मेवारीमा रहेकाहरू, सार्वजनिक बौद्धिकहरू, आमसञ्चारहरू किन सही कुरा बोल्दैनन् ? किन विवेक प्रयोग गर्दैनन्, किन जिम्मेवारी र नैतिकताबाट विषयान्तर हुन्छन् भनेर उनीहरूमाथि अरूतिखो प्रहार छ । व्यङ्ग्यकारले केही लाक्षणिक कुरा बोलेका छन्, ठूल्दाजुविरुद्ध बोल्दा नुुन तेल चिनी रोकिन्छ, सान्दाजु विरुद्ध बोल्दा आर्थिक हित हुँदैन भनी दुुई छिमेकीप्रति लक्ष्य गर्दै नेपालका सार्वजनिक जिम्मेवारीमा रहेकाहरू त्यसैले विवकेको बोली बोल्दैनन्, बरु उपयोगमा रहन्छन् भन्ने आश्चर्य राख्दछन् ।

‘टी.भी.मा देखाउन पाए’ ले पञ्चायतले रजतजयन्ती मनाइसकेपछि व्यवस्था पच्चिसवर्षे जवान हुँदा जनतामा झनै विपत्ति बढ्दै गएको अवस्थाको चित्रण गरेको छ । यही समय छिमेकी मुलुकले व्यापार गतिरोध कायम गरेको छ, जसका कारण मट्टितेलको अभावमा शहर बजारमा चुलो बाल्न सकिरहेका छैनन् । टी.भी.मा मुख देखाउने लोभले गृिहणीको पीडा भुलेर व्यक्तिहरू सबै थोक ठीक छ भनिरहेका छन् । रसराजलाई प्रतीक बनाएर व्यङ्ग्यकार व्यवस्थाको विकृतिमा व्यङ्ग्य गरिरहेका छन् ।

‘एकजना विद्यार्थी र श्रीमतीको बैंसालु नजर’ अर्थराजनीतिक–सामाजिक वेथितिमाथि व्यङ्ग्य छ । यहाँ पनि व्यङ्ग्यकार रसराजलाई मुखपात्रका रूपमा उपयोग गरिरहेका छन् । रसराज श्रीमतीले आँखा लगाउने विद्यार्थीलाई र चेतना जगाउने शिक्षकलाई पनि अराष्ट्रिय सूचीमा राख्छ । पञ्चायत व्यवस्थामा भिन्न विचार राख्नेहरूलाई दुःख दिन, पञ्चका मन नपरेका मानिसहरूलाई सिध्याउन अराष्ट्रिय तत्वको पगरी लगाउने गरिन्थ्यो, प्रशासन त्यसको मतियार बन्थ्यो । निबन्धले तत्कालीन शासन र शासकहरूको व्यहोरावृत्तिलाई व्यङ्ग्यात्मक रूपमा औल्याइदिएको छ ।

‘तपाई किन त्यसरी हाँसेको’ एउटा भद्र भनाउँदो व्यक्ति वेसरम र नैतिकताहीन भएर दिल्लीबाट रसराजलाई फोन गरिरहेको छ । रसराज पत्रकार विदेशीको इसारामा राजनीति गर्ने, राष्ट्रियहित विरुद्ध व्यक्तिगत स्वार्थ पूरा गर्ने, पत्रकारलाई समेत गलत रूपमा उपयोग हुन दुरुत्साहन गर्ने प्रवृत्तिलाई उछित्तो काड्छ । ‘राग ः मितव्ययी इमन कल्याण’ मा मितव्ययिताको राग अलाप्ने, मितव्ययिताको नीति निर्माण गर्ने पदाधिकारीको भड्किलो व्यवहार, भोजभत्तेरको प्रसङ्गबाट नीति र वास्तकिताबीचको खाडललाई देखाइएको छ ।

‘अब अगाडि बढ्नछ, अझ अगाडि’ मा रोडियो नेपाल, नेपाल टेलिभिजनले बारम्बार भट्याइरहेको भैलो र देशको, नेताहरूले भट्याइरहेका लज्जास्पद नारा र उपदेशको खिल्ली उडाइएको छ । यो सङ्ग्रहको शीर्ष व्यङ्ग्य निबन्ध पनि हो । सबै व्यङ्ग्यको सार पनि यसै निबन्धमा छ भन्दा फरक पर्दैन । ‘मेरो घरमा मात्रै पसोस् न त्यो शान्ति राँड’ मा रसराज देशमा बढ्दै गएको अशान्ति र गरिबीको चिन्ता लिइरहेको छ तर शान्तिको लागि जब घर पुुग्छ श्रीमती शान्तिको उग्रचण्डी भएर विरोध गर्छे । राजनैतिक वेथितिले घरभित्र पनि प्रवेश पाएको छ । घरकी श्रीमती शान्तिलाई सौता हुनखोजेकी शान्तिको बिम्बमा देख्छे, शान्ति नामकी कोही सौता हुन आइरहेकी त छैन भन्ने सोच्छे । त्यसैले यसमा राजनीतिक र सामाजिक व्यङ्ग्यको संयोजन एकसाथ गरिएको छ । ‘भगवान खर्दार नै बनाए पनि मलाई अर्को जुनीमा भंसारकै खर्दार बनाऊ’ नेपाली सामाजिक मूल्यसंस्कृतिको सरल चित्र हो । ‘छोराको बिहैमै भएपनि खाँडो त जगाउँदै छौ’ मा विगतका इतिहास सम्झेर वर्तमानमा विना पौरख र पुरmषार्थ बाँचेका नेपाली नीति निर्माताको खाँडो सोखको चित्रण छ ।

विगतभन्दा तल्लो वर्तमान हुनुहुन्छ र ? विगतका कुराको मात्र गर्व गर्नुको के स्वाद जब वर्तमान हुतिहार प्रवृत्तिमा छ भने? तैपनि नेपालीहरू हिङ नभए पनि हिङ बाँधेको टालोमा गर्व गरिरहेका छन् । ‘एउटा खोजी अराष्ट्रियको’ पञ्चायत व्यवस्थाका सञ्चालकहरू व्यवस्था र पञ्चको विरोध गर्नेलाई कसरी अराष्ट्रिय तत्वको पगरी भिराइदिएर एकछत्र शासनको स्वाद लिइरहेका थिए भन्ने अरूतितो सत्यको उजागर छ । ‘सेतो, पहेलो अर्थात् रातो प्लेट’ भारतीय नाकावन्दीले पोट्रोल डिजेल नेपाल भित्रिन नपाउँदा मितव्ययिता र त्याग गर्नुपर्ने ठूलाबडाहरू उल्टै सरकारी÷संस्थानका गाडीको नम्वरप्लेट रातोमा बदलेर राष्«िय सङ्कटको भार गरिब सर्वसाधारण जनतामा थोपरिरहेका थिए भन्ने कटुुसत्य उधिनिएको छ । देश भनेको सत्ता होइन, जनता हो तर सत्ता–शक्तिमा पुुग्नेहरू यसको विपरीतमा हुन्छन् ।

‘सबै उनैले गराए’ मिहनेती दाजु र मनमोजी भाइको सामाजिक कथा हो । अंशबण्डामा बराबरी धनसम्पत्ति लिएको भाइ मनमौजीले तन्नम हुन्छ, मिहनेतले दाजु सम्पन्न हुन्छ तर दाजुको मृत्युपछि उनै प्रभुको आदेशमा दाजुको सम्पत्ति मात्र होइन, जवान भाउजूको पनि ऊ देवर दोस्रो वर बन्छ । केही समयपछि भाउजु देवरमय हुन्छे । जे जति नराम्रो गर्छ सब उनै प्रभुको आज्ञाले गरेको भ्रम छर्छ । विकलका धेरै व्यङ्ग्यहरू राजनीति र शासनप्रति लक्ष्यित हुुँदै आएकोमा यो भने लुकेको सामाजिक चरित्रको उजागर गर्न पुुग्छ । ‘अन्तरवार्ता ः स्वास्थ्य मन्त्रिनी…. ’ र ‘मानव अधिकारज्यूको सवारी हुँदैछ’ शासकीय ढोंगको उछित्तो काडिएका व्यङ्ग्य हुन् ।

व्यङ्ग्यकारका रूपमा रमेश विकल राजनैतिक, आर्थिक र शासकीय विकृतिविरुद्ध खरो उत्रन्छन् । कथा–उपन्यासमा सामाजिक विषयले प्राधान्यता पाए पनि सामाजिक विकृति र विसङ्गतिको मुख्य कारण शासन–प्रशासनको विकृति हो । ‘अब अगाडि बढ्नुछ, अझै अगाडि’ मा भनाइ र गराइको खाडल, सङ्कल्प र व्यवहारबीचको खाडल देखाइएको छ, जसले राज्यप्रणाली परिष्कार गर्न योगदान पुु¥याओस् ।

सामाजिक–शासकीय र आर्थिक खरावीलाई उधिनिदिनु व्यङ्ग्यको उद्देश्य हो । व्यङ्ग्य पढ्दा कसमाथि के भनिएको छ भन्ने बुुझाइकासाथ मनोरञ्जन र लाक्षणिकतामा रमिन्छ र यथार्थको खोजी गर्छ । यसमा समाज सुधार गर्ने अदम्य शक्ति हुन्छ । त्यसैले नेपाली हाँस्य व्यङ्ग्यका महारथी भैरव अर्याल यसलाई टनिक ट्रेन्ङ्कुुलाइजर भन्न रुचाउँछन् । व्यङ्ग्यले समाजमा रहेका खरावीहरू सुधार गर्न टनिकका रूपमा काम गर्छ । विकलका व्यङ्ग्य राजनैतिक प्रणाली सुधारका टनिक हुन् । सार्वजनिक जीवनमा रहेर व्यङ्ग्यकारले देखे–भोगेका र समाजमा सतहमा नदेखिएका, भित्रभित्रै भुत्भुुतिएका कुरालाई व्यङ्ग्यका विषय बनाएका छन् ।

व्यङ्ग्यको समय लोकतन्त्र आउनुअघि यानेकि चालिसको दशकको हो । त्यस समय पञ्चायत थप अनुदार बन्दैछ, पञ्चकार्यकर्ताहरू देखावटी कार्यमा छन्, छिमेकी मुलुक भारतले आर्थिक नाकावन्दी लगाउनेसम्मको हर्कत गरेको छ तर रजत जयन्ती मनाएको पञ्चायत र यसका सञ्चालकहरू जनताका दैनिकीलाई सहज बनाउन कुनै प्रयास गरिरहेका छैनन् ।

‘अब अगाडि बढ्नुछ अझै अगाडि’ भर्वल आइरोनी र ट्रेगिक आइरोनीको अंशहरू संयोजित व्यङ्ग्य हो, ड्रामाटिक र सिचुएशनल आइरोनी होइन । यस वर्गका व्यङ्ग्यमा भनिएको एउटा बुझ्नुपर्ने अर्कै हुन्छ, आकाङ्क्षा र आवश्यकताहरू पूरा नहुँदा आक्रोस व्यक्त गरिन्छ । जुन वर्गमा वर्गीकरण गरेपनि व्यङ्ग्यले अभिव्यक्तिको वेगल आयाम खोजेको छ, जसबाट नराम्रो गर्नेहरू थर्किन्छन्, समाज, शासन र राज्यलाई खिज्याइन्छ, खिज्याएर नङ्ग्याएर नै नराम्रो गर्नेहरूलाई तह लगाउने सोच राखिन्छ । व्यङ्ग्यकार विकलले त्यसै गरेका छन् ।

व्यङ्ग्य विधाभन्दा अभिव्यक्तिको आयाम हो, शैली हो । यो कविता, नाटक, गीत, परिहासहरूमा देखिन सक्छ । नेपाली साहित्यमा यसलाई निबन्ध विधाको एएटा उपविधाको रूपमा हेरिएको छ । यसो हुनुको पछि धेरैजसो व्यङ्ग्यहरू निबन्धमा नै लेखिनु पनि हो । समालोचक कृष्णचन्द्रसिंह प्रधान व्यङ्ग्यमा छ्याकन्छेड घोचपेच र परिहास हुन्छ भन्ने मान्यतामा छन् तर विकलका व्यङ्ग्य हाँस्य परिहास्य होइनन्, अरूतिखा छ्याकन्छेड घोचपोच हुन् । यसले समाज, शासन र प्रशासनलाई घोचेको छ । त्यो घोचाइको चाहचेत भने सामाजिक परिष्कार हो, समाज व्यवस्था सुधार हो, शासन प्रणालीको स्वच्छता र प्रभावकारिता हो, जसबाट समाजका सदस्यहरू प्रत्येकप्रति प्रत्येक जवाफदेही बन्न सकून् ।

धूमशिखाको लयमा सल्लाको सुुसेली
‘धूमशिखाको लयमा सल्लाको सुसेली’ संस्मरण सङ्ग्रहमा विभिन्न समयमा पत्रपत्रिकामा प्रकाशित आलेखहरू विकलको निधनपश्चात् पुस्तकाकारमा आएको हो । यसमा २४ वटा संस्मरणहरू समावेश छन् । संस्मरणमा विभिन्न व्यक्तिहरूको विषयमा विकलमा रहेका प्रभाव, सम्बन्ध, दृष्टि र दृष्टिकोणहरू कलात्मक शिल्पका साथ प्रस्तुत गरिएका छन् । निबन्धात्मक शैलीमा लेखिएका संस्मरणमा आख्यान र व्यङ्ग्यको प्रभाव समेत परेको देखिन्छ ।

संस्मरणको पहिलो रचना आज मोतिराम यहाँ आए भने…मा भानुुभक्तका प्रखर अनुुयायी अहिलेको अवस्थामा काठमाडौं आए कस्तो प्रभाव पथ्र्यो होला भनी व्यङ्ग्य, बिम्ब र कल्पनाकासाथ मीठो प्रस्तुति गरिएको छ । यो शहर कान्तिपुरबाट काठमाडौं हुँदै क्याटमाण्डू बन्दै गरेको छ । यो यात्रामा भानुुभक्तले कवितामा सुन्दर रूपमा प्रशंसा गरेको अलकापुरी कान्तिपुरी नगरीको स्वरूप, बासिन्दाको शैली र स्वभावमा निकै नमिल्दो परिवर्तन आएको छ । अलकापुरी कान्तिपुरी नगरीको बाहिरको बाटिका रत्नपार्क बनेर शहर मानिएका गल्लीहरूको उकुसमुकुसबाट स्वच्छ हावा पिउने ठाउँ बनेको छ । अलकापुरी (स्वर्गको बगैँचा) जस्तो कान्तिपुर नगरले काठमाडौंमा रूपान्तरण हुँदा आफ्नो मौलिकता र प्राकृतिक पहिचान गुमाइसकेको छ, जसलाई मोतिराम भट्टले देखे के सोच्दाहुुन् ? भन्ने व्यङ्ग्यात्मक प्रश्न छोडिएको छ ।

‘एकान्त समाजसेवी खप्तड बाबा’ मा समाजसेवा गर्न प्रचार, प्रायोजन र ठूलाठूला होटेल–समारोह चाहिँदैन न समाजसेवा प्रचारमा पाइने विषय हो भन्ने उदाहरण ठूलो सुविधा र मान छाडेर प्रकृतिको एकान्त कुनामा आई तपस्या गर्ने बाबा खप्तड (स्वामी सच्चिदानन्द सरस्वती) को दृष्टान्तसाथ उल्लेख गरिएको छ । सेवामा लाग्न चाहिने गुणहरू निस्वार्थपन, अहङ्कारशून्यता, गहिरो समर्पण भएकाले खप्तड बाबाले आध्यात्मिक चेतना विस्तार गर्दै समाजसेवाको उदाहरणीयता देखाएका थिए । यो संस्मरणको आधार कतिपय श्रुति र उनका विषयमा विकलले बनाएको दृष्टिकोणसहित स्वामी ब्रह्मलीन भएपछि २०५३ सालमा लेखिएको थियो ।

‘श्री ५ त्रिभुवन–मेरो सम्झनामा’ त्रिभुवनको विषयमा लेखमा रहेका अवधारणा, अनुमान र राणाहरूले आफै राजा बनी महाराजा त्रिभुवनलाई गरेको व्यवहार, त्रिभुुवनले भारतीय दूतावासमा लिएको शरण, भारत प्रस्थान, उनलाई गद्दीच्यूत गरी नावालल ज्ञानेन्द्रलाई राजा घोषित गरिएको घटना, राणा आठपरियाहरूको त्रिभुवन विरोधी गतिविधि, भारतबाट नेपाल फर्केपछिको जयजयकारका घटनाहरू सिलसिलेवार चित्रण गरिएको छ । महाराजा जनप्रिय हुँदाहुँदै राजा बनेका राणाहरूको हैकमी निरङ्कुशता र जनताहरूको चेतनाको स्तरलाई इतिहासका रूपमा प्रकाश पारिएको छ । सच्चा इतिहास साहित्यमा हुन्छ, त्यहा पात्रमात्र फरक हुन्छन् भनिन्छ, तर संस्मरणमा पात्र, घटना र समय पनि उही उल्लेख भएकोले त्यो भनाइलाई पनि यसले खण्डन गरेको छ ।

‘धूमशिखाको लयमा महाकविको कविता’ त्यतिखेर महाकवि घोषित भै नसकेका कवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा बाहिर नआएका तथ्यहरू, देवकोटाको बेजोड साहित्यिक र लथालिङ्ग पारिवारिक व्यक्तित्वको यथार्थ विश्लेषण छ । प्रस्तुत प्रसङ्ग विकल, श्यामप्रसाद शर्मा, फणीन्द्रराज खेताला लगायतका साहित्यिक सारथीहरूसँग देवकोटालाई उनीहरूले त्यतिखेर प्रकाशन गरिरहेको मासिक पत्रिका ‘सन्देश’ को कला अङ्कका लागि कविता माग्न जाँदाको हो । उनीहरूको अनुरोधलाई स्वीकार्दै देवकोटाले भावनिद्रामा डुवेर धूमशिखा शैलीमा कविता बोलिदिएका थिए । कला अङ्कमा कविता त छापियो तर राणा प्रशासनका कारण पत्रिकाका सबै प्रतिहरू जलाइएछ । जुन कविता आज विकलको स्मृतिमा रहेका चार हरफमात्र संस्मरणमा उल्लेख छन् । संस्मणले अर्को पक्ष पनि उघारिदिएको छ, त्यो के हो भने देवकोटा भनिएजस्ता गरिब नभै खानपिन गर्न पुुग्ने तर अलमस्तीपनाका व्यक्ति भएकाले पैसालाई हातको मयल सम्झन्थे । यसर्थ उनी स्वभावका कारण सदैव अभावमा रहे ।

‘पलाँसको फूल आगोको लप्का जस्तो हुन्छ’ संस्मरणमा विकलको आफ्नै गाउँको अरुणोदय माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको बूढो पलाँसको रुखलाई बिम्ब बनाएर मानव भावनालाई प्रस्तुत गरिएको छ । फूललाई जीवनको मोहकता र माधुुर्यको प्रतीक बनाइएको छ । बूढो भए पनि वसन्तको पलाँसमा आगोको लप्कामा जसरी अग्निशिखा रङ्भएको फूल फुलेर परिवेशभरि मोहता र माधुुर्य छर्छ । फूल प्रसन्नता र खुसीको प्रतीक हो, जीवन सँधै खुसी हुन नसक्ला तर खास अवस्थामा, खास घटनामा आफैलाई भुलेर विन्दास खुसी हुनपुुग्छ । कतिपय फूलहरू चाँडै हाँसेर चाँडै मुुर्झाउँछन्, मर्छन् पनि, क्षणिक रूपमा आफ्नो रूपसौन्दर्यको चर्को वासनाले परिवेशलाई खलबल्याउछन् पनि तर तत्कालै फत्ल्याकफुतुक गलेर अस्तित्व गुमाउँछन् पनि ।

अरुणोदयको त्यो फलाँसको रुख समाज, समय र सौन्दर्यको साछी हो, उत्साह र धैर्यको प्रतीक हो र यसले वाद्र्धक्यमा पुुगेका जीवनलाई यसैगरी आगोको लप्कामा फुलेर उत्साह उमार्न शिक्षा दिएको छ । संस्मरणमा आफ्नो वाद्र्धक्यको बाधालाई नस्वीकार्ने र अन्तरमा सँधै तन्नेरी उत्साह उमार्ने अनुुभव सँगालेका कवि सिद्धिचरणलाई त्यही पलाँसको रुखसँग तुलना गरिएको छ । काजीदाइ (सिद्धिरण) वाध्द्र्धक्यमा पनि कविताको आगो ओकल्छन्, सौन्दर्यले लेप्छन् । सिद्धिचरण पलाँसजस्तै धोत्रिए पनि क्रान्तिको आगो र प्रकृतिको सुन्दरता उतार्छन् भनेर मुक्तकण्ठले प्रशंसा गरेका छन् । पाठक त्यो बूढो पलाँसको रुख स्वयम् विकलमा पनि देख्छ, तर विकल त्यसलाई संस्मरणमा छोपिदिन्छन् ।

‘गोपाल पाण्डेलाई सम्झदा’ व्याकरणविद् एवम् साहित्यकार गोपाल पाण्डे ‘असीम’ को सरल व्यक्तित्वको चित्र हो । उनले ¥हस्व दीर्घको सवाई लेखेर नेपाली भाषालाई शुद्ध बनाउने प्रायोगिक सूत्र बनाएका थिए । उनको व्यक्तित्व सामान्य तर प्रतिभा बहुमुखी थियो । सामान्य व्यक्ति र सरल स्वभावका व्यक्तिहरू समाजमा महान् बन्न सक्तछन् भन्ने सन्देश संस्मरणले दिएको छ । साथै परोक्ष आग्रह पनि छ –तुक्का वितण्डा, प्रभाव र प्रायोजनमा कवित्व देखिदैन, प्रतिभावान् व्यक्तिहरू सरलतामा देखिन्छन् जसरी गोपाल पाण्डे असीम सुनीति विरह र ¥हस्व दीर्घको सवाईमा देखिए ।
‘प्रिय १रस वर्षणमा अवरोध किन ?’ कवि तथा कथाकार भवानी भिक्षुप्रतिको आदरपूर्ण कौतुहलताको प्रकाश हो । प्रौढतामा पनि भिक्षु रसिक कविता लेखिरहेका थिए । त्यो फेरि फर्कला ? मनोविज्ञानको अत्यन्तै मिहीन र मोहक प्रस्तुुति हो । भिक्षुको वाद्र्धक्यले रस र रतिभावलाई नछेकिएको प्रिय १ रसवर्षणमा अवरोध किन ? मा युवा–किशोरीहरूलाई गालामा गुराँस फुलाइदिने र युवा–किशोर कविहरूलाई ओठका कुनामा मोहकताको स्मीत रेखा नचाएदिने शक्ति रहेको कुरा त्यतिबेलाका मानिएका कवि कवयित्रीहरूको भेलाको प्रसङ्गसाथ व्यक्ति गरिएको छ । कविताको सौन्दर्य, चेतना र अभिव्यक्ति शक्ति कति ठूलो हुन्छ भन्ने पनि भिक्षुका कवितामार्फत देखाएको छ । अर्को पक्ष यति धेरै शक्ति सामथ्र्य बोक्ने साहित्यकारहरूको नेपालमा रहेको अवस्था, उनीहरूले भोगेको पीडा पनि भिक्षुलाई दृष्टान्तमा राखेर देखाइएको छ । कलाका सच्चा साधक (इमान्दार साधक) अपमान, पीडा र आफ्नै दुःख पिएर बाँच्ने बाध्यतामा छन् । आखिर अक्षरमात्र उसको एकल साथी र माया गर्ने चिज हो । भिक्षुु यसका प्रतीक ।

‘शब्दचित्र ः एउटा कलाकारको’ शास्त्रीय सङ्गीत साधकगणेश भण्डारीको सङ्गीतप्रतिको समर्पण, साधना र निरन्तर रियाजको संस्मरण चित्र हो । एउटा कलाकार बाँच्न निरन्तर सितार, तानपुरा, तवला साथ ‘सारेगमपधनिसा’ को स्वरमा रेटिएको छ तर समाज र सरकारले उसलाई वास्ता गर्दैन । त्यसको पनि उसले पर्वाह गर्दैन केवल लागिरहन्छ । ‘ऊ साँच्चै श्रमजीवी‘ बलराम श्रमजीवीको जीवन, श्रमप्रतीकको अथक लगनको प्रस्तुति हो । बलराम श्रमजीवी निरन्तर परिश्रममा बाँचे । मानिसहरू आमाबुुबाले राखिदिएको नाममा चित्त नबुुझाई आफै गोठाले, खेताला, गरिब, व्यथित जस्ता नामहरू राख्छन् तर ती नामको सार्थकता खोज्दैनन् । नाम र कामको तालमेल केवल बलराम श्रमजीवीमा देख्छन् । विकलले आफ्नै नाम विकलको सार्थकतालाई भने कोट्याएका छैनन् ।

उनले आफ्नो नाम विकल राख्नुमा त्यतिवेलाको केटाकेटीपन (अपरिपक्वता) हो भन्ने कुरा अर्कै प्रसङ्गमा बताएका छन् । ‘उनी सभापतित्व गर्न पनि आफ्नो तस्वीर पठाउँछन्’ भूतको भिनाजुका लेखक बासुदेव लुँइटेलको स्वभावको संस्मरण हो । यसले दुुई पक्षमा प्रकाश पारेको छ । पहिलो भूत भन्ने भ्रम हो, भ्रमले भूत जन्माउँछ भन्ने भूतको भिनाजुको कथाको सन्देश । भूतमाथि विश्वास नराख्ने व्यक्ति पनि भ्रमका कारण साँच्चै भूतको फन्दामा प¥यो । अर्को हासने (शायद हास्य व्यङ्ग्य समाज नेपाल ?) को कार्यक्रमको सभापतित्वका लागि पनि आफूनगएर भूतका भिनाजुुले आफ्नो अनुकृति (पोट्र्रेट चित्र) गराएर हासने कार्यक्रमलाई जीवन्त माहौलमा लगिदिए ।

‘ऊ केटाहरूको कान निमोठ्थ्यो’ संस्मरणकारका साथी बासु वैद्य (शशी) को प्रतिभा, चलाखीपन र वाकपटुताको अनुुभूति हो । ’पिँडालीको कैँची र मेरी ज्ञानी आमा‘ केशवरज पिँडालीको सम्पादकीय व्यक्तित्व र सेवा निवृत्तपछिको सामान्य जीवनको व्यक्तित्वमा देखिएको भिन्नताको विश्लेषण हो । पहिलो व्यक्ति अहङ्कारी छ, सर्जकका कथाहरूलाई आफ्नै मनोज्ञानले काट्छ तर प्रायश्चित्त पनि गर्दैन । दोस्रो व्यक्तित्व सरल, शालीन छ । आखिर समयले एउटै व्यक्तिको स्वभाव कसरी बदलेको होला ? प्रश्न अनुुत्तरित छ ।

‘मकैको गेडाबाट बुद्धको चित्र’ कलाकार कुलमानसिंह भण्डारीको कलाकारिता र शालीनता चित्रणमा केन्द्रित छ । लुकेका कलाकार प्रतिभाहरूलाई संस्मरणमार्फत प्रकाशमा ल्याउने काम विकलले गरेका छन् । जस्तो कि कुनै प्रशिक्षण र प्रोत्साहनविना पनि कुलमानसिंहले एउटा मकैको दानामा बुद्धको आकृति बनाएका छन् । यस्ता प्रतिभाले पहिचान र प्रोत्साहन पाएका भए नेपाली कलाकारिता कहाँ पुुग्थ्यो होला । जनकलाललाई सम्झदा अल्पबुुझाइको अहमपनमा हुने गल्तीको ग्लानिबोध साथ पुरातत्व विभागका महानिर्देशक जनकलाल शर्माको व्यक्तित्वको प्रकाशनमा गर्दछ । ‘नपिए पनि रङ त चढ्छ नै’ आफूमद मदिरा नलिने स्वभावका विकल आधारातसम्म रक्सीमा लटिठने उनका साथीहरू दौलतविक्रम विष्ट, पोषण पाण्डे, भूपि शेरचन, विजय मल्लहरूसँग रहेको सम्झना हो । मानिस साथीहरू साथी भनेपछि जेपनि गर्न–सहन बाध्य हुन्छ र सङ्गतले व्यक्तिलाई कहाँ कहाँ पुु¥याउछ भन्ने देखिएको छ । ‘नेपाली माटोको गीत गाउने गीतकार’ गीत–सङ्गीतमा स्थानीयता र राष्ट्र समेटिएपछि कालजयी हुन्छ भन्ने गायक पुुण्यप्रसाद सुवेदीको दृष्टान्तमार्फत देखाइएको छ ।

‘उसलाई सल्लाको गन्ध मनपथ्र्यो’ सल्लेबिरको खोटे गन्धमा कविता फुराउने कवि भूपि शेरचनका विषयमा लुकेका तथ्यहरू बाहिर ल्याउन सक्षम छ । कवि पारिवारिक जीवनबाट असन्तुुष्ट भएर रक्सीमा डुव्छन् तर किन सम्पन्नता, राम्री श्रीमतीको चोखो माया र लालावालाबाट असन्तुुष्ट छन् त्यो देखिदैन । बेजोड प्रतिभाशाली विद्रोहका आगो ओकल्ने कवि आप्mनो पहिचान भुलेर किन प्रज्ञा प्रतिष्ठानको घुम्ने मेचमाथि पुगे ? त्यो तथ्य पनि खुल्दैन । प्रज्ञाको घुम्ने मेचमाथि पुुगेपछि त्यो ठाउँ (प्र.प्र) साहित्यकार, विद्वान्, कवि, कलाकारका लागि मन्दिर बनाउनुपथ्र्यो तर त्यो धूर्त, राजनीतिबाज र नीचहरू आफ्नो दाउपेचमा लडाउने अखडा बनेकोमा दिक्दार छन् र विद्रोह गर्छन् । त्यसैले उनको अन्त्येष्टिमा प्राज्ञहरू उपस्थित भएनन् । यी लुकेका तथ्यहरू इतिहासमा छैनन्, भूपिले बताएका पनि छैनन् । संस्मरणले होनहार प्रगतिशील प्रतिभा कसरी घर, परिवार, समाज र संस्थाबाट एक्लिएर सीमित साथीमा आइपुुग्छ भन्ने मार्मिक तथ्यमाथि प्रकाश पारेको छ ।

‘युुगचेतनाले गरेको त्यो हत्या’ महान हास्यव्यङ्ग्यकार भैरव अर्यालको आत्महत्याको प्रसङ्गको उजागर गर्दछ । अरूलाई पेट मिचिमिची हसाउने व्यक्ति भित्रभित्रै कसरी जलेर आत्महत्या गर्दोरहेछ ? उसलाई आफूप्रति, आफ्नै स्वरप्रति, आफ्नै उपलब्धिप्रति नै ग्लानि छ । आफ्नै कर्मप्रति अनुत्साह, आफ्नै जागिर, समाज र साथीहरूप्रति उपेक्षाबोध छ र त्यसैमा गुम्सिएर आत्महत्याजस्तो अप्रिय निर्णय गर्न पुुग्छ । भैरवले विकललाई भनेका रहेछन् ‘..त्यस्ता कुरा जब अपत्यार गर्न नहुने मानिसहरूबाट बारम्बार मस्तिष्कमा कोच्चिरहन्छ । एउटै कुरा बारम्बारमस्तिष्कमा ठक्कर खान थालेपछि जस्तै अपत्यारिलो कुरा पनि अज्ञानमै त्यहा विश्वास बनेर जम्न थाल्दो रहेछ अनि उप्m । यसले मस्तिष्कमा कत्रो ताडना र पीडा गर्छ–यी बताएर बुझिन्न, भोगेर मात्र थाहा हुन्छ ।’ अनि विकल भन्छन् ‘उसका भनाइमा गुढ रहस्य छ र त्यसमा सार छ । मस्तिष्कमा जब कुनै दुःशङ्कालाई मलजल गरेर पोसिन्छ अनि त्यो नखुल्ने ग्रन्थी बनेर जीवनग्रासी हन्छ ।’ भैरव अर्यालका जीवनमा त्यही भयो । सबैलाई पेट मिचिमिची हसाए नथाक्ने प्रतिभा आफैभित्र भने बेस्सरी जलेको रहेछ ।

‘मगमगाउँदो फूल ः पारिजात’ नेपाली साहित्यकी सशक्त साधिका पारिजातको स्वभाव, प्रतिभा र उनको जीवनको उतार चढावको थोरै बिम्ब हो । संस्मरण अनुसार पारिजातका दुुईवटा परिचय छन् । पहिलो,जवानी, रूप, माधुुर्य, सिँगार र कृत्रिमताभित्र अहम् पालेकी पारिजात । दोस्रो परिचय चाँही स्वाभिमानी, कर्मठ, परिपक्व र प्रगतिशील साहित्यकार जो आफै समाज परिवर्तनको अभियान पनि हो । पहिलो परिचयमा आधुनिक कृत्रिम जीवनको मोहमा जकडिएकी रोमान्टिक र महत्वाकाङ्क्षी प्रतिभाको हठी रूप छ । दास्रो परिचयमा यसको ठीक विपरीत गम्भीर, उद्देश्यप्रति समर्पित, विचारशील र परिपक्व व्यक्तित्व जहाँ कर्मठताभित्र केही कुण्ठा र भग्नासा पनि छ । हामी पारिजातलाई नदेखेको पुस्ता, संगत नगरेको पुस्ताले पारिजातको दोस्रो परिचय मात्र पाउँछ ।

संस्मरणमा विकल कविहरू साहित्य सभा–सङ्गोष्ठीहरूमा कविताका माध्यमबाट परोक्ष प्रत्यक्ष प्रेम निवेदन र यौन सङ्केतहरू वा समर्पणका सङ्केतहरू गर्दछन् । जस्तो कि भिक्षु, पारिजातका कविताहरूले गरिरहेका थिए । अर्को शारीरिक रूपमा अशक्त व्यक्तिहरू मानसिक रूपमा जति नै द¥हो भएपनि कुण्ठा, निराशा र हठधर्मिता देखाउँछन् । यो उनीहरूको मनोवैज्ञानिक क्षतिपूर्ति हो भन्ने पनि यो ‘मगमगाउँदो फूल’ भित्र देखिएको रहस्य हो । यी कुरा पारिजातका व्यवहार र केही सिर्जनामा पनि देखिएका छन् । यसले पारिजातका विषयमा नदेखिएका वैयक्तिक, स्वभावगत, वैचारिक र सम्बन्धपरक केही कुराहरू देखिएका छन् । अन्ततः विकल नेपाली साहित्याकाशकी सुन्दर फूल थियो पारिजात भन्ने निष्कर्ष दिन्छन् । यो पारिजातको समीक्षा नभएर पारिजातप्रति विकलको अनुुभूति हो ।

‘एउटा साथी जो टाढा भएर पनि नजिक छ’ रमेश विकल र नरेन्द्रराज शर्माबीच साथीत्वको अनुुभूति हो । ‘उत्तम कुँवरसँगका केही सम्झना’ त्यतिवेला निकै चर्चित र संस्था नै बनेको रूपरेखा पत्रिका जसले कैयन साहित्यकारलाई प्रोत्साहन र मञ्च दिएको थियो, त्यसका सम्पादक उत्तम कुँवरको सम्झना, कुँवर र उनका साझेदार सहयात्री बालमुकुन्ददेव पाण्डेको मनमुटाव र कुँवरका जीवनका दृष्टिकोणहरू उतारिएको संस्मरण हो । ‘एउटा साधु साहित्यिक पत्रकार’ रचनाका सम्पादक रोचक घिमिरेको साहित्यिक पत्रकारिताको लामो फेहरिस्त, रचनाले रचना गरेको साहित्य साधना र दुुई साधक विकल र रोचकको रोचक सम्बन्धका पाटाहरू हुन् । ‘इच्छुकलाई सँझदै’ निर्र्भीक पत्रकार कृष्ण सेन इच्छुकको अमानुसिक यातनापछि हत्याको मार्मिक घटनाको सम्झना हो । ‘समाजलाई शुद्ध र प्रदूूषणरहित अगुवाइको खाँचो छ’ चावहिलमा समाजसेवी भक्तलाल होडा श्रेष्ठको सामाजिक–सांस्कृतिक सक्रियताको वर्णन हो । भक्तलाल श्रेष्ठजस्ता लुकेका व्यक्तित्वहरूले नै समाजलाई स्वच्छ, स्वच्छ नेतृत्व दिइरहेका छन् । समाजले नसम्झेका समाजसेवीलाई विकलले सम्झेका छन् ।

‘धूमशिखाको लयमा सल्लाको सुसेली’ २४ जना व्यक्तिको संस्मरणात्मक विवरणहरू समावेश छन् । यो संस्मरण कोरा संस्मरणमात्र छैन, यसमा इतिहास छ, साहित्य र समाजको सम्बन्ध छ, कतिपय रहस्य र लुके÷लुकाइएका तथ्यहरूको प्रकाशन छ । महाकवि देवकोटा, पारिजात, भूपि शेरचन, खप्तड बाबाहरूका बाहिर नआएका कुराहरूबाट त्यो पुस्ताभन्दा पछिको पुस्ताले प्रेरणा पाउने आधार दिएको छ । लेखाइमा आग्रह, ईष्र्या, कृत्रिमता र अहमत्याँइ छैन, जुन बहुधा संस्मरणकारमा देिखने गर्दछ । साथै आफ्नै र संस्मरणमा पात्रप्रति इमान्दारिता छ । सस्मरणका शृङखलाहरू कथात्मक संरचनामा र प्रस्तुति निबन्धात्मक शैलीमा छन् । पछिल्लो पुस्ता जसले संस्मरणका पात्रहरूलाई चिने, देखे, भोगेको छैन उनीहरूका लागि यो उत्साह, आशाको ऊर्जा हो, निष्ठा र समर्पणको पाठ सिकाउने सूत्र हो । विकलका अनुुभूतिहरूले दृष्टिकोण र दृश्यचित्र साथै देखाएको छ, एउटा आदर्श सस्मरणको अनुुभूूति पनि दिएको छ । पछिल्लो पुस्ता (पाठक) लाई समयको अघिल्लो क्रममा पुु¥याएर केही महान् व्यक्तिहरूलाई भेटाएको छ ।
निबन्ध                                                प्रकार                  प्रवृत्ति
सात सूर्य एक फन्को                              नियात्रा                  दैनिकी विषयको प्रवन्धकीय र वैचारिक प्रस्तुति
नीलगिरिको छायाँमा                              नियात्रा                  दैनिकी विषयको निजात्मक र वैचारिक प्रस्तुति
अब अगाडि ब्ढनुछ अझै अगाडि            व्यङ्ग्य लेख          विषय र घटनाको लाक्षणिक प्रस्तुुति
धूमशिखाको लयमा सल्लाको सुसेली     व्यक्ति संस्मरण      संस्मरणात्मक अनुुभूतिजन्य प्रस्तुति

उपसंहार
निबन्धकार रमेश विकल देवकोटा झै स्वच्छन्दताको वयेलीमा तैरिदैनन्, न शङ्कर लामिछाने झै भावको घनत्वमा गहिरिएर घटनाक्रमलाई अमूर्त बनाउँछन् । विकलका निबन्धमा विषय, विचार र विश्लेषणको सन्तुलित संयोजन हुन्छ । नियात्रा होस् कि व्यङ्ग्य वा संस्मरण आलेख सबैको केन्द्रविन्दुमा सामाजिक उन्नति हुन्छ । प्रकृति चित्रण, घटना चित्रण, खोज र विचारको प्रस्तुतिले नेपाली पहिचान र समुुन्नतिको सन्देश हुन्छ । त्यसैले निबन्ध भनिए पनि देवकोटीय स्वच्छन्दताको रफ्तार छाड्दैनन्, न मोन्तेनले भनेझै पूर्ण रूपमा आफूलाई मात्र अभिव्यक्त गर्दछन् । आत्माभिव्यञ्जनाभन्दा माथि उठेर विषयवस्तु र घटनालाई बौद्धिकता र विचारले शिल्पपूर्ण प्रस्तुत गर्दछन् ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }