
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ ।
यो क्षेत्रमा आजदेखि नै लागुहुने गरी एक महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।
नेकपा एमालेनिकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं दुवै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको र दुई पक्षको प्रदर्शन एकै ठाउँमा हुदाँ शान्ति सुरक्षामा खतरा हुने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दुवै पक्षसँग छलफल गरेपछि उक्त निर्णय गरेको जनाएको छ।
माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्नका लागि निषेध गरिएको छ । उक्त क्षेत्रमा सरकारी तथा संवेदनशील निकाय भएकाले प्रदर्शन गर्न नदिइने निर्णय भएको जनाइएको छ ।
दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाएको र फरक–फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्न पाउनेछन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ को उपदफा ३ क बमोजिमको आदेश जारी गर्दै निषेधित क्षेत्र तोकिएको स्थानमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न रोक लगाएको जनाएको छ ।
निषेधित क्षेत्रमा आजदेखि ३० दिनसम्मका लागि ५ जना भन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको छ ।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्बोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल बिजुलीबजार पुल हुदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा उल्लेख छ ।