
काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ ।
‘हफ अन हफ अफ बस’ आजदेखि परीक्षणका रुपमा चल्ने भएको हो । यस सेवाको आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् ।
परीक्षणका लागि दुईवटा साझा बस केही दिन निस्शुल्क सञ्चालन गर्ने तयारी गरिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् ।