
काठमाडौं । पारस खड्का नेतृत्वको बागमती प्रदेश क्रिकेट संघले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा ५० जना क्रिकेट प्रशिक्षक उत्पादन गर्ने भएको छ । शुक्रबार खड्का र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी अनुसार आईसीसी लेभल जीरो क्रिकेट कोच विकास कार्यक्रम सुरु हुनेछ । त्यसरी विकास भएका प्रशिक्षकले सहरभरका इच्छुक व्यक्तिलाई क्रिकेटको ज्ञान सिकाउने बताइएको छ ।
हस्ताक्षरपछि मेयर शाहले काठमाडौंबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल र पृथु बास्कोटा पछि राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने खेलाडी ननिस्किएको भन्दै यसको कारण काठमाडौंमा खेल्ने वातावरण नभएको बताए । स्थानीय सरकारको दायित्व भनेकै जनतालाई खेल्ने वातावरण तयार पार्नु रहेको भन्दै उनले क्रिकेट संघको प्राविधिक सहयोगमा केही स्कुल तथा वडामा नेट राख्ने व्यवस्था गर्न लागेको समेत जानकारी दिए ।