बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पुस्तकले गराएको परिचय


  • गोपी मैनाली
  • सोमवार, अशोज १, २०८०
  • 295
    SHARES

पुस्तकले गराएको परिचय

संसारमा मानिसहरू कति छन् कति । सबैलाई चिन्न, बुझ्न, जान्न र भेट्न सकिने कुरा भएन । मानिसलाई चिनेर, बुझेर, जानेर, भेटेर संसार जान्न सकिन्छ । मानिसलाई मानिस बनाउने कैयन कुरामध्ये विचार र विवेक हो । मानिस अरूसँग सम्बन्ध विस्तार गर्न चाहन्छन् । मानिसहरूसँग मात्र होइन, प्राणी-वनस्पति, गाउँ-ठाउँ, विचार-बस्तुसँग परिचय गर्न चाहन्छन् । पुस्ताहरू परिचयको हस्तान्तरण हो, समय परिचयको हस्तान्तरणमा रहन्छ । प्रगति परिचयको परिष्कारमा रहन्छ । परिचयको विस्तार गर्नु आफ्नै पहिचान विस्तार हो ।

मानिसको मनोविज्ञान व्यक्त-अव्यक्त मानिसक तहहरू सधैँ अर्को कुरा भेट्न चाहन्छ । त्यसैले भेटिनु छुटिनु संसारको रीत भन्ने गरिन्छ । छुटिँदा पनि भेटिँदाको स्मृति मेटिँदैन । चेतनाले कहिल्यै पनि परिचय मेट्न सक्दैन । चेतना सकिनुअघि नै मानिस विचार, वाचा, भावना भोग र उत्साहका परिचयहरू छाडेर आफूलाई हस्तान्तरण गर्छ । मानिसको अर्को परिचय आफूलाई हस्तान्तरण गर्नु हो । मनुदेखि आजसम्म सबैले आफूलाई हस्तान्तरण गदै आएका छन् ।

मित्र शङ्कर पाठकले एक प्रसङ्गमा बडो मार्मिक कुरा उठाए । मानिसको इतिहास जम्मा तीन पुस्तामा जीवित रहन्छ । हजुरबुबा-हजुरआमालाई मैले देखेँ, आमा-बुबासँगै रहेँ र म यस अवस्थामा छु । हजुरबुबा हजुरआमा अब हुनुहुन्न, बुबाआमा मेरा छोराछोरीको हजुरबुबा हजुरआमा बन्नु भयो, म बुबा बने । इतिहास यसै गरी तीन पुस्तामा सर्दै जान्छ । एक पुस्ता घट्दै पहिलाको स्मृति बन्ने परम्पराले इतिहास धानिएको हो । सबै कुरा स्मृतिमा आउँदैनन्, सबै स्मृति आउने खालका हुँदैनन्, कतिपय स्मृतिमा अटाउँदैनन् पनि ।

मानव इतिहास साँच्चै चाहिँ तीन पुस्ताको हो ? मनमनै गमेँ । शङ्करले भनेको एकदम सत्य हो । तर चेतनाले पुस्ताका कुरालाई अनन्त हस्तान्तरण गर्दै जान्छ । स्मृतिले इतिहास रहन्छ, जीवित नभए पनि इतिहास रहन्छ । भनौँ स्मृतिले इतिहासलाई जीवित बनाउँछ । अक्षरले स्मृतिलाई जीवन दिँदै आएको छ । शब्द-दृश्यका अभिलेखले इतिहासलाई बचाएको छ । अक्षरले सिर्जना, अभिलेख, शिलापत्र, अब त क्लाउडहरूमा स्वर, दृश्य र बिम्बहरूमा मानिसलाई अर्को समयमा भेटाइदिन्छ । शङ्कर सत्य हो तर शाश्वत कुराहरू अरू पनि छन् ।

शिक्षा मन्त्रालयमा भिडभाड र कार्यव्यवस्ततामा थिएँ । निजी सचिव आएर एउटा कागजको पार्सल दिइन् । पठाउनेको नाम भोजराज भट्ट रहेछ र पाउनेमा चाहिँ मेरो नाम । त्यो ठूलो खामभित्र के छ ? छामे, हेर्ने प्रयास चाहिँ गरिन । मनमा थोरै डर, धेरै कौतूहल थिए । तैपनि खोलिन । छाम्दा निष्कर्ष निकालेँ-किताब हुनुपर्छ । र ती किताब कुनै कक्षाको पाठ्यक्रममा समावेश गर्न अनुरोधका लागि पठाइएका हुनुपर्छ । केही दिनअघि एकजना बालसाहित्यकारले दर्जन जति किताब यही प्रयोजनका लागि अनुरोधसाथ छाडेका थिए । भट्टजीले त्यही आग्रहमा पुस्तकहरू पठाउनु भएको होला । सोच्ने मन सोच्दै रह्यो । कुनै एदेसिभ इन्भल्भ (खाममा विस्फोट दलेर बन्द गरेको) त पक्कै होइन होला, उपहार वा यस्तै कुरा पो हो कि । सोच्ने मन सोचाइका शृङ्खलामा बतासियो । सोच्नलाई आधार पनि चाहिँदैन, न शङ्कालाई तर्क चाहिन्छ ।

व्यक्तिगत नाममा आएको खाम भएकाले घरमा आएर खोलेँ, भोजराज भट्ट लिखित किताबहरू रहेछन् । पहिलो रहेछ ‘धेरै दुखेको छ नेपाल’, त्यसपछि ‘बैँसालु खप्तड’, अर्को रहेछ ‘मैले देख्न पाएको कैलाश-मानसरोवर’, र तल रहेछ ‘गोदावरीका मनहरू’ ।

मथिङ्गलभरि कचकमचक कुराहरू उर्लिए – उहाँ को हो ? किन यति धेरै किताब पठाउनु भएको होला ? चिनेको व्यक्ति पनि होइन । मलाई मात्र पठाउनुभएको हो कि अरूलाई पनि ? पार्सलका साथ चिठी किन नभएको हो ? मेरो नाम, ठेगाना थाहा पाउनेले मेल, फोन नम्बर पनि थाहा पाउनु भएको होला, सम्पर्क गर्नु भएको भए आशय थाहा हुन्थ्यो । जे होस किताबहरू पाएपछि भने खुसी भएँ-फुर्सदमा सबै किताबहरू पढ्छु । प्रतिक्रिया पनि लेख्छु ।

पुस्तकका शीर्षक हेर्दा लाग्थ्यो उहाँ भ्रमण प्रिय हुनुहुन्छ । बैँसालु खप्तड र मैले देखेको कैलाश-मानसरोवरले त्यही बताउँथ्यो । अध्यात्म र धर्मप्रति आस्था राख्नुहुन्छ जस्तो लाग्यो । नत्र बैँसालु खप्तड, मानसरोवर, गोदावरीका विषयमा किन लेख्नुहुन्थ्यो । उहाँ भावना र अनुभूतिमा पोखिने मानिस हुनुहुँदो रहेछ । अभियन्ता र देशप्रेमी पनि देखिनुहुन्छ-धेरै दुखेको छ नेपालले यही बताउँछ । फेरि गमे-पुस्तक पढिन भने लेखकप्रति अन्याय हुन्छ । त्यत्रो मिहेनतसाथ पठाउनुभएको छ । पढ्न फुर्सद पनि छैन । निवृत्तिको मुखमा छु, सेवानिवृत्त भएपछि पढौँला ।

झण्डै हजार रुपैयाँ मोल अङ्कित किताबहरू, हुलाक खर्च त्यत्तिभन्दा बढी नै पर्‍यो होला । अवश्य पढ्छु । सित्तैमा पाएका किताबहरू मानिसले कम महत्त्व दिन्छन्, कम पढ्छन् । होइन यी किताबहरू एक एक गरेर पढ्छु । त्यसपछि किताब दराजमा राखेँ, दिनचर्या सुरु गरेँ । समय र जिम्मेवारीले जे भन्यो, गर्दै गएँ । दिनचर्याका एक कुनामा चार पुस्तकका आकार र स्मृतिहरू पनि पाँजिए, भोजराज भट्टको परिचय भयो । किताबले दिएको परिचय । मुकुन्दशरण उपाध्यायले भने झैँ ‘देखेको पोखराभन्दा लेखेको पोखरा मीठो’ । देखेको भोजराजभन्दा किताबको भोजराज मीठो ।

डेढ वर्ष जति पछि जनवरी १४, २०२३ मा भोजराज भट्टका तर्फबाट एउटा इमेल आयो म लगायत करिब सय जतिलाई कुनै सम्बोधन नगरी पठाइएको यस इमेलमा ६ वटा एटेचमेन्ट रहेछन् । पहिलो एटेचमेन्टमा आफ्नो आग्रह भनौँ वा अनुरोधको एकपाने आलेख थियो जसमा आफ्ना रुचि, पढ्न-लेख्न मन भएको कुरा उल्लेख थिए । लेख्नुभएको रहेछ, ‘मन परेका मानिसहरूसँग किताब मै भेटघाट हुन्छ । मैले रोजे तपाईंहरूलाई मेरा पाठकहरूका रूपमा ..मेरो रहरमा सबैको सहयोग सङ्कोच नमानी लेखी रहेको छु । आभार सहित ।’ र त्यसपछिका पाँचवटा किताबहरू समावेश थिए, पहिलो ‘मनहरूदेखि मनहरूसम्म’, दोस्रो ‘आफ्ना गाथाहरू’, अर्को ‘पुतलीसडकदेखि पुतली सडकसम्म’, चौथो ‘पारिवारिक गाथा’ र पाँचौँ ‘सम्झनामा भोजराज भट्ट’ ।

मनहरूदेखि मनहरूसम्ममा मनदेखि मनसम्म गरेका यात्राहरू संस्मरण निबन्ध रहेछ । आफ्ना गाथाहरू पनि आध्यात्मिक चिन्तन र धार्मिक निष्ठाका संस्मरण प्रबन्धहरूको सँगालो रहेछ । पुतलीसडकदेखि पुतलीसडकसम्ममा किसनुनजी, गिरिजाबाबु, मदन भण्डारी, भूपि, पारिजात, काइँलाहरूका विषयमा उहाँको दृष्टिकोण र सम्बन्ध सँगालिएको व्यक्ति संस्मरण रहेछन् । पारिवारिक गाथामा पनि उहाँका संस्मरणात्मक आलेखहरू थिए । सम्झनामा भोजराज भट्टमा भने उनकै विषयमा विभिन्न विचारक, अभियन्ता र व्यक्तित्वहरूले लेख्नुको कुराहरूको सङ्कलनलाई जसुदा राई भट्ट फउण्डेशनले प्रकाशन गरेको रहेछ । अब मलाई थाहा भयो मैले नचिनेको, हुलाक र इमेल मार्फत किताबले चिनाएको व्यक्तिका पन्ध्र साेह्रवटा सिर्जना रहेछन् । उहाँ अभियन्ता, लेखक, सर्जक र यात्रु हुनुहुँदाे रहेछ । एउटा प्रश्नको उत्तर फेरि पाइन-आफ्नै विषयमा सम्झना शीर्षकमा किन पुस्तक प्रकाशनका हतारो गर्नु भएको होला ?

पुस्तकले नै महाकवि लक्ष्मीप्रसाद देवकोटा चिने । मानवताका प्रतिमूर्ति, सिर्जनाका सागर, अलौकिक प्रतिभा लक्ष्मीप्रसाद देवकोटा । मेरो पुस्ताले महाकवि देवकोटा देखेको छैन । उनलाई सुनेको मात्र हो । अलौकिक पात्र, मिथक, कहावत, बेपर्बाह, बिन्दास सबैले आआफ्नो अनुसार देवकोटालाई बुझे, बुझाए । कतिले त देवत्वकरण पनि गरे । उनी असल मानव, असाधारण प्रतिभा, स्थितप्राज्ञ महामना रहेछन् । असाधारण प्रतिभाका कारण पागल भनिएछ, जसको उत्तर समेत कविता मै दिएछन् । उनका सिर्जनामा काव्यिक सौन्दर्यको पौल, मानवता र दर्शनका खानीका कारण अलौकिक मानिएका छन् । स्वच्छन्दताको बेजोड बयेली देवकोटीय वैशिष्ट्य नै भए ।

उनको स्वच्छन्दता अग्ला पहराबाट छङ्छङाउँदै सम्म स्थानमा छताछुल्ल भएको छहराको पानी जस्तै लाग्छ । त्यसैले भारतीय विद्वान राहुल साङ्कृत्यायनले पन्त प्रसाद निरालाको संयुक्त रूप भनेका रहेछन् । कालीदासको अभिज्ञान शाकुन्तलभन्दा देवकोटाका शाकुन्तल महाकाव्यमा देखिने प्रतिभा अद्वितीय रहेको भारतीय विश्वविद्यालयका शोधकर्ताले उल्लेख गरेका रहेछन् । यस्ता प्रतिभालाई मैले मात्र होइन, मेरो पुस्ताले पुस्तकले नै चिनाएका हो । पुस्तक नभएको भए देवकोटा स्मृतिमा कहावत बन्दै जान्थे र जे भनिदिए पनि पत्याउन वा नपत्याउन पर्थ्यो ।

विश्वेश्वरप्रसाद कोइरालासँग भौतिक सामीप्यमा परिचय पाइन । उनको अधिकांशतः जीवन जेल र निर्वासनमा बित्यो । सुम्निमा पढेपछि उनको महामना व्यक्तित्व बुझेँ । तीन घुम्ती, नरेन्द्र दाइ, स्वेत भैरवी, चन्द्रबदनहरूले उनको परिचय बढाए । आफ्नो कथाले उनलाई अन्तरङ्ग चिनायो । उनको चेतना-चैतन्यका विशाल आयाम जीवन, नागरिकता, लोकतन्त्र, राष्ट्रियता, मानवता र साहित्य पुस्तकले चिनाएको हो । जीवन मूल्य र मान्यताभन्दा पर नसमेटिएको आयाम मनभित्र छटपटिएको मानिसको ऊहापोहलाई विश्वेश्वरप्रसादले जसरी अरुले उल्लेख गरेका पाएको थिइन । पुस्तकमा विश्वेश्वरलाई चिन्दा उनले भने संसार चिनाएको महसुस गरेँ ।

पुस्तकमार्फत पुस्तककार दृष्टिदर्शन लिएर जीवन सङ्क्षेत्र खोल्छन् । पारिजात, सिद्धिचरण, माधव घिमिरेको पनि जीवनदृष्टि पढेँ तर उनीहरूसँगको चिनारी भौतिक रूपमा पनि थियो । भौतिक रूपमा चिनिएकाहरू किताबबाट पनि चिन्दा उनीहरूको भौतिक बिम्ब र बुझेजतिको सामाजिक व्यवहार पनि अगिल्तिर ओइरिएर आइहाल्छन् । त्यतिबेला पुस्तकका पहिचान र व्यक्तिको पहिचानबीच विरोधाभास पनि आउने गर्छ । भौतिक रूपमा नचिनिएकाहरू पुस्तकमा चिन्दा छुट्टै बिम्ब र अवधारणा बन्दो रहेछ । कहिलेकाहीँ त्यो विम्ब एव्स्ट्र्याक्ट पनि बन्दो रहेछ । ईश्वर वल्लभ, हरिभक्त कटुवाल, इन्द्र राई, भिक्षु र भूपीहरूलाई यसरी नै चिनेँ । रमेश विकललाई नयाँ सडकको गीत, अविरल बग्दछ इन्द्रावती, उर्मिला भाउजू, सुनौलीले चिनायो । विकल मानसपटलमा आउने बित्तिकै उनका पात्रहरूले दिमाग कब्जा गरिहाल्छन् । तर ती पात्र मार्फत उनले चिनाएको त उति बेलामा समाज, शासन र समय हो ।

महामनाहरूलाई पुस्तकमा मात्र मात्र चिन्दा मलाई एउटा फाइदा पनि भयो, व्यक्तिलाई चिन्दाको व्यवहार अनुमान गर्ने परेन । अझ देवकोटा, बिपी, भूपी, भिक्षु जस्ता महानाहरूको पढ्दा समाजले बनाएको अनेक पत्यारिला-अपत्यारिला कहावतलाई मस्तिष्कभरि ल्याउन पाइने छुट भयो । उहाँहरूको कमी कमजोरी नबुझी सिर्जना र दर्शन, दृष्टिकोण र कला मात्र आस्वाद गर्न पाइने भयो । व्यक्तिलाई सम्पूर्ण साक्षात्कारमा बुझ्दा उसका सबै आयामलाई बुझिन्छ । कला, दृष्टिकोण र सिर्जनालाई मात्र बुझ्दा ग्रहणकर्ता आग्रहबाट परै रहन्छ । सिर्जनाको विचार वा पात्र निरपेक्ष सर्जक त एकदमै कम मात्र पाइएला । सधैँ असल विचारहरू असल मानिसले दिएका कहाँ छन् र ? व्यक्ति पनि असल विचार पनि असल, सिर्जना पनि सुन्दर व्यक्ति व्यवहार पनि सुन्दर थोरैमा मात्र पाइन्छ, ती चाहिँ साँच्चै महामना हुन् । असल बुझाइ, असल विचार र असल नै व्यवहार भएकाहरू महामना हुन् ।

भूगोलले छेकेका साथीहरूलाई कृतिका माध्यमबाट परिचय पाइरहेको छु । विश्वभरि फैलिएका नेपाली मन र नेपाली पहिचानका व्यक्तित्वहरू चिनिरहेको छु । अघिल्लो हप्ता ‘स्मृतिका बिम्बहरू’ को पाण्डुलिपिमा समाजसेवी सर्जक राम लामा अविनाशी सँग परिचय भयो । फराकिलो मन, मनकारी सोच र सहयोगी भावनाले सङ्घर्षमा अविश्रान्त अविनाशीलाई कृतिमार्फत चिन्न पाएँ । नेपाल बाहिर रहेर पनि फराकिलो नेपाली मन, कर्मभूमि बाहिर भएर पनि मातृभूमिमा मन राखिरहने नेपालीहरूसँग अदृश्य परिचयले छुट्टै अनुभूति दियो । भावनालाई भूगोलले कहाँ छेक्न सक्थ्यो ? नेपाली भूमिमा नै शरणार्थी बनेका पुनर्वास पीडित नेपालीको आर्तनाद लेख्ने सर्वज्ञ वाग्लेलाई पुनर्वासले चिनायो, लालगोपाल सुवेदीलाई राहुल यशोधरा संवादले चिनायो । अन्त्यहीन इच्छाले गीता खत्रीलाई चिनायो । अरू धेरै साथीहरू पुस्तकमार्फत परिचयको क्रममा छन् । म्यानमार, मलेशिलया, अस्ट्रेलिया, अमेरिका, अरब, युरोपका नभेटेका साथीहरूसँग चिनजान गर्दै छु । नेपाल बाहिर रहेर नेपाली मन-मुटुबाट लेखिएका पुस्तकहरूमा नेपाली माटोको गन्ध आउँछ, साँच्चै राष्ट्रप्रेमले ओतप्रोत छन् । उनीहरूले पुस्तकमा मन नै पोखेका छन् ।

विश्वभरि समय समय दृष्टि र दर्शन दिएका कैयन महामनाहरू पुस्तकबाटै परिचय लिएको छु । कार्ल मार्क्स र आचार्य रजनिसलाई पुस्तकले चिनायो । प्लेटो र गान्धीको राजनीतिक दर्शन, भारवी र होमरको साहित्य कला, अष्टिन र इलियटको बौद्धिक हार्दिकता पुस्तकले चिनाएको हो । बोल्ट्स अफ मेलोडी नपढेको भए माया र स्वच्छन्दतामा उड्ने इमिली डिकिन्सनले मेरो दिमागमा आसन जमाउने थिएन । कागजको क्यान्भास र म तिमीसँग फेरि भेटौँलाले नै अमृता प्रीतमको भावुकता र अमर प्रेम चिनायो । प्रेम श्रमले प्रेम चन्दको आदर्शवाद र नासोले गुरुप्रसाद मैनालीको ग्रामीण यथार्थवाद चिनायो ।

पुस्तक नभएको भए उमर खैय्यामको भोग र जीवनवाद, सात्र्रका अस्तित्ववाद कहाँ जान्न सक्थेँ ? पाभ्लोभको सम्मोनवाद र कामुको निरिप्सरवाद कहाँ जन्थे ? रुसोको स्वच्छन्दतावाद, जोहन दुवेको शिक्षावाद, डार्विनको विकासवाद, क्रोचेको अभिव्यञ्जनावाद, रिचर्डसको विरेचनवाद, आडम स्मिथको बजारवाद, इमाइल जोलाको प्राकृतवाद, एलान पोका अँध्यारो स्वच्छन्दतावाद, फ्रायडको मनोविज्ञानवाद, आइन्स्टाइनको अणुवाद, मण्डेलाको मानवतावाद, टुकेवेलीको सङ्घवाद, चार्वाकको भोगवाद र फुकायामा, नाओम चम्स्की, हरारी, गोर्की, दास्ताभ्स्की, टाल्सटाय सबै पुस्तकबाट चिनिएका महामनाहरू हुन् । सांस्कृतिक विचलनमा टी-जेनेरेसनको बीजारोपण गरेर जीवनको अर्थ खोज्न हिँडेका ग्रीन्स वर्गहरू अहिले भए बेस्वादको स्वाद लिन म आफै तम्सिन्थे होला ।

त्यसैले पुस्तकले भूगोल-भावना, व्यक्ति-विचार, दृष्टि-दृष्टिकोण, ज्ञान-विज्ञान, प्रकृति-परिवेश र समाज-समय चिनाएको छ । पुस्तकले गराएको परिचयबाट पुस्ताहरू लाभान्वित हुँदै गएका छन् । सामाजिक प्रजननशीलतालाई यसैले गतिवान् बनाएको छ ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }