सोमवार, बैशाख २४, २०८१

आत्मकथाकार रमेश विकल (“समालोचनात्मक विश्लेषण” पुस्तकबाट )


  • गोपी मैनाली
  • शनिबार, मंसिर १६, २०८०
  • 155
    SHARES

आत्मकथाकार रमेश विकल

विषय प्रवेश
महान् व्यक्तिका वैयक्तिक भोगाइ, व्यक्तित्व विकास, सङ्घर्ष र सफलताका कथाहरू समाज उपयोगी हुन्छन् । व्यक्ति समाजको अभिन्न भाग हो, व्यक्तिका उपलब्धि र सफलता, ऊर्जा र उत्साह, प्राप्ति र पीडा समाजका उत्पादन पनि हुन् । यसले समाज र आउने पुस्ताका लागि मार्गदर्शन र शिक्षा दिन्छ । कतिपय व्यक्तिका विषयमा भनिएका कुराहरूमा प्रामाणिकता पनि दिन्छ । यो इतिहास, प्रेरणा, तथ्य र कलाको सङ्गम हो । त्यसैले आत्मकथा समाज उपयोगी विधा हो । पौराणिक–वैदिक कालदेखि नै श्रुति तथा स्मृतिका रूपमा यस्ता कथाहरू आएका छन् । पश्चिमी इतिहासमा प्लेटोद्वारा लिखित सुकरातको आत्मकथाले लोकतन्त्र, धर्म, नैतिकता र साहसको वर्णनले त्यसपछिका दिनमा राज्य व्यवस्था र शासन प्रणालीलाई निकै गहिरो दर्शन दिएको छ ।

आत्मकथा गैरकथा (ननफिक्सन) विधा भएपनि व्यक्तिका घटनाहरू सिलसिलावद्ध संस्मरणमा उल्लेख गरिन्छन् र व्यक्ति स्वयम् पात्र र घटनाको परिवेश÷समाज, कार्य वातावरण, साथी–सङ्गाति, वृत्ति–प्रवृत्ति, भावना–भोगाइ र उन्मेद–अवसादको प्रकाशन भएकाले कथा नै भनिदिए पनि हुन्छ । त्यसैले कतिपय विद्वान्हरू यसलाई आत्मकथा भन्न रुचाउँछन्, आत्मवृत्तान्त भन्दैनन् । ‘मेरो अविरल जीवनगीत’ आत्मकथाका रूपमा लेखिएको संस्मरणात्मक आलेख हो । विकल स्वयम् यसलाई आत्मकथा भन्न रुचाउँछन् ।

विकलको आत्मकथा (जीवनगीत) मा प्रवेश गर्नु अगि आत्मकथा के हो, कसरी लेखिन्छ, किन लेखिन्छ, कस्ता संरचनामा रहन्छ र यसको विकास क्रम कस्तो छ भन्ने विषयमा संक्षिप्त प्रकाश पार्नु सान्दर्भिक हुन्छ ।

आत्मकथा, आत्मवृत्तान्त, स्मरण, दैनिकी, मेम्वाएर, जीवनी आदि नामबाट आत्मकथा लेखिदै आएको छ । जे जसरी लेखिए पनि र जे नाम दिएपनि यसले समाज निर्माण, सामाजिक प्रजननशीलता वा विनिर्माणका लागि शिक्षा र साहस दिन्छ । यसले आत्मकथाकार रहेको समाजको इतिहास बताउँछ, विश्लेषण गर्छ, कतिपय विषयमा प्रामाणिकता पनि दिन्छ । आफैप्रति इमान्दार आत्मकथाकार छ भने यसले ठूला व्यक्तिका लुकेका÷लुकाइएका विषयमा समेत प्रकाश पार्छ । महात्मा गान्धीले आफ्नो आत्मकथामा आप्mना कमजोरी देखाएर प्रायश्चित्त समेत गरेका छन् । त्यसैले यो कसैको सत्यापन पनि हो ।

आत्मवृत्तान्तको शब्दकोशीय अर्थ आफैद्वारा लेखिएको आफ्नो वृत्तान्त हो । यो अटोवायोग्राफीको नेपाली अनुुवाद हो । जस अनुसार अटो (आफू) वायोस (जीवन) र ग्राफी (वयान वा लेखन) को संयुक्त रूप हो । आत्मवृत्तान्त वा आत्मकथा व्यक्तिको जीवनवृत्तिको सिलसिलाबद्ध प्रस्तुति हो, जसमा जन्म, बाल्यावस्था, किशोरावस्था, जवानी, परिपक्वता र प्रौढावस्थासम्मका वैयक्तिक वृत्तिहरूसमेटिन्छन् । त्यसैले आत्मकथा व्यक्तिको आफैले लेखेका जीवनी हो, जीवनयात्राको आरोह–अवरोह, सङ्घर्ष–सफलता, उन्मेद–उत्साह–निरुत्साह, प्राप्ति–पीडा र परित्याग, देख्य–अदेख्य विषयको वृत्तान्त हो । सबै व्यक्तिका यस्ता विषयवृत्तिहरू हुन्छन् तर विशेषतः साहित्यकार र चिन्तकहरू आत्मवृत्तान्त लेख्दै आएका छन् ।

उनीहरूअरूको जीवन, घटना र प्रवृत्ति देख्ने, विश्लेषण गर्ने सामाजिक भूमिका निर्वाह गदै आएका हुन्छन् तर आफ्नै विषयमा चाँहि त्यो प्रवृत्ति, व्यवहार र दृष्टिकोण कस्तो थियो भन्ने महत्वपूर्ण हुन्छ । समाजले त्यो जान्ने अधिकार पनि राख्छ । सामान्य मानिस आफूमाथि त्यति न्याय गर्न सक्दैन, सामान्य मानिसका विषयहरू कथा बनेर आउलान् तर आत्मकथा बनेर आउँदैन, आए पनि धेरै कुरा प्राप्त गर्न सकिदैन तर महत्वपूर्ण विषय के हो भने आफैमाथि आफैले लेख्ने काम असाधारण हो, किनकि त्यसले न्याय, निष्पक्ष र इमान्दारिता राख्नुु पर्छ । यो आत्मरति, आत्मश्लाघा, आत्मप्रशंसा र आत्मप्रवञ्चना हुनुहुन्न ।

आत्मकथा÷आत्मवृत्तान्त लेखनको लामो परम्परा छ । सुकरातको आत्मकथा ईशापूर्व चारसय शताब्दीको कथा हो, जसलाई पछि प्लेटोले लिपिबद्ध गरे । पश्चात्य जगत्मा सुकरात नै यस्ता महान् दार्शनिक थिए जसका विचार, कुराकानी, व्यक्तित्व, दुःखमा देखाएको संयमले आफूूभन्दा धेरै पछिको समयलाई प्रभाव पारिरहेको छ । प्लेटोले त्यो नलेखिदिएको भए सुकरातका दर्शन र दृष्टिकोण सायद इतिहासको गर्भमा बिलाउँथ्यो र समाज लाभान्वित हुन पाउँदैनथ्यो । ईशापूर्व दोस्रो शताब्दीमा चिनिया इतिहासकार सीमा कियानले आफ्नो विषयमा लेखेको विवरण संभवत आफैले लेखेको पहिलो आत्मवृत्तान्त हो । ईशापूर्वको पहिलो शताब्दीमा सिरिेको चिठी र जुलियस सिजरको आलोचनाले आत्मप्रकाशनको इतिहासलाई केही फराकिलो बनाए ।

आधुनिक समयमा आत्मवृत्तान्त भनिने खालको आलेख भने ईशाको चौधौं शताब्दीमा सेन्ट अगस्टाइनको कन्फेसन हो । पन्ध्रौं शताब्दीमा आत्मवृत्तान्त लेख्ने क्रम अरू बढ्यो । १४५८ मा इनी सिल्भियो पिक्कोलोमिनीले आत्मवृत्तान्तको विस्तृत किताब लेखे । सो¥हांै शताब्दीको इटालिएन खगोलविद् गिरिनिमो कार्डानो, सत्रौं शताब्दीको कोली सिव्वर, त्यसपछिका दिनमा बेन्जामिन फ्रेन्कलिन, जिएन ज्याकुस रुसोहरूले आत्मवृत्तान्तलाई फराकिलो बनाउँदै ल्याए तर साहित्यक कलेवरमा लेखिएका आत्मवृत्तान्त भने विलियम वर्डस्वर्थको प्रेल्युड र लर्ड वाइरनको चाइल्ड ह्यारोल्ड थिए ।

माया आङ्गेलुको मायाआङ्गेलु, बेन्जामिन फ्रेन्कलिनको बेन्जामिन फ्रेन्कलिन, फ्रेडरिक डग्लसको न्यारेटिभ अफ फ्रेडरिक डग्लस, अन्ना फ्रेन्कको डायरी अफ योङ गल्र्स, नेल्सन मण्डेलाको लङ वाक टु फ्रिडम, ग्रेस ली वोग्सको लिभिङ अफ चेन्ज, मोहनदास करमचन्द गान्धीको माइ एक्स्पेरिमेन्ट वीथ ट्र्यूथ, मिसेल ओवामाको विकमिङ, मलाला योउफसाफजाइको आइ एम मलाला, परमहंश योगानन्दको अटोग्राफी अफ अ योगी, अगाथा क्रिष्टीको आत्मवृत्तान्त, लुुइज रोड्रीगोजको अल्वेज रनिङ्, मार्क ट्वीनको आत्मकथा, जोन्नी क्याशको क्याश, एडोल्फ हिट्लरको मेन केम्फ, जेनेट मकको सरासिङ सर्टेनिटी, सिसिलया आरागोनको ल्फाइज फ्री, साइमोन बाइलनको करेज टु सोरः अ वडी इन मोशन, विश्वेश्वरप्रसाद कोइरालाको आफ्नो कथा र जेलजर्नल, वील क्लीन्टनको माइ लाइफ, जवाहरलाल नेहरूको मेरो कथा चर्चित आत्मकथाहरू हुन् । यी अत्मकथाले इतिहास, सङ्घर्ष, साहस र सफलताको शिक्षा दिएको छ ।

कुनै व्यक्ति मनैदेखि कुनै कर्ममा समर्पित हुन्छ भने सफलता प्राप्त गरेरै छाड्छ, नियतिले त्यो प्राप्तिको मार्ग देखाएर नै छाड्छ भन्ने पाउलो कोहलो अभिव्यक्ति सबैखाले आत्मवृत्तान्तले दिएका छन् । अर्को कुरा प्रत्येक सफल व्यक्तिका पछि दुःखद कथा हुन्छ, प्रत्येक दुःखपूर्ण कथाको सफलतामूलक अन्त्य हुन्छ, त्यसैले दःुख स्वीकार्ने र सफलताको मार्ग हिड्ने शिक्षा यस्ता कथाले दिएका हुन्छन् । नेल्सन मण्डेलाको कथा कति दुःखद छ तर निष्ठा र समर्पणले शताब्दीको महापुरुष बने । विदुुषी योगमाया, विश्वेश्वरप्रसाद कोइराला, वाराक ओवामा, स्टेभ जव्स, जेफ विजोसदेखि धिरुभाइ अम्वानीसम्मका कथाले बताउने कुरा यही हो ।

आत्मवृत्तान्त धेरै प्रकारका हुन्छन्, विचारपरक, धार्मिक, साहित्यिक, बौद्धिक, कथात्मक, बहुुआयामिक आदि । एडोल्फ हिटलरको मेन केम्फ (मेरो सङ्घर्ष) विचारपरक आत्मवृत्तान्त हो, जोन हेनरीको एपोलोजिया धार्मिक हो, जे एस मिलको आत्मवृत्तान्त दार्शनिक हो । पहिला नैतिक तथा धार्मिक उद्देश्यका आत्मकथाहरू लेखिन्थे, अब साहसिक, वैचारिक र साहित्यिक आत्मकथाहरू लेखिन थालेका छन् । जे जसरी लेखिए पनि यसको एकै उद्देश्य सामाजिक परिष्कार हो, जसका लागि उत्साह र ऊर्जाका बाटोहरू देखाइएको हुन्छ ।

आत्मवृत्तान्त, जीवनी र संस्मरण (मेम्वाएर) लाई समान अर्थमा लिने, बुुझ्ने बुुझाउने गरिएको पाइन्छ । जसले कहिलेकाहीँ भ्रम पनि पार्न सक्छ । तीबीचमा रहेको सामान्य भिन्नतालाई तलको तालिकामा उल्लेख गरिन्छ ।
जीवनी                                                           आत्मकथा                                                    संस्मरण (मेम्वाएर)
जीवनको विवरण ।                                आफ्नो जीवनको विवरण ।                                     विशेष समयका घटनाको  संस्मरण
तेस्रो व्यक्तिले लेखेको हुन्छ ।                  व्यक्ति आफैद्वारा लेखिन्छ                                      व्यक्ति आफैद्वारा लेखिन्छ
वस्तुुगत हुन्छ ।                                      विषयगत (मनोगत) हुन्छ                                        विषयगत (मनोगत) हुन्छ
लेखनीका कच्चा पदार्थ विभिन्न
माध्यमबाट सङ्कलन गरिन्छ ।                 तथ्य र विवरण आफैद्वारा राखिन्छ                         तथ्य र विवरण आफैद्वारा राखिन्छ
अरूलाई जानकारी दिन लेखिन्छ ।         जानकारी दिन र अरूलाई प्रेरणाकादिनका लागि लेखिन्छ ।   आवेग, भावना र जानकारीकालागि लेखिन्छ ।
भावना तथा विचारहरू उल्लेख गरिदैन    विचार र भावनाहरू सरोवरी हुन्छन् ।                 विचार, भावना, प्रतिक्रिया हुन्छन् ।
जहिले पनि लेख्न सकिन्छ ।                      जीवनको उत्तराद्र्धमा लेखिन्छ ।                          जहिले पनि लेख्न सकिन्छ ।

आत्मकथाका खास संरचना हुन्छन् । खास अवयव र चरित्र नभै लेखिएको वृत्तान्त आत्मकथा बन्न सक्दैन । डा देवी नेपालका अनुसार आत्मकथा हुनका लागि जीवनसँग सम्बन्धित घटना, आख्यानात्मकता, गद्यात्मक संरचना, घटनाको रोचक तथा कलात्मक प्रस्तुति, अनुुभूतिको सुूक्ष्म रेखाङ्कन, सरल र सरस अभिव्यक्ति, अघोषित उत्प्रेरणा र जीवनमुखी सन्देश तत्वहरू आवश्यक पर्दछन् (सिर्जना पाठशाला, भाग १८, साहित्य पोष्ट डटकम) । यी चरित्र भएका जीवनीमुलक आलेखहरू नै आत्मकथा हुन् । जविनका सबै घटनाहरू आत्मकथामा समेटिन सकिदैन किनकि अक्षरमा जीवन उठाउन सकिदैन । महत्वपूर्ण घटनाको आकर्षक प्रस्तुति हुनैपर्छ ।

आत्मकथा किन लेखिन्छ ? यस सवालको उत्तर खोजिएपछि मात्र कुनै पनि आत्मकथाको विषयमा विवेचना गर्न सकिन्छ । सर्जक वा आत्मकथाकार समाजको अभिन्न भाग हो । उसका भोगाइ निजी भएपनि ती सामाजिक प्रक्रियाका उत्पादन हुन् । प्रत्येक समाज र त्यसको सदस्य भएका कारण व्यक्तिले निजत्वको अनुुभूतिसाथ समाजको उत्थान चाहेको हुन्छ । सर्वश्रेष्ठ र विवेकशील प्राणी भएका नाताले सामाजिक परिष्कार र सभ्यताको प्रवद्र्धन उसको नैसर्गिक कत्र्तव्य हो । समाजको सचेत व्यक्ति नै आत्मकथाकार हुन्छ, त्यसैले सुधारको दायित्वबाट ऊ उम्किन सक्दैन । यसर्थ आत्मकथाका यी उद्देश्यमा रहेर सिर्जना भएको हुनुुपर्छ ः
 आउने पुस्ता र दिनका लागि शिक्षा वा खास आकृति, गन्तव्यबोध वा मार्गदर्शन गर्नु पर्दछ ।
 परिस्थितिको बोध, विश्लेषण र व्यहार गर्नसक्ने व्यावहारिकता दिनु पर्दछ ।
 आत्मवृत्तान्तले पाठक÷पुस्तालाई प्रेरणा र प्रोत्साहन दिनुपर्दछ । यो आत्मरति वा प्रवञ्चनाको साँघुरो
 यो वृत्तान्तकारका लागि स्वयम् खोज वा प्रकाशन (सेल्फ डिस्कभरी) पनि बन्न सक्नुपर्छ । किनकि उसका विषयमा जान्ने ऊभन्दा अर्को जानकार पात्र हुँदैन । आफैमाथि पुनर्खोज र प्रकाशनले ऊ आफैपनि सच्चिन, सुध्रिन सघाउ पुुग्दछ ।

नेपाली साहित्यमा आत्मकथा
नेपाली आत्मकथाको इतिहासका विषयमा विस्तृत खोज र अनुसन्धान भएको छैन, साथै आत्मकथाका विषयमा समान मत पनि छैन । कतिपय विद्वान्हरूले वि स १८३१ को पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आत्मकथा मानेका छन् । यसमा आत्मकथाका चरित्रहरू छैनन् । आत्मकथाका विशेषता समेटिएको चिरञ्जीवी शर्मा पौडेलको १९७४ मा लेखिएको आफ्नूकथा पहिलो आत्मकथा हो । विश्वेश्वरप्रसाद कोइरालाको आफ्नो कथा (२०४०), जेल जर्नल (२०५४) र विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (२०५४), विश्वेश्वर प्र. कोइरालाको आधारभूत सङ्कलन (सं.प्रदीप गिरि, २०७८) सर्वाधिक चर्चित गैआख्यानमूलक जीवनी÷संस्मरण हुन् । त्यस्तै बालकृष्ण समको मेरो कविताको आराधना, जगदीश घिमिरेको अन्तरमनको यात्रा, रमेश विकलको मेरो अविरल जीवन गीत, हरिवंश आचार्यको चिना हराएको मान्छे, झमक कुमारीको जीवन काँडा कि फूल, धनुुषचन्द्र गौतमको सम्झनाको गल्छेडाहरू, राधाकृष्ण मैनालीको लुटिएका दुुई थुँगा फूल, मञ्जुलको पहाड जस्तो बाटो जस्तो म, कृष्ण धारावासीको आधा बाटो नेपाली साहित्यमा चर्चित आत्मकथा र संस्मरण हुन् ।

आजभोलि आत्मकथा वा संस्मरण लेखनको प्रवृत्ति बढेको छ । वैचारिक र साहित्यिक मात्र नभएर विभिन्न वृत्ति, व्यवसायमा लागेका व्यक्तिहरूले आफू वा सहयोगी लेखक (घोष्ट राइटर) मार्फत आफ्ना कुराहरू लेखाइ रहेका छन् । जव स्वयम् पात्रलाई आफैले लेख्न समय हुँदैन, सीप हुँदैन यस अवस्थामा सहयोगी लेखक (घोष्ट राइटर) बाट आत्मकथाहरु लेखिएको पाइन्छ । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको आत्मकथा ‘एन अमेरिकन लाइफ’ का वास्तविक लेखक रवर्ट लिण्ड्से थिए । विख्यात अमेरिकीन वित्त व्यवस्थापक एलान गिटुनवर्गको ‘दी एज अफ टर्वुलेन्स’ का पर्दापछाडिको लेखक पिटर पत्रे थिए । यस अवस्थामा अरूती आत्मकथा वा आफैले अन्तरबोध गरेका, आफ्नै मथिङ्गलमा प्रशोधित भएका आत्मवृत्तान्त हुन कि होइनन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ । ‘आत्म’ नभएका आत्मकथा हुन्छन् र ?भन्ने प्रश्न पनि उठाएको छ । साथै कतिपय सामान्य उमेरमै लेखिएका छन्, आफ्नो पहिचान प्रतिष्ठाका लागि लेखिएका छन् भने कतिपय आफैप्रति न्यायनिष्ठामा देखिएका छैनन् । अरू आलेखहरूबाट समाजले के सिक्न सक्छ ?यसले आत्मकथाको परिभाषालाई सबैले पुनर्बोध गर्नुपर्ने सवाल पनि जवर्दस्त उठाएको छ ।

रमेश विकलको ‘मेरो अविरल जीवनगीत’
यस कृतिमा तीन खण्ड छन्, पूर्वार्ध खण्ड, उत्तरार्ध खण्ड र उहिलेका कुरा र म । पूर्वार्ध खण्डमा पारिवारिक, पैतृक पृष्ठभूमि, बाल्यकाल, प्रारम्भिक शिक्षा दीक्षा, विवाह, साथी सङ्गत आदि कुराहरू उल्लेख छन् । उत्तरार्ध खण्डमा राजनैतिक आन्दोलन, उच्च शिक्षा, साहित्यिक तथा वृत्ति व्यवसायका कुराहरूसमेटिएका छन् । तेस्रो खण्डमा भने आफ्ना जीवनमा आफैलाई प्रभाव पार्ने, घत लागेका–छानिएका घटनाहरूको सिलसिलेवार प्रस्तुति छ । आत्मकथा भने पनि शीर्षकमा चाँहि जीवनगीत भनिएकाले जीवनको वृत्तान्त उल्लेख भएको छ । संस्मरण, जीवनी र घटनाक्रमहरू सरल रूपमा राखिएका छन् ।अरू सिलसिलाबद्ध छन् ।

सुरु बाल्यकालबाट हुन्छ । जन्मका विषयमा, पैतृक पृष्ठभूमि, जात–गोत्र, बसाइँ सराइ आदि विषयमा अरूले भन्ने भए, त्यसैको आधारमा लेखिने भयो । खास उमेरमा नपुुगेसम्मका विषयमा जानकारी अरूले नै दिने भए, त्यस कारण अरू विषयमा अरूका अनुुभव, स्मृति र सुनेका कुराहरूलाई आलेखमा ढालिन्छ, यसको वास्तविकता परीक्षणबाट स्वयम् संस्मरणकार केही पर रहन्छ । भनिएका कुराहरूमा लेखन समयको बिम्बाङ्कन गरिन्छ ।

विकलको आफ्नो स्मरणको पहिलो पात्र हजुरआमा र पहिलो सस्मरण उनको खोकी थियो । उनी दमको रोगी भएकीले सँधै ख्वाङख्वाङ् खोकिरहन्थिन् । शिशु विकललाई त्यसले प्रभाव पारेको थियो । सम्भवतः उनको सबैभन्दा प्रिय पात्र पनि हजुरआमा नै हो, आमा सानैमा गुमाएकाले हजुरआमा नै उनलाई हुर्काउने, फकाउने, फुल्याउने, पुलपुल्याउने अभिभावक थिइन्, अर्को अर्थमा कर्मकी आमा । आमाको माया नपाए पनि हजुरआमाले आमाको माया ममता दिएकी थिइन् । आमाको माया नपाएर अरूबाट पुलपुलिएकाहरू बालकमा दम्भी, जोदाहा, उपद्रयाहा र उटपट्याङ् हुन्छन्, व्यक्तित्व निर्माणमा यसले प्रभाव पारिनै रहन्छ । विकल यसका अपवाद होइनन् ।

संस्मरणमा आफ्नो बाल्यकालका विषयमा विकल एकदमै इमान्दार छन् । त्यस सयमको छुकछुके बानी, उपद्र्याहा स्वभाव, हठी चरित्र र पुलपुलिएको व्यवहारलाई इमान्दारीपूर्वक उल्लेख गरेका छन् । उनी लोभी पनि थिए, हजुरआमाबाट काल्ची मिश्रीको लोभ गर्थे । घरमा नोकर–चाकर, बाँधाबँधिनी चलन, हजुरबुुबाको दवङ् स्वभाव, बुुबाको विचारीको रूपमा सरकारी सिँदूर उनको बाल्यकालका परिवेश थिए । हजुरबुुबाको पशुवत स्वभावबाट अरू पीडित र शोषित मोही आसामी, कुरिया कमैया, नोकर चाकरका विषयमा उनका अनुुभूतिहरू कत्तिपनि सङ्कोच नराखीकन बताएका छन् । त्यतिमात्र होइन विधुर हजुरबुुबा र अधवंैसे नोकर्नी डल्लीआमाका सम्बन्धमा पछिल्तिर काटिएका कुराहरू पनि नढाँटी उल्लेख छन् ।

बाल्यावधिको चित्रणमा त्यतिखेरको इतिहास, अझ भनौं शहर नजिकको काँठ संस्कृति र त्यसमा रमाएको मध्यमवर्गीय परिवारको बानी व्यवहारको इतिहास पनि आत्मकथाले लेखेको छ । बाल्यकालमा विग्रेबरालिएका केटाहरूले खेल्ने तास, खोपी, विकलहरूले नै आविष्कार गरेको ‘जड्याहा सार्की’, खेलकथा सुन्ने परम्परा, मकैै स¥याउने काम, काम गर्दा लोककथा÷दन्त्यकथा हालेर कामलाई मनोरञ्जनमय बनाउने प्रवृत्ति, मट्टितेल टुकीको मरन्च्यासे उज्यालो लगायतका कुराहरूको इतिहास साहित्य संस्मरणमा नै लेखिने हो, भनिएको इतिहासले यस्ता सामान्यजनको कुरा किन उल्लेख गथ्यो ? टि एस इलियटका अनुुसार ‘एउटै प्रौढ साहित्यको, यसकारण त्यसको इतिहास हुन्छ, जो केवल इतिवृत्त (क्रोनिकल) तथा यस वा त्यसको पाण्डुलिपिहरू, अनि लेखनको सञ्चय नै होइन’ (मौलो, पृ ३३) । इलियट अनुसार परम्परा (इतिहास) नभै नहुने वस्तु हो, सम्बन्धको सही आस्वादन हो । परम्पराको अर्थ सचेतनाको धार हो, जो युुगौंयुुगसम्म प्रवाहित हुन्छ । त्यो साहित्यमा लेखिन्छ, इतिहासमा होइन । यही दृष्टिकोणले विकलको आत्मकथालाई हेनुुपर्ने हुन्छ ।

बालक विकल आफ्नै नोकर समूहका मोतिलालकी छोरी सेतीलाई खुवै मन पराउँथे । उनीहरूबीच रहेको अबोध पाराको विपरीतलिङ्गी आकर्षण र अज्ञान यौनक्रीडा रहेको बालव्यवहारलाई आत्मकथाले उतारेको छ । यस कुराले सम्भ्रान्त परिवारमा रहने साथीत्व र यौनव्यवहार एवम् सिग्मण्ड फ्रायडीय यौनमनोविज्ञानको यथार्थलाई बाहिर ल्याएको छ । त्यो अबोधतामा यौन त थिएन, तर पनि फ्रायडले भनेजस्तो अवचेत तहको (यौन) आकषर्ण थियो । बाल वासना (लिविडो) शक्तिले सम्बन्धलाई डो¥याइएरहेको थियो । सेती र उनीबीचको निश्छल अबोध, अवचेत व्यवहारमार्फत कथा उपन्यासमा अरूको मनोविज्ञान विश्लेषण गर्ने विकलले विगतमा फर्केर आफ्नै बालयौनमनोविश्लेषण गरेका छन् । त्यसले आत्मकथालाई कथात्मक मोड पनि दिएको छ ।

आत्मकथाले १९९० को महाभूूकम्पको बडो मार्मिक ढङ्गले विश्लेषण गरेको छ । त्यतिवेला उनी केवल ६ वर्षका थिए तर संस्मरणको लेखनी प्रौढताले विश्लेषण गरेको छ । यस्ता प्रकोप धेरैलाई महाविपत्ति र महाविनास भए पनि कतिलाई यसखाले विपद वरदान हुने गर्दछ । साहुुमहाजन, व्यापारी र अमानवीय व्यवहार गर्नेका लागि भने त्यो वरदानै थियो । यसले नवनिर्माणको ढोका पनि खोलिदिएको थियो । एउटा गजवको कुरा, तत्कालीन नेपाली समाजले जुद्धशमशेरलाई प्रजावत्सल राजाका रूपमा लिएको थियो । राहत वितरण, ऋण व्यवस्था सबै जुद्धशमशेरको निजी सम्पत्तिबाट गरिएको भान समाजमा परेको थियो । अरू त अरू चेतनशील भनिएका महान् साहित्यकारहरूले पनि गोरखापत्र, शारदा लगायतका पत्रिकामा जुद्धको स्तुतिगानको कविता छपाएका रहेछन् । त्यतिखेर नेपालका ९९ प्रतिशत जनता श्री ३ लाई नै राजाका अर्थमा लिँदा रहेछन्, राजा पनि छन् भन्ने थाहानै रहेनछ । विश्वेश्वरको आफ्नोमा पनि राणाशक्ति यस्तै उल्लेख गरेका छन् । विकल र विश्वेश्वरका आत्कमथाका यी प्रसङ्गले तत्कालनीन समाजको चेतनाको स्तर र शासन–संस्कृतिलाई छर्लङ्ग्याएको छ । आत्मकथाले यस्ता ऐतिहासिक मोड लिएका धेरै शृङ्खलाहरू छन् ।

विकल सानै उमेरदेखि समावेशी र मानवीय समानताको सोच थिए भन्ने केही घटनाबाट पुष्टि हुन्छ । गौरी र कुन्ती (दमाइका छोरीहरू) प्रति उनी समान साथीत्वको व्यवहारमा थिए, सेतीलाई त अचेततहमा माया नै गर्थे । साथै घरपरिवारमा रहेका नोकर चाकरप्रति गरेको व्यवहार, कुन्ती र गौरीसँग सङ्गत नगर्न घरपरिवारबाट भएको चेतावनीका प्रसङ्ग, विकलले त्यसमा जनाएको प्रतिक्रिया र मनमनै खेलाएको भावनाले विकललाई प्रगतिशील साहित्यकार बन्ने आधार त्यसैले दिएको थियो भन्ने सङ्केत हुन्छ ।

उनको वैयक्तिक स्वभावको अर्को पाटो पनि आत्मकथाले उघारेको छ । त्यतिवेला तेलकासा, कपर्दी, भोगटेको भकुण्डो, किम्बुका रुख चढेर घोडा हात्ती चढी खेल प्रचलनमा रहेपनि विकलको रुचि भने घरभित्रै बसेर खेल्ने खेलमा थियो । उनी पाटी, मन्दिर, सत्तलमा बसेर कथा भन्ने र सुन्ने गर्थे । अरूभन्दा अन्तर्मुुखी रहने यही चरित्रले पछि उनलाई महान् आख्यानकार, बालसाहित्यकार बनायो, कल्पनाशील, भावनाशील र मनोदशा विश्लेषण गर्ने कथाकार बनायो । अन्तरमुखीहरू धेरै अक्षरमा अभिव्यक्त हुन्छन् । नखुलेको पक्ष पनि छ, त्यो के हो भने पढ्न रुचि नराख्ने, उपद्रव गर्ने व्यक्ति पछि सामाजिक व्यवहारप्रति निकै संवेदनशील कसरी बन्यो ?अर्को कुरा उनले धेरै रुचि राखेका र केही साधना, रियाज पनि गरेको गीत–सङ्गीतको क्षेत्रमा चाँहि किन सफलतामा देखिएनन् ?

आत्मकथामा मात्र होइन, उनका वार्ता, नियात्राका प्रसङ्गहरूले समेत के देखाएको छ भने उनी आफ्नो वैवाहिक जीवनप्रति कत्तिपनि सन्तुुष्ट थिएनन् । आफूलाई शहरिया ठान्ने मनोग्रन्थी उनीमा विकसित थियो, समवयी केटीहरूले आफूलाई निकै मनपराएको विश्वास पनि उनीमा थियो । उनको बालसपनामा आप्mनो जीवन सँगिनी बन्न आउने केटीको रूप ‘हाँस्दा फूल वर्षाउने, रुँदा मोती झर्ने दन्त्यकथाकी राजकुमारी अवोलामैँया अथवा सुनकेसरीमैँया अनि मधुमालती रानी जस्तो’ हुनुपर्ने कल्पना थियो तर विवाह काभ्रेपलाञ्चोक मण्डन निवासी जमिनदार टङ्कनाथ नेपालकी माहिली छोरी प्रेमकुमारी (बोलीचालीको नाम सुशीला) सँग भयो । सुुशीला उनलाई पखिनी अनुहारकी केटी लाग्थ्यो । उनका बेमातृतर्फका दाजु भीमबहादुर खत्रीको विवाह भने राम्रीमा गनिएकी नानीछोरीसँग भएको थियो ।

त्यो केटी त रामबाबूलाई पो सुहाउने थिई भन्ने भाउजूूको विषयमा गरिएको कुरा उनका कानमा परेर पनि उनको मनोविज्ञानलाई विथोलेको थियो । उनका विचारमा उनकी श्रीमतीरूपलावण्यमा तेस्रो श्रेणीकी, आफूूभन्दा छिपिएको देखिने, बोलाउने नाम निनी (नेवार भाषामा फुपूुुूु) भएकाले कतिय नेवार साथीहरू उनलाई फुपूको पोइ भनेर पनि जिस्क्याउथे । यी सब कारण उनी श्रीमतीलाई उपेक्षा, तिरस्कार गरेर ग्लानि र क्षोभमा पुुग्ने गर्देथे । जेजस्तो व्यवहार श्रीमान्बाट भएपनि सुशीला भने नाम जस्तै भद्र, शालीन र संयमको व्यवहार गर्थिन् । श्रीमतीको यो व्यवहारलाई विकलले पछि प्रशंसा गरेका छन् । विकलको आफ्नो प्रेमप्रतिको त्यो भावनाले कथाहरूमा पनि प्रभाव जमाएको छ । बीसदेखि तीस सालसम्म लेखिएका कथाहरूमा देखिएको प्रेम÷यौनमनोदशाले यसलाई देखाएको छ भन्न सकिन्छ ।

बाल विकलको विराटनगर बसाइ, त्यसपछि काठमडौैं, रत्नपार्क, पशुपतितिरको उठबस, बुुबाको दार्चुला सरुवा भएपछिको यात्राकथा, दार्चुला बसाइ, काठमाडौं फिर्र्ति यी सबैले उनको दिनचर्या मात्र बताएका छैनन्, शासन र समाजको बदलिने सकस, सङ्क्रमणका पीडालाई पनि बोक्दै ल्याएको छ । विकास संस्कृति र रैथाने प्रविधिलाई पनि साथै ल्याएको छ । जस्तो कि दार्चुला पुुगेपछिको उनको एउटा अनुुभूति उल्लेख गरौं, ‘मेरा आँखा जहाँ अड्थे, त्यहाँ ढङु्गैढङु्गाको पर्खाल, ढुङ्गको घर, ढुुङ्गैको छानो, ढुुङ्गैको बाटो, ढुङ्गैका माटो, जतासुकै जुनसुकै दिशातिर हे¥यो उतै उतै ढुुङ्गा । बजारभन्दा तल महाकालीको बगरदेखि लिएर खलङ्गाको जताततै ढुङ्गै–ढुुङ्गा । यतिसम्म्म कि घरको माथिल्लो तला उक्लने भ¥याङ समेत ढङ्गा ।’ आजको पुस्ताका लागि यो इतिहास हो । आधुनिकताको नाममा आएको परिवर्तनले त्यो प्रकृतिक इतिहासलाई मेटिसकेको छ ।

अर्को प्रसङ्गले शासन प्रशासन र हैकम आदेशको स्थितिको सादा चित्र उतार्छ । विकलका बुुबाले हजुरबुुबाको मानसरोवार यात्रा गराउँदा वास बस्ने ठाउँमा बासिन्दाको दशठाउँमा चिथोरिएका मैला, काला झुुत्रा झल्लरी कन्था भिरेका, अत्यन्त क्रिसकाय, कालामैला र अनुहार जन्मजात गरिबी, दरिद्रता र अज्ञानका असंख्य रेखाहरू, असंख्य खोलानालाहरू, काटिएर असमयमै वाद्र्धक्यको अन्तिम सीमातिर धेकलिएका अवाल–वृद्ध–वनिता स्वागत गर्न भेला भएका थिए । त्यतिमात्र हैन, स्थानीय ठालुुले जङ्गबहादुरे शैलीमा हैकम चलाएको थियो ‘हाकिमका माउ (परिवार) आया छन्, उनी रिसाया भन्या तिम्रा क्या क्या हुन्या हुन् ।

उनका खान्या बस्न्या सबै परबन्ध तमून्ले गन्न्या छौं । …घी, चाउर, आँटो, सब्जी लिइबटी आलो ।’ त्यो गरिबी र विपन्नतामा गाउँलेले सरकारी पदाधिकारीको निजी होस् वा सरकारी भ्रमणको प्रबन्ध गर्ने झन्डै पन्ध्रौं शताब्दीको जङ्गली निरङ्कुशताको झल्को पाइन्छ । उता सीमा व्यवस्थापनको छोटो झल्को र कुटनैतिक व्यवहारमा नेपालको निरीहता झल्को पनि देखाउछँ ।
राणा शासनको राम्रो विश्वास जितेका उनका बुुबा पाँडे पजनीमा परी सरकारी सिँदूरबाट हात धुने अवस्थामा पुुगेपछि दुुईवटा मार्मिक कुराको सङ्केत पाइन्छ । पहिलो जागिरे दैनिकीमा रहेका व्यक्तिको सानमान हटेपछिको बेचैनी, दोस्रो समय काट्न लागि तास–पासा जस्ता कुलतमा बरालिने अवस्था । यसै समयदेखि विकलको परिवारमा लगातारका विपत्तिहरू आएका छन् ।

यसै समय भारतमा फैलिएको भारतीय स्वतन्त्रता आन्दोलन र त्यसबाट प्राप्त सफलताले नेपाललाई पारेको प्रभावको इतिहास पनि आत्मकथाले बताएको छ । विकलले पनि ख्यालख्यालमै केही रात जेलको अनुुभव बटुलिसकेका छन् ।

उता बुुबाको आज्ञा अनुुसार जागिरका लागि भंसार अड्डाका हाकिमकोमा बारम्बार धाएर पाएको जागिरमा कार्यजिम्मेवारी र व्यवहारका कारण विकलमा हीनताबोध मात्र बढाएको थिएन, विद्रोहको भावना पनि बढ्दैथियो । २००५ बाट वामपन्थी चिन्तक श्यामप्रसाद शर्मासँग हिमचिम बढेको थियो । श्यामप्रसादले सञ्चालन गरेको साहित्यिक अभियानमा विकल संलग्न थिए, सन्देश नामको हस्तलिखित पत्रिकाको प्रकाशन सुरु गरेका थिए, त्यसमा पनि उनी संलग्न थिए । उनको यस अभियानमा बटुकृष्ण वाग्ले, विशु अधिकारी, हिराकुमार श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ र सुुभद्रा (श्यामप्रसादकी मामाकी छोरी) समेत संलग्न भैसकेका थिए । साथै सन्देश पत्रिकामा फणीन्द्रराज खेताला, बासुदेव ढकाल, दौलतविक्रम विष्ट, भीमनिधि तिवारी र कृष्णराज पाण्डेहरू पनि आबद्ध थिए । यसरी राजनैतिक र साहित्यिक अभियानमा भित्रभित्रै घनीभूत भैसकेका थिए ।

श्यामप्रसादकै माध्यमबाट त्यतिवेलाका वरिष्ठ साहित्यकारहरू तेजकेशरी उपाध्याय, गोविन्दबहादुर मल्ल ‘गोठाले’, लवबहादुर कपिल, हृदयचन्द्रसिंह प्रधान र लक्ष्मीप्रसाद देवकोटासँग परिचय भएको थियो । यसले रामेश्वर शर्मालाई ‘रमेश विकल’ बन्ने साहित्यिक गतिविधिमा थप ऊर्जा दिनपुुग्यो । परिणामतः २००६ मा शारदा पत्रिकाको चैत्र अङ्कमा ‘गरिब’ कथा छापियो । अब उनी कथाकार रमेश विकल बने । लगत्तै सेवा पत्रिकामा ‘आँसुले भिजेको हाँसो’ छापियो । शारदा पत्रिकाको नारी अङ्कमा छाप्न ‘गोठाले’ ले लगेको विकलको लेख छापिएन, त्यसपछिको अङ्कमा पनि छापिएन । यतिवेला पनि पत्रिकामा रचना छपाउन निकै भनसुन र सम्बन्धले काम गर्दो रहेछ भन्ने देखिन्छ । लक्ष्मीप्रसाद देवकोटाको सम्बन्धले देवकोटा कवित्व प्रतिभा र घरपरिवारका विषयमा पनि कमैलाई थाह भएको कुरा आत्मवृत्तान्तले उल्लेख गरेको छ ।

हस्तलिखित सन्देश पत्रिका जलाएपछि श्यामप्रसाद र विकललाई पक्राउ गरियो, भंसारको जागिर पनि गयो । त्यतिवेला चेतना फैलाउने व्यक्तिलाई राणा शासनको कुदृष्टि कसरी पर्छ भन्ने पनि यी प्रसङ्गले बताएको छ । उता राणा शासन विरुद्धको आन्दोलन चर्कदै गएको, त्रिभुुवनले गोप्य रूपमा युवाहरूसँग भेट गरेको, २००७ कात्तिक २२ गते त्रिभुवन भारतीय दूतावासमा शरणमा गएको, नावालक नाति ज्ञानेन्द्रलाई राजा घोषित गरिएको, ज्ञानेन्द्रलाई जनताले अवज्ञा गरेको, इन्क्लावी जुलुस निस्किएको, पुलिसको गोलीले न्हुुँछेरत्नको मृत्यु भएको, दिल्ली सम्झौता भै त्रिभुवन नेपाल फर्केको इतिहास पनि आत्मवृत्तान्तले उल्लेख गरेको छ ।

‘मेरो अविरल जीवनगीत’ को उत्तरार्ध खण्ड आप्mनो बीसवर्षे जीवनकालको समीक्षाबाट सुरु हुन्छ । जागिर छुटेपछि राजनैतिक, सांस्कृतिक र साहित्यिक कार्यक्रममा उनको बाक्लो संलग्नता हुन्छ । २००८ बाट कम्युनिष्ट आन्दोलानसंग प्रत्यक्ष र पूर्णकालीन संलग्नता सुरु हुन्छ र चावहिल इलाका आधार बनाएर सक्रियता बढेको उल्लेख छ । यसपपछि विकलका दृष्टिकोण गैरकम्युनिष्ट शक्तिप्रति आग्रही हुँदै गएको पनि देखिन्छ । साथै घरपरिवारप्रति उत्तरदायित्वबाट हटेको पनि छ । जस्तो कि उनका कुरियामध्ये एक जगत्लालले गोठमा आगो लगाई केही गाईबस्तु समेत मरेपछि पनि उनी तेस्रो दिनमात्र लोकोचार निभाउनका लागि गाउँ पुुगेका थिए । गोविन्दप्रसाद लोहनीको कम्युुनिष्ट शिक्षा लिने प्रशिक्षणमा भाग लिन थालेपछि घरको उत्तरदात्विमा झनै पातलिएको पाइन्छ । कहिले त राति ११ बजे तोपचल्दासम्म उनी कम्युुनिष्ट प्रशिक्षणको कक्षामा नै हुन्थे । अत्यधिक राजनीतिक गतिविधिका कारण घरपरिवार विग्रहमा पुुग्न लागेको तितो यथार्थ पनि आत्मवृत्तान्तले उल्लेख गर्दछ । यसबाट के पनि देखिन्छ भने भूमिगत राजनैतिक क्रियाकलापमा लागेका अरू धेरैको पनि जनजीवन क्षतविक्षत भएको थियो तर संस्मरणले त्यो सबै उल्लेख गरेको छैन ।

आत्मकथाकारले नारीमनोविज्ञानको प्रसङ्गलाई ठाँउठाँउमा उठाएका छन् । नारी जुनसुकै वर्ग, स्तर र समाजको भएपनि, जतिसुकै सहनशील र समझादार भएपनि सबैमा हुने समान स्वभाव भनेको आफ्नो पत्नीत्वको अधिकारमाथि किञ्चितमात्र जोखिममा परेको आभास पाएमा विचलित, असन्तुलित, ईष्र्यालु र क्रोधित हुन पुुग्छन् । आफ्नो पतिलाई आफ्नै मात्र भएको देख्न चाहन्छन् । विश्वेश्वरप्रसाद कोइराला र हरिवंश आचार्यको आत्मकथाहरूमा पनि यो कुराले स्थान पाएको छ । विकलले चेतना र जागरणका लागि महिला प्रौढशिक्षा कार्यक्रम पनि चलाएका थिए । गाउँका छोरी बुहारीको सम्पर्कमा रहँदा होस् वा काठमाडौंमा रहँदा होस्, उनले आफ्नै श्रीमती यसप्रति शङ्कालु भएको उल्लेख गरेका छन् ।

साथै उनले पटक पटक आफ्नी श्रीमतीका विषयमा भनेका छन् ‘ऊ झन पुरानो मानसिकता भिरेकी, निरक्षर र रुढीगत सस्ंकारनिर्मित थिई’ । यसले उनले नारीमनोविज्ञान विश्लेषणमा जे जस्तो उदारता देखाए पनि आफ्नै श्रीमतीप्रतिको दायित्वमा समर्पित रहनेछन् कि भन्ने स्वाभाविक सन्देह जगाउँछ । एक पटक त पतिपत्नी सँगै बस्न नसक्ने स्थिति सिर्जना भै उनका मित्र श्यामप्रसादले समेत छुट्टिने सल्लाह दिएको स्थिति देखिन्छ । शारदाविक्रमले श्रीमान्श्रीमतीको आरोप–प्रत्यारोप सुनेपछि विकललाई नै दोषी देखाएर पारिवारिक विखण्डन रोकेका रहेछन् । त्यसपछि विकलले प्रौढशिक्षालाई अगि बढाएनन्, पढाइ र सांस्कृतिक–साहित्यिक गतिविधि अगि बढाए ।

एकातिर बिएडको पढाइ पूरा भयो, अर्कोतर्फ बालबच्चा बढ्दै गएपछि जागिर मार्फत पारिवारिक दायित्व निर्वाह गर्ने सोच विकास भयो । साथै नेपालको वाम राजनैतिक आन्दोलनका अगुवाहरू एकएक गरी राजाको उपयोगमा परेपछि पूर्णकालीन कम्युुनिष्ट बन्ने भावनाबाट पनि विषयान्तर भै प्रगतिशील साहित्यकार बन्ने मार्ग रोजिएको देखिन्छ । २०१८ तिरबाट निजामती सेवामार्फत राष्ट्रसेवा र वृत्ति निर्वाहको मार्गमा सतत भए, साहित्यवृत्तिले पनि मौलाउने अवसर पायो । वृत्तिका सिलसिलामा धेरै र उत्कृष्ट बालसाहित्य सिर्जना भए ।

स्मरणमा लेखकले ‘मानस लेखन’ को एउटा द¥िहलो पक्ष उघारेका छन् । अफिसको काम सकेपछि नयाँ सडकमा केहीबेर बसेर घर जाने क्रममा नै उनी अधिकांश लेखनका मानसिक संरचना तयार गर्थे । मन–मथिङ्गल प्रशोधन गर्थे । त्यसपछि त्यसलाई सिर्जनाका रूपमा उत्पादन गर्थे । उनका पछिल्ला समयका सिर्जना मानस लेखनको प्रक्रियबाट परिष्कृत भएका छन् । यसले उनीपछिका स्रष्टालाई परिष्कृत सिर्जना कसरी गर्ने भन्ने मार्गदर्शन गरेको छ ।

आत्मकथाको अन्तिम भाग ‘उहिलेका कुरा र म’ हो । आफ्ना अविस्मरणीय घटना, राम्रा नराम्रा कुराहरू, दम्भ–दया, वृत्ति–दुर्वृत्ति, आस्था गरिएका व्यक्ति र कतिपय हृदयविदारक वैयक्तिक कुराहरू संस्मरणसंग मिसिएर आएका छन्, यही उनको समाज, परिवार, शासन, साहित्य र साथीहरूप्रतिको दृष्टिकोण पनि मिसिएको छ । ‘मेरो पौडी गुरु कृष्णभक्त’ मा उल्लेख भएको घटनाले विकल साहसिक कुरामा पनि मुढी थिए, जोखिम उठाउँथे भन्ने देखिएको छ । ‘पहिलोपल्ट बङ्गाली काट्दा’ नयाँ फेसनप्रतिको उग्र चाख र विद्रोही स्वभाव देखिन्छ । ब्राह्मणको छोरोले बङ्गाली ढाँचाको कपाल काटेर परिवार र समाजप्रति एकप्रकारले विद्रोह नै गरेका थिए । ‘मैले बाको नाउँको ऋण तिरे’ मा उनका बुुबा आदर्श हुँदाहुँदै जागिरबाट छुट्कारा पछि कायम भएको कुमारी चोक बेरुजू एक रुपैयाँ आठ आना तिरदिएको प्रसङ्ग छ ।

साथै घुस लिन्या र घुस दिन्या भन्याका देशका दुस्मन हुन् भन्ने पृथ्वीनारायाण शाहको दिव्योपदेश खिल्ली उडाएको पछिल्लो समयका राष्ट्रसेवकका व्यवहारप्रति प्रश्न उठाएका छन् । त्यसबखत राजस्व हिनामिनाको आरोप लागेका व्यक्ति समाजमा मुख समेत देखाउन नसकी आत्महत्या गर्थे तर त्यसको आधा शताब्दी पछि नेपालको आर्थिक अनुशासनको तुलना गर्छन् । मन्त्री, सचिव, राजस्व महानिर्देशक, ठूला ठूला जिम्मेवारीमा रहेका आयुक्त, न्यायाधीश लगायतका पदाधिकारीहरू राष्ट्रसेवाको नाममा अनियमित गरेपनि समाजमा निसङ्कोच हिडिरहेकोमा छुब्ध छन् । सामाजिक मूल्यसंस्कृति पनि विग्रिएकोमा निराश छन् । ‘फागु पर्व हिजो र आज’ बदलिदै गएको, विकृत हुुँदै गएको पर्वपरम्पराको अनुुभव हो । ‘मेरो दुव्र्यसन र सङ्कल्पशक्ति’ मा दृढ सङ्कल्प भए दैनिक पचास साठी खिल्ली चुरोटको अम्मली पनि त्यसलाई चटक्कै छाड्न सक्छ भन्ने देखाएको छ ।

‘मेरा घरका अर्धदासहरू’ मा उनी सात वर्षको हुँदा नैष्ठिक–धार्मिक हजुरबुुबाले सानो गल्तीमा बालनोकरहरू सुन लामा र लक्ष्मी तामाङको कलिला हड्डीमा लट्ठीले निर्घात सुुम्ल्याएको आफ्नै घरको अर्धसामन्ती व्यवहारको संस्मरण छ । त्यस घटनामा आँगन, बगैँचाका फूल, बोटबिरुवासमेत द्रवित हुँदा पनि सरकारी सिँदूर परेका समाजका सम्मानित बुुबाले समेत केही नबालेको देख्दा विकलको बालमनोविज्ञान आफै द्रवित भएको थियो । यो घटना विकलको घरको मात्र होइन, तत्कालीन अर्धसामन्ती संस्कृतिको साङ्केतिक घटना हो, हजारौं सुन र लक्ष्मीहरू घरमालिकको गोठेलौरीबाट कुटिने र लुटिने गर्थे । आफ्नो घरको यसप्रकारको संस्कारका कारण पनि विकलका कथाहरू सामाजिक थिचोमिचो, उत्पीडन र शोषणका विरुद्धमा जीवन्त छन् ।

घरमा सुन लामा र लक्ष्मी तामाङ्लाई अर्धदास राखे झै, करिया प्रथा चलाए जस्तै राणा शासनले मुलुकभर नै सबै प्रजालाई करिया तुल्याएर निरङ्कुशता लादेको कुरा ‘ढल्नैपर्छ जस्तोसुकै बलियो निरङ्कुशता पनि’ मा देखाइएको छ । अधिनायकवादी हैकमविरुद्ध आवाज उठाउने लखन थापा, सन्त ज्ञानदिलदास, कानु सन्याल, अजितसिंह मगरले रोपेका विद्रोहको बीउ, त्यसैले जन्माएको कृष्णलालको मकैको खेती, प्रचण्ड गोर्खा, वसन्तशमशेर पर्व, प्रजापरिषद् हुँदै सातसालमा आएर दम्भ र हैकमको भयचित्र ढल्यो । यी घटनाहरू चलचित्रका मोन्टाजजस्तै विकलका मनमस्तिष्कमा छन् र संस्मरण जीवन्त इतिहास बनेका छन् । विकल स्वयम् सहभागी र साछी बनेका यी घटनाहरू आत्मवृत्तान्तमा फिजिएका छन् ।

‘त्यो अनन्त पौडीवाज’ आफ्नो माहिलो छोरो शेखरको पौडी खेलमा निधन भएपछि हृदय विदारक पीडा चित्र हो । २०२५ ज्येष्ठ शुक्ल नवमीका दिन चालिसे परिवारका लागि बज्रपात थियो । विकल आफ्नो नाति आलोक (विजयको छोरा) को आकृतिमा पौडीको अनन्त यात्रामा गएको शेखरको प्रतिबिम्ब पाउथे र त्यसैलाई हेरेर चित्त बुुझाउँथे ।

‘राष्ट्रियताको अनुुभूति र विरानो देश’ राष्ट्रभक्तिको उद्गार हो । मानिस घर, परिवार र समाज छाडेर विरोनो देशमा पुग्दा मुटुुभरि देश खोज्छ, राष्ट्रिय परिचयको विस्तार खोज्छ र कसैले त्यसलाई घोच्ने शब्द भनेमा आक्रोसित हुन्छ भन्ने भावनात्मक अभिव्यक्ति यसले दिन्छ । ‘साँढेको जगजगी’ साँढे जुधाएर मनोरञ्जनले मानिस नै साँढे हुन्, देश साँढे संस्कृति र परपीडामा देखिनु हुँदैन भन्छ । ‘सडक कवितादेखि तारे साहित्यसम्म’ शीर्षकको संस्मरणमा विकल २०३३÷३४ सालतिरको संस्मरण गदै ‘पञ्चै हो यो देश बनाइद्यौ,’ ‘हेर न दाजु के के छ त्यो तिम्रो रातो झोलामा’ त्यसपछि ‘पञ्चायतको चाहना शान्ति र सिर्जना’ जस्ता स्तुुति साहित्यको सापेक्षमा चावहिल इलाकामा उत्साही साहित्यकारहरूको संलग्नतामा यिनैले नेतृत्व गरेको उत्साहको योगदान, त्यसले लिएको प्रगतिशील साहित्यको अभियान, त्यसपछिको राजनीतिक परिस्थितिमा थालिएको सडक कविता आन्दोलन, राल्फा समूह आन्दोलन, अस्वीकृत जमात आन्दोलन साहित्य अब तारे होटेलमा पुुगेर जनताको मन, मुटुुबाट अलग्गिदै गएकोमा चिन्ता गरिएको छ । सर्जक विलासी हुनुुहुँदैन, मदमदिरामा होइन, जनताको ढुकढुकीमा पुुग्नुु–पछ्याउनुु पर्छ भन्ने आग्रह र त्यसो नहुँदाको चिन्ता आत्मकथा मार्फत गरिएको छ ।

अन्तिम खण्डमा रहेका संस्मरणवृत्तिहरू समाज, साहित्य, सस्ंकार, शासन र राष्ट्रिय भावनाप्रति चिन्ता गरिएका छन्, ती परोक्ष नभै प्रत्यक्ष नै छन् । निबन्धात्मक शैलीमा लेखिएका छन्, सामान्य प्रसङ्गलाई उठाएर विस्तृत क्षेत्र दिइएको छ ।

आत्मकथामा संस्मरण हुन्छ, प्रायश्चित्त हुन्छ, पुष्ट्याइ हुन्छ र कहिलेकाही आफैप्रति र आफ्नै विगतप्रति व्यङ्ग्य पनि हुन्छ । लेखकका नदेखिएका तर प्रायश्चित्त गर्न लायक प्रसङ्गबाट चित्तशुुद्ध पनि गरिन्छ । यसो गर्न चहिने गुण भनेको न्यायिक मन, निष्पक्ष निर्णय क्षमता र त्यसलाई खुुला रूपमा अभिव्यक्त गर्नसक्ने साहस हो । आत्मवृत्तान्त त्यसैले साहित्य, कला र इतिहासको सङ्गम हो । तथ्य, भावनाको समायोजन हो । विकल यसमा सफल छन् । विश्वेश्वर जस्तै अन्यपक्षमा असंलग्न छन् र जगदीश घिमिरे जस्तै भावनाको यात्रा गर्छन् ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }