काठमाडौं, १८ चैत्र
भारत सरकारको सहयोगमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ ।
बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु हस्तान्तरण गर्नुभयो । कुल १ हजार ८ सय ५७ किलोमिटर लम्बाई भएको हुलाकी राजमार्गको २ सय ७३ किलोमिटर आज हस्तान्तरण गरिएको छ । योसँगै हुलाकी राजमार्गलाई जोडने विरगञ्ज–ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा छ।
नेपालको तराई क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको निर्माण लामो समयदेखि अडकिएर बसेको भएपनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङ्गले नेपालको भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखि नेपालीको नारालाई यसप्रकारका भौतिक पूर्वाधारको माध्यमबाट सकार पार्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताउनुभयो । भारतले छिमेक पहिलो नीति लिएर छिमेकी देशको भौतिक पूर्वाधारको विकास, सामाजिक विकास र आर्थिक उन्नति हुनेगरी सहयोग गरिरहेको बताउनुभयो । नेपालसँग त रोटीबेटीको सांस्कृतिक सम्बन्ध पनि रहेको हुँदा सँधै सहयोग गरिरहने बताउनुभयो ।
आगामी महिना जनकपुर–जयनगर रेल सञ्चालन हुने अवस्थामा रहेको र त्यसका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको पनि बताउनुभयो । यस्तै रक्सौल–काठमाडौं रेलमार्गका लागि डिपीआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताउनुभयो ।
सडकको नाम लम्बाई किमि जिल्ला
१ मनमत—कलैया—मटियर्वा,प्याकेज १ १५।०० बारा
२ मनमत—कलैया—मटियर्वा,प्याकेज २ ११।६६ बारा
३ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज १ १७।०० धनुषा
४ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज २ १५।३१ धनुषा
५ जनकपुर— यदुकुहा १६।६३ धनुषा
६ माइस्थान—गौशालाबजार—सम्शी २६।९४ महोत्तरी
७ जलेश्वर—हर्दी २७।२६ महोत्तरी
८ लमही—कोइलाबास ३३।४७ दाङ्
९ कानेपोखरी—रङ्गेली २५।४० मोरङ्ग
१० कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी १७।२८ सप्तरी
११ तामागढी—सिम्रौनगढ, प्याकेज १ २०।०० बारा
१२ तामागढी—सिम्रौनगढ, प्याकेज २ १९।७४५ बारा
१३ बीरगंज—ठोरी, प्याकेज १ २५।६० पर्सा
१४ बीरगंज—ठोरी, प्याकेज २ ३०।०० पर्सा
आज सम्पन्न १३ वटा तराई सडक प्याकेजको हस्तान्तरणले दुई देशबीचको विकास सहकार्यमा एउटा अर्को अध्याय थपेको छ ।