
डोजर
श्रीमतीको देहावसान पछि उ जीर्ण सङ्कीर्ण र निकै कमजाेर भएको थियो । परिस्थितिले एक्लिएको ऊ सहरको बासिन्दा बनेको सन्ततिसंगै बस्न गाउँको जायजेथा सिरिखुरि बेचेर छोरालाइ सुम्पिएकाे थियाे। सन्तानको खुसीलाई आफ्नो उपलब्धि ठान्ने उसको लागि सहजता बाहेक अन्य अपेक्षा थिएन । छोरा बुहारी दुबै सरकारी जागिरे, कलिलो मुनाजस्तो नाति थियो । साँवाभन्दा ब्याजको माया भनेझै उसले नातिलाई औधिमाया गर्थ्यो र नातिले पनि उत्तिकै । बिहान बेलुका नातिसंगै भुल्थ्यो, दिनभरी कौशीमा डुल्थ्यो । ऐनकेन जपापानी एक्लोपन संग कुस्ती खेलिरहेकै थियो ।
बुढ्यौलिले तान्यो कि ,चिसोले हान्यो, जिउ दुखेर रातमा उसलाई निद्रा परेन। ऊ छटपटाइ रहँदा छोराको कोठामा बत्ती बलिरहेकै थियो । रिसाउँछनकि भन्ने डरले झ्वास्सै बोलाउन पनि सकेन । कोठाभित्रको गुनगुनमा के खिचडि पाकिरहेको थियो भेउनै पाएन ।
मनभरी ब्यथा र छटपटि लुकायर बिहानै नातिसंगै चिया पिइरहेको थियो ,हजुरबुवासंग जिस्किरहेको नातिलाई बुहारिले उचालेर भान्सातिर लगिन । उसलाई नमज्जा लागेपनि केही बोलेन । नजिकै चिया पिँउदै गरेको छोराले बाबुको उदासिपनको कारण सोध्यो । आफ्नोबारेमा चिन्तागरेकोमा खुसीहुँदै उसले भन्यो,”त्यस्तो केही छैन । तिमीहरुपनि ब्यस्त नै छौ । सहरको ठाँउ काम नि गर्नै पर्यो” । मेसो मिलायर छोराले भन्यो, “एक्लै बस्दा उदासीपन बढ्यो भने आफ्नो उमेर मिल्दा साथीसंगै आश्रममा पो बस्ने कि बा ? गफ गाफमा समय पनि कटिहाल्छ । नातिपनि होस्टेलमा बस्छ अनि बिदामा हामी लिन आउला नि हुदैन र बा” ?
छोराको कुराले ऊ छाँगाबाट खस्यो । गहभरी आँशु बनाउदै जुरुक्क उठेर बाहिर निस्कियो । भान्साको ढोकाको चेपबाट नियालिरहेको नातिले दौडदै गएर हजुरबुबाको पाखुरामा झुन्डिदै भन्यो, “नरुनु हजुरबुवा ! म संग एउटा उपाय छ । आफु ब्यस्तहुँदा छोराछोरी राख्ने होस्टेल र फुर्सद नहुँदा ,झर्को लाग्दा बाबुआमा राख्ने ति आश्रममा डोजर चलाइदिउ न ! हुँदैन र ? किन ? मिल्दैन र हजुरबुबा ? पाखुरामा झुण्डिरहेको नातिलाई उचालेर छातीमा टास्दै उसले भन्याे,”मिल्छ नि ! किन नमिल्नु ? तर भवनमा हैन बाबु, आश्रम र होस्टेल प्रवृत्तिमा डोजर चलाउनु पर्छ अनिमात्र परिवार सुखी र सुन्दर बन्छ “। हजुरबुबा र नाति एकअर्कालाई चुम्बन गरिरहेका थिए। बाजे र नातिको प्रेमको साक्षी बनेको छोरो बंश उही भएपनि प्रेमको अंश लिन नसकेकोमा आफैलाई आफैले धिक्कारी रहेको थियो ।
-गाेपीराम भण्डारी ‘बटुवा’