
पैसाले किन्न नसकेको सास
धनराज गाउँमा हुर्के बढेका थिए। आमाले मेहनत गरि आलुको खेती गरि कमाएको पैसाले छोरालाई पढाउनु भएको थियो ।एसइइमा फर्स्ट डिभिजनमा पास भएका धनराज साइन्स या इन्जिनियरिन्ङ्ग कलेजको चर्को शुल्कको बोझ आमालाई बोकाउँन चाहेनन् । त्यसैले, कमर्स क्याम्पस भर्ना भए । कलेजमा एकजना ठुलो ब्यापारीको छोरा सँग उठबस हुन जान्छ ।
आफ्नो घर परिवारमा पैसाको अभाव भएकोले छिटो छिटो पैसा कमाउँन जरुरी छ मलाई भनि साथीलाई सुनाए । साथीले उस्को कुरालाई गम्भिरतापुर्वक लिए ।आफ्नो बुबालाई सुनाए । ठुलो कारोबार भएकोले राम्रो सँग सम्हाल्न सक्ने मान्छे खोजिरहेका थिए । धनराजलाई बोलाएर बार्तलाप गरे । खुब मन पराए । नोकरी सुरु भयो ।
पहिला आफै गएर ब्यापारी सहमति गर्दै आएका अग्रवालले धनराजलाई पठाउँन थाले । बेला बेलामा बिदेश जानु पर्ने भयो । हरेक साँझ बिहान आलु सँग भिडेको मान्छे आज सुट टाई र बृफ्केसकासाथ बिभिन्न मुलुकहरुका ब्यापारीहरु सँगको भेट्घाट र पाँच तारे होटलको बसाईले उनलाई सपना जस्तो लागि रहेको थियो ।
कामले काम सिकाउँदै गयो । उनले काम धेरै सिकिसकेका थिए । हिम्मत पनि निक्कै बढि सकेको थियो । एकदिन, अव आफ्नै काम सुरु गर्नु पर्छ भन्ने लाग्यो । बैँक सँगको कारोबार पनि आँफैले हेर्ने गरेकोले सम्बन्ध राम्रो बनी सकेको थियो । त्यसैले आफु सँग भएको पैसा र बैँक बाट ऋण लिएर अग्रवालको सहमति लिएर ब्यबसाय सुरु गरे । केहि बर्षमै बजारमा अग्रवालको भन्दा उनको नामले ख्याती कमायो ।
मनग्य पैसा कमाउँन थाले । दरबार तुल्य घर बनाए । आफ्नी आमालाई त्यो महलमा राख्न पाउँदा उनी निकै खुसी थिए ।घरि घरि निमोनिया भएर १० बर्ष अगाडि परलोक हुनु भएका आफ्ना बुबालाई रम्झेर गहभरि आँसु टल्पलाँथे । एक्लि आमाले आफुलाई हुर्काउने पढाउने बोझ उठाउदाको कष्टको मुल्य चुकाउन हर प्रयत्न गरिरहन्थे । आमाको मुहारमा खुसी देखि रहन चाहन्थे ।
तर , आमा बिरामी पर्नु भयो । फोक्सोमा गम्भीर समस्या देखियो । नेपालका डाक्टरले बचाउन नसक्ने भनेपछि अमेरिका लगेर फोक्सो फेरिदिए । स्वास्थ्यमा सुधार हुँदै सामान्य भयो । आफ्नै रोजाईमा छोराको बिहे गरिदिनु भएको थियो । ज्यादै सँस्कारी र राम्रो शिल स्वभावकी । आफु जति ब्यस्त भएपनि आफ्नी श्रीमतिले आमालाई स्याहर सुसारमा कुनै कसुर छोड्दिनन् भन्ने कुरामा धनराज ढुक्क थिए । तर, अचानक एक दिन आमालाई हृदयघात हुन्छ । हतार हतार बुहारीले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याईन् ।डाक्टरले जाच गरे र भने ” उहाँको प्राण गईसकेको छ”।
धनराज आफ्नो उद्योगलाई चाहिने अत्याधुनिक मेसिन हेर्नका लागि चाईनाको क्यान्टन फेयरमा गएका थिए । बेलुका होटल पुगेर टाईको गाँठो खोल्दै थिए । मोबाइलमा घण्टि बज्छ । श्रीमतिले बलिन्धारा रुदै भनिन् ” अब आमा हामी बिच रहनु भएन” । डक्टर सँग बोल्ने इच्छा गरे डाक्टरले फोनमा “हलो” मात्र के भनेका थिए ! उनले रुँदै भने “मेरी आमालाई बचाई दिनुस डाक्टर साब ! म जति पनि पैसा खर्च गर्न तयार छु” ।
डाक्टरले भने -” शरीरका हरेक अङ्ग प्रत्यङ्ग बदल्न सकिन्छ, रगत बदल्न सकिन्छ, म्रित शरीर नबिग्रने गरी राख्न पनि तपाइको पैसाले काम गर्न सक्छ , तर श्वास प्रस्वास प्रणालिनै फेरेर श्वास भर्न अहिले सम्म बिज्ञान सफल नभएकोले तपाइको पैसाले आमाको लागि सास किन्न सक्नुहुन्न । तपाईं आइनपुग्दा सम्म आमालाई भेन्टिलेटरमा राखिदिने छौँ” ।
-राम लामा अविनाशी