
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार श्यामराज ओझा विजयी हुनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १४ वर्षपछि आज भएको स्ववियु निर्वाचनमा ओझाले अनेरास्ववियुका उम्मेद्वार प्रकाश विष्टलाई २१३ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
निर्वाचित ओझाले ८९४ मत प्राप्त गर्दा अनेरास्ववियुका उम्मेदवार विष्टले ६८१ मत प्राप्त गर्नुभएको थियो । कुल तीन हजार ४२६ मतदाता रहेको सो क्याम्पसमा दुई हजार ७५ मत खसेको नेविसङ्घ स्ववियु निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा सन्तोष उपाध्यायले जानकारी दिनुभयो ।
नवनिर्वाचित स्ववियु सभापति ओझाले आगामी दिनमा विद्यार्थीको हक, हित र त्रिविको शैक्षिक सुधारको पक्षमा काम गर्ने बताउनुभयो ।