
उसले उमङ्गका साथ भन्ने गर्थ्याे, “गरे के हुँदैन र ? म यो देशमा हिरा फलाउछुँ ।” यथास्थिति बदल्न औद्योगिक विकासको आवश्यकता अैालाउँदै पुर्ख्याैली थातथलो धितो राखेर काम सुरु गरेको थियो । उसको कामप्रतिको लगनशिलता, उ भित्रको उर्जा र मिहिनेतले राम्रै नतिजा निकालेको थियो ।
आँखामा रगत उमाल्नेहरू र मनमा जहर पगाल्नेहरूले उसको जस्तै नक्कली गुणस्तरहिन उत्पादन गरेर उसलाई वदनाम गरे । उसले उजुरी गर्ने ठाँउ सवैतिर गर्यो । तत तत निकाय सवैले “हुन्छ, हवस् भै हाल्छ, हामी गरिहाल्छौँ” भन्दै टार्नेहरूको झेल थियो । राम्रै देख्न नसक्नेहरूको कानमा तेल थियो । हरेकलाई बिश्वास गर्नु नै उसको लागि पाकेको बेल थियो ।
कुनै समयमा कलेजको पछाडि बेन्चमा सँगै बस्ने साथी अहिले सत्तामा थियो । नीतिले थिति बिग्रेर स्थिति डामाडोल भएपछि रितीद्वारा थिति बसाउने झिनो आशा लिएर सत्ताको द्वारमा साथी भेटन पुग्यो ।
आसेपासेबाटै निकास बन्दगरी भेटघाट चलिरहेकोले बाहिरै कुर्नुपर्ने खवर पायाे ।भेट्ने आशाले उसले साथीलाई द्वारमा कुरिरह्यो । कुर्दाकुर्दै पालेले द्वार बन्द गर्न थाल्यो ।
उसले आश्चर्य मान्दै सोध्यो, “माननीय ज्यु हुनुहुन्न र ? म आएको खवर गर्नु भएन र ?” पालेले भन्यो, “खवर नि थियो, भ्रमणको हतारोले माननीय ज्यू दोस्रो द्वारबाट अघि नै लाग्नुभयो ।” उसले लामो श्वास तानेर सोध्यो, “कहिले सम्मको लागि कतातिर होला !” पालेले जवाफ मा भन्यो, “रातो पासपोर्ट र बोडिङ् पास सहित हातमा झोला, थियो गन्तब्य कहाँ हो मलाई थाहा भएन ।”
आश्चर्य चकित भई थकित बनेको उसका सबैतिरका द्वार बन्द हुँदा माननीय र सम्माननीय ज्युहरूको दोस्रो द्वार र…… मोह देखेर उसको मानसपटलमा तेस्रोद्वारको जुक्ति फुर्यो । तेस्रोद्वारको कल्पना गर्दै उ लुरूलुरू गल्लिमा छिर्यो…….!