
– खगेन्द्रसिंह धामी
आमा,
तपाईंलाई धेरैको चिन्ता हुन्छ
आफ्नो विचारको सबैलाई निम्ता हुन्छ
भोलि हुन सक्ने घटनाको पुर्वानुमानछ तपाईं भित्र
त्यसैले त समय समयमा घेरिन्छन् सबै इष्ट मित्र
आमा,
तपाईंको उपदेशले यो संसार चलेको छ
तपाईंको नजरले दुश्मन ढलेको छ
धन्य आमा तपाईंको साहसले फलामे चिउरा पचेको छ
जिवनको पलपलमा दिएका सुझावले उत्साह थपेकोछ
हो आमा,
अलि दुख्दा आमा भनी सम्बोधन गरिन्छ
सकि नसकी एकदुई पाइला अघि बढिन्छ
लाग्छ कतिबेला जाउ आमाको काखमा
र यी नरम औंलाले गरु स्पर्श नाकमा
अनि,
सम्जिरहेको छु हिजोको रोदन र सङ्कट
अनि त्यो सागर जति चौडा मनको छटपट
जीवनमा धेरै सहनु भयो र पचाउनु भयो
अनगिन्ती छ कति कति फूल फलाउनु भयो
आज,
तपाईंको याद मात्र काफी छ मेरो लागि
आमा यही एक शब्द जीवन भरी साँची छ मेरो लागि
अस्तव्यस्त भाछु बिर्सेको हैन अचेल
तपाईं बाहेक कोहि पनि निस्वार्थी छैन अचेल
अनि,
दुनियाँ सङ्ग साइनो गास्न सिकाउनु भयो
डर लाग्दा ती चुनौतीका पहाड मिल्काउनु भयो
त्यसपछि मात्र बामे सरेको म हैन त
उज्यालो अनुहारमा हजुरले हेरेको म हैन त
सायद,
म जहाँ भए पनि तपाईंको अभाव भइरहनेछ
हजुरको आशिर्वादले घरीघरी छोइरहनेछ
अनि मात्र यो शिरको महत्त्व रहनेछ आमा
दुख कष्ट पिडा यो छोरो सहनेछ आमा
तपाईं,
अरुले हेप्दा सहेर बस्नु हुन्थ्यो
आफ्नो काममा धस्नु हुन्थ्यो
आज यो मेरा लागि सिकाइ भएको छ
यहीँ कुरो निरन्तर लेखाइ भएको छ
भन्नुहुन्थ्यो,
जित सत्यकै हुन्छ ढुक्क बस्
हिलो छ चिप्लिन्छौ टुक्क बस्
ध्यान दिएकै हो चिप्लिए माफ गर्नु आमा
दबाउनेहरु धेरै छन् निसाप गर्नु आमा
क(कसले कति प्रहार गर्यो, हिसाब गर्नु आमा ।
हिसाब गर्नु आमा ।
(लेखक : टोखा नगरपालिकाका शिक्षा अधिकृत हुनुहुन्छ ।)