
साैराहा सफारी (लघुकथा)
छोरीले बाबाको काँधबाटैऔंल्याउँदै भनिन “बाबा; हेर्नु न कत्रो हात्ती!” उसले मुन्टो ठड्याएर छोरीलाई सिकाउँदै भन्यो “त्यो घरपालुवा हात्ती हो,डराउनु पर्दैन” । छोरीले हौसिँदै भनिन्, “बाबा अरु जनवारहरुलाई पनि हेरौं न !” उसले खल्ती छाम्दै भन्यो,“जंगलतिर त जानु हुँदैन जंगली जनावरहरु डरलाग्दा हुन्छन” । उसले छोरीलाई फकाउँदै थियो संगै हिँडिरहेकी छाेरीकी आमाले भनिन् “यति वर्ष पछि बल्ल बल्ल घुम्न आएको सफारी त जानै पर्यो नि! छोरी कस्तो रहर गर्छिन ।” श्रीमतीको कुरा सुनेर उसले छोरीले थाहा नपाउनेगरी आँखा तर्दै सानो स्वरमा भन्यो, “पैसा न सैसा तेसै टिम-टिम ,तलब नआएको दुई महिना भैसक्यो । छाेरीकाे स्कुलभर्ना, कपि, किताब, कोठा भाडा कसरी तिर्ने भन्ने आफूलाई कत्रो तनाव छ ? तिमिलाई भने ………….”।
छाेरीकी आमाकाे अनुहारकाे दीप निभ्यो । उनले रिसाएर ओठ लेब्र्याउँदै भनिन,“तेसो भए किन घुम्न आएको त ?” उसले शान्त भावमा भन्यो,”तिम्रो र छोरीको मुहारमा एकचिम्टी खुसी थप्न आएको नि ! तिमिले त बुझ्छौ नि ! छोरी जस्तो अनाडी त होईनौ नि ?” उस्ले श्रीमतीलाई सम्झायो ।
जाज्वल्य मनाेविज्ञ व्यापारी बच्चाकाे छेवैँमा आएर बच्चातिर हेर्दै उसलाई भन्न थाल्यो “सफारी त जानु पर्छ है हजुर ! म मेसाे मिलाईहाल्छु नि ! यो मौका छोड्नु हुन्न” उस्ले बाल मस्तिष्कमा आगो झोस्यो । उस्को कुरा सुनेर छोरीले भन्न थालिन “बा…बा… सफारी जाने; बा…..बा… सफारी जाने”। अभावकाे आलाे घाउमा नुनचुक लागे पनि छोरीलाई निरास पार्न नसके पछि अन्ततः उनीहरू सफारी चढे ।
तीन घण्टाको सफारीमा प्रकृतिका छटाहरु र बिभिन्न जनावरहरु नियालेपछि छोरीले भनिन् “बाबा हजुरले देखिस्यो ? बाघ, हात्ती, बाँदर कत्ति धेरै आएका !” उसको मनको बोली फूत्त फूत्कियो “बाघ र हात्ती आएका होईनन् छोरी जंगलतिर गएका हुन ती हरुलाई फेरि भेट्न सकिन्न। स्कुल, घर कतै भेट्टिनन् ! अव कसरी खोज्ने होला ?” एउटा आँखा झिम्काउँदै उसले सङ्गै बसेकी श्रीमतीको कम्मरमा चिरिक्क चिमोट्यो।
श्रीमती पनि आँखीभौं थोरै खुम्चाएर मुसुक्क मुस्काईन । छोरीले च्वाप च्वाप ललि पप चुस्न थालिन । उसले श्रीमती र छोरीको मुहारमा खुसी खोज्न आँखा डुलायो ।
मुहारमा खुसीका बाछिटा देखेको उसले दह्रो मन बनाउँदै मनमनै भन्यो, “देश त टाट पल्टिदै छ भन्छन ! मेरो के कुरा ?अ:! जेसुकै होस् ! कति चिन्ता र अभावकाे पाेकाे लिएर तडपिनु!जे त हाेला देखाजाएगा !”
उस्ले छोरीको गाला सुमसुम्यायाे र अनुहारमा खुसीको रङ्ग एकाेहाेराे हेरिरह्यो । सायद खुसीको इन्द्रेणी •••• !!!
-गाेपीराम भण्डारी ‘बटुवा’