आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपन्यासकारका रूपमा रमेश विकल (समालोचनात्मक अन्वेशण पुस्तकबाट)


  • गोपी मैनाली
  • शनिबार, कार्तिक २५, २०८०
  • 162
    SHARES

उपन्यासकारका रूपमा रमेश विकल- गोपी मैनाली

विषय प्रवेश
उपन्यास कथाजस्तै जीवनका अनुुभूति वा आकाङ्क्षाहरूको कलात्मक अभिव्यञ्जना हो तर आयाम, परिवेश, घटना र चरित्रकार्यमा यो कथा भन्दा फराकिलो हुन्छ । घटनावृत्ति वा भोगाइहरूको सिलसिलाबद्ध संरचना पक्डिएर जीवनलाई बताउने सामथ्र्य भएको गद्य रचनालाई उपन्यासका अर्थमा लिइन्छ । प्रस्तुति विधानका आधारमा यो स्वच्छदन्तावादी, यथार्थपरक, प्राकृतिक, प्रभाववादी, आदि कित्तामा यसलाई लिन सकिन्छ । त्यस्तै कथा विधानका आधारमा ऐतिहासिक, रहस्यात्मक, कल्पनामूलक, संवेगात्मक, सामाजिक, समसामयिक आदि कित्तामा राख्न सकिन्छ । प्रयोजन, मूल्य, कलाविधानका आधारमा पनि उपन्यासलाई व्याख्या वर्गीकरण गर्न सकिन्छ । जे जसरी उल्लेख गरिए तापनि उपन्यासले उपन्यासकारको दृष्टिचेत, विषयवस्तु र अभिव्यक्ति कलालाई संयोजन गरी शिक्षा, सन्देश, मनोरञ्जन वा भावको निस्पादन गर्दछ, जुन कुनै न कुनै रूपमा समाजोपयोगी हुन्छ । समाज पर न उपन्यासकार रहन सक्छ न उपन्यास नै । उपन्यासले भविष्यको भाव÷आकृति चित्र अगि ल्याएर समाजको निर्माण वा विनिर्माण खोज्छ, मनोरञ्जन र शिक्षा दिन्छ, कुनैले कल्पनामार्फत ज्ञानको भोक जगाउँछ त कुनैले विकृति र बिब्ल्याटाको विरोध वा परिहास गर्छ । जे जसरी भने पनि उपन्यास सामाजिक प्रजननशीलताको अभिन्न भाग हो ।

कथा जस्तै उपन्यास पनि एउटा संरचनामा रहेर लेखिन्छ, जसभित्र कथा, कथानक, चरित्र, चरित्रकार्यको सिलसिला, परिवेश, बिम्ब तथा प्रतीक योजन, घटनाको उत्कर्ष र अवसान जस्ता तत्वहरू सिलसिलाबद्ध संयोजनमा रहेका हुन्छन् । प्रस्तुतिलाई रोचक र सम्प्रेष्य बनाएको हुन्छ । अकथा उपन्यास बन्दैन । यो कथा विधाको विस्तृत आयाम हो । कुनै उपन्यास वा उपन्यासकारको समालोचनामा यिनै विषयवस्तुलाई कार्यसूची (चेकलिष्ट) मा राखेर हेर्ने गरिन्छ । समालोचक कृष्णचन्द्रसिंह प्रधानका शब्दमा ‘उपन्यासको आन्तरिक तथा बाह्य प्रवृत्तिहरूको चित्रण गरेर जीवनलाई नाप्छ र त्यसलाई मूल्य खोज्छ, समाजलाई ठम्याउँछ र मोड्ने प्रयत्न गर्छ, गलतलाई समाउँछ र दिशा दिने सङ्केत गर्दछ ।’ समालोचक इन्द्रबहादुर राई भने काव्यमाथि गरिने समालोचनाका आधारमा उपन्यासलाई शास्त्रीय र व्यावहारिक भन्न रुचाँउछन् । कृतिको प्रभाव मूल्यमात्र होइन, प्रभावको कृतिमा उद्गम समेत देखाउन सक्नुपर्छ ।

द्वय समालोचकका दृष्टिकोणहरूमा बौद्धिक क्लीष्टता देखिन्छ । ठ्याम्मै भूूइँमान्छेले बुुझ्ने अर्थमा भूूइँमान्छेकै घटना, भोगाइ र आकाङ्क्षा अनुुभूति सजिलोसँग चित्रण गरेर जीवनको अर्थवत्ता खोज्ने काम उपन्यासले गर्दछ ।

नेपाली उपन्यासको पृष्ठभूमि
कविता, नाटक र कथा विधाका तुलनामा नेपाली उपन्यास केही कान्छो विधा हो । हुनत महाभारत, रामायण, कृष्णचरित्रलाई पद्य उपन्यासको रूपमा लिइएको पनि देखिन्छ तर उपन्यासको विधागत वैशिष्ट्यमा भने १८२७ शक्तिवल्लभ अर्यालको महाभारत विराट पर्वलाई पहिलो उपन्यास मान्ने गरिएको छ । यसै कृतिबाट नेपाली उपन्यासको प्राम्भिक काल सुरु भएको हो । यो आख्यान कृति भएकोले कथा र उपन्यास दुवैको पहिलो कृति मानिदै आएको छ । त्यसपछि भानुदत्तको हितोपदेश मित्रलाभ (१८३३), देवराज शर्माको स्वस्थानी ब्रतकथा (१८४२) शक्तिवल्लभको हास्यकदम्ब (१८५५), हरिहर शर्माको भागवतभक्ति विलासिनी (१९४५) आदि कृतिहरू नेपली उपन्यासको प्रारम्भिक कालमा देखिएका छन् । यी कृतिहरूको कथा परिवेश, विषय र चरित्र कार्य मौलिक छैनन् । यी कृतिहरू उपदेश, धर्म र नैतिक आचरणका प्राधान्यतामा अनुुदित र अलौकिक बृहत् कथाहरू हुन् ।

शिवदत्त शर्माको वीरसिक्का (१९४६, अनुदित) उपन्यासले माध्यमिक काल सुरु हुन्छ । यस अवधि (१९४५ देखि १९९० सम्म) धेरै कृतिहरू प्रकाशित छन् । बेताल पच्चिसी (१९५२) (अज्ञात लेखक), नरेन्द्रदेव पाण्डेको नलोपाख्यान (१९५६), सदाशिव शर्माको चन्द्रकान्त (१९५६), गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०), विग्यान विलासको डा.सूर्यप्रसाद (१९७२), पहलमानसिंह स्वाँरको एकलाख रुपैयाँको चोरी (१९७२), ऋद्धिबहादुर मल्लको शर्मिष्ठा (१९८५), अम्बालिका देवीको राजपूत रमणी (१९८९) लगायतका कृतिहरू प्रकाशित भएका छन् । यसकालमा गोरखपत्र प्रकाशन सुरु, नेपालमा प्रकाशन तथा छापाखानाहरू स्थापना भएसँगै कृतिहरू प्रकाशनले सहजता पाएको देखिन्छ । यस अवधिमा लेखिएका उपन्यासहरूको केन्द्रीय भाव समाज सुधार हो भने यस अवधिका कृतिमा उर्दू र फारसी आख्यानको प्रभाव देखिन्छ ।

१९९१ मा प्रकाशित रुद्रराज पाण्डेको ‘रूपमती’ बाट आधुनिक कालको सुरु हुन्छ । यस कालमा थुप्रै उपन्यासकार र औपन्यासिक प्रवृत्तिहरू देखिएका छन् । अहिले पनि यो अवधि चलिरहेको छ । नयाँनयाँ प्रयोग, प्रवृत्ति र धाराहरू विकास भैरहेका छन् ।

उपन्यासकार रमेश विकाल र उनका उपन्यास
सरदार रुद्रराज पाण्डेको रूपमती (१९९१) ले नेपाली उपन्यासमा आधुनिक काल भित्र्याउन पुुग्यो । यस उपन्यासलाई आधुनिककालको प्रवेश विन्दुमानिनुमा यसले चित्रण गरेको समाज र प्रस्तुति शैली नै प्रधान कारण हुन् । रूपमतीअघिका उपन्यासमा आदिभौतिकता–तिलस्मीता, आदर्शता मात्र पाइन्थ्यो तर रूपमतीले नब्बेको दशकको सामाजिक परिवेशलाई यथार्थ रूपमा चित्रण गरेको छ । नैतिक आदर्शको लक्ष्यात्मक आधारमा रहेर परिवार र समाजको चित्र उतारिएको छ । समालोचक इन्द्रबहादुर राईका अनुसार पारिवारिकतालाई सामाजिकताभित्र हेरिएको छ, सामाजिकतालाई पारिवारिकताभित्र खोजिएको छ । मानिसलाई समाजमा, समाज परिवारमा, परिवार व्यक्तिहरूमा हेरिएकोले परिवारका व्यक्तिहरूको सम्बन्ध व्यक्तिसम्म मात्र सीमित छैनन्, उक्लेर सामाजिक नैतिकता, अझ आध्यामिकतासम्म पुुग्छ ।

आधुनिक काल सुरु भएपछि नेपाली उपन्यासमा थुप्रै प्रवृत्ति र प्रयोगधाराहरू देखिएका छन् । जस्तो कि आदर्शोन्मुख यथार्थवाद, स्वच्छन्दतावाद, प्रगतिशील सामाजिक यथार्थवाद, मनो÷यौन विश्लेषणवाद, प्रयोगवाद, सामयिकवाद आदि । यी प्रमुख प्रवृत्तिमध्ये सामाजिक यथार्थवादी प्रगतिशीलतामा देखिएका उपन्यासकार हुन् रमेश विकल ।

रमेश विकलका जम्मातीनवटा उपन्यास (बालउपन्यास र कथान्यास छोडेर) प्रकाशित छन् । पहिलो उपन्यास सुनौली (२०३१), हो भने त्यसपछि दोस्रो अविरल बग्दछ इन्द्रावती (२०४०) र अन्तिम उपन्यास सागर उर्लन्छ सगरमाथा छुन (२०५२) हो । विक्रम र नौलो ग्रह (२०३९, बालउपन्यास) पनि लिँदा उनका चार उपन्यास छन् । प्रयोग, परिवेश र पात्रकार्यका आधारमा चारैवटा उपन्यास भिन्न खालका छन् । उपन्यासहरू समय, उपन्यासकारको उमेर र सामाजिक अवस्थाले प्रभावित छन् । सुनौली लेखनको समय उपन्यासकार जवान अवस्थामा नै छन्, अविरल बग्दछ इन्द्रवतीमा उनीमा सामाजिक चेत विस्तार भएको छ र सागर उर्लन्छ सगरमाथा छुनको समयमा उपन्यासकार परिपक्व छन् । समय, समाज र उमेरको वृत्तिबाट उपन्यासहरू प्रभावित छन् । सुनौली मनोविश्लेषणात्मक÷दमित इच्छाको केन्द्रीयतामा छ, अविरल बग्दछ इन्द्रावती सामाजिक व्यवहारको विश्लेषणात्मकतामा छ भने सागर उर्लन्छ सगरमाथा छुन शासकीय–सांस्कृतिक विश्लेषणको भावभूमिमा छ । यी तनै उपन्यासको केन्द्रीय भाव भूमि भनेको समाज र मानिस हो । त्यसैले भिन्न उपप्रवृत्ति वा धारमा रहे पनि उपन्यासहरूबीच पाइने साझा प्रवृत्ति सामाजिक यथार्थवादसाथ प्रगतिशीलता हो । ती नै उपन्यासलाई सरसर्ति हेरौं ः–

सुनौली
गोरे बम्जन, परिश्रमी, अरूको जग्गामा मोहियानी खेती गरी मुस्किलले जीवन पाल्ने निकै अघि श्रीमती सेतीगुमाएको राजधानी काठमाडौंदेखि एकदिन जति टाढाको गाउँले बासिन्दा हो । उसको परिवारको अर्को सदस्य, उसकी श्रीमतीको एउटै चिनो सुनौली हो, जो टुहुुरी र गरिब परिवारमा भएपनि सकेजति पुल्पुल्याएर हुर्काइएकी छ । पुल्पिुलिएकै कारण ऊ निकै जिद्दीवाल छ । त्यही जिद्दीका कारण गाउँको कर्णेलको छोरो देवेन्द्रले जिस्क्याउँदा पुर्पुरो सेकिदिएकी छ । ऊ निकै राम्री छ ।

‘ठूला मान्छे भएर आफूलाई मनपरी गर्न पाइन्छ त ? त्यसको नोकर्नी हो र म ? शहरकी लखौरीलाई जिस्क्याएको हो यहाँ ?’ भन्दै गाउँको कर्णेलसत्ता सामुु ऊ डटेकी थिई ।

सुनौली गोरे बम्जनकी यही जिद्दीवाल छोरी सुनौलीको कथावृत्ति हो । उसको मनोदशा र कार्यव्यवहारका वरिपरि उपन्यास दोलायमान छ । उसका मनोदशाको केन्द्रीय भाव चाँहि दमित इच्छा हो, जसलाई बाल्यावस्थादेखि नै गाउँको वातावरण र गोरे बम्जनको प्रशंसाले नजानिदो रूपमा झँगाएको छ । ‘यो मेरो छोरी लर्तरी छैन । यो त गजवकी पो छे त । शहर हुँदो र ठूला ठाउँमा जन्मेकी भए यो रानी बन्ने थिई ।’ बुबाले अरू सामु गरेको प्रशंसाले सुनौलीको मनोविज्ञानमा वेग्लै प्रभाव पारेको छ । साँच्चै शहर गएर रानी बन्ने सपना पनि हुर्किदै गएको छ । राम्री हुँ भन्ने बोध पनि बढेको छ । साथै उमेर र जवानीसाथ सुनौलीमा गर्व र आकाङ्क्षाहरू उर्लदै आएका छन् ।

कर्णेलकी छोरी गुनुु मैयाको सङ्गतले शहरको विषय, सिनेमा, होरोइनका विषयमा जति सुनी त्यसले सुनौलीको मनोविज्ञानमा अरू प्रभाव थप्दैगयो । अब ऊ विस्तारै शहरतिर मनोवैज्ञानिक रूपमा तानिन थाली । रङ्गिन सपनाहरू बुन्न थाली । बाबुको दुःख, समयसमयमा सुनेको रूपको वयान र शहर गए साँच्चै रानी नै बनिन्छ भन्ने चाहनाले तानिन थाली । सुनौलीभित्र सुनौला सपनाहरू तैरिन थाले, विलासी जीवनका कल्पना गर्न थाली रती दिनदिनै बढ्न थाले ।

फाटेको धोती र मैलो चोलोले मुस्किलले नारीको लाज छोप्ने कपडामा बेरिएकी सुनौलीका सपनालाई त्यतिखेर अरू बल मिल्यो जब शहरको कुनै होटेलमा मजदुर काम गर्ने गाउँको जवान कृष्णबहादुर बुढाथोकीले ‘शहर भनेको स्वर्ग हो’ भन्यो । वृद्धावस्थामा पुगिसेकेको गोरे बम्जनलाई एउटै चिन्ता छ – आफ्नी रानीजस्तै छोरीलाई जोडा मिल्ने केटो को होला ? यो कुरा बुढा बम्जन कृष्णेलाई पनि भन्न पुुग्छ । कृष्णे र बाबुको कुराले सुनौली मानसिक भावातिरेकमा धकेलिएकी छ ।

कृष्णेके उठबस सुनौलीसँग बढ्दैछ । सुनौलीको सुन्दरतालाई शहर पुु¥याउन पाए भन्ने कृष्णे, शहरमा पठाउन पाए छोरी रानी बन्ने थिई भन्ने गोरे बम्जन र शहर जान पाए के के न हुन्थ्यो भन्ने सुनौलीको मनोकाङ्क्षाका त्रिकोणीय मनोविज्ञानमा कथा अघि बढ्छ । मनोविज्ञानका त्रिकोणका आआप्mनै अभीष्ट छन् तर अव्यक्त छन् ।

कृष्णेको मन सुनौलीलाई स्वप्नशील मादकताका आँखा, प्राकृतिक रूपमा पुुष्ट भएको जवानीप्रति लोभिएको छ । त्यस्तै शहर एउटा यस्तो जादूको देश जसमा कुल्चनासाथ मान्छे साटिन्छ, मान्छे सुनको बन्छ, मान्छे दूधमा पौडी खेल्छ भन्ने भावना कुदिरहेका छन् । बाबुको कुप्रिएको ढाड, पानी जमेका आँखा, नशा देखिएका पिँडुला र रुग्ण बन्दै गरेको, परिश्रमले खिएको शरीरलाई सुनौली चटक्कै भुल्न चाहेकी होइन जब शहरको चित्र उसको आँखा अगिल्तिर नाच्न थाल्छ, कृष्णेसँगको सहवासमा भावनामा बग्न थाल्छे बाबुको माया, ममता सबै त्यत्तिकै भुल्न थाल्छे । शहर जाने लोभमा सुनौली आफ्नो कुमारित्वलाई समेत कृष्णेलाई अर्पिसकेकी छ तर त्यो प्रेम हो वा त्यत्तिकैको यौवन समर्पण भन्नेमा सुनौलीले त्यति सोचेकी नै छैन । उसलाई केवल शहर जानुपरेको छ, त्यो जादूको देश हो ।

कृष्णबहादुर पनि दोहोरो मनोदशामा छ । पहिलो सुनौलीको सौन्दर्य र यौवनलाई आफूले खरप्पै निलेर आफ्नो बनाउने र अर्कोतर्फ शहरको नराम्रो वातावरणमा उसको सोन्दर्य लुट्नबाट कसरी जोगाउने ? सुन्दर तरुनीप्रति शहरका आवारा गिद्धहरू झुम्मिछन् भन्ने होटेलमा काम गर्ने कृष्णेलाई थाहा नहुने कुरै थिएन । कृष्णेको पुुरुष मनले सुनौलीलाई गोरे बम्जनले थाहा नपाउने गरी भगाएरै छाड्यो । शहरमा उसलाई राख्ने सुुरक्षित आश्रय पनि छैन, त्यसैले साइली डाइवर्नीको डेरामा लैजान्छ । डाइवर्नी एक्लै छ, उसको लोग्ने साता दश दिनमा एकवार मात्र डेरामा आउँछ । ऊ पनि आफ्नै देखावटी रमकधमक र मनभित्रको प्यासका भौतारिएकी छ ।

सुनौलीको मनोविज्ञान कृष्णेलाई माया होइन शहर चढ्ने भरेङ सम्झिन्छ, कृष्णे सुनौलीलाई माया भन्दा सौन्दर्य र जवानीको रस चुस्ने माध्यममा लिइरहेको छ । मादकता र यौनउन्मादमा दुवैको अव्यक्त सम्झौता भएको छ । शहरमा पुुगेपछि एकअर्काका कमजोरीमा दुवैले एकअर्कालाई उपयोग गरेका छन् तर त्यो उपयोग दुवैका लागि प्रत्युत्पादक बन्दै गएको छ । यसबाट दुवैजाना कत्ति पनि सावधान छैनन् ।

कृष्णे दिनभरि होटेलमा काम गर्छ, बेलुका मात्र डेरा पुुग्छ । दिन प्रतिदिन साइली डाइवर्नीको व्यवसायमा सुनौली खुदोमा फसेको मौरीजस्तो बन्छे । शहरका बिग्रेका केटाहरूसँग उसको लसपस बढ्न थाल्छ । गुनुुमैयाले रोपिदिएको सिनेमाको हिरोइन बन्ने सपनामा पुुग्छे । उसको चिनजान, उठबस सिंहसँग हुन थाल्छ । सिंह करेन्ट (मादकता) भएका केटीमात्र सिनेदुनियामा सफल हुने देख्छ, सुषमामा करेन्ट नभएकीले सफल छैन, सुनौलीमा त्यो देख्छ । उपन्यासले सिनेमहत्वाकाङ्क्षा पूरा गर्न केटीहरू कसरी आप्mनो अस्मिता पनि भुल्छन् भन्ने पनि देखाउँछ ।

सिंह अफ्नो सिने व्यवसायमा सुनौलीलाई उपयोग गर्ने र यौन अभीष्ट पनि पूरा गर्ने स्वार्थमा छ । सुनौलीबाट कनक बनेकी सुनौली पनि सिंहबाट यौनउन्माद पूरा गर्ने र हिरोइन बन्ने अभीष्टमा छ । मानिसको प्रेममा वासनात्मक कठोरताभन्दा पर एउटा भावनात्मक कोमलता र पवित्रता पनि हुनसक्छ भन्ने कुरा सिंह–कनक दुवैमा अलिकति पनि छैन । दुवै रङ्गीचङ्गी रासरौनकको सिनेदुनियाँमा देखिएका छन् । सिंहको कलाकार मण्डलीमा रहेका कुनै कलाकारमा पनि भावनात्मक कोमलता छैन । सिंहको अमरलोक प्रोडक्सन कलाको होइन, वास्तविकतामा यौवनका अभिनय गर्छ । सुनौली लगायतका नारी पात्र त्यसमा कत्ति पर्वाह नगरी रमाएका छन् । केही समयपछिको भविष्यको कत्ति पनि पर्वाह छैन ।

सिंहले कनकमा उसबाट रहन गएको गर्भ पतन गराउँछ । त्यसपछि कनक बनेकी सुनौलीको जीवनको अर्को मोड सुरु हुन्छ । गर्भपतनपछि ऊ केही समय कुरूप देखिन्छे । सिंहबाट लत्याइएपछि ऊ एकदिन पुरानो प्रेमी कृष्णेलाई भेट्न जान्छे । कृष्णे रुन्छ, ऊ केटो मान्छे रुन हुँदैन भन्छे । एकअर्काका दुःखका सहारा जस्ता पनि देखिएको भान भयो । कृष्णेको आँसु देखेपछि सुनौली केटा मानिसको पुरुषार्थले संसार बन्छ भन्छे तर न मायाको कुरा गर्छे न आफ्नो धेरै कुरा खोल्छे । अरू पुरुषबाट पीडित सुनौली आफूलाई माया गर्ने पुरुषलाई भने माया गर्न सक्दिन, उल्टो धोका दिन्छे । सिंह, प्रेम साहव, किरणको नजरले कृष्र्णेलाई हेर्छे । कृष्णेलाई धोका दिएर उसले धोकेवाज आइमाई स्वभावको परिचय दिएकी छ । एकदिनको भेटमा पनि कृष्णेप्रति समर्पित हुन्छे, दुख वताउन गएकी सम्झाउन पछि पर्दिन, कृष्णेप्रति निष्ठावान छैन तर सहवासका लागि आफूलाई सुम्पिदिन्छे । सम्बन्ध, समर्पण र भेटघाट अनुमान र स्वाभाविकताबाट बाहिर छन् ।

सिंहबाट परित्यक्त बनेकी कनक धनी बाबुको बिग्रेको छोरो प्रेमसाहवको अँगालोमा बाँधिन्छे । यो सम्बन्ध पनि यौन अभीष्ट पूरा गर्नेसम्म सीमित छ । प्रेमसाहवबाट बोकेको गर्भ पतन गर्न मान्दिन । कुकुरले नपाएको दुःख पाएर एउटी सानी छोरी समेत डाइवर्नीकोमा शरण लिन्छे । शिशुु हुर्काउने उससँग अर्को माध्यम छैन । ऊ कनकबाट सुनौलीमा झर्न पुुग्छे । अब उपन्यास उत्कर्षबाट अवसानतर्फ झर्छ, सुनौलीको जवानी र सुन्दरता उत्कर्षबाट ह्वात्तै तल झ¥यो । अन्ततः अत्यधिक यौनधन्दाबाट सिर्जित रोगका कारण जीवनको अन्तिम अवस्थामा पुुग्छे । बच्ची र बचेको केही कृष्णेलाई जिम्मा लगाउदै जीवन लीला समाप्त गर्छे । यसरी सुनौलीको प्राकृतिकपना, निश्चछलता शहरको भोगविलासमा विकृत बन्दै जीवन नै अवसानमा पुुग्छ ।

सुनौली ले धेरै कुरा सिलसिलेवार रूपमा बताएको छ ।
 पहिलो कुरा नारीहरू अपरिपक्व निर्णय गर्छन्, छिट्टै कुराहरू पत्याउछन् र विश्वास गर्छन्, जसले उनीहरूको जीवन नै वर्वाद समेत पार्न सक्छ भन्ने दृष्टान्त सुनौलीको माध्मबाट दिइएको छ ।
 अर्को सन्देश, सौन्दर्य र यौवन नारीहरूको शक्ति हो तर त्यसलाई सही उपयोग गर्न नसक्दा त्यो अभिशाप बन्न सक्छ ।
 समाजभित्र देखिएका भन्दा लुकेका विकृतिहरू धेरै छन् । फर्मलभन्दा फेक विधिहरू शक्तिमान छन् जससले समाजलाई भद्दा, फोहोरी र विकृत बनाएको छ भन्ने सन्देश दिइएको छ । सुनौलीले प्रेमीलाई धोका दिएर आफै धोका खाई, कृष्णेले जवानी र सौन्दर्यमा गोरे बम्जनको आशाको त्यान्द्रो पनि चुडाइदियो, साइली डाइवर्नी लोग्ने जोखिममा कता गाडी चलाइरहेको छ ऊ अर्कोतिर मातिएकी छ । सिंहको सिनेसंसारको विकृति कलामा होइन, बासनाको मञ्चनमा छ । रूप, रक्सी, सौन्दर्य र नारी अस्मितामा व्यापार व्यवसाय फसेको छ । शहर बजारको धाक रवाफमा गाउँ लोभिएको छ ।
 नारीहरू सशक्तीकृत नहुँदा उसको फाइदा सबैले उठाउँछन् भन्ने अर्को तथ्य उदिनिएको छ । आफ्नै सामथ्र्यमा उभिएकी भए सुनौली कहा विग्रन्थी ? संरक्षण पाएको भए कहा विग्रन्थी ? नारीहरू सँधै आश्रयमा छन् भन्ने देखाएको छ ।
 असल संस्कार र संस्कृति नबसेको समाजमा यौन विकृतिहरू बढ्छ । बिग्रिएका परिवारका बेइलमी केटाहरू आफू पनि बिग्रन्छन् र अरूलाई पनि विगार्छन् भन्ने चित्र पनि उपन्यासले देखाएको छ ।
 बालमनोविज्ञान घर परिवार, समाज परिवेशबाट प्रभावित हुन्छ । गोरे बम्जनकी टुहुरी छोरीलाई रानी बन्ने छोरी, गरिबका कोखमा नजन्मिएको भए, शहरमा जन्मेकी भए रानी बन्थी, शहर त बेग्लै जादूको संसार हो जस्ता भनाइले सुनौलीमा नजानिदो गरी उग्र आकाङ्क्षा जन्माइदियो । गुनुु मैयाको फिल्मी व्याख्याले सुनौलीको बालमनोविज्ञानमा शहरमा गएर हिरोइन बन्न पाए हुने, रङ्गिन दुनियाँ त त्यस्तो पो हो भन्ने कल्पना कोरियो । बालमनोविज्ञान ससाना कुराले तरङ्गित भयो, उरल्लियो र नराम्रौसंग पोखियो । बाल अवचेत तहमा विकास भएको चाहनाले व्यक्तिको जीवनलाई पूरै पभाव पार्छ भन्ने सन्देश उपन्यासले दिएको छ ।
 अभिभावक विहीन÷टुहुरो जीवन छिट्टै भड्किन वा बेथितिमा पुुग्न सक्छ भन्ने अर्को जोडदार सन्देश हो । टुहुरो भएकोले कृष्णे बराल्लिएको छ, साइला डाइवर घरमा आक्कलझुक्कल मात्र आउन भएकोले डाइवर्नी बिग्रिएकी छ, आमाको माया नपाएर सुनौली नराम्रोसँंग बिग्रिई ।
 उग्र विलासिता र यौनउन्मादले जीवनलाई नै च्यातच्यूत पार्न सक्छ भन्ने दृष्टान्त सुनौली हो । शहरको सपनामा कृष्णेसँंग त्यत्तिकै अस्मिता गुमाई । शहरमा डाइवर्नीका आवारा केटा र यौनआकाङ्क्षीसंँग विग्रनुयसैको दृष्टान्त हो ।
 अर्को वास्तविकता के पनि देखाएको छ भने नियतिले दुःख र विपत्तिलाई शृङ्खलामा ल्याउने गर्छ । सुनौली शहर पसेपछि मृत्युसम्म एकपछि अर्को दुःखहरू यसका उदाहरण हुन् ।
 मानिसको जीवन निर्धारक तत्व यौन हो भन्ने सिग्मण्ड फ्रायडको दमित भावनाको सिद्धान्तलाई उपन्यासले पुुष्टि गरेको छ ।
 उपन्यासले चित्रण गरेको कुरा गरिबीले मानिसलाई जतापनि लतार्छ भन्ने हो । नेपाली समाज, त्यसमा पनि राजधानी नजिकका ग्रामीण बस्तीका गरिब जनजातिहरू राणा दरवारसंग उठबस गर्दै सामथ्र्यहीन प्रदर्शन प्रभावमा पर्छ ।

अविरल बग्दछ इन्द्रावती
रमेश विकलको दोस्रो उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ (२०४०) पहिलो उपन्यास ‘सुनौली’ भन्दा करिव एक दशकपछि लेखिएको छ । एक दशकमा समाजमा, उपन्यासकारमा र समयमा पनि परिवर्तन भएको छ । विषयवस्तु र समयको मात्र परिवर्तन होइन, उपन्यासकारको दृष्टिकोणका आयामहरूमा पनि परिवर्तन आएको छ । अविरल बग्दछ इन्द्रावती यिनै परिवर्तनका साथ प्रस्तुत भएको छ ।

प्रस्तुत उपन्यासका सन्दर्भमा कवि माधव घिमिरेले ‘निमुखाले बोल्न सक्दैन तर तिनका सपना कथाकारका कथामा मुखरित हुने समाजमा ‘अविरल बग्दछ इन्द्रावती’ मा युुगसन्धिका सङ्घर्षका कर्णभेदी कोलाहल र दूर भविष्यका सुमधुर सुसेली सुनिन्छ’ भन्ने भनाइ राखेका छन् । स्वयम् उपन्यासकार भने धर्तीको धूलोमा पाइएको पात्र र परिवेश समेटेर लेखिएको, माटोको गन्ध समेटेको उपन्यास भन्न रुचाँछन् । अझ भनौं उपन्यासकारले इन्द्रवती किनार मेलम्ची आसपासका माझी बस्तीको अनुुभूति टिपेर इतिहास भएका घटनालाई संस्मरणमा ल्याएका छन् । त्यसैले अविरल बग्दछ इन्द्रावती इतिहासको जीवन्तता दिने, सामाजिक यथार्थतालाई प्रस्तुत गर्ने नेपाली ग्रामीण परिवेशको यथार्थ कथा हो । यो इन्द्रवतीको अविरल गतिको कथा हो, मानवताको अविरल गतिको, चरैवेतिको कथा हो ।

नेपाली उपन्यासमा यथार्थवादी स्वरलाई उपन्यासले कला–कौतुहलमा पस्केको छ । पात्र र परिवेशको व्याख्यामा प्रकृति बिम्ब र प्रतीक योजन वेस्सरी प्रयोग भएपनि यो विशुद्ध सामाजिक यथार्थको उपन्यास हो । प्रकृतिको अविरलतामा बाँच्नु जीवनको नैसर्गिकता हो । जीवन प्रकृतिको लयमा जसरीतसरी बाँचिरहेको हुन्छ तर जीवन बाँच्ने क्रममा कतिपय भत्कोस–बिब्ल्याटा र विसङ्गतिले त्यो अविरल प्रवाहलाई अवरुद्ध गर्न खोज्छ, अवरुद्ध गर्छ । त्यहाँ बाँच्ने जीवन कि नियतिलाई स्वीकार्छ वा सङ्घर्षको ऊर्जा उब्जाउँछ । ‘अविरल बग्दछ इन्द्रावती’ मा पहिलाको पुस्ताले पहिलो विकल्प स्वीकारेको थियो, नियतिलाई यस्तै हो भनेर सम्मति, थिचोमिचो र शोषणको सह्यो तर पछिल्लो पुस्ताले दोस्रो विकल्प रोज्यो, याने कि सङ्घर्ष, जसले इन्द्रावतीको अविरलतामा नयाँ प्रवाह, स्वाभाविक स्वच्छन्दता ल्याउछ । यसर्थ उपन्यासकार जीवनले लेख्छन्, घटना काल्पनिकता होइन, जीवनका पात्रलाई उठाउँछन्, कल्पनाका पात्रलाई होइन ।

त्यसैले त रमेश विकल नेपाली उपन्यास र कथाका शिखर व्यक्तित्व बने । जीवनका कथा लेख्ने सर्जक र लेखिएका सिर्जनाहरू कालजयी हुन्छन् । दुुई शताब्दी अघि लेखिएको जेन अष्टिनको प्राइड एण्ड प्रेजुडिस अहिले पनि जीवन्त । दुुईसय वर्ष अघिको इतिहास त जेन अस्टिनको प्राइड एण्ड प्रेजुडिसले बताएकै छ, त्यो भन्दा बढी अहिलेको पुस्तालाई पनि अप्ठेरो अवस्थामा बाँच्न चुनौति सामना गर्ने ऊर्जा दिन्छ । अविरल बग्दछ इन्द्रावती नेपाली समाजको इतिहास त हुँदै हो, त्यहाका पात्रहरू, विशेषतः सोभिते र लालगेडीहरूले वोकेको उत्साहले समाज निर्माण÷विनिर्माणको सर्वकालिक ऊर्जा दिएको छ । सोभिते गोर्कीको पावेल त बनेन तर प्राकृतिक जीवनको सच्चा पात्र बनेर हिरोइक जर्नी गरिरहेको छ । समाज परिवर्तनले घटनाका रूपहरू बदल्दै जाला तर जीवनका सङ्घर्ष बाँकी रहन्छन्, तीइन्द्रावती जस्तै अविरल छन्, रहने छन् ।

उपन्यासको कथावृत्तितर्फ थोरै उल्लेख गरौं । कथाको इन्द्रावती किनारको माझी बस्तीका बुज्रुुक र वरिष्ठ सदस्य भूमा माझीबाट सुरु हुन्छ । उसको आँगनमुनि नै इन्द्रावती बगिहेको छ, दुवै किनारामा फैलिएको सेतै बगर छ । बगरमा नदीका भँगालाहरू नागवेली बनेका छन् । ती नागबेली बक्ररेखाहरूइन्द्रावती किनारका माझी, दनुवारबस्ती बासिन्दाका वृत्तिरेखा पनि हुन्, अझ भनौं उनीहरूको जीवनरेखा हुन् । बीचमा बग्ने इन्द्रावती चाँहि जीवनको मुलप्रवाह हो, जो स्वच्छ, पवित्र र प्राकृत रूपमा अविरल छ । यो चाहना र भोगाइको प्रकृतिसाम्य भाषा पनि हो । उपन्यासकार प्रकृतिको लयमा मानव जीवन सतत हो भन्ने प्रतीकीय चाहना राखिरहेका छन् ।

सत्तरीवर्षे भूमाका दुुुई जवान छोराहरू भीमे र जमाने र एक तरुन वयकी छोरी लालगेडी छ । उसकी श्रीमती मिलौती मझिनी जोरगाछीमा घाँस काट्ने क्रममा लडेर मृत्युभएको पनि अठार–वर्ष भैसकेको छ । भूमाको संसार भनेको यिनै तीनै सन्तानको कर्म र मेलापातले धानेको छ । काजी परिवारको सेवा गर्ने पनि उसको पुरानै दिनचर्या हो । भूमा विस्मृतिमा पर्न लागेका आफ्नो जवानीका दिन, मिलौती मझिनीसँगका पिरतिका क्षणलाई स्मृतिमा ल्याएर जीवन बाँच्ने ऊर्जा लिइरहेको छ । यसमा ऊमनमनै रमाएको पनि छ ।

काजी चतुर्भुजसिंहको संरक्षणमा मिलौती र भूमाको सानो संसार, थोरै खेतीबारी र परिश्रमको जीवन थियो । मिलौतीले छाडेर गएपनि भीमे, जैमाने र लालगेडीले वृद्ध भूमाको संसार धानेका छन् । भूमा लालगेडीको परिश्रम, शील र रूपमा निकै गर्वित छ ।

काजी खलक त्यहाँको खानदानी र सामन्ती परिवार हो । चतुुर्भुजसिंह काजीका पुर्खा दरवारको सेनामा जागीर खाँदै सम्पत्ति बटुल्दै गाउँमा प्रभुत्व जमाउन सफल भएको छ । चतुुर्भुजका बुुबा हुकुमसिंहले आँपटार, भिउटार, भाङ्टार, जोगीटार आदि माझीहरूले सनद पाएका जग्गालाई आफ्नै रैतानभित्र पारेका थिए । माझी, दनुवार र तामाङहरूप्रति हुकुमसिंहको व्यवहार एकदमै क्रूर र अमानवीय हुन्थ्यो । माझीका बिर्ता काजीका खान्गीमा समेटिएपछि माझीहरूको जीवन निर्वाहको बाटो थिएन, जाल हानेर मारेको माछामा पनि काजीको ठेकी लाग्थ्यो । बचेको माछा, ओल, सिस्नुु, निउरो, जलुको र भ्याकुर गिट्ठा उमालेर माझीको जीवन धानिन्थ्यो ।

चतुुर्भुजसिंहको चरित्र केही उदार झै देखिन्थ्यो । बेठवेगारी, ठेकीको कोली, चक्रबर्ती व्याज, बेदखली आदिको घोषणा आदिको घोषणाले पत्तै नपाई माझीहरू उसको शोषणव्यूहमा लपेटिएका थिए । साना काजी त्रिलोचनसिंह शहरमा पढ्ने, अनुदार र क्रूर स्वभावको थियो । गाउँमा उसको उद्दण्डताले सीमा नाग्थ्यो । माझीहरू उसको चाकरीमा हुनुपथ्र्यो, माझीका तरुनी छोरीहरू उसका यौनप्यास मेट्ने साधन बन्नुपथ्र्यो ।

साना काजी त्रिलोचनसिंह केही दिनको बिदा मनाउन शहरी साथीसाथ गाउँ आयो । यस अगिनै बुुढाकाजीले उनीहरूको इज्जत धान्नका लागि उर्दी गरिसकेका थिए । साना काजीको स्वागतको भार माझी समुदायको मिजारको हैसियतले भूमा बुढाको काँधमा थियो । उसले शिकार खेल्ने व्यवस्था, माछा मार्ने बन्दोबस्ती, डुुङ्गा विहारको व्यवस्था मात्र होइन, गाउँका राम्रा खसी पनि उसका स्वागतमा अर्पिनु पथ्र्यो । सोभिते, हीरे लगायतका युवाहरू विना ज्याला उसलाई यस्तो किन गर्ने भन्नेमा प्रतिक्रिया दिन थाले तर बुढा भूमा भने साना काजीको कानमा विरोधको स्वर डरमा थिए । तुले माझी, भूमाहरू युवा समुदायलाई सम्झाउछन् । साना काजीलाई मनोरञ्जनका लागि खोलामा दुवाली थुनेर माछा मार्ने बन्दोबस्ती मिलाउन भूमा तुलेलाई अ¥हाउँछन् तर ऊ आक्रोसित छ ।

साना काजी आएपछि गाउँका सबै खसी सकिए, कुखुराको खोर रित्तियो । हीरे पनि दुवाली सित्तैमा थुन्न नसकिनेमा दृढ छ । युवा माझीहरूको भनाइमा भूमा, नारने, बिर्खेहरू चिन्तित छन् । काजी खलकलाई रिझाउने मनसाय उनीहरूको छ । पुस्तौदेखि काजीखलकको पैतालामुनि बस्दै आएका पुरानो पुस्तका माझीहरू काजीखलकको मन कुँडिने कुरा किन गर्थे ?

सोभिते लगायतका युवा माझीहरूले काजीको यदि बर्खिलाप गरेकाले साना काजी त्रिलोचनसिंह रिसले चूर छ । ‘माझीका भुराहरूको अब पखेटा उम्रन थालेछन् । …हेरौला ती सबै सुँगुरका सन्तानको ताई पनि’ भन्ने उसको प्रतिक्रिया छ । यो चेतावनी पनि हो । साना काजीको धुपाउरे तिवारी यो सबै कामको पछि रात्री पाठशालामा प्रौढकक्षा चलाएको बहानामा विद्रोहको चेतना फैलाउने काम मास्टर देवुु पनेरुले गरेको कान भर्छ । पनेरु पहिला आफ्नो विरोधमा प्रधान पञ्चमा उठेदेखि नै सानाकाजी उसप्रति रिसमा थियो, तिवारीको कान फुकाइले रिसको आगोमा घिउ थपियो ।

परम्परागत पेसा माछा मार्ने, खोरिया खन्ने, बटुवाहरूलाई डुङ्गा तार्ने गर्दै आएका माझी–दनुवारहरूका लागि साना काजी आफैमा महाशत्रु देखियो । यतिसम्म कि ऊ र उसका शहरिया साथीलाई मनोरञ्जन बम हानेर, खोलामा विषादि हालेर माछा मारेपछि बचेखुचेका माछाहरू पनि बसाइँ सरेको उनीहरूको ठम्याइ थियो ।

गाउँका खिनौरीजस्ता जवान मझिनीलाई ससाना लोभमा यौन शोषण गर्ने आदत साना काजीमा थियो । एक दिन खिनौरी र लालगेडी पौडी खेलिरहेको ठाउमा आएर साना काजीले बासनात्मक व्यवहार गरेपछि लालगेडीले साना काजीको प्रतिकार गरी र भनी ‘ठट्टा ठट्टामा अर्काकी छोरीमाथि ठट्टा…यस्ता ठट्टा आफ्नै शहरे आइमाईसँग गर्नु नि’ । गाउँमा अचाक्ली बढेपछि रात्री कक्षामा गिरिमास्टर, देवुपनेरु, हीरे, जैमाने, भीमे, रिट्ठेहरूसँग सोभिते उर्लन्छ ‘आजसम्म हाम्रा पुरुखा हाम्रा जातिमाथि काजी खान्दानले जे जति थिचोमिचो गर्दै, रगत चुस्तै, कमारा लदाएझै लदाएर आए, अब यस्तो मनलाग्दी चल्दैन’ । विस्तारै युवा पुस्ता थिचोमिचोको विरुद्धमा जागेको छ । आप्mना बाबुहरूको झै लाटोपन र सोझोपन देखाउन उनीहरू तयार छैनन् । उनीहरूमा धैर्यताको बाँध फुटेदैछ । उता प्रोढ कक्षालाई आफूविरुद्धको राजनीति (पञ्चायत विरुद्धको पनि ?) देखेर बुढाकाजी समेत देवु पनेरु र गिरि मास्टरप्रति आक्रामक बनेका छन् । विष्णु साहु, जिम्मवालहरू काजीको धुपाउरे बनी उसको रिसको आगोमा घिउ थप्दैछन् ।

केही अघि भएको गाउँको प्रधान पञ्चको चुनावमा साना काजीको विरुद्धमा उठेको हरिकृष्ण सन्न्यासीले ज्यान गुमाउनु परेको थियो । उसको मृत्युु साना काजीको गोली भएको आशङ्का भएपनि हलो काट्न जाँदा कटुसको हाँगा भाँचिएर लडेको भन्ने प्रचार गरिएको थियो । चुनाव अघि उसको अकस्मात् रहस्यात्मक मृत्यु भएकोले साना काजी प्रधान भएको थियो ।

आफ्ना शहरिया साथी अगिल्तिर कडा प्रतिवाद गरेकीले लालगेडीप्रति त्रिलोचनसिंहको आँखामा कुत्सित भोक, लालसा, हिंसाभाव र क्रूरता जागेको छ । आफ्नी छोरीप्रतिको गिद्धेदृष्टिमा भूमामा त्रिलोचनसिंहप्रति घृणा छ तर अर्कोतर्फ सोभितेहरूले उठाएको आवाजप्रति उसमा डर पनि छ । वर्षौदेखि काजी खलकसँगको उठबस–चाकडीले भूमा त्रिपक्षीय मनोदशामा छ । माझी युवाहरूको विद्रोहलाई उरन्ठेउलो व्यवहार सम्झन्छ तर सम्झाउन सक्दैन ।

विचरा टुहुुरो सोभिते काजी खानदानको थिचोमिचोमा बाउपुस्ताको लाछीपनबाट दिक्दार छ । ऊ गाउँप्रति नै वितृष्णा छ । सानैदेखि लालगेडीसँगको दौतरी विस्तारै बढ्दै गएको मायाले लाहुर जान भने सकेको थिएन तर एकदिन लालगेडीलाई थाहापत्तै नदिई गाउँबाट बाहिरियो । नेपाल (काठमाडौं) मा तीन वर्ष कसैको घरको भाँडा माझेपछि मालिक्नीहरूको हैकम खप्न नसकी गाउँ फर्कियो ।

प्रधान पञ्चको अर्को कार्यकालको चुनावमा हरेकृष्ण सन्न्यासी त्रिलोचनसिंहका विरुद्ध उठ्यो । पटकपटक काजी परिवारलाई मात्र किन नेतृत्व सुम्पने ? पहिला पनि यो पालि साना काजीको विरोध नगर्नु भन्ने बुढाकाजीको आग्रह थियो । पटकपटक साना काजीलाई पद दिन गाउँलेहरू तयार थिएनन् । अर्को कुरा काजीखलकसँग हरिकृष्ण सन्नेसीको खान्दानी दुस्मनी पनि थियो । माझी युवाहरूको विद्रोही विचारको फाइदा लिन सकिने पनि उसको आँकलन थियो ।

साना काजीको साँढे यौनप्यासमा गाउँका गरिबका छोरीहरू बच्न सक्तैनथे । खिनौरी पनि फसिसकेकी थिई । श्यामली साना काजीको लागि युवती फकाउने कुटुुनी थिई । उसले लालगेडीलाई पनि साना काजीको दूतको रूपमा आई चिप्ला कुराले फकाई तर लालगेडीले आफू मर्न तयार तर त्रिलोचनसिंहको यौनप्यासको शिकार नबन्ने हुङ्कार दिई । कुनै दिन पँधेरामा पानी लिन जाँदा एक हातमा बन्दुक लिएको साना काजीले लालगेडीलाई बलात्कार गर्ने आशयले गाँज्यो । बोकेको गाग्रो भुुइँमा पुुग्यो, बल्लतल्ल लालगेडी उम्की । कामवासना पूरा गर्न नपाएको त्रिलोचनसिंह लालगेडीप्रति प्रतिहिंसा, अपमान र क्षोभले क्रोधित र लज्जित बन्यो ।

गाउँमा घाँसे–पँधेर्नी कुरा हुन्छ –नेप्टी मझिनी लगायत काजीका सामु कोही पनि तरुनी चोखो रहने भएनन् । उता आक्रोसित सोभितेलाई लालगेडी सम्झाउँछे । लालगेडीलाई बलात्कारको प्रयास गरेको थाहा पाएपछि सोभिते त्रिलोचसिंहप्रति आक्रोसित बन्छ । साना काजीले गरिबलाई जे पनि गर्नसक्छ, पहरोसँग कुहिनाको के जोर भन्ने भावमा धेरै सम्झाएपछि सानाकाजीसंग मुकाविला गर्न जान लागेको सोभिते यस पटक प्रतिकारमा जाँदैन ।

उपन्यासको उत्कर्ष भूमा लगायतका माझीहरूले वर्षौदेखि पसिना बगाएको काभ्रेपाटोमा काजीको सानसौकतका लागि हवेली बनाउने योजनाबाट सुरु हुन्छ । भूमा बुुढाकाजीको प्रस्ताव मनभित्रैबाट त मान्दैन तर हुन्न भन्ने आँट पनि राख्दैन । मिजारे माझी लगायत चाटुकार भने काजीको प्रस्ताव खुलेर समर्थन गर्छन् ।

आफ्नै गतिमा निरन्तर बगिरहेको इन्द्रावतीलाई काजी खलकको उद्दण्डताले धमिल्याउने, बाटो छोक्ने र भँगालो छुटाउने काम गथ्र्यो । अविरल बग्ने इन्द्रावतीलाई सँग्लिन नदिने काजी खलकप्रति माझी युवामा आक्रोस चुलिन्छ । लालगेडी काण्डबाट जागेको आक्रोस देवुपनेरुको साना काजीबाट हत्या भएपछि थप चुलियो, माझीहरूले दशनङ्ग्रा खियाएर जीवन निर्वाह गर्ने काभ्रे पाटोमा हवेली बनाउने काजीको निर्णयले उग्ररूप लियो । पुरानो पुस्ताका माझीहरू बुढाकाजीको कुटिल षडयन्त्र नबुुझेर केही सम्मति भावमा छन् तर युवाहरूमो विद्रोहको राँको बलेको छ । रात्री कक्षा सञ्चालनमा खप्की खाएका गिरि मास्टर निराश छन् । बुढाकाजीको अपमानपछि देवु पनेरुले काजी खलकमा जजमानी गनै छाडेको छ ।

हवेली निर्माणस्थलमा जम्मा भएका युवा माझीहरू साना काजीको आदेश किन मान्थे । साना काजीको उन्मत्याइँले उसको पहिलाको पुरोहित देवुु पनेरुको ज्यान गयो । देवुपनेरु उसको गोलीबाट ढलेपछि साना काजी केही दिनका लागि भूमिगत भयो । गाउँमा आतङ्क मच्चियो । शान्ति सुरक्षाको नाममा प्रहरीले उल्टै माझी परिवारलाई आतङ्कित बनायो । धेरै धरपकड परे । मध्यरातमा प्रहरी हवल्दारले लालगेडीलाई धरपकड गरी अज्ञात स्थानमा लग्यो । प्रहरी लालगेडीको यौवन चाट्न उद्यत थिए । आफ्नो छोरी लुटिएपछि भूमा माझी बेचैन छ । उता आफ्नो छोराको कुकृत्यबाट पश्चात्तापमा परेको बुढाकाजी छटपटाहटमा छ । यही क्रममा बुढाकाजीको मृत्यु हुन्छ–एउटा सामन्तवादको अस्ताउदो गौरव सदाका लागि ढ्ल्यो । यो अन्तिम अवस्थामा पनि साना काजी बाबुको नजिक थिएन ।

उता लालगेडीलाई श्यामलीको जिम्मा लगाई साना काजीकोमा पुु¥याउन अनेकन लोभ र निगरानीमा राखिएको थियो । अतिअपमानित रूपमा दिनभरि थुनेर सातदिनसम्म प्रत्येक रात शेरे हदल्दारले यौन शोषण ग¥यो । त्यसपछि श्यामली, हरे तिवारी र बुदुनेले पाँचखाल हुँदै काठमाडौं ल्याएर लालगेडीलाई साना काजीमा सुम्पे । अब ऊ बुदुने र हरे तिवारीको यौनइच्छा पूरा गर्नुपर्ने बाध्यतामा पुुगी । लालगेडीको सबै रस चुसेर बम्बै प¥ुुयाउने योजना साना काजीको छ । उसले कैयन जवान युुवतीलाई यस्तै गरेको छ । लालगेडी अब ज्यूँदो मुर्दा बनी ।
यो अन्याय र उत्पीडनको खलनायक केही वर्षपछि गाउँ आयो । माझीहरूको रगतले सिँचेको बगरखेतमा फलेका सुनका बालाजस्ता धानलाई त्यही वर्ष इन्द्रावती बाढी आएर सिनित्त पा¥यो, गाउँ अनिकालमा डुब्यो । सानका काजीबाट कुनै दयाभाव राखेर सहयोग भएन । लामो जेल यातनापछि सोभिते पनि गाउँमा आयो, भूमालाई लालगेडीको विषयमा सोध्न थाल्यो । लालगेडी नभेटेपछि ऊइन्द्रावती नदीसँग मौन पुकार गर्दै किनार बगरैबगर अनन्त यात्रामा अगिबढ्यो ।

यसरी उपन्यास सकिएको छ तर हामी भन्न सक्छौ –उपन्यासको कथा टुुङ्गिएको छैन । इन्द्रावतीको प्रवाहसँग सोभितेहरू मौन विद्रोहमा अविरल छन् । यसले एउटा सामन्ती युुगको यथार्थ कथालाई जीवन्त रूपमा उतारेको छ । यसले केही लुकेका सामाजिक यथार्थलाई पनि उधिनिदिएको छ ।

पहिलो त उपन्यासले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची आधारको गरिब बस्तीमाथि सामन्ती हैकममा समाजलाई चिथोर्दै चुस्दै गरेको क्षेत्री परिवार (जसको पञ्चायत व्यवस्थामा राम्रो पहुँच थियो) को ज्यादतिलाई जस्ताको त्यस्तै बढो प्रभावपूर्ण प्रस्तुति संयोजनमा देखाएको छ । त्यसैले यहाँका पात्र र खल पात्रहरू जे भनिए पनि यो उपन्यासमात्र नभै इतिहास पनि हो । सच्चा इतिहास साहित्यले लेख्छ भन्ने देखाएको छ ।

अर्को लोकतन्त्रविहीन अवस्थामा नेपाली समाजले खेपेको पञ्च÷सम्भ्रान्तहरूको शोषण–उत्पीडनको वास्तविक चित्र उतारेको छ । साथै प्रहरी प्रशासन पञ्चहरूको प्रभावमा कसरी आफै अत्याचारमा पुुग्छ, राज्य आतङ्कबाट निमुखा र विपन्नहरू कसरी सम्पत्ति, इज्जत र अस्मिता समेत लुुटिन बाध्य थिए भन्ने देखाएको छ । कतिपय चाटुकारहरूयसै क्रममा इमान बेचेर अन्यायका साक्षी बन्ने सामाजिक चरित्र पनि देखाएको छ ।

गरिब र विपन्नका लागि प्रकृति बाहेक अर्को को पो छ र भन्ने अमूक सन्देश अविरल बग्दछ इन्द्रावती हो । प्रकृतिसम्मत जीवन बिताउने माझी लगायत अरू जनजातिहरू प्रकृतिको अविरल यात्रामा लयवद्ध हुन चाहेका छन् तर त्यसलाई शासक, शोषक र प्रशासकले अवरुद्ध बनाएका छन् । यो लय पक्डिन त्यो समुदाय अहिले पनि सफल भैसकेको छैन । त्यसैले सोभिते इन्द्रावतीसंग मौन यात्रामा अविरल छ ।

उपन्यासले सम्बोधन नगरेका केही गम्भीर पक्ष र नउघारेका आयामहरू पनि छन् । उपन्यासकार जानाजान त्यो आयाम उघार्न उद्यत छैनन् । लालगेडीको दिनचर्या कसरी बितिरहेको छ ? के उपन्यासको मुुख्य चरित्रलाई उपन्यासको अन्तमा गुमनाम गर्न पाइन्छ ? सोभिते प्रकृतिसंग यात्रा गरेर बस्ने कि त्रिलोचनको कठालो समाउन पुुग्ने ? यसै पनि उसकी लालगेडी गायव भएपछि उपन्यासको पात्र चुुपचाप अर्को यात्रामा हिड्ने कि त्रिलोचनसिंहलाई बदला लिने ? नभए उसैको हातबाट जीवन जाओस् भनेर जाइलाग्ने ? अनि आफ्नी छोरीको अस्मिता लुट्ने काजीखलकप्रति अन्तिम समयसम्म किन भूमा लटपटिएको छ ? श्यामली, खिनौरी जस्ता मझिनीहरू अर्की आफूजस्तै महिलाको अस्मिता लुटिदा मौन वा मतियारीमा रहन सक्छन् ? महिला अस्मिताको बलात अपहरण अर्की महिलाले सँधैभरि हेरेर बस्न सक्छन् र ? माझी समुदायमा नारीत्व त्यति सस्तो होइन भन्ने स्वयम् लालगेडीले उदाहरण देखाएकी छ, त्यो चरित्र यथार्थ थियो र ? अनि उपन्यासले विजय प्राप्त ग¥यो भन्न सकिने अवस्था दिनुपर्दैन र ? यी अनुत्तरित प्रश्नमा उपन्यासकारले किन ध्यान दिएनन् होला ? अर्को सवाल पनि बाँकी भो ।

रमेश विकललाई कुनै कृतिले चिनायो भने त्यो नयाँ सडकको गीत हो, विकललाई शीर्षस्थानमा स्थापित गराउने कृति कुनै हो भने त्यो ‘अविरल बग्दछ इन्द्रवती’ हो । विकलको साहित्य यात्राको युुगलाई तीन भागमा राख्न सकिन्छ, नयाँ सडकको गीत पूर्व (वा प्रारम्भकाल), नयाँ सडकको गीत काल (वा शीर्षस्थातर्फको मोड) र अविरल बग्दछ इन्द्रवती काल (वा सिर्जना उत्कर्षताको अवधि) । अविरल बग्दछ इन्द्रावतीले आख्यानकार विकललाई जनस्तरमा पुु¥यायो । यो कृति मञ्चन तथा टेलिशृङ्खलामार्फत पनि जनजीवनमा पुुग्यो । नेपाली साहित्यमा थोरै कथा उपन्यासमात्र मञ्चन÷अभिनयमार्फत जनहृदयमा अर्को रूपमा आसन जमाउन सफल छन्, अविरल बग्दछ इन्द्रवती त्यो अवसर पाउने सिर्जना हो । यो उपन्यास नलेखिएको भए रमेश विकल सामाजिक यथार्थवादी उपन्यासको यो स्थानमा पुुग्ने थिएनन् । ६, ६ वटा उपन्यास लेखेर पनि जेन अस्टिनलाई चिनाउने, अमर बनाउने त प्राइड एण्ड प्रेजुडिस नहो, डि एच लरेनसले धेरै उपन्यास लेखे, धेरै प्रेमकथाका उपन्यास लेखे, तर उनलाई फैलाउने श्रेय लेडी च्याटर्लीज लभर पायो । पारिजातले पनि धेरै उपन्यास लेखिन उनलाई जनस्तरमा शिरीषको फूलले नै पुु¥यायो । यसर्थ अस्टिनको प्रायड एण्ड प्रजुडिस, लरेन्सको लेडी च्याटर्लीज लभर र पारिजातको शिरीषको फूलजस्तै विकलको अविरल बग्दछ इन्द्रावती हो ।

‘अविरल बग्दछ इन्द्रावती’ लाई कतिपय आलोचकहरूले रुसी उपन्यासकार मिखाइल शोलोखोभको ‘प्रशान्त दोनुु’ को प्रभावमा लेखिएको आरोप पनि लगाएका छन् तर आफ्नै माटो र मुटुको अनुुभूूति भएको यस उपन्यासमा प्रशान्त दोनूको शीर्षकबाट प्रभावित भएको, विषय, घटना र प्रस्तुति नितान्त आफ्नै रहेको स्पष्टोक्ति विकलले पटक पटक दिएका छन् । एक प्रसङ्गमा उनले भनेका थिए –साहित्यमा सामान्य प्रभावलाई मैले कहिल्यै नकारिनँ । विश्व आज परस्पर नजिक छ र एउटाको प्रभाव अर्कोमा पर्नु स्वाभाविक छ । मेरो प्रभाव विदेशीमा पनि पर्नसक्छ–त्यसकोणबाट हेर्नसक्ने आत्मविश्वास हामीमा किन छैन ? …सिर्जनामा खोट निकाल्न त्यसको सामाजिक धरातल, भौगोलिक र सांस्कृतिक परिवेशलाई ध्यान दिनुप¥यो (समकालीन साहित्य, वर्ष १०, अङ्क ३, पृ ४४–४५) । लोकप्रिय कृति नै अक्सर विवादमा ल्याउने गरिन्छ । भन्ज्याङको चौतारो लोकप्रिय छ, बङ्गाली लेखकबाट अनुकरण गरिएको भनियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा यसै प्रकारको आरोपमा पारिए । सामान्य प्रभाव र नक्कल फरक विषय हुन् । हाम्रा ऐतिहासिक र पौराणिक कथावस्तुमा लेखिएका धेरै कृतिहरूलाई उसो भए के भन्ने प्रश्न नेपाली साहित्यमा अनुत्तरित छ ।

सागर उर्लन्छ सगरमाथा छुन
उपन्यासको उद्देश्य पाठकलाई मनोरञ्जन दिने मात्र होइन, जीवनका विशद परिवेशसँग परिचित गराउनु पनि हो । उपन्यासको परिवेश राजनीतिक तर कलेवर सामाजिक । याने कि राजनीतिक शक्ति अभ्यास, व्यवस्थाको वर्वरता, शक्ति उन्मादमा मातिएको सम्भ्रान्त व्यवहार गर्ने राजनीतिक कार्यकर्ता र यसमा सरोवरी मिसिएको सामाजिक परिपाटी, बिटुलिदै गएको सामाजिक व्यवहार र मूल्यसंस्कृतिको भावभूमिमा लेखिएको छ सागर उर्लन्छ सगरमाथा छुन ।

राजनीतिले समाजमा पार्ने प्रभावमा समाज कसरी भिज्ने गर्दछ भन्ने पञ्चायतकालीन शासकीय प्रवृत्तिलाई उपन्यासल आयामिक विश्लेषण गरेको छ, रौंचिरा केलाएको छ । राजनीतिले सही बाटो पक्डिन नसक्दा फराकिएको शासकीय वेथिति र वैदेशिक प्रभावको जकडाइलाई उपन्यासले उधिनिदिएर सतहमा ल्याइदिइएको छ । यस कोणबाट उपन्यास खोज वृत्ति जस्तै बनेको छ ।

‘सागर उर्लन्छ सगरमाथा छुन’ उपन्यासको गर्भ कथामा उपन्यासकार रमेश विकलले आफू अमेरिकी स्वयम्सेवकलाई नेपाली भाषा पढाउन अमेरिकाको हवाइ टापूको सिटी अफ रिप्mयूजको समुद्री किनारमा आफू र आफ्नी साथीसंगको सम्वादमा समुद्रका छाल र चट्टानको आपसी सङ्घर्ष वा सुन्दर प्राकृतिक खेलमा रमाउँदा तिम्रो पनि सगरमाथा छ नि भनी गरिएको प्रशंसाको पृष्ठभूमिबाट जन्मेको हो । त्यो सम्वादको भाव चित्रलाई नेपाली घटनावृत्तिका शृङ्खलामा जोडेर उपन्यास बनेको छ । उपन्यासको परिवेश कहिले अमेरिका पुुग्छ, कहिले नेपाल आउँछ, कहिले बाह्य संस्कृति र कहिले नेपाली मौलिक पहिचानको पोया खोल्छ, कहिले समुद्रको छालसंँग उर्लन्छ त कहिले छहराको कलकलावटमा पुुग्छ । उपन्यासले इतिहास खोतलेको छ, राजनीति उधिनिदिएको छ र सामाजिक मूल्य संस्कृतिलाई उजेल्याउन खोजेको छ । त्यसैले उपन्यास तत्कालीन नेपाली समाजको बृहत् सामाजिक बिम्ब हो । थोरै यसको कथावृत्ति विश्लेषण गरौं ः –

कथा विज्ञान, प्रविधि र समृद्धिको शिखर मुलुक संयुक्तराज्य अमेरिकाको नागरिक हाइनरिख वान गोल्डम्यानबाट सुुरु हुन्छ । ऊ नै उपन्यासको प्रधान चरित्र हो । ऊ नेपाल आएको छ । कुनैपनि मुलुकको पहिलो चिनारी विमानस्थलको भंसार र अध्यागमनले दिन्छ । भंसार र अध्यागमन त्यस मुलुकको शासन–समाजको मिनिएचर हो, शासन–प्रशासन बुुझ्ने ढोका हो भने झै हाइनरिखलाई पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवहारबाट त्यही अनुुभूति भयो ।

हाइनरिख नेपाल आउनुको कारण आफ्नो मुलुकको यान्त्रिकताबाट वाक्किएर, छटपटिएर मात्र होइन, आफ्नै साथी लक्ष्मी शाहसंँगको प्रेमबाट छटपटिएर पनि हो । लक्ष्मी शाहमा उसले प्रेमको आदर्श भेटेको छ, पवित्रता पाएको छ, जुन सगरमाथा जस्तै कञ्चन र स्निग्ध छ भन्ने भावना उसमा छ ।

लक्ष्मी र हाइनरिखको मित्रता कृतज्ञता ज्ञापन दिवस (थ्याङ्क्स गिभिङ डे) को छुट्टी मनाउने क्रममा हवाइ राज्यको होनोलुलुशहरको कोनाकोष्टको सागर तटमा एक अर्काप्रति खुलेपछि बढेको थियो । हाइनरिख लक्ष्मीको सङकोच, लज्जा जस्ता शील स्वभाव भनौं हिन्दू नारीत्वको आन्तरिक रुग्णका कारणबाट प्रभावित छ । उसले पश्चिमी समाजको जस्तो यान्त्रिक र तयारी प्रेम, भोक लालसा र तत्कालको ब्रेक अप सायद लक्ष्मीमा देखेन । लक्ष्मी प्रशान्त महासागरको उर्लदो तरङ्गमा हराएकी छ, हाइनरिख सगरमाथाको उचाइको कल्पनामा हराएको छ । भनौं दुवै एक अर्काको संस्कृतिमा लोभिएका छन् । आफ्नो देशमा नभएको कुराले सवैलाई लोभ्याउदो रहेछ ।

लक्ष्मी र हाइनरिखको चरित्र निर्माणको पृष्ठभूमि फरक छ । हाइनरिख अमेरिकन भैकन पनि दोस्रो दर्जाको (जु) जाति हो, जसले उसका पुर्खाबाट ईशाई देवता जिसस क्राइसको हत्या गरेको ऐतिहासिक गल्तीको हेपाइ बारम्बार खाइरहेको छ, यान्त्रिककता र चमदमकको आवरणमा आन्तरिक उत्पीडन भोगिरहेको छ । सायद त्यसबाट मुक्तिको जैवनिक खोज उसभित्रको दमित इच्छा हो तर लक्ष्मी सम्पन्न नेपाली परिवारमा जन्मेहुर्केकी आमाबाबुकी लाडप्यारकी छोरी, लिङ्कन स्कुलमा पढेकी र कन्भेन्ट रहनसहनमा उठबस गरेकी, विदेशी सभ्यताबाट लोभिदै गएकी अभिजात्य वर्गकी सदस्य हो, जसमा नेपाली संस्कृतिभन्दा पश्चिमी संस्कृतिको प्रभाव हुर्किएको छ । त्यसैले हरेक सम्बन्धलाई उपयोग गरेर व्यक्तित्व विकास गर्ने अव्यक्त चाहचेत उसभित्र गाँजिएको छ । मानौं ऊ सभ्यता कि क्याक्टस हो ।

लक्ष्मीको प्राप्तिका लागि, उसैलाई खोजी गर्न र घरजम गरेर नेपाल नै बस्ने इरादामा नेपाल आएको हाइनरिख दरवारमार्गको कुनै होटेलमा पुुग्छ । यसै होटेलमा एउटा सम्भ्रान्त संस्कारको जाग्दो अवशेषरेमण्डशमशेर जङ्गबहादुर राणासँग भेट हुन्छ । पहिलो चिनजानमा नै रेमण्ड राणा सम्भ्रान्तताको बखान छाट्छ र आफू नेपालको खानदानी परिवारको भएको रवाफ देखाउँछ, विदेशीसंग उठबसका घटना बताउँछ । यत्तिकैमा आफनो दाजुु चम्कशमशेर राणाको प्रसङ्ग उठाउँछ । नेपालका मानिसलाई असभ्य, जङ्गली, राणा शासन रहँदासम्म राणाको पैतालामुनिको धुलो भन्न समेत पछि पर्दैन । आफ्नी भतिजी (चम्पककी छोरी) इलेनको बखान गर्दै ऊ निकै सुन्दरी, अङ्ग्रेजी बोल्ने, गोराहरू, विशेषतः अमेरिकीहरूलाई मन पराउने आदतकी भनेर प्रशंसा गर्छ । मानौं राणा सम्भ्रान्त परिवार मात्र नेपालका वास्तविक घरानिया हुन् । ऊ इलेनसँगको उपयोग हाइनरिखसँग सम्बन्ध स्थापित गर्ने मनोविज्ञानमा छ । यसरी छोटो बसाइमा नै नेपाली समाजको कथित परिवारमा हुर्किएको पश्चिमी सभ्यताको काँचो मोह र शक्तिसम्भ्रान्तताको अहङ्कार देखाउँछ । यसले हाइनरिखमा कस्तो प्रभाव प¥यो ऊ मतलव राख्दैन तर आफूहरूको वास्तविक स्वभावको भने परिचय दिन्छ । यसो गर्नु विग्रिएका राणाहरूको आदत नै थियो, जसबाट उनीहरूले दुुई प्रकारका मनोइरादा राखेको स्पष्ट थियो । पहिलो, आफूहरूको हातबाट गुमेको शासन सत्ताको क्षतिपूर्ति गर्ने, दोस्रो बाह्य संस्कृतिसंँग उठबस गर्दै समाजमा छुट्टै पहिचान कायम राख्ने ।

हाइनरिख भने तारे होटेलमा पनि नेपाली खाना खोज्छ, नेपाली पहिचान र संस्कृति खोज्छ । नेपालमा नेपालीपन होला भन्ने स्वाभाविक कल्पना गर्छ तर विडम्बना शहर घुम्दा पनि सरल व्यवहार पाउँदैन । रेमण्ड हाइनरिखलाई दाइ चम्पकको निवासमा लैजान्छ । त्यहाँको प्रवेश गराइ नै सोफेस्टिकेटेड छ । भिक्टर कुुकुुर, संख्यौ नोकर चाकर, सबैमा बक्सियोस्को लवज, अङ्ग्रेजी शब्द मिसिएको सम्वाद रेमण्डले सुरुमा हाइनरिखलाई भनेजस्तै दृश्य–व्यवहार छ । चम्पकको छोरीको नामनै इलेन (सायद हेलेनको अङ्ग्रेजीबाट जवर्दस्त अपभ्रंश बनाइएको, बाह्य संस्कृतिको सिको) छ । इलेनले हाइनरिखलाई परिचयमा अङ्ग्रेजी बोलेर हात मिलाई । साथै बाबुसँग इतरिई । चम्पकले हाइनरिख कस्तो छ भन्दा तत्कालै खाइलाग्दो जवान भन्नुु जस्ता जस्ता बोली र व्यवहारले चम्पकको घरको परिवेश नै सोफेस्टिकेटेड, नेपालीपन खोज्नेका लागि भने सफोकेटिभ ।

राणा परिवारसंँगको उठबस र इलेनका कारण अन्ततः हाइनरिख होटेलबाट राणा निवासमा सर्न बाध्य भयो । ऊ त्यत्तिकै बस्न चाहदैन, त्यसैले सामान्य शुल्कमा पेइङ्गेष्टको दर्जा लिन्छ । केही सन्देह र भारी मन लिएर ऊ त्यहाँ सरेको छ । त्यसपछि ऊ शृङ्खलावद्ध रूपमा समस्यामा फस्दैजान्छ । संदेह, सम्बन्ध र स्वार्थका समस्यामा ऊ जेलिदै गएको छ । यतिसम्म कि इलेनको रूप, जवानी, हाइनरिखको गोरो छाला, इलेन हाइनरिख सम्बन्ध, राणा निवासका स्वागत शिष्टाचार संस्कार सबै राजनैतिक अभीष्ट प्राप्ति, सामाजिक शासनसौकत र शक्ति आर्जनमा उपयोग भएका छन् । इलेनको रूप, सौन्दर्य र जवानीबाट फाइदा लिन हेनरी (हाइनरिख) लाई हौस्याइएको छ । त्यो फाइदा अन्ततः राणा परिवारको अस्वस्थ अभीष्ट पूरा गर्न हो ।

नेपालको राजनीतिक विकृति र उच्च घरानामा हुर्किएको सांस्कृतिक–यौनविकृतिको राम्रो जानकारी हाइनरिखले पाउँछ । अमेरिकी नियोगको जानसेवास्टिनो उसलाई यस विषयमा थप जानकारी त दिन्छ तर त्यसमा असंलग्न हुन, बरु आध्यात्मिक रूपमा विशृङ्खलित र उच्च घारानिया राम्रा कलगर्लहरू उपयोग गर्न सुुझाउँछ । जान सावास्टिानेको भनाइमा हाइनरिख सहमत हुन सक्दैन । अपवादको सामान्यीकरण गरेर लक्ष्मी शाह जस्ता केटी पनि छन्, मीरा जस्ता विलासिता पूरा गर्न शरीर पसल थाप्ने महिला पनि छन् भन्ने तर्क गर्छ । उसको तर्कलाई जाँन यसरी खण्डन गर्छ–‘मैले आफ्नो कुटनैतिक पेसा र गौरवर्णको कारणले यस देशका जतिपनि नारीको सङ्गत गरेको छु, त्यसमा मलाई यस समाजमा अधिकांश स्वास्नी मानिसहरू त्यस्तै शोख पाल्छन् र विशेष रूपले त्यस दिशातिर उन्मुख छन् भन्ने विश्वास भएको छ । ….जङ्गली देशमा हाल आएर एउटा त्यस्तो समाज विकास हुँदैछ, जसलाई समझदार मानिस ‘फरेन क्रेज’ अथवा नक्कली मजुर सभ्यता अथवा जडाउरी सभ्यता भन्ने गर्छन् । …समाजका छोरी बुहारी विदेशी नक्कलको शिकारका लागि होटेल–होटेल । क्लव सोसाइटी चहार्छन् ।…विदेशी सभ्यताका अखडा त होटेल–क्लव नै त हुन’ ।

जान सेवास्टिनोको व्याख्या र तर्कबाट हाइनरिखका मनमा अनेकन प्रश्न उब्जिएका छन् ‘एउटा आदर्श समाजवादी दर्शनमा हुर्केको सम्भ्रान्त समाजले आफ्ना स्वास्नीमानिसहरूलाई यति सारो गर्न छुट दिन्छ ?’ । साथै जानको भनाइलाई चम्पक–रेमण्ड–इलेनको सापेक्षतामा मनभरि उराल्न पुुग्छ ।

जान सेवास्टिनोको व्याख्याले नेपाली समाज जडाउरी सभ्यताको मनग्गे प्रमाण त भेटिन्छ तर एउटा कुटनीतिज्ञले विदेशी नागरिकप्रति राख्ने दृष्टिकोण पनि देखिन्छ । के यसरी विदेशी समाजप्रति जे पनि भन्न कुटनैतिक मर्यादाले दिन्छ भन्ने प्रश्न उठाएको छ । जानले आफ्नो आल्वममा रहेका कैयन युवतीहरूको अद्र्धनग्न तस्विर देखाएपछि हाइनरिख सोझो र सफा मन उसप्रति आक्रामक हुन्छ र भन्छ ‘सब भद्र महिलाहरूको यस्ता नग्न र अश्लिल चेष्टाका फोटोहरू खिचेर, उनीहरूको इज्जत मुठीमा च्यापेर तिनीहरूलाई ब्ल्याकमेल गर्ने विचार त छैन तिम्रो’ । हेनरी जानलाई शङ्का गर्छ, आक्रोस राख्छ, भल्गर महिलाहरूको व्यवहार खिच्नेलाई झनै भल्गर देख्छ । जान भने हेनरीलाई नै विचरा देख्छ, जो आफ्नो समृद्ध संस्कृति भुलेर जडाउरी संस्कृतिमा अगाडि बढेको मुलुकप्रति माया गरेर नेपाल आएकोमा विचरा देख्छ ।

हेनरीको मन भने झनै उरल्लिन थाल्छ, के नारी भोगविलासका पुतली मात्र हुन्, पुरुष वासना पूर्तिका साधन मात्र हुन् ? अनि किन महिलाहरू यसरी गोरा छाला र विदेशीप्रति आकर्षित हुन्छन् ? जानले भने झै सत्ताधारी डेमोक्रेटिक लिवरिज्मका नाममा किन विकृत भैरहेको छन् ? यहाँका बच्चाहरूलाई जन्मदै शक्तिको पाइताला चाट्ने र निर्धालाई घोडा चढ्ने संस्कृति किन पिलाइन्छ ?

जान र हेनरीको सम्वादले नेपालको ¥हासोन्मुख सामाजिक–राजनीति र शासकीय संस्कृतिको दिशा स्पष्ट देखाएको छ । उपन्यासले प्रमुखतः यीनै कुरालाई कथा, उपकथा, सम्वाद, प्रतिक्रिया, प्रेम, घृणा, आक्रोस, आवेग आदिका माध्यमबाट देखाएको छ ।

राणा परिवार बारम्बार पार्टी गर्छन्, ठूला बडा भेला गर्छन्, विदेशी कुटनीतिज्ञहरू आमन्त्रण गर्छन, मदमदिरा सेवन गराउछन्, तरुनीहरूसंँग रमाइलो गर्ने चाँजोपाँजो मिलाउछन् । यसरी नै चम्पक–रेमण्ड राणाहरू कालोधन कमाउने, तस्करी र भ्रष्टाचार गर्ने व्यवसाय चलाउँछन् । उच्च खानदानसँग सम्बन्ध जोड्छन् । यसरी चम्पक राणा पञ्चायत व्यवस्थाको निख्खर बिम्ब थियो । राज्यसत्ताले जे गर्छ, त्यो चम्पकले गरिरहेको थियो । त्यसैले जडाउरी संस्कृति, चेलीवेटीको कुमारीत्व स्खलन र सामाजिक सदाचारिता विगार्ने काममा सत्ता र यस नजिककाहरू गरिरहेक थिए । हाइनरिखलाई आफ्नो व्यापारिक साझेदार बनाउने अभिव्यक्ति पछिको कुत्सित आशय पनि यही थियो । चम्पकको व्यापारिक साझेदार भुँडे महाशयले हाइनरिखमाथि गरेको व्यवहार पनि यही थियो तर हाइनरिख राणा परिवारको पेइङगेष्ट भएका कारण क्षुब्ध भएर पनि प्रतिकार गर्न सक्दैन ।

राणा परिवारको नाता कृष्णराजा (जो पहिला कनकशमशेर जङ्बहादुर राणा थियो, अब नामको पछि जङ्गबहादुरको पुच्छार जोडेन चाहँदैन) राणा परिवारको गतिविधि, शासनसत्ताका गतिविधिप्रति प्रतिक्रिया जनाउने उदार युवा हो । चम्पक परिवारले आयोजना गरेको भोज कार्यक्रममा कृष्णराजा प्रवेश गरेर राणा व्यवहारको, व्यवसायको, प्रवृत्तिको शिष्टतापूर्वक प्रतिकार गर्छ । ऊ हेनरीलाई पनि आफू चम्पकको भतिज भएर पनि विवेक, विचार र चेतनाका कारण जनताको बोली लिएर हिडेको, राणा खानदानीपनबाट पृथक भएको बताउँछ । राणा परिवार पनि उसलाई रविनहुड सम्झिन्छ । कृष्णराजाले एक कदम अघि बढेर हेनरीलाई भन्छ ‘तपाई जति बढी बस्नुहुन्छ, उनीहरूको सही अनुहार देख्नुहुन्छ । तपाई जुन परिवारमा बस्नुभएको छत्यसले तपाईलाई सत्य, शिव र सौन्दर्यसँग शाश्वत हुन दिने छैन ।

तपाई सामुकपट र जालसाजी, धुत्र्याइँ, भ्रष्टाचार, बेइमानी र अनीतिको माध्यमबाट आर्जन गर्ने उच्च वर्गको पाप, विलास र भ्रष्टाचारलाई सत्य सौन्दर्यको रूपमा प्रस्तुत गरेको छ । दमन र उत्पीडनबाट नपुंसक बनाइका पुरुषले भिरेको मुर्दा शान्तिलाई नै अनन्त सुख र शान्तिप्रियताको, सुरक्षा र सन्तोषको ज्वलन्त प्रमाणका रूपमा तेस्र्याएको छ’ । कृष्णराजाको भनाइबाट हेनरीले बुुझ्यो कि राणा भनेको कुनै जाति नभै वर्ग रहेछ र त्यो पञ्चायती शासनको प्रतिरूप रहेछ र अर्को वर्ग चाँहि कृष्णराजाले प्रतिनिधित्व गरिरहेको रहेछ । कृष्णराजा वेथिति विरुद्ध बढ्दै गएको चेतनाको झिल्को थियो ।

जे जस्तो सोच हाइनरिखमा जन्मे पनि राणा परिवारको पेइङ्गेष्ट (नाम मात्रको) का रूपमा बसेको छ । राणा परिवारकी सारै सोफेस्टिकेटेड छोरी इलेनको छाडा गाईजस्तो स्वच्छता, सबै बन्धनबाट मुक्त, उग्र कमनीयताबाट प्रभावित छ । ऊ इलेनको दुुई व्यक्तित्वको विचरण गर्छ, पहिलो उसले मन पराएकी लक्ष्मी शाह जस्तो नेपाली नारी, इलेनको चेहरामा लक्ष्मीलाई पाउने गरेको छ । दोस्रो, मर्यादा र अनुशासनका सबै सीमा तोडेर भाग्न खोज्ने एउटी निरङ्कुश समाजकी अहङ्कारी युवती । इलेनको व्यक्तित्वभित्र यी दुुई परस्पर प्रतिस्पर्धी चरित्र द्वन्द्वमा भएजस्तै (?) स्वयम् हाइनरिख पनि उसका विषयमा द्वन्द्वमा छ ।

कृष्णराजाको स्वयम्सेवी सङ्गठन (क्रियाकलाप) को इलेनको पनि मौन समर्थन हुनथाल्यो । कतिपय सन्दर्भमा बुुबा चम्पकलाई सानातिना स्वार्थमा सर्वसाधारणलाई दुःख नदिन अनुरोध गर्न थाली । यसो भन्दा चम्पक छोरीलाई कुलङ्गार्नी भन्न थाल्छ । यो उकुसमुकुस र अपराधपूर्ण कार्यबाट हाइनरिख उम्किन खोज्दैछ । चम्पककै पहलमा खोलिएको औषधि केन्द्रको स्टाफ बनेकाले ऊ त्यहीको क्वाटरमा सर्छ । चम्पकको घरमा प्रहरीले छापा मार्छ । इलेन चम्पक महलमा नजरबन्द गरिन्छे । चम्पक कृष्णराजालाई आफूलाई कसैगरी उसको ठूलो बुवाको पञ्जाबाट मुक्त गर्न अनुरोध गर्छ ।

कृष्णराजाको सहयोगमा हाइनरिख मध्यपश्चिामाञ्चल केन्द्र पुुगेर डा.कोमलसँग सहकार्य गर्न थाल्छ । हेनरीले त्यहाचाँहि वास्तविक नेपालको चित्र, नेपालीपन, नेपाली जीवनशैली र प्राकृतिक वातावरण देख्छ । युवा अवस्थमा पत्नी गुमाएपछि सबै धन सम्पत्ति त्यागेर, एक किसिमले जीवनबाटै वितृष्ण भएर गरिबको उपचारमा संलग्न डा.कोमलसँगको सहकार्यमा हाइनरिख निकै खुसी छ । लक्ष्मी शाह नभेटे पनि खुसी भेटेको छ ।
हाइनरिख र डा.कोमलले औषधि उपचार सेवाका अतिरिक्त गाउँमा सरसफाइ चेतना बढाउने गरी युवायुवती परिचालन गर्ने काम पनि गर्नथाले, जसका कारण प्रधान पञ्च हाइनरिखलाई धम्की दिन आए । हाइनरिख विरुद्ध प्रशासनमा उजुरी पनि प¥यो तर डा.कोमल, हाइनरिख, नर्स चेतनाको समूह असहाय, निमुखा र बलात्कृत महिलाहरूको सेवा गर्दै रहे । उता पञ्चायत विरुद्धको आन्दोलन चर्किदैथियो । अब उनीहरूको अस्पतालमा आन्दोलनबाट घाइते भएकाहरूको भीड लाग्न थाल्यो । मण्डलेहरू‘काङ्ग्रेसी कुकुर र बाम मोर्चाको कार्यकर्ता’ को उपचार नगर्न हुङ्कार गर्न थाले, आफूहरूले ल्याएका बाहेक अरूको उपचार गर्न नहुने मण्डलेको चेतावनी थियो । चेतना नर्स उनीहरूको आदेश कानून हुने भन्दै त्यसविरुद्ध नजान हाइनरिखलाई सम्झाउँछे । डा.कोमल र हाइनरिखको आत्मवलले आपत्तिमा परेकालाई सेवा गरिरहन साथ दिएका थियो । चेतना पनि उनीहरूको साथमा छ ।

एकदिन चेतनासँग हाइनरिख आफूनेपाल आएको कारण लक्ष्मी शाहसँगको प्रेम भएको र उसलाई जतिखोजे पनि अहिलेसम्म पाउन नसकेको कुरा बताँउदै थियो । चेतनाले काठमाडौं शिक्षण अस्पतालमा लक्ष्मी शाह नाम गरेकी डाक्टरले आफूलाई नर्सिङ्ग कक्षामा पढाएको कुरा बताई । त्यसपछि हाइनरिख कतै निस्किएको थियो, अवेरसम्म फर्किएन । केही व्यक्तिले उसलाई घाइते हुनेगरी आक्रमण गरेछन् । डा.कोमल, नर्स चेतना र सहयोगी घनश्यामको खोजीपछि मरणासन्न घाइते हाइनरिख फेला प¥यो । तत्काल काठमाडौं लगेर उसको जीवन रक्षा गर्न डा.कोमल प्लेन चार्टरका लागि सिडिओलाई आग्रह गर्छ तर सिडिओ मान्दैन । सायद जनआन्दोलनमा लागेको कारण पञ्च–मण्डलेहरूको भनाइमा लागेर ऊ अस्पताल समूहप्रति नै नकारात्मक छ । व्यापक जनदवावपछि हाइनरिखलाई प्लेन व्यवस्था गरी शिक्षण अस्पतालमा ल्याइन्छ । घाइते हाइनरिखको आँखा खुल्दा ऊ आफूलाई शिक्षण अस्पतालको आइसीयुुमा पाउँछ । नर्स चेतना उसको साथ छ । लक्ष्मी शाह शिक्षण अस्पतालमा छ भन्ने कुराले पनि उसको मनमा छुट्टै कुरा खेलेका छन् । नभन्दै उसले उपचारको क्रममा उसले लक्ष्मी शाहलाई देख्यो, बोलायो पनि तर लक्ष्मीले देखेको नदेख्यै गरी । उसलाई विमारीमा मानसिक अवस्था ठीक नभएको भनियो ।

लक्ष्मीको उपेक्षाभावमा हाइनरिख थप घायल बन्छ । ‘त्यो माथ्लो वर्गको अहङ्कारले मानिसलाई पनि काँचका भाँडाबर्तनजस्तै प्रयोग गर्छन्, फुटेपछि÷मतलव पूरा भएपछि वास्ता गर्दैनन् ।’ चेतनाको चेतनायुक्त भनाइले हाइनरिखले के सम्झ्यो कुन्नि तर चेतना रोकिइन ‘म तपाई कि लक्ष्मीको उचाइमा पुग्दिन…तर .. म ..म तपाईको फुटेको सपनालाई जोड्ने प्रयास गर्न …म तपाईको प्रेरणा बनेर, सघाउन…।’ एउटा नर्सले विमारीलाई जुन सेवा दिन्छन्, एउटा गोरे डाक्टर (बिमारी) लाई चेतनाले दिई । यसरी हाइनरिखका जीवनमा तीनमोडमा तीन नेपाली केटीहरू आए, दुुर्ईटीले उपयोग (युज एण्ड थ्रो) गरे चेतनाले साथ दिई । लक्ष्मी र इलेन आआफ्ना इच्छापूर्तिको लागि आए, चेतना हाइनरिखको दुःखमा साथ दिन आई ।

‘सागर उर्लन्छ सगरमाथा छुन’ प्रशान्त महासागरको छालले आफूलाई समेट्न नसकी नेपालको सगरमाथाको उच्च शिखर भेट्न नेपाल आइपुुगेको हाइनरिखको कथा मनोद्वेलन, सङ्घर्ष र सामान्यतामा सकिएको छ । धेरै दुःख–हण्डर र मनोदशाको भुङ्ग्रोबाट अन्ततः उसले सगरमाथाको विजय ग¥यो । चेतना त्यसकी प्रतीक हो, डा.केमल, कृष्णराजा, घनश्यामहरू सगरमाथा चढ्न साथ दिने उसका सहयात्री ।
उपन्यासले प्रतीकीय वा प्रत्यक्ष रूपमा सन्देशहरू दिएको छ । जनआन्दोलन, लोकतन्त्र स्थापना र नागरिक हितकारी शासन प्रणालीको अभियान भेट्टाउन पनि सागर सगरमाथा चढ्दैछ ।

अर्को, नेपाली समाजको सम्भ्रान्त परिवारमा बढेको शक्ति उन्माद, यौनविकृति र अपराधवृत्तिको त्रिवेणीय मन्थन उपन्यासले गरेको छ । यीनै विकृति परास्त गर्न सागर उर्लेको छ सगरमाथा छुन ।

यस अर्थमा उपन्यासको शीर्षकीय सार्थकताका तीन कोण छन् । पहिलो कोणमा हाइनरिख छ, दोस्रो कोणमा कृष्णराजा र तेस्रोमा चाँहि डा. कोमल र नर्स चेतना । पहिलो कोणको अन्तर्य आफ्नो मुलुकको दोस्रो दर्जाको नागरिक भएर बसेको, यान्त्रिकता र समृद्धिले थिचिएर वाक्क भएर प्राकृतिक जीवन खोज्ने चाहचेत छ । दोस्रो कोणको अन्तर्यमा नेपाली समाजको कथित सम्भ्रान्त वर्गले चिथोरेको, गिजलेको, भित्रभित्रै कुहिएको, सम्बन्ध र यौनलाई शक्ति र सम्पत्ति आर्जनमा उपयोग गर्ने वर्गबाट सिर्जित उत्पीडिन, गरिबी र अन्याय छ, जसको जसको उत्कर्ष÷निकासको विन्दु कृष्णराजा हो । तेस्रो कोणको अन्तर्य चाँहि मानवता, चोखो नेपालीपन, सांस्कृतिक स्वादको जीवनमा देखाइएको छ, जसलाई चेतना नर्सले उत्कर्षमा पुु¥याउँछे ।

नेपाली कथा, भावभूमि र घटना परिवेशमा लेखिएको उपन्यास भएपनि यसको केन्द्रीय चरित्र हाइनरिख गोल्डम्यान हो । कथावस्तु, घटनावृत्ति, चरमोत्कर्ष, समाप्ति सबै हाइनरिखका वरिपरि घुमेका छन् । विदेशी केन्द्रीय पात्र भएर, अझ आफनो मुलुकमा राष्ट्र (नागरिक एकत्व अनुुभूति) नपाएर नेपालमा त्यो भेट्टाउने प्रयत्नमा पात्रकार्य भएको सम्भवत यो पहिलो उपन्यास हो ।

सामाजिक यथार्थका जगमा उपन्यास लेखेर प्रगतशीलतामा अन्तगर्ने विकलको प्रवृत्ति सागर उर्लन्छ सगरमाथा छुनमा पनि देखिएको छ । सुनौली र अविरल बग्दछ इन्द्रावतीका दुवै पक्षहरू सामाजिक उत्पीडन र यौनअभीष्टा सिर्जित विकृतिको मिश्रित रूप यसमा भेटिन्छ । यसर्थ यसले अन्य उपन्यासमा भन्दा विषयवस्तुले व्यापकता पाएको छ, शैली र प्रस्तुतिले परिष्कार पाएको छ ।

सागर उर्लन्छ सगरमाथा छुन नेपालको सामाजिक जीवनको परिष्कार खोज्ने प्रगतशील दृष्टिकोण राख्दछ । यहाँ कुनै द्वन्द्व वा सङ्घर्ष छैन, तर मनोद्वन्द्व, असहमति, प्रेम, घृणा, षड्यन्त्र, विश्वास–सन्देह र प्राकृतिक–प्राङ्गारिकता सरोवरी छन् । उपन्यासले लिएको दृष्टिकोण वा दिने सन्देश भनेको निख्खर नेपालीपन र शासकीय सुशासन हो । एक आयाममा सुशासन र अर्को आयाममा सांस्कृतिक सदाचारिताले समाजलाई सभ्य र परिष्कृत पार्नुपर्ने आग्रह उपन्यासले राखेको छ ।

मनोविज्ञानको दृष्टिकोणमा विश्लेषण गर्दा इतिहासमा स्थापित र पछि शक्तिहीन भएको सामाजिक वर्ग आफ्नो वर्चस्व स्थापित गर्ने मनोतुष्टिका लागि जे पनि गर्नसक्छ भन्ने उदाहरण चम्पक–रमेण्डमार्फत दिएको छ । चम्पकशमशेर आफूशक्तिमा रहन सामाजिक सम्बन्ध, छोरीको सौन्दर्य र यौवन, नातागोता सबैलाई प्रयोग गर्छ । नजानिँदो रूपमा यो मनोविज्ञान ईष्र्याको मनोविज्ञान हो, जुन इतिहासको पृष्ठभूमिमा उभिएर वर्तमानमा टाउको उठाउँदै छ । मनोविज्ञानको अर्को क्षेत्र भ्रष्टाचार र अवैध आर्जनका पाँच लोभको मनोविज्ञान हो । पहिलो लोभ पावरमा छ, दोस्रो पहिचानमा, तेस्रो पैसामा, चौथो पद÷प्रतिष्ठामा र पाँचौ प्रेममा छ । चम्पक–रेमण्डलाई प्रतीक रूपमा प्रस्तुत गरी यी सब विषयवस्तुु देखाएको छ । महत्वाकाङ्रक्षी महिलाहरू आफ्नो अभीष्ट पूरा गर्न प्रेमको नाटक गरी यौनकर्म समेत गर्न पछि पर्दैनन् भन्ने सामजिक कुत्सनलाई लक्ष्मी र इलेन मार्फत देखाएको छ । हेनरी दुवैका लागि उपयोगको पात्र हो ।

उपयोग सकिएपछि लक्ष्मी उसलाई चिनेर पनि हेनरीको पवित्रतामाथि उपेक्षा गर्छे, इलेन सकेजति अवसरको उपयोग गर्छे । तर हेनरी भने समाज, देश र नागरिकता छाडेर लक्ष्मीका लागि सगरमाथाको देशमा आएको छ । हाइनरिखका लागि लक्ष्मीसँगको प्रेम सगरमाथा हो, लक्ष्मीका लागि उसको प्रेम सागरको बारबार छचल्किने सानो आयातनको उच्छाल मात्र हो ।

उपन्यासले देखाएको अर्को पक्ष धनी भनिएका मुलुकका कुटनैतिक नियोगहरू गरिब मुलुकको सम्प्रभुता र अस्मिताप्रति कसरी धावा बोल्छन् भन्ने पनि हो, जुन निकै संवेदनशील छ । जान हेनरीलाई नेपाली तरुनीहरूको नाङ्गा अरूतिस्वर देखाएर यस देशका सुविधाभोगी नारीहरूको मनोवृत्ति, चाहना र आकाङ्क्षा जडाउरी संस्कृतिमा छ, नवनाढ्य वर्गमा फरेन क्रेज अति नै छ, गोरा छालाप्रति मरिमेट्छन्, क्लव र होटेलहरूमा नेपाली तरुनीहरूको वास्तविक चरित्र देखिन्छ जस्ता अभिव्यक्ति दिन्छ । के यसरी अर्को मुलुकका नागरिकमाथि त्यस्ता आरोपहरू लगाउन मिल्छ ?

उपन्यासले तत्कालीन व्यवस्थामा नेताहरू आफ्ना साना र कुत्सित स्वार्थ पूरा गर्न विदेशी नियोगका सामान्य कर्मचारीहरूदेखि विदेशी व्यापारीहरूसम्मलाई कसरी रिजाउछन् भन्ने पनि देखाइएको छ । यसले आन्तरिक रूपमा लोकतन्त्र र बाह्य रूपमा राष्ट्रियता स्खलित हुने, सांस्कृतिक विचलन आउने कारण बन्दछ भन्ने विश्लेषण प्रस्तुत गरेको छ । सागर उर्लन्छ सगरमाथा छुन ले बताउन खोजेको अर्को विषय यान्त्रिकता, निर्वैयक्तिता र भोगवादी संसारबाट मानिसकको आत्मिक खुसी विथोलिन्छ भन्नेमा छ । हाइनरिख त्यसको उदाहरण हो ।

मूलतः उपन्यास सांस्कृतिक विचलनले मानिसको स्वत्व क्षयित हुन्छ । राष्ट्रियता र सम्प्रभू शक्ति क्षयित छ । त्यसलाई बचाएर, आफ्नोपन र पहिचान बचाएर हार्दिक एवम् सुसांस्कृतिक समाज विकास गर्ने अभीष्ट राख्दछ । सगरमाथा छुन उर्लिएको छाल त्यै सांस्कृतिक विचलनको नियन्त्रण मार्फत नेपाली मौलिकताको पुनर्बहालीका लागि हो, हाइनरिख, कृष्णराजा, डा.कोमल र चेतना यसका बिम्बात्मक चरित्र हुन् ।

विक्रम र नौलो ग्रह बाल उपन्यास हो । यसको कथावस्तु निकै काल्पनिक र कौतुहलपूर्ण छ । कतिपय घटनावृत्तिहरू पत्यारलाग्दा छैनन् पनि । विक्रम काठमार्डौ उपत्यकाको उत्तरी गाउँको एक कृषकको तीन भाइमध्ये माहिलो छोरो हो । ऊ जिज्ञासु छ तर घरको काममा अरू दाजुुभाइ जसरी सघाउँदैन । सँधैभरि केही न केही सोचेर खुला आकाशमुनि, नदी किनारमा बस्छ ।

एकदिन त्यसैगरी केही सोचेर सुुतेको बेलामा तन्द्रामा चन्दमाबाट एक वृद्ध मानिस आएर मङ्गल लोकमा जान र त्यहाँ पनि जनप्रिय शासक निलुम्बालाई हटाएर बोगुम्बाले शासन गरेकोमा त्यसलाई हटाई लोकतन्त्रको पुन स्थापना गर्न सघाउन अनुरोध गर्छ र मङ्गललोक जान सहयोग गर्ने वचन दिन्छ ।

विक्रम अनेक प्रयासपछि वृद्धको सल्लाह अनुरूप यान बनाई मङ्गललोक जान्छ, जसमा उसलाई साथीहरू विवेक र मायाले साथ दिएका थिए । मङ्गललोकमा वैज्ञानिक प्रगतिले पराकाष्ठा नाघेको पाउँछ । शासन सत्ता यान्त्रिक रूपमा सञ्चालन भएको पाउछ । वृद्धले भने झै निलुम्बालाई सहयोग र बोगुम्बालाई परास्त गरी विक्रम धर्ती फर्किन्छ । कथाले प्रयास र परिश्रमले जे पनि फत्ते हुन्छ भन्ने सन्देश बालबालिकालाई दिएको छ, मनोरञ्जनको साथ ज्ञानको भोक जगाएको छ ।

प्रयोग, प्रवृत्ति र विशषताका आधारमा रमेश विकलका उपन्यासालाई यस तालिकाबाट सार खिच्न सकिन्छ
उपन्यास                                              प्रकार                    प्रमुख प्रवृत्ति तथा धारा                                            विशेषता
सुनौली                                  सामाजिक                         यौन÷मनोविश्लेषणात्मक            –  दमित इच्छाको प्रकटीकरण– ग्रामीण जीवनको
                                                                                                                                                    सरलता र शहरी जीवनको जटिलताको
                                                                                                                                                 उदात्तीकरण, स्थानीयताको प्रस्अरूतुत,
                                                                                                                                                                   – अस्तित्वको सङ्घर्ष तर पराजित ।
अविरल बग्दछ इन्द्रावती      सामाजिक,              आञ्चलिक सामाजिक प्रगतिशीलता,माक्र्सवाद   – सामाजिक तहसोपानको प्रस्अरूतिुत
                                                                                                                                                                  – वर्गभेद र वर्गीय द्वन्द्व
– चेतना र सङ्क्रमणको द्वन्द्व
                                                                                                                                                                    – स्थानीयताको प्रस्तुति
सागर उर्लन्छ सगरमाथा छुन    सामाजिक, सांस्कृतिक     सामाजिक यथार्थवाद, मनोविश्लेषणात्मक र प्रगतिशीलता –सांस्कृतिक दिवालियापन
– शासकीय विकृति
– सामाजिक देखासेखी ।
– अप्राकतिक स्वच्छन्दता
– पहिचान र अस्त्वित्वको द्वन्द्व ।
विक्रम र नौलो ग्रह          बालउपन्यास (काल्पनिक विज्ञानकथा)     प्रयोग र नवोन्मेषवाद                                           – कौतुहल, ज्ञान निर्माण
– लाक्षणिकता ।

उपसंहार
नेपाली उपन्यासको आधुनिक कालका सशक्त प्रयोग रमेश विकलले सामाजिक यथार्थवादमा आधारित भै प्रगतिशील, मनोवैज्ञानिक र प्रयोगवादी उपन्यासहरू लेखेका छन् । उपन्यासमा उठाइएका विषयवस्तु र विशेषताका आधारमा विकल कथामा जस्तै सामाजिक व्यवहारप्रति आलोचनात्मक चेत राख्दछन् । उनका चार उपन्यास चार प्रवृत्ति तथा विशेषताका भएपनि तिनले समाजमा विकसित चेतनाका साथ प्रगतिको विशिष्ट चाहचेत वोकेका छन् ।

– गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }