शुक्रबार, फाल्गुन १८, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

एनसेलको शेयर खरिद बिक्री प्रकरण

ठूलो अनियमितता भएको देखियो, सशक्त खबरदारी आवश्यक छ :महामन्त्री थापा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २१, २०८०
  • 62
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्रीमा ठूलो अनियमितता भएको भन्दै समिति बनेर मात्र ठीक नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो भनाइ सार्वजनिक गर्ने क्रममा ‘समिति बन्यो ठीक हुन्छ भन्ने अवस्था छैन, सशत्तः खबरदारी आवश्यक छ’ भनेका छन् ।

उनले कानूनको छिद्र दुरुपयोग गरेर यस्तो गरेको प्रस्ट देखिएको भन्दै यसमा बदनियत रहेको दाबी गरेका छन् । उनले यसअघि पनि पटक–पटक यस्तो गरेका दृष्टान्त रहेको भन्दै राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाइकन यत्रो अनियमितताको हिम्मत नआउने बताएका छन् ।

उनले समिति औपचारिकतामा मात्र सीमित नहोस् भनी चेतावनी दिएका छन् । सो क्रममा महामन्त्री थापाले जो जहाँ छौँ सोही भूमिकामा रहेर जो जसको आडमा यतिठूलो अपराध भएको हो त्यसलाई असफल बनाउन लाग्न पनि आह्वान गरेका छन् ।

यसो लेखेका छन् महामन्त्री थापाले सामाजिक सञ्जालमा–
एनसेल प्रकरणः समिति बन्यो ठीक हुन्छ भन्ने अवस्था छैन, सशक्त खबरदारी आवश्यक छ ।

एनसेलको खरिद बिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिन्छ।

तत्कालै यो प्रकरणमा विभिन्न तहबाट प्रश्न उठेकै छन् । संसदीय समितिमा, गठबन्धन दलका बैठकमा, पार्टीभित्र बाहिर सबैतिर । सरकारले समिति बनाएको छ भने सार्वजनिक लेखा समितिले ‘समग्र प्रक्रियामा अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यो पूरा नहुन्जेल शेयर बिक्रीको प्रक्रियालाई रोक्न निर्देशन’ दिएको छ।

तर समिति बन्यो सबै ठीक हुन्छ भन्ने अवस्था छैन । कानूनको छिद्र दुरूपयोग गरेर यस्तो गरेको प्रस्ट देखिन्छ । यसमा बदनियत छ ।किनकि पहिला पनि पटक पटक यस्तो गरेका दृष्टान्त छन्। राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाइकन यत्रो अनियमितताको हिम्मत आउँदैन । जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् । अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन् ।

अतः उनीहरूलाई असफल बनाउने भनेको यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौँ हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौँ, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट ।

१, समिति औपचारिकतामा मात्र सीमित नहोस् । छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हर क्षण सचेत र चनाखो हुनु जरुरी छ। हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ। यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ।

२, यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा, र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ। नेता–नाता, सरकारी–गैरसरकारी कसैले छुट पाउनु हुँदैन । साथै यो सँगै कुनै व्यक्ति,संस्था वा समूहको स्वार्थ  अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहीँ कतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ। अझै सशक्त ढङ्गबाट प्रतिवाद जरुरी छ, नागरिक स्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट। अतः सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गरौँ।

३, यो प्रकरणसँग जोडिएर जसरी नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय उठेका छन्। ती विषय गम्भीर छन्। यस सन्दर्भमा नेपाल सरकारले प्रस्ट गर्नुपर्छ,गराउनुपर्छ।

पुनः आग्रह छ–समितिमात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुङ्गाउने प्रयास कहीँ कतैबाट नहोस्। सुन काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका  शीर्षहरूबिच जे जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढङ्गले खबरदारी गरौँ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }