आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समकालीन सर्जक र रमेश विकल (“समालोचनात्मक अन्वेशण” पुस्तकबाट)


  • गोपी मैनाली
  • शुक्रबार, पुस ६, २०८०
  • 150
    SHARES

समकालीन सर्जक र रमेश विकल (“समालोचनात्मक अन्वेशण” पुस्तकबाट)

विषय प्रवेश
स्रष्टाहरूले एउटा समयलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् । त्यस समाजलाई हेर्ने र बोक्ने दृष्टि–दर्शनमा भने स्रष्टाहरूमा भिन्नता पाउने गरिन्छ । सिर्जना र स्रष्टाहरूको सामयिक, भौगोलिक, क्षेत्रीय, भाषिक र सामाजिक तुलनाले साहित्यको स्थिति विवेचना र यसको गन्तव्यलाई बुुझ्न सकिन्छ । नेपाली भाषा साहित्यको इतिहास धेरै लामो छैन तर विभिन्न कालखण्डमा देखिएका प्रवृत्ति र प्रयोगले यसलाई समुुन्नतितर्फ अगि बढाँउदै लगेको छ । नेपाली साहित्यको आधुनिक कालका विशिष्ट स्रष्टा रमेश विकल उनका समय आसपासमा कस्ता थिए भन्ने संक्षिप्त तुलना गर्नाले स्वयम् विकलर समकालीन अरू स्रष्टाको प्रयोगवृत्ति बुुझ्ने आधार दिन्छ । यसर्थ विकललाई केन्द्रविन्दुमा राखेर प्रमुुख प्रवृत्तिका प्रतिष्ठाताहरूसँग तुलना गरिन्छ ।

(क) सामाजिक यर्थाथवादमा गुरुप्रसाद मैनाली र विकल
कथाकार रमेश विकल र गुरुप्रसाद मैनालीमा पाइने समानता सामाजिकतामा हो । मैनालीले वि स १९८६ बाट कथा लेख्न थालेका थिए भने प्रकाशनको हिसावमा उनको पहिलो कथा १९९२ मा शारदा मासिकमा प्रकाशित नासो पहिलो हो । नासो कथाले नै नेपाली कथामा आधुनिक काल सुरु भएको भन्ने मत धेरैको छ । यही कथाले नै नेपाली साहित्यको कथा विधामा सामाजिक यथार्थवादको सुरुवात गरेको हो । पारिवारिक पृष्ठभूमिमा लेखिएको यो कथा मानवीय संवेदनाले भरपूर, ग्रामीण परिवेशको जीवनको चित्र उतार्ने सरल कथा हो । ईश्वर बरालका शब्दमा नासो कथाले कथा साहित्यमा सर्वथा अभिनव शैलीले सामाजिक यथार्थको प्रतिमा प्रतिष्ठा ग¥यो । नासो पारिवारिक कथाभूमि भएको घटनामा आधारित छ, यसमा चित्रित विषयवस्तुु, सम्वाद, पात्र कार्य कुनै पनि अस्वाभाविक छैनन्, त्यस समययको समाजको यथार्थ प्रतिनिधित्व गरिरहेको छ । मैनालीको नासो र परालको आगो कथालाई दार्जीलिङ्बाट ‘कथा कुसुम’ सङ्ग्रहमा पनि प्रकाशित गरिएको थियो । कथा कुसुम नै नेपाली भाषाको पहिलो मौलिक कथाहरूको सङ्ग्रह थियो । कथा कुसुम प्रकाशित गर्नुको उद्देश्य नेपाली कथामा मौलिकता र आधुनिकता फैलाउन प्रभाव पार्नु थियो । मैनाली, विश्वेश्वर, पुस्करशमशेरहरु त्यसका दृष्टान्त थिए ।

मैनालीले कथायात्रा सुरु गरेको करिव २० वर्षपछि विकलले कथायात्रा सुरु गरेका थिए । विकलको पहिलो कथा गरिब हो । यो पनि शारदा मासिकमा नै प्रकाशित भयो, २००६ मा । नासो र गरिब प्रकाशन अवधिमा करिव १४ वर्ष अन्तराल छ । प्रकाशनकालको अन्तराल जेजति छ, शैली र परिवेशमा त्यति नै भिन्नता छ । दुवैको नेपाली ग्रामीण परिवेशलाई, तत्कालीन समाजको व्यवहार र भोगाइलाई वस्तुपरक रूपमा उतारेको छ । नासोमा परिवारभित्रको कथा छ, देवीरमण, सुुभद्रा र लक्ष्मी कथाका पात्र हुन् । सुुभद्राबाट सन्तान नभएपछिको भित्र्याइकी लक्ष्मीबाट सुशीलको जन्म हुन्छ र सुुभद्राको मातृत्वका भोक पूरा गरिदिन्छ । पछि लक्ष्मीले आफू मृत्युको अन्तिम चरणमा पुुग्दा आफ्नो छोरो सुुशीललाई नासोको रूपमा सुुभद्रालाई सुम्पिन्छे । ‘गरिब’ मा मानबहादुरले मुखिया साहेवबाट पचास रुपैयाँ मात्र सापट लिएको थियो, तर उसले तीनसय पचास रुपैयाँ तिर्नुपर्ने भएको छ, त्यसबीच उसले सापटीको व्याज पनि दिएको थियो । तर मुखियाबाट कुत्सित आशय पहिलेदेखि राखिएको छ, जसबाट मानेको घरसम्पत्ति मुखियाको हुन सकोस् ।

वित्तीय संस्थाहरूको पहूँच र वित्तीय शिक्षा गाउँ गाउँसम्म पुुगेको छैन र स्थानीय साहुुबाट सोझासिधा सर्वसाधारण बेस्सरी ठगिएका छन् । गरिब कथा लेखिएको सात दशकपछिको अहिलेको नेपाली समाजमा पनि मिटरव्याजी (चक्रवृद्धि व्याज) बाट समुदाय नै पीडित भएको, सहकारीहरूले साहुकारको काम गरेको देखिन्छ भने त्यतिवेलाको समाज कति पीडित थियो होला ? कल्पना गर्न सकिन्छ । माने र मुखिया शोषक र शोषितको केवल प्रतीक हुन्, समाजमा थुप्रै मानेहरू केही मुखियाबाट प्रताडित छन् ।

गुरुप्रसाद मैनाली र रमेश विकालका अरू कथा पनि समाजका वस्तुपरक चित्र हुन् । मैनालीले विकलका तुलनामा थोरै कथा लेखेका छन्, नासोमा सङ्ग्रहित कथा छिमेकी, विदा, प्रायश्चित्त परालको आगो, चिताको ज्वाला, अभागी लगायत ११ वटा कथा नै नेपाली कथा विधामा मैनालीलाई शीर्षस्थानमा पु¥याउन सफल भए । सबै कथाहरू समाजको एक एक कोणबाट नेपाली ग्रामीण जीवनको यथार्थ चित्रण गर्न सफल छन् । विरानो देशमा, नयाँ सडकको गीत, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बुुढो भ्वाइलेन आशावरीको धुनमा, उर्मिला भाउजू, शव, शलिक र सहस्र बुद्ध, हिमालको छहरा समुद्रको छाल, हराइएका कथाहरू र कथादेखि कथासम्म आइपुुग्दा विकलका झन्डै दर्जनजति कथासङ्ग्रह र दर्जनौ बालकथाहरू प्रकाशित छन् । मैनालीझै उनका अनुुयायी विकल पनि प्रत्येक कथामा समाजको एउटा सानो पाटोको गहन चित्रण गर्दछन् ।

मैनाली र विकलका कथाकारितामा थुप्रै समानता छन् । विकल मैनालीले सुरु गरेको सामाजिक यथार्थवादलाई समृद्ध बनाउने कथाकार हुन् । दुवै कथाकार समकालीन समाजका कुशाग्र चित्रकार हुन्, दुवैका कथामा ग्रामीण परिवेशका दीनहीन मानिसका वेदना र छटपटीहरू समेटिएका छन्, सामाजिक विकृतिलाई प्रत्यक्ष–परोक्ष रूपमा देखाई सुधार र गतिशीलताका लागि आधार दिइएको छ । दुवै कथाकार मानवीय संवेदनशीलता टिप्न खप्पिस छन् । मैनालीले सुरु गरेको सामाजिकतालाई विकलले समृद्ध बनाए भने यो प्रवृत्तिलाई विकल पछिका कथाकारहरूले पछ्याइरहेका छन् । यस अर्थमा मैनाली र विकल नेपाली कथा विधाका सामाजिक विषयवस्तुको पर्याय प्रतिष्ठाता हुन् । मैनालीका तुलनमा विकलका कथाको आधार, पात्र कार्य र सङ्घर्षचेतना अधिक छ । उनीहरूको कथालेखनको समयसीमा र समाजको गतिशीलताले पनि त्यो भिन्नता देखाएको हो ।

(ख) मनोविश्लेषणात्मकतामा विश्वेश्वरप्रसाद कोइराला र विकल
विश्वेश्वरप्रसाद कोइरालाको पहिलो कथा ‘चन्द्रवदना’ १९९२ मा शारदा पत्रिकामा प्रकाशित भएपछि नेपाली कथाभित्र मनोविश्लेषणको क्षितिज उघ्रिएको हो भन्न सकिन्छ । दार्जीलिङबाट प्रकाशित मौलिक नेपाली कथाहरूको पहिलो कथासङ्ग्रह ‘कथा कुसुम’ मा विश्वेश्वरका शत्रु, विहा र सिपाही कथा समेटिएका थिए । जसरी सामाजिक यथार्थवादमा गुरुप्रसाद मैनालीले नया प्रयोगमार्फत नेपाली कथालाई आधुनिक मोड प्रदान गरे, विश्वेश्वरले मनभित्र छटपटिएको मानिसको अन्तरवस्तुु प्रस्तुत गर्ने प्रवृत्तिको श्रीगणेश गरे । ‘चन्द्रवदना’ नेपाली कथा विधामा छुट्टै तरङ्ग पैदा गर्ने मनोवैज्ञानिक कथा बन्न पुुग्यो । वास्तवमा मानिसलाई हेर्ने नयाँ आयाम थियो त्यो ।

मनोविश्लेषणात्मक कथा÷उपन्यासले मानिसको आन्तरिक गहिराइलाई बाहिर ल्याउछ, मानिसको आयामिक विश्लेषण गर्दछ र नदेखिएका चेत–चाह, दमित इच्छा–आकाङ्क्षालाई निकास दिन्छ, मुक्तिको मार्ग निर्देश गर्छ । देखिएको मानिस, देखिएको व्यवहार र देखिएको भौतिक संसार मात्र मानिसलाई बताउन पूर्ण हुँदैन । यो अभिव्यञ्जनाको आन्तरिक पक्ष हो । नेपाली आख्यानमा विश्वेश्वरले यही आयामलाई प्रयोग गरेर छुुट्टै धारको सुरु गरेका थिए । उनका आख्यानहरू मनभित्रको मान्छेको कथा भन्छन् । अर्थात कथालाई भौतिक दुनियाको मानिसको चित्रबाट आन्तरिक मानिसको चित्रसम्म पुु¥याए । यो नवोन्मेष थियो ।

रमेश विकलको मूल प्रवृत्ति सामाजिक यथार्थवाद भएपनि उनी भौतिक सामाजिक संसारमा मात्र रमाएका छैनन् । मनभित्रको मानिसका उहापोह र उर्लाइ–बहाइलाई पोख्ने काम पनि गरेका छन् । उर्मिला भाउजू, उसले नजन्माएको छोरो, सुुभद्रे–अर्जुन, विचरा भद्र मानिस, प्रतिहिंसा, भन्ज्याङ्को चौतारो, बिहानी पखको बत्ती, एउटा बुढो बकैनाको रुख, फुटपाथ मिनिस्टर, मेरी कान्छी माइज्यू, मोड, फूलदानभित्रको रोमान्स, मैया साहेवको तस्विर, दुुई रुपियाँ नोट, मेरी सानी भतिजी प्रतिमा, आफ्नै धर्ती छुन खोज्दा लगायतका कथा र सुनौली उपन्यासमा भित्री तहको मानिसको चित्रकारिता गरिरहेका छन् । यस अर्थमा विकलका कतिपय कथाहरू विश्वेश्वरप्रसाद कोइरालाले सुुरु गरेको मनोवैज्ञानिकतालाई समाउन पुगेका छन् । मनोविज्ञान पनि सामाजिक यथार्थको अर्को पक्ष हो ।

मनोविज्ञानका धेरै उपआयामहरू छन्, बालमनोविज्ञान, यौनमनोविज्ञान, सामाजिक मनोविज्ञान आदि । विकलका कथाहरू बालमनोविज्ञानमा छन्, सामाजिक मनोविज्ञान छन्, उर्मिला भाउजूू, उसले नजन्माएको छोरो सामाजिक मनोविज्ञान र यौनमनोविज्ञानको बीचबाट जरासन्ध यात्रा गर्दछन् । सुनौली उपन्यास, मेरी कान्छी माइज्यू कथा भने यौनमनोविज्ञानमा विश्लेषित छ ।
मनोविश्लेषणात्मक कथामा विकल र विश्वेश्वरका समान भावना के छ भने मानिसका अनेकन चाहना हुन्छन् तर केही भावनाहरु, इच्छाहरु पूरा गर्न चेतन मनले स्वीकृति दिदैन, ती दवेर–दवाइएर रहेका हुन्छन् । अचेतन तहमा रहेका कुराहरु विचार र उत्तेजनाका भण्डार हुन्, जसले व्यक्तिको व्यवहार र जीवनलाई डो¥याइरहेका हुन्छ । दुवै कथाकार समाजमा लुकेको, छिपेको, लुकाइएको मनोदशालाई उदिनिदिएर सामाजिक मन विरेचन गर्न चाहान्छन् ।

विकल र विश्वेश्वरका केही प्रतिनिधि कथाको मनोवैज्ञानिक पक्षको तुलनात्मक विश्लेषण गरौं । चन्द्रबदना, पवित्रा, मधेशतिर, कर्नेलको घोडा, बिहा, स्वेटर, सिपाही लगात धेरैजसो कथामा मनोविश्लेषण पाइन्छ, भलैकि यसको आयतन, घनत्व र संक्षेत्रमा भने भिन्नता छ । विकलका कथाहरू पनि मनोविज्ञानको घनत्व, आयतन र संक्षेत्रमा फरक फरक छन् । दोषी चस्मा, शत्रु, सिपाही जस्ता कथा मनोविश्लेषणत्मक कथा हुन् । दोषी चस्माको केशवराजमार्फत राणाकालीन शासनबाट ग्रसित समाजको चित्र उतार्न मनोविज्ञानलाई प्रयोग गरिएको छ । दासता र थिचोमिचोको कारण मानिस कति प्रताडित हुन्छ भन्ने चित्र हो केशवराज । दोषी चस्मा दृष्टि दोषमा छैन, चस्माले भौतिक संसार मात्र देख्ने हो, उघारिएको मानसिक संसार छ । शत्रुु कथामा मुख्य पात्र कृष्णराय शत्रुु नै नहुनुुपर्ने मानिस हो तर एक दिन उसको टाउकोमाथि अज्ञात लट्ठी प्रहारपछि मनभित्रै आफै उद्वेलित हुन्छ । शत्रुनै नहुनुुपर्ने मानस सबैलाई शत्रु देख्ने परिस्थितिमा पुुग्छ । संसारमा कोही पनि अजातशत्रुु हुुनसक्दैन भन्ने परिस्थितिको विश्लेषण कष्णरायमार्फत गरिएको छ ।

कथाकार विकल पनि मानिसका अन्तर छटपटीलाई कुशाग्र ढङ्गले राख्ने गर्दछन् । गरिब तथा लाहुरी भैँसी दोषी चस्मा जस्तै सामाजिक व्यवहारका कारण सिर्जित मनोभावनाहरूको विश्लेषण गर्दछन् । तर विकलले कथापात्रको मनोविश्लेषणलाई विश्वेश्वरको जस्तो घनत्वमा राखेको छैनन् । अन्तर छटपटी विश्लेषणको घनत्व र आयतन विश्वेश्वरमा बढी देखिन्छ, विकल अन्तरछटपटीका कतिपय कुरा पाठकलाई छाडिदिन्छन्, अन्तरछटपटी पछिको निकास भने बाहिर राखिदिन्छन् । विश्वेश्वर प्रौढ पात्रको मनोविज्ञानमा छन्, विकल बालमनोविश्लेषणमा पनि छन् । विश्वेश्वर नारी मनोविज्ञानलाई प्राथमिकतामा राख्छन्, वासनाचेत वा लिविडो नारीमा बढी हुन्छ भन्ने पुष्टि उनका कथाबाट हुन्छ तर विकल नारी र पुरुष दुवैको मनोदशा विश्लेषण गर्दछन् ।

तर फ्रायडीय यौनमनोविश्लेषण भएका केही कथामा भने विश्वेश्वर र विकलमा समानता भेटिन्छ । जस्तो कि विश्वेश्वरको पवित्रा र विकलको भन्ज्याङको चौतारोलाई लिऔं । पवित्रा केशवदेवकी भान्छे बाहुनी हो । केशवदेवलाई खानापिन, स्याहार सुसार गर्नमा ऊ रमाउछे, उससँंग अतिरिक्त चाह देखिदैन । केशवमा पनि कुनै भावना देखिदैन । केशवदेव दिनभरि अड्डामा व्यस्त भएर घर आउँदा उसलाई मीठो खाना खुवाएर खुसी बनाउनुु पवित्राको आभ्यान्तरिक चाहना देखिन्छ । केशव गर्मीले रातभरि सुत्न नसक्दा पवित्रालाई चैन हुँदैन । रातभरिको उकुसमुकुुस, मधेशको झै गर्मी जस्ता कुरामा अवचेत तहमा हुर्किएको यौनचेत त्यतिखेर देखिन खोज्छ, जतिखेर केशवदेवले विवाह गरेर दुलही ल्याउँछ । केशवको घरमा काम गरेको ज्यालाले पवित्राले दुलहीलाई चुरा बनाएर उपहार दिएकी छ । केशव र दुलहीको मन पवित्राले दिएको चुरामा खासै केही प्रतिक्रिया दिदैनन्, केवल अव्यक्त तहमा विश्लेषित छन् । उता पवित्रा पनि पवित्र छे, निश्छल छे तर कताकति मनको अव्यक्त तहमा चेपिएकी छ । दुलही आउने दिन पवित्राले खेलेको रत्यौली, ततालाई भनेका शब्दहरू सबैले पवित्राको मनको अव्यक्त धरातललाई देखाउँछ । जब कि केशवदेव र पवित्रा संधै घरमा रहँदा सामाजिक र नैतिक सीमामा पवित्र छन् ।

भन्ज्याङको चौतारोको बले र पातली पहिला एक अर्कालाई अति नै प्रेम गर्ने दम्पति थिए । उनीहरूबीचको प्रेम निकै निकै निश्छल थियो । आमा प्रतीक रमाएको बलेलाई सानीआमाले हेलाँ गर्दापनि पातलीले आमाको पनि माया दिएकी थिई । तर बले विदेश लाहुर गएपछि पातली अन्यत्र पोइल गई । बले लाहुरबाट फर्केपछि पनि मनभित्र एकअर्कालाई माया गर्छन् । एकअर्कोको भलो चिताउँछन् । दुवैका मनभरि एकअर्काप्रति आशक्ति छ तर दुवै सामाजिक र नैतिक मर्यादामा छन् । दुवैको मन पिरोलिएको छ, मडारिएको छ । पातलीलाई उसको लोग्नेले माया गरेहुन्थ्यो, सुख दिए हुन्थ्यो भन्ने बलेमा छ, बलेले छिट्टै विवाह गरेर राम्री दुलहीसंग घरजम गरे हुने भन्ने छ । दुवै मनमनमा भौतारिएका छन्, नैतिक रूपमा समाङ्कीत छन् । बले र पातलीको मनौवैज्ञानिक दूरी नैतिक दूरीभन्दा साँघुरो छ । पातलीले बलेप्रति र बलेले पातलीप्रति राखेको मायाको भावनामा यौनभावनाको क्षतिपूर्तिको अंश छ । तर पवित्रा र केशवदेवको नैतिक मात्र होइन, मनोवैज्ञानिक दूरी पनि निकै धुमिल छ । तर पनि अव्यक्त तहमा गढेर रहेको मनोभावले दुवै विश्लेषित छन् ।

यौनमनोविज्ञानको उत्कर्ष रतिरागात्मक चेत र संयमयता हो । विकलको उर्मिला भाउजूू र कान्छी माइज्यूमा रतिरागात्मक चेत छ, त्यस्तै विश्वेश्वरको कर्नेलको घोडामा छ । रतिरागात्मक कथाहरू काम वासनामा भौतारिन्छन्, यौनोन्मादमा रहन्छन् । अतृप्त कामवासना नै कथा भनौ वा मनोविश्लेषणको केन्द्रीयतामा रहन्छ । उर्मिला भाउजू, उसले नजन्माएको छोरो मूलतः रतिरागात्मक कथावस्तुुमा आधारित छन् । अन्यकथामा पनि यो भाव छ तर यी कथामा त्यसको घनत्व बढी छ । विश्वेश्वरको ‘रिक्सा तान्ने’ मा धनवीर धनमायालाई सुखदिन दिनभरि दःुखमजदुरी गर्छ, धनमाया धनमा यौन बेच्छे । स्वेटर, मधेशतिर, कर्नेलको घोडा, प्रेम फ्रायडीय रतिचेतमा दोलायमान छन् ।

उपन्यासकार विश्वेश्वर र विकलको सन्दर्भ लिदा विश्वेश्वर तीनघुम्ती, नरेन्द्रदाइ, मोदीआइन, हिट्लर र यहुुदी सवैमा मनोविश्लेणात्मक छन्, अझ भनौं यौनमनोविश्लेषणात्मक छन् । विकल सुनौलीमा मात्र यौन यस प्रवृत्तिमा छन् । तर अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन भने सामाजिक यथार्थका अरू पक्षको मनोविज्ञानमा छन् । सुनौलीमा सानो छँदादेखि नै शहरी रहनसहनमा विलासिताको जीवन भोग्ने चाहना छ । यो अतृप्त चाहनाको भित्री पक्षमा यौनचाहना छ, यौन चाहना यौनोन्मादमा परिणत हुन्छ । परिणामतः शहरमा सुनौलीको दिनचर्या निषिद्ध यौनकार्यमा देखिई अन्ततः जीवन लीला सकिन्छ । सुनौलीको चेत मनलाई थाहा छ ऊ कसरी विग्रिदै छे तर पनि उसको उग्र यौनचाहले त्यसलाई वास्ता गर्दैनन् र पतनतिर नै धकेलिइरहन्छे ।

यसर्थ विश्वेश्वरका आख्यानहरूमा पाइने ‘मनभित्रका छाल–उछाल, तरङ्ग–विरङ्, प्रेम–वासना, घात–प्रतिघातको सूक्ष्म विश्लेषण’ विकलका कतिपय आख्यानमा पाइन्छ । मनभित्रको मानिसको प्रबिम्बन गर्न दुवै सर्जक तल्लीन छन् । विकल सामाजिक यथार्थको ठूलो पटाक्षेपमा छन्, विश्वेश्वरका सबै आख्यान मनभित्रबाट संसार च्याउँछन्, विकल सपाट समाजमा रहेर मनोविश्लेषण गर्दछन् । दुवैका आख्यानमा पाइने समानता के हो भने इच्छित कार्यव्यापार वैधिक हुन्छ, सामाजिक रूपमा र नैतिक रूपमा वज्र्य हुँदैन । जब कि भवानी भिक्षुुका आख्यानहरूमा यो सीमा र संस्कृतिको ख्याल गरिदैन ।

मूल प्रवृत्ति विश्लेण गर्दा नेपाली कथामा चन्द्र वदनामार्फत फ्रायडीय कामचेतलाई विश्वेश्वरका सबै कथा उपन्यासमा त्यसैको निरन्तरता छ । गरिब मार्फत नेपाली कथामा सामाजिक यथार्थवादलाई प्रयोग गर्न सुरु गर्ने विकलका त्यसपछिका कथा उपन्यासको मूल प्रवृत्ति यसै प्रयोगमा रहेको छ । विकल सामाजिक मनोविश्लेषण गर्न रमाउँछन् । विश्वेश्वरका आख्यानमा दमित इच्छापूर्तिको बाटोमा उत्कर्षमा पुुग्छन्, विकलका अधिकांश प्रयोग दमन, शोषण, विकृति–विकृति विरुद्धमा प्रतिक्रिया दिन्छन् । विश्वेश्वर मनभित्रको दमन र द्वन्द्वमा छन्, विकल सामाजिक मनोविज्ञानका अरू पाटामा समेत द्वन्द्वित छन् । तर सामाजिक यथार्थकै अभिन्न भागका रूपमा रहेको मानसिक उहापोह, अवचेत शक्ति सिर्जित मानसिक सङ्घर्ष र यौनोन्मादका प्रयोग सुनौली, उर्मिला भाउजू, उसले नजन्माएको छोरो, भन्ज्याङ्को चौतारोहरूमा पाइन्छ ।

(ग) प्रगतिशीलतामा हृदयचन्द्रसिंह प्रधान र रमेश विकल
समाजमा भएका विकृति र बिब्ल्याटाहरूप्रति विहङ्गम् दृष्टि राख्ने सन्दर्भमा हृदयचन्दसिंह प्रधान र रमेश विकल समान स्वर र बिम्ब योजनमा छन् । त्यसो त अरू पक्षमा पनि समानता पाइन्छ । प्रधान र विकल दुवैको पृष्ठाभूमि जागिरे छ । विकल जस्तै प्रधान पनि कथा, उपन्यास, निबन्ध र नाटक लगायतका बहुविधाका हस्ताक्षर हुन् । दुवै समाज सुधारका अभियानमा लागेका थिए ।

हृदयचन्द्रसिंह प्रधान १९९३ मा शारदा मासिकमा प्रथम रचना प्रकाशित भएपछि नेपाली साहित्यमा प्रवेश गरेका हुन्, रमेश विकल भने २००६ मा शारदा पत्रिकामार्फत साहित्यमा प्रकाशित भए । यस अर्थमा दुुई साहित्यकारबीचको लेखन अन्तराल करिव एक–डेढ दशकको छ । सामाज चेतना, जागरण र विकासका आधरमा यो समय करिव एकै हो । नेपालमा सामाजिक–राजनैतिक जगारण आएका समयमा उनीहरूले कलम चलाउन सुरु गरे, त्यसको प्रभाव लेखनमा पर्ने नै भयो । यस अर्थमा समाजका देखिएका, दवेका, दवाइएका स्वर, संस्कार र गढेर रहेका रीतिथितिलाई आख्यानका विषयवृत्ति बनाएका छन् ।

प्रधानको स्वास्नीमान्छे तथा एक चिहान र विकलको अविरल बग्दछ इन्द्रावती तथा सागर उर्लन्छ सगरमाथा छुन समयचेत र प्रगतिशीलताका हिसावमा उस्तै लाग्छन् । स्वास्नीमान्छे र एक चिहानले तत्कालीन परिवेशका महिलामाथिका विभेद, लैङ्गिक तहसोपान र थिचोमिचोलाई उतारेको छ । एक चिहानले सामाजिक संस्कृति सुधारको स्वर उठाएको छ । दुवै उपन्यास सामाजिक विसङ्गति र विकृतिका विरुद्ध आवाज उठाइरहेका छन्, भलैकी त्यो आवाज मधुरो छ । अविरल बग्दछ इन्द्रावती प्रधानले उठाएको प्रगतिशीलताको स्वरमा प्रखर छ । यसले सामाजिक कुरीतिका विरुद्ध, शोषण र दमन विरुद्ध आवाज उठाएको छ । सगर उर्लन्छ सगरमाथा छुन शासकीय र सामाजिक विकृतिका विरुद्धमा छ । शक्तिको आडमा सम्भ्रान्तहरू कसरी विग्रिएका छन् र नेपाली मौलिकता एवम् सामाजिक सम्बन्ध कसरी विशृङ्खलित÷विकृत हुँदै गएको छ भन्ने देखाएको छ । फरकफरक विषय परिवेशमा रहेर सामाजिक प्रगतिशीलताको स्वर उठाउनु प्रधान र विकलको प्रवृत्ति हो ।

यसर्थ हृदयचन्द्रसिंहले सुरु गरेको प्रगतिशील आख्यान प्रवृत्तिलाई विकलले थप उचाइ दिएका छन् । दुवैका आख्यानमा विषम परिस्थिति अभिव्यञ्जित छ, प्रचलित परिस्थितिको सुधारका लागि विद्रोहको स्थापना दुवैको साझा कथाकार्य हो । ससाना परिधिमा जीवनका अनेक पाटा देखाउनमा दुवै समान छन् । दुवै सर्जक अति भावुकतामा रहन मन पराउँदैनन् । आख्यानभित्र उपघटनाहरू शिल्पपूर्ण रूपमा सलल्ल अगि बढ्छन् । दुवैका कथामा सामान्य जनजीवनको पात्र र सामान्य दैनिकीको सिलसिला समेटिएको हुन्छ । दुवै सर्जक पाठकलाई सिर्जना परिवेशको समानुुभूतिमा पु¥याउन सफल छन् । साध्यिक स्वर प्रगतिशीलता हो । दवैका आख्यानमा निवन्धात्मक विश्लेषणा शैलीको प्रयोग छ । पात्र कार्यभन्दा परिवेशको वर्णनले विस्तृति पाएको छ जस्तो कि प्रधानको उजेली र विकलको लाहुरी भैंसी । कथाका घटना साना आयतनका छन्, तर परिवेशका चित्रण विस्तृत छ । यसले प्रभाव उत्पादनलाई सघाएको छ ।

पृथकतामा हृदयचन्द्रसिंहका आख्यान परिवेश शहर र पात्रहरू अक्सर नेवारी हुन्छन्, विकल भने अद्र्धशहर, काँठ र ग्रामीण परिवेशका जीवनको दैनिकीलाई उठाउँछन् । पात्रहरू बहुजातीय र सांस्कृतिक हुन्छन् ।

(घ) अस्तित्वको खोजीमा पारिजात र रमेश विकल
कथा÷उपन्यास शिल्प, शैली र कथावस्तु र अस्तित्वचेतका कारण पारिजात समकालीन लेखकमा प्रख्यात छन् । २०१३ सालमा धरती पत्रिकामा कविता प्रकाशन गरी नेपाली साहित्यमा देखिएकी पारिजात आख्यान, विशेषतः उपन्यासमा स्थापित नाम हो । नेपाली उपन्यास विधामा उनको नाम नलिए त्यो अधुरो हुन्छ । रमेश विकल २००५ मा सन्देश हस्तलिखित पत्रिकामा जागरण कविता र २००६ सालमा शारदा पत्रिकामा कथा प्रकाशित गरी कथा विधामा प्रवेश गरी कथा, उपन्यास, नाटक, निबन्ध र बालसाहित्यमा स्थापित भए । रमेश विकलको नाम नलिए नेपाली कथा विधा अपूरो हुन्छ ।

झन्डै एकै समय लेखन यात्रा सुरु गरेका दुवै सर्जकहरूका अनेकन कृतिहरू छन् । पारिजातका आकाङ्क्षा, पारिजातका कविताहरू, बैसालु वर्तमान गरी तीन कविता सङ्ग्रह, आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँशु, बधशाला आँउदा जाँदा र पारिजातका प्रतिनिधि कथाहरू पाँच कथा सङ्ग्रह, शिरीषको फूल, महत्ताहीन, बैंसको मान्छे, तोरीबारी, बाटा र सपनाहरू, अन्तर्मुखी, उसले रोजेको बाटो, पर्खालभित्र र बाहिर, अनिदो पहाडसँगै, बोनी, परिभाषित आँखाहरू गरी दश उपन्यास धूपी, सल्ला र लालीगुराँसको फेँदमा लगायत गरी २३ कृति प्रकाशित छन् । सर्जक रमेश विकलका विरानो देशमा, नयाँ सडकको गीत, आज फेरि अर्कोतन्न फेरिन्छ, एउटा बुढो भ्वाइलेन आशावरीको धुनमा, उर्मिला भाउजूू, शव, सालिक र सहस्र बुद्ध, हराएका कथाहरू, कथादेखि कथासम्म गरी आठ कथा, सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन गरी तीन उपन्यास, चार नियात्रा निबन्ध, चार नाटक÷एकाङ्की र दुुई दर्जनजति बालसाहित्यका कृतिहरू प्रकाशित छन् ।

दुवै सर्जकको सिर्जना करिव चारदशक उर्वर रह्यो । द्वय स्रष्टाको सिर्जना समय नेपालको राजनैतिक तथा सामाजिक क्षेत्रमा परिवर्तनको लहर उठेको अवधि थियो । दुुवैका सिर्जनामा सुधार र सङ्घर्षका स्वरहरू पाइन्छन् । दुवै सर्जक साहित्य सिर्जनाका साथ वैचारिक अभियानमा पनि देखिन्छ । दुवैको वैचारिक गन्तव्य प्रगतिशील समाज हो ।

२०२२ सालमा प्रकाशित शिरीषको फूल पारिजातको सर्वश्रेष्ठ कृति हो । २०१९ मा प्रकाशित विकलको दोस्रो कृति नयाँ सडकको गीत विकलको सर्वप्रिय कृति हो । अनिदो पहाडसँगै र पर्खालभित्र र बाहिरले पारिजातलाई प्रगतिशील धारको उत्कर्षमा पुु¥यायो, जसरी विकललाई अविरल बग्दछ इन्द्रावतीले त्यसैगरी प्रगतिवादको शीर्ष उचाइमा पुु¥यायो ।

पारिजातको लेखनी यात्रा निरिस्वरता, स्वच्छन्दता, अस्तित्व र प्रगतिशीलतातर्फ गएको देखिन्छ । पारिजात राल्फा बन्नुु अघिका कृतिहरूमा जीवन प्रतिको निरिस्वरता पाइन्छ । त्यहाँका पात्रहरूवेक्कारको जीवन बाँच्छन्, जीवन छ त्यसैले बाँचेको महसुुस गर्दछन्, निरुक्त–विरक्तवृत्ति व्यवहार गर्दछन् । आकाङ्क्षा (२०१४), शिरीषको फूल (२०२२), महत्ताहीन (२०२५) र आदिम देश (२०२५) निस्सार जीवनको विश्लेषण छ, जीवनका निराशा र विसङ्गतिबाट अस्तित्वको पटाक्षेप उघार्ने काम यसखाले सिर्जनाले गरेका छन् । ‘एउटा निस्सार संसारभित्र म बाँचिरहेको छुु, र सँधै स्वीकार गर्छु म एउटा महाशून्यभित्र बाँचिरहेको छुु’ भन्ने शिरीषको फूलको नायक सुुयोगवीर विशाल महाशून्यमा अस्पष्ट रूपमा जीवन खोज्छ । महत्ताहीनले बाँच्नका लागि सङ्घर्षको खोजी गर्छ । आदिम देशमा सङ्कलित ‘मैले नजन्माएको छोरो’ मा आकाङ्क्षा र उत्साहबीच असाङ्गत उद्वेलनबाट अस्तित्व च्याइएको छ । तर ‘बैंसको मान्छे’ बाट पारिजातले सङ्घर्षमार्फत अस्तित्वको बाटो पक्डेको देखिन्छ । बैंसको मान्छे, तोरीबारी बाटा र सपनाहरू, पर्खालभित्र र बाहिर, परिभाषित आँखाहरू आदिमा भने अस्तित्वलाई पूर्ण रूपमा अँगालिएको छ ।

रमेश विकलका कथा तथा उपन्यासहरू पनि पारिजातकै समानता रहेर अस्तित्वका खोजि गर्छन् । विरानो देशमा, नयाँ सडकको गीत, आजफेरि अर्को तन्ना फेरिन्छ, एउटा बुढो भ्वाइलेन आशावरीको धुनमा, उर्मिला भाउजू, सुनौली सबैमा अस्तित्वको अविराम यात्रा छ । गरिब, नयाँ सडकको गीत र लाहुरी भैसी मा अस्तित्वचेत गढेर रहेको छ । अविरल बग्दछ इन्द्रावती अस्तित्वका लागि सङ्घर्ष छ । अस्तित्ववरणको घनत्व र फैलावट भने फरक छ । जस्तो उर्मिला भाउजू कि उर्मिला आन्तरिक मानिस, अझ नारी अन्तरचेतको मानिसले अस्तित्व खोजिरहेको छ । गरिब को गरिब माने भने गरिबीबाट मुक्तिको अस्तित्व खोजिरहेको छ । विचरा भद्र मानिस सामाजिक मानसिक पहिचानको खोजीमा छ । यस अर्थमा पारिजात र विकल दुवै नै अस्तित्वको यात्रामा छन् ।

लेखन यात्राका सुरुवाती दिनमा स्वच्छन्दतावादी र त्यसपछि विसङ्गतिवादी बनेकी पारिजात अस्तित्ववादी हुँदै प्रगतिवादी बन्न पुुगिन । विकल सामाजिक यथार्थवाद अस्तित्वको यात्रा हुँदै प्रगतिवादी बनेका छन् । विकलका सुरुका कथाहरू जैवनिक अस्तित्वको यात्रामा छन्, यदाकदा त्यो यात्रा पलायनमा पनि परिणत भएको छ ।

दुवै सर्जक आफ्ना वरिपरिका घटना र पात्रहरूलाई मिहिन ढङ्गले हेर्छन् र आख्यान÷गैरआख्यानको स्वरूप दिन्छन् । सर्वसाधारणका दैनिकी र कुनै कालखण्डका भोगाइ भएकाले ती यथार्थ छन् । यथार्थ मानव अस्तित्वको खोजी गर्छन् । अस्तित्वको खोजी गर्ने क्रममा विकल सामाजिक–भौतिकतातिर नजिक छन्, पारिजात मानसिकतातर्फ गहिरिरहेकी छन् । तर सामाजिक यथार्थको खोजीमार्फत प्रगतिवादको यात्रा गर्नु दुवै स्रष्टाको साझा मूल्यवृत्ति अनि प्रवृत्ति हो ।

पारिजातका लेखनीलाई उनको जीवनयात्राले पनि प्रभाव पारेको छ । युवा वयका सिर्जनाहरू स्वच्छन्दताको यात्रामा हुने नै भए, जब शारीरिक समस्या उपस्थित भयो, त्यसपछि निषिद्धावृत्ति र शून्यवाद प्रयोग पाइन्छ । तर जसरी पनि नियतिलाई स्वीकारेर सङ्घर्षमा बाँच्नुपर्छ भन्ने चेत वा राल्फावादी सोच आएपछि उनका कथा उपन्यासहरू सङ्घर्षको उत्कर्षमा पुुछन् । सुरुदेखि नै सामाजिक यथार्थको चित्रण गर्ने विकल मध्यभागमा अस्तित्वको खोजीमा केही कमजोर देखिन्छन् । तेस्रो चरणमा भने पारिजातमा जस्तै सङ्घर्ष चेत देखिन्छ ।

पारिजातका धेरैजसो कथा, उपन्यास नारी प्रधान हुन्छ । महिलाका मनोदशा, छटपटी र उहापोहलाई सरल रूपमा प्रस्तुत गर्छिन् । ख्याति कमाएका उनका कृतिहरूको प्रधान भूमिकामा नारी नै छन् । पारिजातका नारी पात्रहरू उसकै पुरुष साथीबाट मानसिक वा भैतिक शोषणमा रहन्छन् । विकल पनि उर्मिला भाउजू, सुनौली, मेरी कान्छी माइज्यू, उसले नमन्माएको छोरो, मेरी सानी भतिजी प्रतिमा, कमल, आदिमा नारी केन्द्रीयतामा सुन्दर प्रस्तुति गर्दछन् तर उनलाई नारी वा पुरुष केन्द्रीयताको कित्ताकाट गर्न त्यति चित हुँदैन । नारी, पुुरुष दुवै पात्र परिस्थिति अनुरूप समान रूपमा उपस्थित छन् । विकलका पात्रहरू कथामा खेल्छन्, परिजातका पात्रहरू ससाना घटना वा कथाहीन कथामा पनि खेल्छन् ।

‘प्रारम्भिक रचनामा व्यष्टि विसङ्गति देख्ने पारिजातले कालान्तरमा समष्टिगत विसङ्गति दृष्टिपात गरिन’ (सृजना शर्मा, रातोपाटी दैनिक, २८ पौष, २०७५) । तर विकलका रचनामा प्रारम्भदेखि नै समष्टिगत विसङ्गतिको उदिन्याई छ । पारिवारिक पृष्ठभूमि र माक्सवादी चिन्तनले पनि त्यसो गर्ने आधार दिएको देखिन्छ ।

पारिजातका आख्यान रचनाहरूमा निबन्धपरकता छ । निजात्मक निबन्ध आत्मपरक शैलीले कथा, उपन्यास झण्डै कथाहीन (प्लटलेस) वा अतिधेरै कथारेसाहरूको वग्रेल्ती वयेली छ । ‘आत्मपरकता, आत्मलाप, कुण्ठा नैरास्य पारिजातका राल्फा पूर्वका कथा विशेषता हुन् (ऐ) । रमेश विकलमा कथात्मकता छ, कुण्ठा छैन, सङघर्षचेत छ । यदाकदा पलायनमा गएका पात्रहरूमा पनि व्यग्र नैरास्य छैन । विकलका कतिपय उत्कृष्ट कथाहरूमा विकल पनि आत्माभिव्यञ्जनाको शैली प्रयोग गर्दछन्, ‘म’ पात्रबाट कथा बोल्छन् ।

पारिजात लेखक मात्र होइनन्, चिन्तक र सामाजिक आन्दोलक पनि हुन् । तत्कालीन राजनैतिक व्यवस्थाका विरुद्ध आवाज उठाउन सुरु गरिएको राल्फा आन्दोलनको केन्द्रविन्दुमा पारिजात थिइन् । नेपाल कम्युुष्टि पार्टी (चैथो महाधिवेशन) को महिला समूहको अध्यक्ष पनि भइन । २०३६ सालतिर प्रगतिशील लेखक कलाकार सङ्घको अध्यक्ष भइन् । त्यसैले उनमा राजनैतिक, प्राज्ञिक र साहित्यिक चेत देखिन्छ । पारिजात लेखक मात्र होइन, सामाजिक आन्दोलनको, महिला मुक्ति आन्दोलनको नाम पनि थियो । विकल पनि चिन्तक हुन् । नियात्रा र संस्मरण मार्फत उनका विचार दृष्टिकोणको फराकिलो रूप देख्न सकिन्छ । तर विकल पारिजात जसरी लामो सयम सक्रिय राजनीतिमा संलग्न भएको देखिदैन । समाजको खस्रो यथार्थलाई प्रस्तुत गरी मानवीय अस्तित्वको खोजी गर्नु विकलको रचनाकारिताको कर्म हो । भावनात्मक वा भौतिक पक्ष बेग्ला बेग्लै हुँदा पनि विकल र पारिजातका कथाहरूमा मानवीय संवेदना पाइन्छ । दुवैका कथा पढिसक्दा अझ वाँकी भए हुने भन्ने अनुुभूति जाग्छ र एउटा छुट्टै प्रभाव छाड्ने गर्दछन् ।

(ङ) नवचेतनामा दौलतविक्रम विष्ट र रमेश विकल
लेखन यात्रामा दौलतविक्रम विष्ट र रमेश विकल एकै समयका सहयात्री हुन् । विष्टले विकलकै आसपासमा २००५ मा शारदा पत्रिकामा प्रकाशित कथा ‘उ गयो’ कथाबाट आफ्नो साहित्य यात्रा सुरु गरेका थिए । विकल झै विष्टका पनि अनगिन्ती कथा, उपन्यास, नाटक÷एकाङ्कीहरू प्रकाशित भएका छन् । मञ्जरी (२०१६), एक पालुवा अनेकौं याम (२०२६), चपाइएका अनुहार (२०३०), विग्रिएको बाटो (२०३३), थाकेको आकाश (२०३४), भोक र भित्ताहरू (२०३८), ज्योति ज्योति महाज्योति (२०४५), हिमाल र मान्छे (२०४५) र फाँसीको फन्दामा (२०५३) विष्टका उपन्यास हुन् । गालाको लाली (२०१४), प्रदर्शनी (२०२३), छायाँ (२०३१), घाउका सत्र चक्का (२०३५), आलो कथा (२०४०), आँसु त्यसै छचल्किन्छ (२०४८) र एक एकाङ्की दश कथा (२०५७) उनका कथाहरू हुन् । यसका अलावा उनले केही नाटक र प्रबन्धहरू पनि लेखेका छन् ।

सिर्जना परिवेश, समय र समाज दुवै सर्जकको एकै थियो । नेपाली समाजमा राजनैतिक परिवर्तन आउन लागेको, समाजमा जातिपाति र शोषण थिचोमचो अत्यधिक रहेको र विस्तारै विकास भएको चेतनाले विकृति र विसङ्गतिलाई प्रतिक्रिया जनाउन थालेको समाजको चित्र दुवैका कथा–उपन्यासमा पाइन्छ । दुवैको वृत्तिसेवा सरकारी जागीर थियो भने दुवैजनाले नेपाली आख्यान विधामा नवप्रवृत्ति भित्र्याएका छन् ।

दयाराम श्रेष्ठका अनुसार विष्टले नवेचतनाको युुग (२०२०–२०३०) देखि परावर्तनको युुग (२०४०–२०६३) सम्म अफ्नो कथायात्रालाई निरन्तरता दिए । विकलको साहित्यिक यात्रा पनि यही युुगमा भएको थियो । त्यसैले सर्जक द्वयका सिर्जनामा समय र समाज अनुसारको भावभूमि पाइन्छ । नेपाली समाजमा जरा गाडेर बसेको अन्धविश्वास, सङ्कीर्णता र थिचोमिचोको विरोध दुवैका कथाका सार हुन् । मानिसका अन्तरपीडा, उकुुसमुकुुस र दमित इच्छाको शब्द पनि दुवै सर्जकका साझा चरित्र हुन् ।

विष्टको ‘आँसु त्यसै छचल्किन्छ’ आमा बाबुु भाइ बहिनीको पालनपोषणको दायित्वमा छिप्पिएको उमेरमा पनि विवाह हुन नसकेकी बुढीकन्याको दारुणिक कथा छ । बुढीकन्यालाई समाजले हेर्ने संक्षेत्र उघारिएको छ । उराँठको एकदिन दिनभरि कार्यालयको कार्यवोझमा विताएको उराँठिलो दिनलाई बेलुकी घरमा गएपछि पत्नीको मायाले प्रफुल्लित मनको उदात्तीकरण छ । ‘आशक्ति एक मिथक’ अनिच्छित जीवन बाँच्न विवश दुुईवटा युद्ध लडेको पूर्व सेनाको कथा हो । कथा ‘चित्र एक चरित्र अनेक’ द्वैध चरित्रमा रहेको प्रधानपञ्चको कथा हो जहाँ प्रधानपञ्चको देखावटी व्यवहार र वास्तविक कर्मबाट उसकी पत्नीको मनोभावनामा गतिशील छ । ‘स्वाङ’ मा पति रपत्नी दुवै एकअर्कालाई स्वाङको माया गर्छन् । यी प्रतिनिधि कथाका आधारमा के भन्न सकिन्छ भने विष्ट समाजमा रहेको ससाना घटनालाई कथाका माध्यमबाट उजागर गर्दछन् । विकलका कथामा पनि सामाजिक विषयवस्तुले मात्र स्थान पाएका छन् विष्टमा जस्तै । तर विकल अधिकांशतः देखिएको मानिसको अनुुभूति टिप्छन्, विष्ट भने मनभित्रका ससाना रेसाहरू केलाउँछन्, मनभित्रै विश्लेषित हुन्छन् । विकल भोगाइहरूलाई देखाइदिन्छन्, विष्ट मानसिक प्रक्रियामा रहन्छन्, अर्थात् मनोदशाको आयाममा रहन्छन् ।

विकलको अविरल वग्दछ इन्द्रावती धेरै रुचाइएको उपन्यास हो । नयाँ सडकको गीत (कथा) र अविरल बग्दछ इन्द्रावती (उपन्यास) ले विकललाई चिनाएको छ विष्टलाई चपाइएका अनुहार र एक पालुुवा अनेकौ याम ले त्यसरी नै चिनाएको छ । संस्मरणत्मक शैलीमा लेखिएको चपाइएको अनुहारले अफ्रिकी जङ्गलमा त्यत्तिकै रहेका फरक समाजका प्राणी अनन्त, किमरिख, बेरगित फ्राउलिनको मनोदशा उतारिएको छ । युद्धबाट चपाइएका, अफ्रिकाको अनकन्टार जङ्गलमा प्रतिकूल परिस्थिति बिताइरहेका पात्रको मानवताको शब्द उपन्यासले गरेको छ । उपन्यास कथाले हिटलर र गान्धी (युद्ध र मानवता) सँगसँगै जन्मिन्छन्, तर जहाँ रहेपनि मानिस मानवता र शान्तिको कामना गर्दछ भन्ने देखिएको छ । नेपाली सेनाको अनन्त भएर उपन्यासकारले नेपाली पहिचान पनि विस्तार गरेका छन्, अनन्त उनको मुखपात्र हो । त्यस्तै एक पालुवा अनेकौ याम समकालीन विकृतिले भरिएको सामाजिक कथामा आधारित उपन्यास हो । यसले विक्रमको बीसको दशकको नेपाली समाजको यथार्थ चित्र उतारेको छ ।

खरिदार नरेन्द्र बहादुरको चरित्र त्यतिखेरको सामाजिक सम्भ्रान्तताको बिम्ब हो । मूल चरित्र कमल नियतिले लखेटिएको तर सामाजिक दायित्व र आज्ञाकारिता देखाउने आदर्श पात्र हो । लिचु कमलको प्रेम कथाले पनि त्यतिखेरको समाज चित्रण गर्दछ । तारा सामाजिक कुरीति विरुद्ध लड्छे । नरेन्द्रबहादुर, कमल र ताराका कथाहरू भिन्न छन्, प्रवृत्ति भिन्न छ, चरित्रकार्य पनि भिन्न छन्, जसमा एक पालुवा अनेकौ याम गतिशील छ । उपन्यासले प्रत्यक्ष र बिम्बात्मक शब्द पनि गर्दछ । उपन्यासका कतिपय उपघटनाले विकलको सागर उर्लन्छ सगरमाथा छुन र एक पालुवा अनेकौ यामलाई एकठाउँमा राखेर हेर्न पनि सकिन्छ । भोक र भित्ताहरू गरिबी र सामाजिक असमानताको चित्र हो । यस उपन्यासको भावभूमि अविरल बग्दछ इन्द्रावती तथा विकलका अन्य कथाहरूको जस्तै विपन्नता र अभाव हो ।

विष्ट र विकलका रचनाकारितामा पाइने समानता भनेको सामाजिक चेतना हो । दुवैका रचनाभूमि लगभग उस्तै समय र समाजमा भएको छ । दुवैले सामाजिक संवेदनशीलतालाई उठाएका छन् । दुवै मानवताकोे स्वरसन्धान गर्दछन् । तर हार्दिक पक्षमा हेर्दा विकल जति विष्ट मन छुन सक्दैनन् । विकलका रचनामा घटना र कार्यको सिलसिला छ, विष्ट वर्णन, विश्लेषण र संश्लेषणमा रहन्छन् । पात्रको एकलाप, मनोस्थितिको विश्लेषण, मनोलाप विष्टको प्रवृत्ति तर विकल मानवीय व्यवहारलाई देखाइदिन्छन् । विष्टको पात्र मनोविश्वमा विशाल देखिन्छ, विकलका पात्र भौतिक भूमिमा अबस्तीरत छन् । तर दुवै कथाकार नेपाली कथाविधामा नवचेतना सञ्चार गरिरहेका छन्, मानवता र न्यायको, सुधार र समृद्धिको, सभ्यता र संस्कृतिको । प्रयोगमा नवीनता दुवैमा देखिन्छ ।

(च) शहरी र ग्रामीण मनोविज्ञानका दुुई ध्रुवमा विकल र गोविन्दबहाुदुर मल्ल ‘गोठाले’
गोविन्दबहादुर मल्ल ‘गोठाले’ विकलका साहित्य यात्राका सेरोफेरोका स्थापित नाम हो । १९९७ मा शारदा पत्रिकामा ‘त्यसको भाले’ नामको कथा छापिएपछि ‘गोठाले’ कथाकारका रूपमा चिनिन थालेका थिए । उनको पहिलो कथासग्रह २०१३ मा प्रकाशित भयो । त्यसपछि पल्लो घरको झ्याल (उपन्यास, २०१६), कथैकथा (कथा सग्रह, २०१६), च्यातिएको पर्दा (नाटक, २०१६), दोष कसैको छैन (नाटक, २०२७), भोको घर (नाटक, २०३४), प्रेम र मृत्यु (कथासग्रह, २०३९), बा¥ह कथा (कथासग्रह, २०५२), अर्पणा (उपन्यास, २०५३), पियानानी (उपन्यास, २०५६) र जङ्गबहादुर र हिरण्यगर्भकमारी (कथासग्रह, कथा) कृतिहरू प्रकाशित भएका छन् ।

‘गोठाले’ को बाल्यकाल साहित्यिक वातावरणमा बित्यो । बुुबा ऋद्धिबहादुर मल्लले शारदा पत्रिका प्रकाशन सुुरु गरेका थिए, जुन पत्रिकाले धेरै साहित्यकारलाई प्रकाशित हुने प्रोत्साहनको वातावरण बनाएको थियो । पत्रिकामा कथाकार भवानी भिक्षुु सम्पादनको काम गर्थे । भिक्षुका साथै लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र गोपालप्रसाद रिमालसँग ‘गोठाले’ को चिनजान, उठबस भयो । यस प्रकारको वातावरण थोरै साहित्यकारलाई मात्र जुट्छ । ‘गोठाले’ कै शब्दमा उनले ‘सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएका’ थिए । तर उनका सिर्जनामा सिद्धिचरण, रिमाल र देवकोटा भन्दा विश्वेश्वर, भिक्षुको फ्रायडीय धारले बढी प्रभाव पारेको छ । ‘गोठाले’ मूलतः शहरी जनजीवनका मध्यमवर्गीय परिवारको मनोवैज्ञिानिक तहलाई कथा, नाटक र उपन्यासमा उतार्ने गर्दछन् । विकलको बाल्यकाल टुहुुरो ल्याड प्यार हुँदै वृत्तिसङ्घर्ष र वैचारिक सङ्घर्षमा बित्यो । उनलाई साहित्यमा आउन प्रेरणा दिने काम श्यामप्रसादले गरेका थिए । वैचारिक चेतनामा श्यामप्रसादका अलावा गोविन्दप्रसाद लोहनी र आनन्द भट्टको सहयोग थियो ।

गोठालेको पहिलो कथा ‘उसको भाले’ ले नै उनको साहित्यिक यात्रा मनोविश्लेषणात्मक हुन्छ भन्ने सङ्केत गर्दछ । ‘उसको भाले’ विसन्चा र कुखुरोको भालेको प्रेमले बालमनोभावको यति मिहीन विश्लेषण गर्दछ किबालमनोविज्ञान ससाना कुरामा कसरी गहिरिएर विषयवस्तुुलाई विस्तृत बनाउँछन् भन्ने देखाएको छ । भालेको कुकुरी काँ बाट बिउँझेको बिसन्चा भालेको आवाजबाट दिनचर्या सुरु गर्छ र अन्त पनि भालेको बाससँगै । उसको मानसिक कौतुहल भालेको कुकुरी काँ, उसको कल्की (सिउर) र भाले जुुधाइको पुुरुषार्थबाट बढ्ैजान्छ । विसन्चा भावनात्मक रूपमा भालेसँग यति नजिकिन्छ कि भाले नै उसको सर्वस्व हो । भालेकै विषयमा साथीहरूसंँग बहस गर्छ । एकदिन जब बिसन्चाको भाले रामचाको भालेसँग लड्न सकेन, त्यसपछि विसन्चाको जीवनले अर्को मोड लियो, निराशाको मोड । भाले हराउला कि भन्ने चिन्तामा बिसन्चा रहन्छ । एक दिन बिसन्चाले भालेलाई थुन्न बिर्सेछ, विरालोले भालेलाई घाँटीमा समातेर मारेछ र घरको छानामा लगेर चुच्चो र कल्की बाहेक अरू खाइदिएछ । भाले हराएको चिन्तामा परेको बिसन्चा छानामा भालेको चुच्चो र कल्की पाएपछि झनै निराश बन्छ र छानाबाट उत्रन खोज्दा चिप्लेर छानाबाट खसेर भुुइँमा बजारिन पुुगी जीवनलीला समाप्त गर्छ । सामान्य लाग्ने यस घटनाले बालमन सासाना कुरामा कति गहिरिन्छन् र जीवनलीला समेत समाप्त गर्छन् भन्ने देखाउँछ ।

कथाकार विकलले ‘मेरी सानी भतिजी प्रतिमा’ मा यस्तै घनिभूत बालमनोविश्लेषण गरेका छन् । प्रतिमा आमाको व्यवहारबाट निकै डराउँछे, बिसन्चा भालेको हराउला कि, भालेलाई केही होला कि भन्नेमा मनमनै प्रतीक गुम्सिएको छ । बिसन्चा मनका कुरा अभिव्यक्त गर्छ तर प्रतिमा प्रतीकगुम्फित छ, उसमाथि भएको व्यवहार कसैलाईबताउन्न, बताउँदा झनै अनिष्ट हुन्छ कि भन्ने चिन्ता छ । उसको भाले वियोगान्त कथा हो, मेरी सानी भतिजी प्रतिमामा कथा सकिएको छैन । आमाको छोरा र छोरीमा हुने विभेदपूर्ण व्यवहारबाट उसको जीवनले कुन मोड लिने हो, त्यो विश्लेषण गर्ने अभिभारा पाठकलाई छाडिएको छ । मधुमालतीको कथा पनि यस्तै बालमनोविज्ञानको विशिष्ट दृष्टान्त प्रस्तुत गर्दछ ।

उसको भालेबाट सुरु भएको गोठालेको सिर्जना यात्रा कथै कथा, प्रेम र मृत्युु, बा¥ह कथाहरूमा सङ्कलित कथाहरूमा पनि मनोविश्लेषण गर्नमा केन्द्रित छन् । उनको बहुचर्चित उपन्यास पल्लो घरको झ्याल वा त्यस्तै चर्चित नाटक च्यातिएको पर्दामा पनि शहरी जीवनका ससाना मानसिक घटनाको विस्तारित विश्लेषण छ । तर विकलका कथा, उपन्यासहरू ग्रामीण समाजका व्यवहारलाई चित्रण गर्दछन् । ग्रामीण समाजको निम्न तथा निम्नमध्यम वर्गीय पात्रहरूको मनोदशामा केन्द्रित छन् । गोठालेका रचना परिवेश काठमाडौंको नेवारी समाज हो, विकल ग्रामीण र अद्र्धशहरका परिवेशमा रहन्छन् । साझा निष्कर्ष के हो भने सर्जक आफू हुर्के बढेको समाज सापेक्ष सिर्जना गर्छ, त्यहीको भोगाइ र व्यथा छटपटीलाई टिप्छ । स्थानीयतामा दुवै सर्जक निथु्रुक्क भिजेका छन्, समाजलाई अन्तर्वोध गरी पात्रलाई खेलाएका छन् । दुवैका रचनाले स्थानीय रङ्ग पाएका छन् । गोठाले शहरी स्थानीयता र विकल मोफसलको स्थानीयतामा रमाउँछन् । शहर र ग्रामीण परिवेशको जीवनशैली र दैनिकी फरक फरक मनोदशा दुुई स्रष्टाका जीवन हेर्ने सन्दृष्टि बनेका छन् ।

(छ) प्रयोगवादी नाटकमा विजय मल्ल र रमेश विकल
साहित्यको अभिनेय विधा दृश्यकाव्यका रूपमा रहेको नाटकको वेगल महत्व छ । नाटक÷एकाङ्कीले दर्शकलाई घटनासाम्यतामा एकीभूत गरी एकसाथ मनोरञ्जन र शिक्षा दिने सामथ्र्य राख्दछ । नाटकका आधारभूत चरित्र जस्तो कि दृश्यात्मकता, सम्वाद, घटना, द्वन्द्व, हाउभाउ÷भावभङ्गीका कारण अन्य विधाभन्दा सम्प्रेष्य र अनुुभूतिदायी हुन्छन् । त्यसैले परम्परागत रूपमा नाटकलाई कार्यात्मक साहित्यको रूपमा मञ्चन÷प्रदर्शन गरिएको पाइन्छ । नाटक मञ्चनयोग्य नै हुन्छ ।

आख्यान विधामा शीर्षस्थ प्रयोग गर्ने रमेश विकल नाटक÷एकाङ्की विधामा पनि स्थापित नाम हो । २०२० सालमा ‘मोडर्न हस्बैण्ड ः आइमिन आधुनिक पति’ नामको प्रहसनमार्फत नाटक विधामा प्रवेश गरेको पाइन्छ । प्रहसनमार्फत आधुनिकताको नक्कल गर्दै गएको समाजको सांस्कृतिक सङ्क्रमणलाई मुख्य पात्र रविमार्फत प्रस्तुत गरिएको छ, जहाँ उनका बुबा पण्डित, श्रीमती र नोकरको कार्यव्यापारले अङ्ग्रेजी भाषा र संस्कृतितर्फ घिच्चिएको समाजको अन्यमनस्क चित्र उतारिएको छ । पहिलो नाटकबाट नै विकलले आफू कथा, उपन्यासमा झै सामाजिक विकृति विसङ्गतिको चिरफार गर्ने सङ्केत दिएका छन् । यसको पुष्टि ‘०००००००?’ बाट पनि हुन्छ । उनका सप्तरङ्ग (२०३९), सरदार भक्ति थापा (२०४०), मिल्किएको मणि (२०४८) र मानिस, वैभव र मृत्युु (२०५६) गरी चार नाटक÷एकाङ्कीले समाजको चित्रलाई विभिन्न शैली र सम्वादमा उतारेका छन् । त्यसैले उनका आख्यान प्रवृत्ति नाटक विधामा पनि निरन्तर छ ।

विजय मल्ल आफ्ना समयका शिर्षस्थ प्रयोगक हुन् । २००१ मा ‘राधा मान्दिन’ एकाङ्कीमार्फत नाट्य विधामा प्रवेश गरेका विजय मल्लका ‘कोही किन वर्वाद होस्’ (२०१६), ‘जिउँदो लास’ (२)१७), ‘पत्थरको कथा’ (२०२८), ‘बौलाहाकाजीको सपना’ (२०२८), ‘स्मृतिको पर्खालभित्र’ (२०४०), ‘भित्ते घडी’ (२०४१), ‘भुलैभूलको यथार्थ’ (२०४१), ‘सृष्टि रोकिदैन’ (२०४८) लगायतका नाटकहरू प्रकाशित छन् र अधिकांश मञ्चन पनि गरिएका थिए । अझ भनौ, मञ्चनका लागि नै नाटक लेखिएका थिए । मल्लका नाटकमा स्थानीय संस्कृति र मनोविज्ञानको घनिभूत प्रयोग छ । नेपाली नाटकको प्रयोगवादी धारा (२०२१–२०२९) लाई योगदान दिनेमा मल्लको नाम अग्रभागमा आउँछ । मल्लका नाटकमा सामाजिक गुम्फनको असिम प्रयोग पाइन्छ । मनभित्र मानिस कसरी पगुम्फित भएर छटपटिएको हुन्छ भन्ने प्रस्तुति गर्नु उनको नाटककर्म हो । घरपरिवार तहमा रहेका ससाना विषयवस्तुु, धार्मिक–सांस्कृतिक रीतिथिति र मूल्यदृष्टिकोण, नैतिक मूल्य मानकहरू नै मल्लका नाटकका विषय हुनेगरेका छन् । जस्तो कि ‘कङ्काल’ मानिस र प्रेतात्माको सम्बन्ध उजागर गर्ने काठमाडौंको रैथाने ंसस्कृतिलाई उतारिएको छ । कोही किन वर्वाद होस, स्मृतिको पर्खालभित्र र भुलैभूलको यथार्थ मल्लका चर्चित नाटक हुन्, सबै नै जीवन्त घटनाको मनोविश्लेषणात्मक प्रस्तुतिमा केन्द्रित छन् ।

मल्ल र विकलका नाटक समयमा धेरै अन्तराल छैन, त्यसलै तत्कालीन समाज र परिवर्तनको उकुसमुकस दुवै सर्जकका साझा विषय हुन् । विजय मल्लका नाटकमा मनोवैज्ञानिक पक्षको घनिभूत विश्लेषण पाइन्छ, विकलका नाटकमा सामाजिक व्यवहारको प्रधानता छ । विकल समाजका विकृति र विसङ्गतिका देखिने विषय उठाउछन्, तर मल्ल ससाना विषयवस्तुको मिहीन विश्लेषण गर्दछन् । समानताको अर्को पक्ष दुुवै नाटककारका नाटक मञ्चन भएका छन्, दुवै सर्जकमा मञ्चको पनि अनुुभव देखिन्छ । दुवैको नाटकमा समाज र समयको स्वर छ, तर स्वरसन्धानमा स्वाभाविक भिन्नता छ । सम्वाद र घटनाहरूमा आफू हुर्केबढेको परिवेश जीवन्त छ । विजयका पात्रहरू शहरी र खास रैथाने वर्गको प्रतिनिधित्व गर्दछन्, विकलका नाटकमा अद्र्धशहरी क्षेत्रका विविधखाले चरित्र देखिन्छ । विकलले प्रहसन र व्यङ्ग्यलाई पनि नाटकका विषय बनाएका छन् तर मल्लमा त्यो त्यति पाइन्न, भएपनि मनोविश्लेषणात्मक पक्षले त्यसलाई अधीनस्थ पार्छ ।

निष्कर्षमा भन्दा सामाजिक यथार्थवादी आख्यानका विशिष्ट सर्जक विकल नाटकमा पनि त्यही कथाप्रवृत्तिबाट पृथक छैनन् । मल्ल पनि सामाजिक प्रतीकगुम्फन र मनभित्रको मान्छेलाई चित्रण गर्ने आख्यानकार हुन्, त्यही प्रवृत्ति नाटकमा झनै गढेको छ । दुवैका नाट्य सिर्जनाले समाजको यथार्थ चित्रणमार्फत इच्छित अभीष्टको माग खोज्छन् । दुवै नाट्य सर्जक गोपालप्रसाद रिमालले सुरु गरेको सामाजिक यथार्थवादी धाराका विशिष्ट योगदानकर्ता हुन् ।

(ज) राष्ट्रिय भावनाका नियात्रामा तारानाथ शर्मा र रमेश विकल
यात्राप्रिय मानिसहरू यात्राका संस्मरणलाई शिल्पपूर्ण प्रयोग गरेर आफ्ना अनुुभूतिहरूअरूलाई बाढ्ने इच्छाले यात्रासाहित्यको जन्म भएको हो । यात्रामा मानिस आफै आनन्दित हुन्छ वा दुखाइहरू सँगाल्छ । भ्रमणप्रिय मानिसहरूको अनुुभूति सँगालिएर यात्रा साहित्य बन्ने गर्छ । यी अनुुभूतिहरू समाजका पुनर्उत्पादन हुन्, सर्जक त्यसको माध्यम हो । याने कि यात्रास्थल र पाठकसम्मको सम्बन्ध सूत्र नियात्राकार बन्ने गर्छ । अर्को शव्दमा यात्रा सािहत्यले मानिस, घटना, दृश्य र अनुुभूतिलाई कलात्मक रुपमा जोड्ने गर्दछ ।

२०२३ मा तारानाथ शर्माले यात्रा संस्मरण दिने गद्य आलेख ‘मेनाइ साँघुको मेला’ रत्नश्री पत्रिमा प्रकाशित भएपछि उतिवेलाका चर्चित साहित्यकार÷भाषासेवी बालकृष्ण पोखरेलले नियात्राको नाम दिएपछि नेपाली साहित्यमा नियात्रा निबन्धको सुरुवात भएको मानिन्छ । त्यसपछि तारानाथ शर्माको बेलायततिर बरालिँदा २०२६ सालमा प्रकाशन भएपछि यो नै पहिलो नियात्रा सङ्ग्रहका रूपमा स्थापित भै नियात्रा साहित्यको कोशेढङ्गा कायम भयो । यो कृति निकै चर्चित भयो, परिणामतः नियात्रा साहित्यले पहिचान विस्तार गर्नपुुग्यो । त्यसपछिका दिनमा तारानाथ शर्माकै पाताल प्रवास, लैनसिंह बाङ्देलको रोमको एउटा फूल र प्यारिसको एउटा काँडा, यादव खरेलको समुद्रवारि समुद्रपारि, रमेश विकलको सात सूर्य एक फन्को, नारायण ढकालको शोकमग्न यात्रीहरू, धच गोतामेको तीन बास, घनश्यामराज राजकर्णिकारको विदेशको यात्रा स्वदेशको सम्झना, मञ्जुलको सम्झनाका पाइलाहरू, मोहन मैनालीको मान्ठा हराएको जुुग, जीवा लामिछानेको सरसर्ति सन्सार, विजय चालिसेको अप्रिलको बेलायत, प्रतीक ढकालको हिमाल पारि पुुगेपछि (बियोण्ड द हिमालयाज), गोपी मैनालीको आँखाभरि रमिता मनभरि वेदना, दमादोदर पुडासैनी किशोरको सीमानाका रङ्ग, निर्मोही व्यासको नौ पाइला, रामप्रसाद पन्तको मेची मेरो महाकाली मेरो, जय छाङ्छाको बादल रुँदाको जुरिच, गोविन्द गिरि प्रेरणाको टिष्टाको किनारै किनार, कुमार ज्ञवालीको देश परदेश, कृष्ण धराबासीको गेष्टाफो चर्चित नियात्रा साहित्यमा द¥िहएका छन् ।

तारानाथ शर्माका दुुई नियात्रा सङ्ग्रह बेलायततिर बरालिदा (२०२६) र पाताल प्रवास (२०४०) प्रकाशित छन् भने रमेश विकलका पनि दुुई नियात्रा सङ्ग्रह सात सूर्य एक फन्को (२०३५) र नीलगिरिको छायाँमा (२०५०) प्रकाशित छन् । शर्मा मूलतः समालोचक विधामा धेरै लिइने नाम हो भने रमेश विकल आख्यान विधामा । तर नियात्रा साहित्यमा यी मूूर्धन्य प्रतिभाहरूको केही समानता र विशिष्टता रहेको छ ।

‘मेनाइ साँघुको मेला’ पछि तारानाथ शर्माको दोस्रो र निकै चर्चित नियात्रा ‘घनघस्याको उकालो काट्दा’ (२०२४) हो । दोस्रो फुुटकर नियात्राले तारानाथ शर्मालाई निकै चिनाएको छ । २०२४ मा सरकारी कामको सिलसिलामा प्रवेशिका परीक्षा सञ्चालन गर्न डोटी समयको यात्राको संस्मरण यसमा छ । पूर्व मेचीको मानिस सुुदूर पश्चिम महाकाली महाकाली पुुग्दाको अनुुभव निकै कलात्मक शैलीमा उतारिएको छ । प्रकृतिको सुन्दरता र जटीलतालाई आफ्ना अनुुभवमा रङ्गाएर लेखिएको छ । उनी भन्छन् ‘जीवनमा कति उकाली काटियो होला र कति ओरालाहरू झरियो होला तर थोरै व्यक्तिहरूले मात्र घनघस्याको उकालो चढेका होलान । यो यस्तो उकालो हो, जो कठोरताको अद्वितीय छ’ ।

नियात्राकार विकल सात सूर्य एक फन्कोमा यात्रा सुरुतिर काठमाडौं काठको देखिएको प्रकृतिलाई मुुग्धकण्ठले प्रशंसा गर्दछन् ः चाँदीको तार झै बगेकी बाग्मती, भव्य पर्वत शिखरका शृङ्खला अनि तिनका काखमा लुटुुक्क सुतेको बालकझै अनेकन गाउँ बस्तीका चित्रकारी झाँकी, सुन्दरीजलको काव्यमय वातावरण, रुमानी कविता र सङ्गीतका भनक, सुन्दरीजलको जेलमा बुनिएका सुम्निमा,…चिर परिचित प्रकृतिको नवनीत नर्तकी रूप छाँगा छहरा, चराचुरुरुङ्गी, ..पहेंला, सेता, राता, माटाले पोतेका पराल, झिंगटी र टायलका चारकुने, दुुई कुने छानावाल पिँढीं, पालवाल घरहरूमा खास नेपाल अझ बोल्दैछ ।

नियात्राकारहरू नियात्रास्थल र त्यहाँका दृश्यलाई अनौठो रूपमा प्रस्तुत गर्दछन् । मानौं त्यो स्थान छुट्यो भने जीवनको ठूलो भाग नै छुटेको छ । विकल र शर्मा दुवैमा यो प्रवृत्ति उही रूपमा पाइन्छ । सात सूूर्य एक फन्को धार्मिक–पर्यटकीय यात्रा हो, नीलगिरिको छायाँमा प्राकृतिक–पर्यटकीय यात्रा हो । दुवैमा यात्रा मार्ग, दृश्य र प्रकृतिको शिल्पपूर्ण वर्णन छ । तारानाथको घनघस्याको उकालोमा त्यसै गर्छन् । तर विदेश यात्राको अनुुभूति सङ्गालिएको पाताल प्रवास र बेलायततिर बरालिदामा प्रकृतिको यसरी बयान गर्न उनको मनले स्वीकार्दैन ।

नियात्राका कुराहरू, विषयहरू सामान्य हुन्छन्, प्रस्तुतिले बेजोड बनाउने गरिन्छ । भनौं त्यसो गर्ने अनुुभूति र शिल्पसामथ्र्य उनीहरूमा हुन्छ । जस्तो कि घनघस्याको उकालोमा तारानाथले भनेका छन् ‘ठाउ ठाउमा बारीहरू थिए, वनहरू थिए र चरनहरू थिए । गाउँहरू चराउँदै गोठाला गोठालीहरू बिरहलाग्दा गीतहरू कुर्लिरहेका भेटिन्थे’ । यी दृश्यहरू पहाडका सामान्य कुरा हुन् तर कलालेपन र मिठास प्रस्तुतिले अलौकिक झै बनाइएको छ । यस्तै शिल्पविधानको प्रस्तुति विकल ‘नीलगिरिको छायाँमा’ मा मुस्ताङको वयानमा गर्छन् ‘दायाँ बायाँ अजङ्, अजङ्का हिम मुकुटधारी शैकाया तल–लत हिमाली वनस्पतिका हरियाली, अनि त्यसका तल सयकडौं फिट गहिरो खोँच गल्छीको छाती चिर्दै सिंहनादमा गडगडाउँदै बगेकी काली एउटा अवर्णनीय दृश्य । सायद यसैलाई पौराणिकहरूले देव–गन्धर्व यक्ष–किन्नर लोकका रूपमा कल्पना गरको हुन् ।’
बेलायततिर बरालिदा बेलायत यात्राको रोचक र घोचक अनुुभूतिको बेजोड प्रस्तुति हो । यसले बेलायती समाजका कतिपय लुुकेका कुराहरूलाई नियात्राकारले खोतलिदिएका छन् ।

सभ्यता र समृद्धिको शिखरमा पुुगेको मुलुक बेलायतको विकासको दृश्य, इतिहासमा विश्वलाई नै आफ्नो प्रभुत्वमा राखेको र वर्तमानमा समृद्धिले शिखर चुमेको बेलायती गर्वबोध एकातिर छ, अर्कोतर्फ राजनैतिक बेथिति र सामाजिक संस्कृतिको विसङ्गति छ । पाठकहरू दुवैथरीको अवस्था र आकृतिसँग परिचित भएका छन् । उता विकलको ‘सात सूूर्य एक फन्को’ विशुद्ध नेपाली डाँडा काँडा, धर्मसंस्कृति, रीतिरवाज मानव सभ्यताको भाव–भावना र अवस्थाको आकृति उतार्छ । कल्पना र कलाको लेपनले भएभन्दा सुन्दरता र प्राकृतिकता पनि पस्किएको छ । परिवेश फरकफरक छन् तर दुवै नियात्राको अन्तर्यमा एउटै साझा विषय रहन्छ, त्यो हो राष्ट्रियता, नेपालीपन र पहिचानको गर्व । विकल गोसाइँ कुण्डको यात्रामा रमाएर दैनिकी उतार्दैछन्, साँग्रिलाको खोजिगरिरहेका छन् तर तारानाथ अर्को भूगोल, अर्को समाज र अर्कै संस्कृतिको मीठो नमीठो स्वाद लिइरहेका छन् । फरक भूगोल र भौगोलिकताले समान भावना र अफ्नोपनलाई भिन्न गरेको छैन ।

तारानाथ शर्माको अर्को नियात्रा पाताल प्रवास चाँहि बेलायतको नभई अमेरिकाको हो । बेलायततिर बरालिदा जति सशक्त छ पाताल प्रवास त्यै उचाइमा छैन । तर राष्ट्रियता र नेपालीपनको उजागर भने यसमा अरू घनीभूत छ । चालिसको दशकदेखि नै नेपालीहरूमा अमेरिकामेनिया देखिएको छ । त्यहाँ बसोबास गर्ने नेपालीहरू नेपालप्रति त्यति हार्दिकतामा देखिएका छैनन् । अमेरिकी र नेपाली जनजीवन, सम्बन्ध संस्कृति सबै भिन्न छ । तैपनि अवसरको भूमिका रूपमा नेपालीहरू अमेरिकाप्रति आशक्त छन्, त्यहीको केटीसँग सम्बन्ध गाँसेर स्थायी बासिन्दा बन्न चाहेका छन् । त्यसैले बेलायततिर उनी बरालिएका थिए, अमेरिका (पाताल) मा भासिएका छन् । र उतै भासिएकाहरूलाई प्रश्न गरिरहेका छन् किन पाताल भासिएका होलान ? सगरमाथाको चुुचुरोको व्यक्तिलाई नेपालीहरू अमेरिका भासिएर दोस्रो दर्जामा जीवन विताएको, यान्त्रिक र औपचारिक जीवन विताएको मन परेको छैन ।

मानिसहरू विरानो देशमा गएपछि राष्ट्रिय भावनाले निथ्रुक्क भिज्दा रहेछन् । तारानाथ शर्माका दुवै नियात्रा यसैका उपज हुन् । त्यस्तै यादव खरेलको समुद्रवारि समुद्र पारि, घनश्याम राजकर्णिकारको विदेशको यात्रा स्वदेशको सम्झना, गोपी मैनालीको आँखाभरि रमिता मनभरि बेदना लगायत विदेश यात्राका भावभूमिमा लेखिएका नियात्राहरूमा यही भावना छिपेर रहेको पाइन्छ । तर विकलका दुवै नियात्रा त्यस उसमा छैनन् । दुवै नियात्रा नेपालकै भावभूमिमा लेखिएका छन्, दुवै नियात्रा नेपालीत्व र राष्ट्रप्रेम छचल्किएको छ ।

प्रस्तुति शैली र बिम्बविधानमा भने तारानाथ शर्मालाई विकलले पछाडि छाडेका छन् । तारानाथ शर्माका झर्रोवादी भाषा आन्दोलनको प्रभाव उनका सिर्जनामा देखिएका छन् । विकल बिम्ब, कला र उपमा उपमेयको प्रचूर प्रयोगमा छन् । तर दुवैका नियात्रा मिठासपूर्ण छन् अनि प्रस्तुति सलल्ल वगेको छ । यस अर्थमा नियात्रा साहित्यालाई फराकिलो पार्न द्वय नियात्राकारको योगदान विशिष्ट छ ।

(झ) बालसाहित्यमा कृष्णप्रसाद पराजुली र विकल
‘बालक नभै प्रौढ हुन सक्दैन भने बालसाहित्य नभै प्रौढ साहित्य कसरी हुनसक्छ ?’ भन्ने विकल समाजको जग, राष्ट्र निर्माणको जग र सभ्यता र संस्कारको जगलाई बाल्यावस्थालाई मान्दछन् । बालसाहित्यलाई प्रौढ साहित्य बराबर महत्व दिने विकलले बालबालिकालाई केन्द्रविन्दु बनाएर साहित्य पनि लेखेका छन् र बालबालिकालाई साहित्य पनि लेखेका छन् । उनका पाठ्य बालसाहित्य र पाठ्येतर बालसाहित्य दुवै प्रकारका कृतिहरू छन् ।
कृष्णप्रसाद पराजुली पनि विकल जसरी नै बालसाहित्यमा लागातर लागेका बालसाहित्यकार हुुन् । पराजुलीका पाठ्य र पाठ्येतर दुवैथरीका बालसाहित्य छन् । पराजुलीका रमाइला नानी (तिन भाग, २०२२–२०२५), गेडीका कथा (२०२७), सुनौला तिन कुरा (२०२७), चार चडेरी (२०२८), लुुकामारी (२०३०) र सुनकेस्रा (२०३५) प्रकाशित भएका छन् । नानीका कवि र नानीका कथाकार का रूपमा चिनिएका पराजुली बालबालिकालाई रमाइला सामग्री दिन कुसाग्र छ्न् । त्यस्तै विकलका पनि ते¥ह रमाइला कथा (२०२२), अँगेनाको डिलमा (२०२३), एक्काईस रमाइला कथाहरू (२०२३), पञ्चतन्त्रका कथा (२०२३), सात थुँगा (बालएकाङ्कीसङ्ग्रह, २०३७), केही मूर्खहरूको कथा (२०४५), हिउँदे छुट्टीमा (२०४९) र बालकथा र बालचित्रकथाहरू प्रकाशित छन् । विकलको बाल उपन्यास विक्रम र नौलो ग्रह (२०३९) पनि प्रकाशित छ ।

विकल र पराजुलीले एकै समय (२०२२ तिर) बाट बालसाहित्यमा कलम चलाएका थिए । दुवैका बालसाहित्य पाठ्य र पाठ्येतर छन् । विकलले अनुुदित बालसाहित्य (एनिड ब्लाइटनको इनचान्टेड ट्री को नेपाली इन्द्रजाली रुख र ज्याक लण्डनको समुद्री हुँडार) मार्फत युरोप–अमेरिकाको बालसाहित्यको आनन्द पनि बालबालिकालाई दिएका छन् । पराजुलीका मौलिक कृतिहरू मात्र छन् । दुवै बालसाहित्यकारको समान धारणा के छ भने एउटा परिपक्व र नैतिक समाज निर्माणका लागि बालसाहित्य आवश्यक छ । यी दुुई सर्जकहरूका कारण पछिल्लो पुस्ता बालसाहित्यमा अग्रसर हुने पृष्ठभूमि तयार भएको छ ।

विकल बालसाहित्यकार मात्र होइनन्, बालकका विषयमा कथाहरू लेखेर प्रौढहरूलाई पनि बालमनोविज्ञानप्रति सचेष्ट गर्दछन् । मेरी सानी भतिजी प्रतिमा, मधुमालतीको कथा, फुटपाथ मिनिस्टर बालमनोविज्ञानका उत्कृष्ट उदाहरण हुन् । बालकथाहरूमा गरिएको प्रयोगका साथसाथै बालबालिकाका लागि कथा, गीत, चित्रकथा, एकाङ्कीहरू लेखेका छन् । विकलको सातथुँगा नेपाली साहित्यमा पहिलो बालएकाङ्की हो । तर पराजुलीले बालसाहित्यका साथ भाषाविज्ञानका कृतिहरू लेखेका छन् । दुवैको योगदानका क्षेत्रहरूमा केही समानता र धेरै भिन्नता पाइन्छ ।
विकलले उमेरगत आधारमा बालसाहित्य सिर्जना गरेर वास्तविक बालसाहित्यकार बनेका छन् । निकै शिशुुहरूका लागि चित्रकथा, त्यसपछि रमाइला बालकथा र गीतहरू, त्यसपछि बालकथा र बालएकाङ्की र त्यसपछि किशोरहरूलाई लक्षित गरेर बालउपन्यास लेखेका छन् । बालबालिकाको उमेर अनुसार चित्र–भाषा, शैली, विषयमा केन्द्रित सिर्जना गरेर बालबालिकालाई आनन्द, शिक्षा, नैतिक शिक्षा र ज्ञानको भोक जगाउने काम गरेका छन् । पराजुलीका रमाइलाकथाहरू र भाषा व्याकरणका सिर्जनाहरू छन् ।

‘हामीसँग बालसाहित्यको खाँचो छ ….। बालसाहित्य, त्यसमा पनि वैज्ञानिक तवरले बालबालिकाका उमेर, भाषा, संसकार, रुचि सबै कुरामा ध्यान दिएर त्यस अनुरूप याजनावद्ध रूपमा तयार गरिएको बालसाहित्यका पुुस्तकहरू त एकदमै अभाव छ’ (इन्द्रजाली रुख, रूपान्तरकर्ताको मन्तव्य) भन्ने विकलले योजनावद्ध रूपमा नै बालसाहित्य सिर्जना गरेका छन् । मौलिक बालसाहित्य सिर्जनाका साथै विदेशी भाषामा लेखिएका विश्वस्तरका उत्कृष्ट बालसाहित्यको अनुवाद मार्फत बालबालिकालाई रञ्जन र शिक्षा दिएका छन् । बालबालिकाले विकललाई आफ्ना मनपराउने सर्जकका रूपमा चिनेका छन् ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }